२०२४ साल कार्तिक २७ गते तनहुँ चुँदी तामाकोटमा जन्मनुभएका आदिकवि भानुभक्त आचार्यका पितामह श्रीकृष्ण आचार्यका साहिँला छोरा पद्मनाभ-शेखरतर्फका सन्तति आमोदवर्धन कौण्डिन्न्यायन (आमोद आचार्य) विगत ३१ वर्षदेखि प्राध्यापन गर्नुहुन्छ र अहिले नेपाल संस्कृत विश्वविद्यालयको प्राध्यापक हुनुहुन्छ । उहाँको प्रारम्भिक शिक्षा घरमै आफ्नै पिताजीबाट भयो ।

आमोद आचार्य

आमोद आचार्य

उहाँले पूर्वमध्यमा तह (प्रवेशिका) वाराणसीको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट (२०४०), प्रवीणता प्रमाणपत्र तह त्रिभुवन विश्वविद्यालयबाट (२०४३), शास्त्री (२०४५) तथा आचार्य तह (२०४९) नेपाल संस्कृत विश्वविद्यालयबाट (तात्कालिक महेन्द्र संस्कृत विश्वविद्यालयबाट) र विद्यावारिधि तह सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट (२०६५) उत्तीर्ण गर्नुभएको छ । उच्च शिक्षाका सबै परीक्षा विशिष्ट श्रेणीमा विश्वविद्यालय-प्रथम भएर उत्तीर्ण हुनुभएका आचार्यले अनेक स्वर्णपदक र पुरस्कार पाउनुभएको छ । २०२० सालदेखि त्रि.वि.ले र २०४४ सालपछि ने.सं.वि.ले सञ्चालन गरेको आचार्य परीक्षाको ६० वर्षे इतिहासमा अहिलेसम्मकै सर्वाधिक (८६.९२ प्रतिशत) अङ्क  ल्याउने व्यक्ति पनि उहाँ हुनुहुन्छ ।

धर्म, संस्कृति, दर्शन, भाषा-व्याकरण, साहित्य इत्यादि विषयमा कलम चलाउने आचार्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा अनुसन्धानात्मक लेखहरू पनि प्रकाशित छन् । साथै उहाँले विभिन्न पुस्तक संस्कृत तथा नेपाली भाषामा लेख्नुभएको पनि छ र अनेक ग्रन्थको सम्पादनसमेत गर्नुभएको छ ।

प्रस्तुत छ, उनै आमोद आचार्यसँग साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक तथा अनेसासका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले गरेको साहित्यिक संवादको सम्पादित अंश;

आजकल तपाईं व्यस्त हुनुहुन्छ । यस्तो घडीमा अध्ययन, लेखन र पुस्तक प्रकाशनलाई कसरी समय मिलाउनु भएको छ ?

– सर्वप्रथम यस संवादका निम्ति यहाँलाई विशेष धन्यवाद छ । “काव्यशास्त्रविनोदेन कालो गच्छति धीमताम्” (बुद्धिमान् मानिसहरूको समय काव्य-साहित्यको अध्ययन र शास्त्रको अध्ययन तथा चिन्तन-मनन गर्दै बित्ने गर्दछ) भन्ने सूक्तिले निर्दिष्ट गरेको संस्कारमा हुर्केको हुनाले मेरो व्यस्तता भनेकै अध्ययन, अध्यापन, अनुसन्धान र प्रकाशनमा हुने गरेको छ । आफ्नो काममा रुचि भएकाले होला समयको व्यवस्थापनमा विशेष समस्या भएको अनुभव छैन । तर आफ्नो लेखन-प्रकाशनमा सकभर त्रुटि नहोस् भनेर बढी नै सावधान हुने प्रवृत्तिले गर्दा काममा अपेक्षाकृत समयभन्दा विलम्बचाहिँ  हुने गरेको छ ।

साहित्य, संस्कृत, जीवन, दर्शन आत्मा र प्रकृतिलाई तपाईँले कसरी हेर्नु भएको छ ?

साहित्यको कुरा गर्दा काव्यको प्रयोजन के हो भन्ने विषयमा संस्कृत साहित्यशास्त्रका मूर्धन्य विद्वान् तथा प्रसिद्ध समालोचक मम्मटद्वारा रचिएको काव्यप्रकाशमा प्रारम्भमै आएको उक्तिको सम्झना हुन्छ । त्यहाँ भनिएको छ–

“काव्यं यशसेऽर्थकृते व्यवहारविदे शिवेतरक्षतये ।
सद्यः परनिर्वृतये कान्तासम्मिततयोपदेशयुजे ।।”

अर्थात्– काव्य कीर्तिका लागि, अर्थोपार्जनका लागि, व्यवहार बुझाउनका लागि, अमङ्गलको नाश गर्नका लागि, तत्कालै शान्ति प्राप्त गर्नका लागि र प्रियाको वाणीझैँ सरस वाणी बोलेर कर्तव्य बुझाउनका लागि पनि हो ।

काव्यप्रकाशको उक्त भनाइ युक्तियुक्त देखिन्छ । तसर्थ कालजयी साहित्यले केवल क्षणिक मनोरञ्जन मात्र नदिएर धर्म, संस्कृति, दर्शन, व्यवहार, सदाचार इत्यादिको ज्ञानसमेत पाठकलाई सरस ढङ्गबाट दिनुपर्छ भन्ने लाग्छ । साहित्य तात्कालिक हावाहुरीको अनुकूल र क्षणिक प्रशंसा बटुल्ने खालको नभएर शाश्वत र कालजयी हुनुपर्छ भन्ने मान्यता छ । साहित्य समाजलाई उच्च आदर्शतिर डोर्याउने खालको नै हुनुपर्छ । तथापि अचेलको नेपाली साहित्यमा प्रायः उक्त गुण पाइँदैनन् । सत्कविले यस कुरालाई मनन गरेर कलम चलाउनुपर्ने देख्दछु ।

संस्कृत भनेको केवल भाषा मात्र हैन, यो त ज्ञान-विज्ञानको विशाल भण्डार र समग्र जीवनदर्शन पनि हो । संस्कृतवाङ्मयमा रहेका विभिन्न ग्रन्थहरूले हामीलाई जीवन सरल र सुखपूर्ण ढङ्गबाट जिउने कला सिकाउँछन् । आफूभित्रै रहेको आनन्दको अनुभूति गर्न नसकेर कोलाहलपूर्ण बाहिरी संसारमा भौँतारिरहेका व्यक्तिलाई आफैँभित्र रमाउन सिकाउँछन् अर्थात् प्रत्येक व्यक्तिलाई ‘आत्माराम’ बन्न प्रेरित गर्छन् । त्यसैले आधुनिक परिवेशमा समेत नसिकी नहुने एउटा महत्त्वपूर्ण भाषा संस्कृत पनि हो भन्ने मलाई लाग्छ ।

पाणिनीय व्याकरणका भाष्यकार महान् वैयाकरण पतञ्जलि मुनिले “एकः शब्दः सम्यग्ज्ञातः शास्त्रान्वितः सुप्रयुक्तः स्वर्गे लोके च कामधुग् भवति” (एउटै शब्द पनि राम्ररी जानेर-बुझेर शास्त्रअनुसार ठिकसित प्रयोग गर्दा त्यसले यस लोकमा र स्वर्गमा पनि चाहेअनुसारको फल दिन सक्छ) भन्नुभएको छ । त्यसैले संस्कृतका शब्दहरूको यथार्थ ज्ञान र तिनको ठीक प्रकारले प्रयोग महत्त्वपूर्ण कुरा हुन् । तसर्थ नयाँ पुस्ताले संस्कृत पनि सिक्यो भने उसको जीवन बढी सार्थक हुने देख्दछु ।

मानवजीवन परमेश्वरको सृष्टिको एउटा सुन्दर उपहार हो । चौरासी लाख योनिमा घुम्दै हिँडेको जीव आफ्नो कर्मअनुसार दुर्लभ मानवयोनिमा जन्म लिन पुग्दछ ।  यो कुरा गरुडमहापुराणमा पनि भनिएको छ– “जातीशतेन लभते किल मानुषत्वं तत्रापि दुर्लभतरं खग भो द्विजत्वम्” । यस्तो दुर्लभ मानवजुनी सत्कर्म गरेर र आत्मज्ञान गरेर सांसारिक बन्धनबाट मुक्त हुन प्रयास गर्ने एउटा राम्रो अवसर पनि हो । यो क्षणभङ्गुर छ, छोटो छ, तथापि महत्त्वपूर्ण छ । त्यसैले धर्म अर्थ काम र मोक्ष यी चारै पुरुषार्थ प्रति सन्तुलित दृष्टि राखेर समन्वित रूपमा जीवन बितानुपर्ने कुरा वैदिक शास्त्रमा बताइएको छ । त्यसैले हामीले हाम्रा शास्त्र र परम्पराबाट पनि प्रेरणा लिएर जीवनलाई सरल र सार्थक रूपमा बिताउन आवश्यक छ जस्तो लाग्छ ।

दर्शन भनेको निकै गहन विषय र सिद्धान्त पनि हो । जीवन र जगत्को वास्तविकता बुझाउने सिद्धान्त वा शास्त्रलाई नै मुख्यतया दर्शन भन्दछन् । वेदान्तदर्शन नै विश्वको उत्कृष्ट दर्शन हो । यो कुरा सर्वमान्य तथा सर्वविदित पनि छ । आस्तिकदर्शन र नास्तिकदर्शन गरी मुख्यतया दुई प्रकारका दर्शन छन् । आस्तिकदर्शनको अनुसरण गर्ने व्यक्ति नै जीवनमा वास्तविक रूपमा आनन्दित हुन सक्ने हुँदा त्यसैको अवलम्बन गर्नुपर्ने हुन्छ । दर्शनको हल्काफुल्का चर्चा सबैतिर भए पनि दर्शन पढेर र मनन गरेर तदनुसार आफ्नो जीवनलाई अगि बढाउने व्यक्ति त दुर्लभ नै हुन्छन् र अहिले हाम्रा समाजमा त्यस्तै स्थिति भएको देख्दछु ।

आत्मा के हो र यसको स्वरूप कस्तो छ भन्ने कुरा गहन दार्शनिक विषय हो । यो व्यक्तिगत तर्कले निरूपण गर्न सकिने विषय हैन । वेदान्तदर्शनमा आत्मा सच्चिदानन्दरूप हुने कुरा बताइएको छ । सत् भनेको नित्य-निरन्तर रहने वा अविनाशी भनेको हो । चित् भनेको चैतन्यस्वरूप वा चेतना भनेको हो । आनन्दरूप भनेको अरू कुनै वस्तुले पनि नढाकिएको शुद्ध आत्मा आनन्दमय मात्र हुन्छ भनेको हो । यो विषय आत्मज्ञान गर्न  लागिपर्ने साधकले मात्र अनुभूति गर्न सक्दछ, अरूले बुझ्न सग्दैनन् । शब्दले बुझाएर मात्र यो विषय बुझिँदैन । आदिकवि भानुभक्त आचार्यले आत्माको स्वरूप केकस्तो छ र आत्मज्ञान कसरी गर्न सकिन्छ भनेर रामगीतामा राम्ररी बुझाउनुभएको छ । रामगीताबाट यस विषयको बोध केही मात्रामा सरल ढङ्गबाट हुन सग्दछ । त्यहाँका दुई श्लोक उद्धरण गर्न चाहन्छु–

वर्णाश्रमका क्रिया जति त छन् तिन्लाई पैह्ला गरी
दस् इन्द्रीय र मन् जितेर गुरुका साम्ने अगाडी सरी ।
आत्मज्ञान मिलोस् भनेर गुरुको सेवा निरन्तर् गर्या
आत्मज्ञान् पनि मिल्छ एहि रितले संसार् कतीले तर्या ।।

 

आत्मा एस् रितले चिह्निन्छ पहिले एकान्तमा गै बसोस्
दस् इन्द्रीय जितेर मन्कन जिती
त्मैविचार्मा पसोस् ।
जानोस् जो छ जगत्प्रकाश् सकल यो हो
आत्मसत्ता भनी
एही तत्त्व बुझी त पूर्ण रुपको होइन्छ आँफू पनी ।।  

साङ्ख्यदर्शनले प्रकृति र पुरुषको व्याख्या गरेको छ । सृष्टिमा देखिने भौतिक पदार्थजति सबै प्रकृति र चैतन्य तत्त्वजति पुरुष मानिएको छ । अर्को दृष्टिले भन्दा मानवनिर्मित हैन ईश्वरनिर्मित चराचर जगत् नै प्रकृति हो, प्रत्येक वस्तुको स्वभाव र धर्म पनि प्रकृति हो । कृत्रिमभन्दा प्राकृतिक प्रत्येक वस्तु रमणीय लाग्छन् । वनपाखा, डाँडाकाँडा, खोलानाला र झरनासित बाँच्न पाउने व्यक्ति भाग्यमानी हुन् जस्तो लाग्छ ।

तपाईँलाई जाँगरिलो लेखक  तथा विद्वान भन्न मिल्छ ?

– यो अन्य व्यक्तिले मूल्याङ्कन गर्ने विषय हो । आफैँले भन्नुपर्दा संभवत: त्यति धेरै जाँगरिलो पनि छैन र अल्छी पनि छैन जस्तो लाग्छ ।  त्यसैले म यस विषयमा मध्यम श्रेणीमा पर्छु । म आफैँलाई विद्वान् हूँ जस्तो त लाग्दैन । तथापि भारतवर्षभरिकै अद्वितीय विद्वान् पिताको पुत्र हुने दुर्लभ सौभाग्य पाएकाले अरूलाई त्यस्तो लाग्न सक्छ । मूर्ख पिताको विद्वान् पुत्र र विद्वान् पिताको मूर्ख पुत्रमध्ये कुन उत्तम हुन्छ भनेर विचार गर्दा विद्वान् पिताको छत्रछायामा हुर्किँदा अरूले सहज रूपमा पाउन नसक्ने विशिष्ट ज्ञान सजिलैसित पाउन सकिने हुनाले अविद्वान् पुत्र नै पनि उत्तम हुन सक्ने देखिन्छ । त्यस्तै भएको पनि हुन सक्छ । यो अरूले भन्दिएर थाहा पाइने विषय हो ।

साहित्य तथा शुद्ध लेखन, अध्ययन, चिन्तन र मनन सबैको सन्तुलनले नै मानिसलाई उचाइमा लान्छ भन्ने कुरामा कत्तिको विश्वास गर्नुहुन्छ ?

– साहित्य, शुद्ध लेखन, अध्ययन, चिन्तन र मननले मानिसलाई उचाइमा लान त सक्छन् । तर उक्त विषय सैद्धान्तिक र प्रारम्भिक मात्र हुन् भन्ने लाग्छ । विचारमा, भाषणमा र लेखनमा मात्र आदर्शका कुरा गरियो तर वास्तविक व्यवहारमा तिनलाई उतारिएन भने तिनको केही महत्त्व रहँदैन । त्यसैले मेरो विचारमा मानिसलाई सदाचारले र सद्‍‍व्यवहारले मात्र उचाइमा पुर्‍याउन सक्छ । चाहे गरिब होस्, चाहे अपठित होस्, अथवा समाजमा नाम नचलेको नै किन नहोस्, तर मानिस सदाचारी र सत्यनिष्ठ भयो भने ऊ व्यक्ति समाज र देशका निम्ति महत्त्वपूर्ण हुन जान्छ । त्यसैले संस्कृतमा एउटा भनाइ प्रसिद्ध पनि छ– “शास्त्राण्यधीत्याऽपि भवन्ति मूर्खा यस्तु क्रियावान् पुरुषः स विद्वान् (शास्त्र पढेर पनि मानिस मूर्ख हुन सक्छन्, त्यसैले जो शास्त्रअनुसार कर्म पनि गर्छन् ती मानिस मात्रै वास्तवमा विद्वान् हुन्)”  । त्यसैले साहित्यले पनि मानिसलाई सदाचारी र सत्कर्मी बन्न प्रेरणा दिनुपर्छ ।

तपाईँका किताब बेजोड छन्, हो ? भाषा शुद्ध र राम्रो लेख्न के गर्नु पर्छ ?

– मेरा पुस्तक र लेख-रचनाहरू विशेष गरी शास्त्रीय विषय र वैदिक धर्म-संस्कृतिसित सम्बद्ध छन् ।  म जे लेख्छु त्यसमा पर्याप्त अध्ययन गरेर सावधानीका साथ लेख्ने प्रयास गर्दछु, विषयगत तथा भाषिक त्रुटिका साथै प्रुफका गल्ती पनि नहुन् भन्नेमा बढी नै सचेत हुन्छु, त्यसैले धेरैजसो पुस्तकहरूमा पाइने कमजोरी मेरा पुस्तकमा कमै होलान् ।

यो गुण मैले  पिताजीबाट नै संस्कारमा प्राप्त गरेको हूँ । उहाँका चाहिँ प्रत्येक ग्रन्थ र विशेष लेख भारतवर्षीय ज्ञान-विज्ञानका दृष्टिले बेजोड (अद्वितीय) नै छन् । तिनमा नवीन तथ्य तथा गहन व्याख्या र विवेचना प्रत्येक पृष्ठमा पाइन्छन् । मेरा रचनाहरू पनि पिताजीका ग्रन्थहरूबाट प्रभावित र अनुप्राणित हुनु स्वाभाविकै हो । यस विषयको वास्तविक मूल्याङ्कनचाहिँ विचारशील र विवेचनशील पाठकहरूले मात्र राम्रोसित गर्न सक्नुहुन्छ ।

शुद्ध भाषा भनेको के हो भन्ने कुरा नेपालीका सन्दर्भमा त्यति स्पष्ट छैन । तथापि ह्रस्व-दीर्घ इत्यादि लेखनका कृत्रिम र अवैज्ञानिक नियमले नेपालीमा लेख्नेहरूलाई अनावश्यक रूपमा कष्ट दिइरहेको देखिन्छ । बोलिचालीको भाषा नै जीवन्त भाषा भएकाले २०२४ सालमा हाम्रा पिताजीले ‘जिम्दो नेपालि भासा’ अभियान सुरु गर्नुभएको थियो । त्यसको केही प्रभाव नेपाली व्याकरण र कोषमा परेको पनि देखिएको छ र बोलिचालीको नजिकको लेखनलाई मान्यता दिन थालिएको छ । तथापि ऐलेको शुद्ध भनिएको नेपाली ठिकसित लेख्न संस्कृत व्याकरण समेत जान्नुपर्ने नियम यथावत् छँदैछ ।

जस्तै– वाल्मीकि, प्रशंसा, जिजीविषा इत्यादि असङ्ख्य तत्सम भनिने शब्दहरू व-ब, ह्रस्व-दीर्घ, श-ष-स इत्यादिका संस्कृतका नियमअनुसारै लेखिनुपर्ने मान्यता भएकाले शुद्धसित नेपाली लेख्न संस्कृत भाषा पनि जान्न आवश्यक देखिन्छ । त्यसैले यो कार्य  त्यति सजिलोचाहिँ छैन ।

राम्रो लेख्न सर्वप्रथम त सम्बद्ध विषयको राम्ररी अध्ययन गर्नुपर्छ । अनि पर्याप्त लेखनअभ्यास पनि गर्नुपर्छ । साथै लेखिसकेको कुरा पुनः पढेर परिष्कार गर्ने बानी पनि लिनुपर्छ । आफूलाई राम्ररी ज्ञान नभएका विषयमा पनि विना गम्भीर अध्ययन कलम चलाउने प्रवृत्तिले चर्चित लेखकहरूले पनि त्रुटि गर्ने गरेको देखिन्छ । तसर्थ पर्याप्त अध्ययन र मनन गरेपछि मात्र कुनै पनि विषयमा लेख्न उचित हुन्छजस्तो लाग्छ ।

तपाईँले लेखनको प्रेरणा कोबाट पाउनु भयो ?

– मैले लेख्ने प्रेरणा आफ्नै पिताजी शिवराज आचार्य कौण्डिन्न्यायन-(१९९७-२०७४)-बाट पाएको हूँ । उहाँका नेपाली, संस्कृत र हिन्दी भाषामा विभिन्न ग्रन्थहरू र लेखहरू नेपाल र भारतबाट प्रकाशित छन् । तिनका विषय धर्म, संस्कृति, दर्शन, कर्मकाण्ड, ज्योतिष, भाषा, व्याकरण, साहित्य, समालोचना, शिक्षा, राष्ट्रनीति, आयुर्वेद इत्यादि विविध छन् । अङ्ग्रेजी भाषामा पनि उहाँका भाषा-व्याकरणसित सम्बद्ध केही लेख प्रकाशित छन् । मेरा लेखनका विषय पनि यिनै विषयमध्ये केही हुन् ।

मेरा पितामह पण्डित कविराज नरनाथशर्मा आचार्य (१९६२-२०४५) पनि विशिष्ट कवि, समालोचक र जीवनीकार हुनुहुन्थ्यो । उहाँले लेख्नुभएका विभिन्न कृतिमध्ये “आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्र” (प्र.सं.२०१७, द्वि.सं.२०३६) नेपाली जीवनीसाहित्यमा विशेष उल्लेखनीय छ । यस ग्रन्थले भानुभक्तका नवीन १७.५ वटा फुटकर पद्य पत्ता लगाएर प्रकाशित गर्नुका साथै मोतीरामले अन्यथा वर्णन गरेका र वर्णनै नगरेका भानुभक्तका जीवनीसित जोडिएका महत्त्वपूर्ण घटनाहरूको यथार्थ र युक्तियुक्त रूपमा वर्णनसमेत गरेको छ । उहाँका कृतिबाट पनि लेख्नुपर्छ भन्ने प्रेरणा मैले पाएको हूँ ।

खाली समय कसरी बिताउनु हुन्छ ?

– मसित खाली समय प्रायः हुँदैन । तथापि लेखपढ गर्दागर्दा थाकेका अवस्थामा र केही फुर्सद भएकोजस्तो अनुभव भएका खण्डमा आफ्नै घरका बारीमा समय बिताउँछु । त्यहाँ भएका फलफूल र तर्कारीका बोटबिरुवाहरूको गोडमेल र मलजल गर्ने काम गर्दा समय गएको पत्तै हुँदैन । बारीमा काम गर्दा पनि पिताजीले बारम्बार भन्दाभन्दै कण्ठ हुन पुगेका समेत विभिन्न शास्त्रका र काव्य-साहित्यका कण्ठस्थ भैसकेका संस्कृतश्लोकहरू भाका हालेर भन्ने गर्दछु । त्यसो गर्दा अलौकिक आनन्दको अनुभूति हुन्छ ।

नेपालको साहित्यिक, भाषिक र सांस्कृतिक पत्रकारितालाई कसरी हेर्नु भएको छ ?

– नेपालमा साहित्यिक, भाषिक तथा धार्मिक-सांस्कृतिक पत्रकारिता मौलाउने राम्रो वातावरण नभएको मैले पाएको छु । त्यसैले विषयगत राम्रो ज्ञान र दक्षता भएका पत्रकार पनि दुर्लभ देखिन्छन् । राजनीतिक तथा आर्थिक शक्तिले जेजसो गर्‍यो, जता लफन्यायो त्यतै लाग्नुपर्ने स्थिति देखिन्छ । वास्तविक रूपमा स्वतन्त्र पत्रकारिता जन्मने र बाँच्ने अवस्था नै नेपालमा नभएको देख्दछु ।

कस्तो साहित्यिक तथा भाषिक पुस्तक पढ्न मन पराउनु हुन्छ ? लेखकले लेखेर बाँच्न के गर्नु पर्छ ?

– मलाई आधुनिक लेखकका कृति खासै पढ्न मनलाग्दैन । आधुनिक कथा, उपन्यास, काव्य, नाटक इत्यादिले हाम्रा धर्म, संस्कृति, दर्शन, परम्परा, मूल्य-मान्यता इत्यादिमा कुनै-न-कुनै कोणबाट प्रहार गरिरहेको देखिन्छ । तथापि त्यस्तै पुस्तक छानीछानी पुरस्कृत भैरहेका देखिन्छन् । मलाई भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौडेल, बदरीनाथ भट्टराई, चक्रपाणि चालिसे इत्यादि पुराना स्रष्टाका कृतिहरू मनपर्छन् । साथै भाषा-व्याकरणका उच्चस्तरका लेख र पुस्तक पढ्न पनि मनलाग्छ । तर त्यस्ता कृति दुर्लभ छन् ।

साहित्यकार तथा लेखकले जनसाधारणले मनपराउने स्तरीय पुस्तक लेखेर केही हदसम्म बाँच्न सक्लान् । तर नेपालका परिप्रेक्ष्यमा सम्पूर्ण रूपमा त सम्भव देखिँदैन ।  विशिष्ट पाठकले मात्र पढ्ने खालका पुस्तक लेखेर त जीविका चल्ने स्थिति हुँदैन नै । तिनलाई प्रकाशकहरूले इमानदार भएर लेखकस्व दिने गरेको पनि देखिँदैन । कतिपय प्रायोजित लेखक तथा साहित्यकारको भने स्थिति राम्रै देखिन्छ । तिनले प्रकाशकबाट लेखकस्व पनि राम्रै पाइरहेको बुझिन्छ । तसर्थ लेखक-साहित्यकारले अन्य व्यवसायबाट जीविका गरेर सोख वा कर्तव्यका रूपमा लेखनलाई अगाडि बढाउनुपर्ने अवस्था देख्दछु ।

एउटा संस्कृतिविद् तथा भाषाविद्का नाताले तपाईँले नेपालको भाषा, संस्कृति, संस्कार र राजनीतिक जगत्लाई कसरी नियालिरहनु भएको छ ?

– धर्म, संस्कृति, भाषा, शिक्षा, राजनीति यी सबै विषय राष्ट्रका निम्ति महत्त्वपूर्ण कुरा हुन् । राष्ट्र हुन केवल स्वतन्त्र भूभागले मात्र हुँदैन । त्यहाँ बस्ने समान आस्था बोकेका जनताको सर्वतोमुखी विकासका निम्ति भौतिक समृद्धि पनि आवश्यक हुन्छ । तर त्यतिले मात्र पुग्दैन, आफ्नो राष्ट्रको अनुकूल धर्म, संस्कृति, शिक्षा र भाषाको पनि जगेर्ना गर्नुपर्ने हुन्छ । राजनीतिले यी सबै विषयको संरक्षण र संवर्धन गर्ने दायित्व लिनुपर्ने हुन्छ । तर अहिलेको नेपालको राजनीति स्वतन्त्र राष्ट्रकोजस्तो छैन ।

शक्तिशाली पश्चिमा राष्ट्रका प्रभावमा आएर तिनैका सुरमा राजनीति, अर्थनीति, शिक्षानीति इत्यादि सञ्चालन गर्ने गरेको देखिन्छ । नेपालको संविधान र ऐन-कानुनसमेत विदेशीका नीतिनिर्देशनमा बन्ने गरेको कुरा सचेत नागरिकलाई अवगत नै छ । नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषित गरिएको पनि यस्तै काम गर्न सजिलो होस् भनेर नै हो भन्ने बुझिँदै छ । त्यसैले राजनीतिबाट उक्त विविध पक्षमा योगदान होला भनेर आशा गर्ने ठाउँ देखिँदैन । जनस्तरबाट प्रयास गरेर धर्म, संस्कृति, संस्कार, भाषा र विभिन्न जातिका मौलिक ज्ञान तथा परम्पराको समेत संरक्षण तथा संवर्धन गर्नुपर्ने आवश्यकता देख्दछु ।

अहिलेको साहित्यमा विचार, युग-चेतना, विश्व-परिवेश कसरी अभिव्यक्त भएको पाउनु हुन्छ ?

– अहिलेको साहित्यमा नयाँ शिक्षानीतिले शिक्षार्थीहरूमा जस्तो छाप र संस्कार दिएको छ, त्यस्तै अभिव्यक्ति आएको देखिन्छ । हावाहुरी जता बग्यो त्यतै उन्मुख साहित्य-रचना हुने गरेको छ । गम्भीर विचार र चिन्तन विरलै पाइन्छन् ।  त्यसैले युगबोध भन्दै पुराना कुरामा दोष देखाउने र नयाँ विकृतियुक्त कुरामा आकर्षित हुने प्रवृत्ति हावी हुँदै गइरहेको देखिन्छ । जस्तै भानुभक्तको वधूशिक्षालाई अत्याधुनिक उच्छृङ्खल परिवेशमा हेरेर भानुको आलोचना गर्ने अविवेकी पुस्ता हाम्रा अगिल्तिर छ ।

तथापि भौतिकतालाई नयाँ उपलब्धि मान्दामान्दै पनि त्यसबाट असन्तुष्ट भएर समेत कताकति कलम चलाइएको पाइन्छ । आध्यात्मिक चेतनायुक्त रचना पनि कताकति भेटिन्छन् । पुर्खाको गौरवमा गर्व गर्ने र तिनको आलोचना गर्ने दुई धारका लेखाइ पाइन्छन् । समुद्रमन्थन गरेर रत्न निकाल्ने काम सरल छैन ।  विवेकी हुन गारो छ, गतानुगतिक हुन सजिलो छ । तथापि थोरै व्यक्तिमा त्यस्ता दुर्लभ गुण जहिले पनि पाइन्छन् जस्तो लाग्छ ।

पुरस्कार सम्मान र समालोचनाको अवस्था कस्तो छ नेपालमा ? नेपाली भाषालाई खस्कन नदिन के गर्नु पर्ला ?

– अहिले पुरस्कार र सम्मान राजनीतिक विषयजस्तै भएका छन्, जजसको पहुँच पुग्यो जजसले प्रायोजन गर्न सके तिनैले पाउँछन्, साथै प्रायोजित विचारलाई प्रसारित गर्न सहयोग पुर्याउनेले पनि पाउने गरेका छन् । पुरस्कार र सम्मान पनि पहुँच पुर्याएर र दाताको चाकडी गरेर पाइने कुरा हुन पुगे । यसमा कतै अपवाद पनि होलान्, तर सामान्य स्थिति यस्तै देखिन्छ । तसर्थ सच्चा साधकले सम्मान र पुरस्कारको अपेक्षा नै गर्नै हैन भन्ने लाग्दछ ।

समालोचना तटस्थ भएर गर्न गारो छ । यो विधा नै यस्तै हो । कुनै विशेष आधार र आदर्शलाई लिएर त्यसको आलोकमा समालोचना गर्नुपर्ने हुन्छ । मोतीराम भट्टले भानुभक्तका काव्यको समालोचना गर्दा परम्परागत आदर्शलाई आधार मानेर भानुका काव्यमा गुणैगुण देखेका थिए । तर बालकृष्ण सम र ब्रह्मसम्सेर ज.ब.रा.ले पाश्चात्त्य रीतिथितिबाट अभिभूत भएर भानुमा धेरै दोष देख्न पुगे र भानुको आलोचना गर्न पुगे । तर तिनको आलोचनामा चित्त नबुझेर हाम्रा पितामह पण्डित कविराज नरनाथ आचार्यले परम्परागत मान्यताकै आधारमा तिनको आलोचनाको प्रत्यालोचना  गर्नुभयो ।

आजभोलिका समालोचनामा विभिन्न समस्या छन्, सन्तोषजनक स्थिति देखिएको छैन ।  एउटाले अर्काको कृतिलाई बढाइचढाइ गरेर परस्परमा प्रशंसा गर्ने प्रवृत्ति पनि व्यापक रूपमा फष्टाएको देखिन्छ । तटस्थ भएर विद्याको साधना गर्ने र तिनको उचित मूल्याङ्कन गर्ने समालोचकहरूको त खडेरी नै परेको देख्दछु ।

ज्ञान-विज्ञानका विभिन्न विधामा स्तरीय पुस्तक नेपाली भाषामा लेखेर र भाषाका लेखन-नियमलाई सकेसम्म उच्चारणअनुसार वैज्ञानिक र सरल तरिकाले लेख्न पाइने बनाएर नेपाली भाषाको महत्त्व र गरिमा बढाउन सकिने देख्दछु ।

अहिलेसम्म तपाईँका प्रकाशित र अप्रकाशित पुस्तकका बारेमा बताउनु हुन्छ कि ?

– मैले पिताजीकै पुस्तकहरू सम्पादन-प्रकाशन गर्नतिर धेरै समय दिने गरेको छु । तीमध्ये पिताजीले धेरै परिश्रम गरेर भानुकै हस्तलेखअनुसार सम्पादन गर्नुभएको भानुको जीवनी र अन्य सम्पूर्ण कृति पनि समाविष्ट भएको “भानुभक्तकृत भाषारामायण” चाहिँ नेपाली साहित्यिक पाठकहरूमा बहुप्रचारित र विशेष उल्लेखनीय छ । मेरा त प्रकाशित पुस्तक धेरै छैनन् ।

“वैदिक हिन्दु धर्मले नारीहरूलाई अन्याय गरेको छ, दमन गरेको छ र दुःख दिएको छ” इत्यादि भन्नेहरूको भनाइमा यथार्थता नरहेको कुरा “वैदिक धर्मशास्त्र र सम्पत्तिमा महिलाको अधिकार” भन्ने अनुसन्धानात्मक ग्रन्थमा मैले राम्ररी स्पष्ट पारेको छु । यो पुस्तक २०६३ सालमा साझा प्रकाशनले प्रकाशित गरेको हो । यस ग्रन्थमा वेद, स्मृति, पुराण, रामायण, महाभारत इत्यादिका वाक्य उद्धृत गरेर तिनको विवेचना गरी उक्त कुरा प्रतिपादन गरेको छु । यो ग्रन्थ धेरै अगि नै अप्राप्य भैसकेकाले यसको द्वितीय संस्करण निकाल्नुपर्ने अवस्था आएको छ । तर साझा प्रकाशनको स्थिति त्यति राम्रो नभएकाले यो काम हुन सकिरहेको छैन ।

“वैदिक यज्ञिय उपकरण र वृक्षहरू” भन्ने रत्न पुस्तक भण्डारले २०७२ सालमा छापेको मेरो अर्को ग्रन्थ हो । यसमा वैदिक यज्ञहरूमा प्रयोग हुने विभिन्न काठका सुरो, जुहू इत्यादि यज्ञपात्रहरूको अनुसन्धानात्मक परिचय सचित्र दिइएको छ । साथै त्यहाँ बर, पिपल, पलाँस, खयर, डुम्री इत्यादि धार्मिक तथा यज्ञिय वृक्षहरूको परिचय पनि वैदिक शास्त्रका उद्धरणहरू दिँदै दिइएको छ ।

शुक्लयजुर्वेदको उच्चारणशास्त्रसित सम्बन्ध राख्ने कातीय-प्रतिज्ञासूत्रको र केशवीय-शिक्षाको संस्कृत तथा नेपाली व्याख्या पनि एउटै पुस्तकमा निस्किएका छन् । भुँडीपुराण प्रकाशनले छापेका यी पुस्तक २०७२ सालमा प्रथम र २०७५ सालमा द्वितीय संस्करण तथा २०७९ सालमा पुनर्मुद्रण भएका छन् ।  शुक्लयजुर्वेदको शुद्ध उच्चारण गर्न सिकाउने यी ग्रन्थ वाराणसीको चौखम्बा विद्याभवनबाट पनि संस्कृत तथा हिन्दी व्याख्याका साथ सन् २०१५ मा प्रकाशित भएका छन् ।

वेद-वेदाङ्गोपाङ्ग-विमर्शः भन्ने अनुसन्धनात्मक ग्रन्थ गत वर्ष भुँडीपुराण-प्रकाशनबाट प्रकाशित भएको छ । यस ग्रन्थमा वैदिक वाङ्मयको विवेचनात्मक परिचय र विविध शास्त्रीय विषयसित सम्बद्ध कतिपय निबन्धहरू पनि सरल संस्कृत भाषामा प्रस्तुत गरिएका छन् । ग्रन्थको सार-सङ्क्षेप नेपाली भाषामा पनि दिइएको छ ।  यस ग्रन्थमा भारतीय प्रसिद्ध लेखकहरूका ग्रन्थमा रहेका सम्बद्ध विषयका थुप्रै त्रुटिहरूको सप्रमाण संशोधन पनि गरिएको छ ।  यो ग्रन्थ लामो समय लगाएर निष्पन्न गरिएको हो । मेरा अरू पनि केही ग्रन्थ संयुक्त लेखनमा सम्पन्न भएर प्रकाशित भएका छन् ।

बालबालिकाहरूलाई नैतिक शिक्षा दिन उपयोगी वैदिक सनातन हिन्दु धर्मसंस्कृतिशिक्षा भन्ने पाठ्यपुस्तकशृङ्खलाको लेखनमा पनि म संलग्न छु । संयुक्त लेखनमा बनेका यी पाठ्यपुस्तक बाल­साहित्यका रूपमा पनि रहेका छन् । यस शृङ्खलाका ३ भाग पुस्तक क्रमशः २०७५, २०७८ र २०७९ संवत्मा प्रकाशित भएका छन् ।

पूर्ण रूपमा निष्पन्न भएका तर प्रकाशन गर्न बाँकी कुनै पनि पुस्तक छैनन् । तर अपूर्ण वा केही परिष्कार गरेर छाप्नुपर्ने पुस्तकचाहिँ तीन-चारोटा छन् । ती यथावसर सम्पन्न गरेर छापिने नै छन् भन्ने अपेक्षा छ ।

डायस्पोरिक साहित्यका बारेमा तपाईँको धारणा के छ ?

– प्रवासी नेपालीहरूले उनीहरूकै विषयलाई समेटेर लेखेको साहित्यलाई अचेल “डायस्पोरिक” साहित्य भन्न थालिएको छ भन्नेसम्म सुनेको छु । तर यस विषयमा मैले धेरै जानकारी राखेको छैन । तथापि यस विषयलाई बुझाउन विदेशी शब्दको प्रयोग गर्नुको सट्टा नेपाली भाषाकै उपयुक्त शब्दको प्रयोग गर्नु उचित देख्दछु ।

भैरव अर्यालपछि नेपालको हास्यव्यङ्ग्य लेखनलाई कसरी हेर्नु भएको छ ?

– मैले पढेका नेपाली हास्यव्यङ्ग्य-साहित्यमा भानुभक्तकै फुटकर कविता प्रथम स्थानमा आउँछन् ।  ठुलो सुख बताएर ठुलो दुःख व्यक्त गरिएको भानुको यो श्लोक निक्कै चर्चित छ–

रोज्-रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू
रात्भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छू ।
लाङ्खुट्ट्या उपियाँ उडूस् इ सँगि छन् इन्कै लहड्मा बसी
लाङ्खुट्ट्याहरु गाउँछन् ति उपियाँ नाच्छन् म हेर्छु बसी ।।

भैरव अर्यालका हास्यव्यङ्ग्य अतुलनीय लाग्छन् । उनका हास्यव्यङ्ग्यबाट अपरिचित नेपाली साहित्यका पाठक सायदै कोही होलान् । त्यसपछि पनि यस क्षेत्रमा केही लेखक नजन्मिएका त हैनन् तथापि भैरव अर्यालका तुलनामा अरू कमजोरै लाग्छन् ।

अन्तर्राष्ट्रिय साहित्य समाजलाई यहाँले नेपाली भाषा, संस्कृति तथा नेपाली संस्कारको विरासतको संसारमा प्रचार तथा संगठन गरेको कुरालाई कसरी हेर्नु भएको छ ?

– मानवको स्वभाव यस्तै छ : नपाउँदा आधारभूत भौतिक सुख-सुविधाको आकाङ्क्षा र महत्त्व बढी नै हुन्छ र मान्छे त्यसैको परिपूर्तिका लागि दिनरात दौडन्छ । त्यो पाइसकेपछि चाहिँ त्यसको मूल्य घट्छ । अनि भाषा-साहित्यतर्फ पनि मन जान सक्छ । त्यसैले संसारभरिकै मानिस भाषा, साहित्य र संस्कृतितिर पनि प्रशस्तै लागेका हुन्छन् ।

यसै परिप्रेक्ष्यमा अन्तर्राष्ट्रिय साहित्य समाजले सञ्चालन गरेका गतिविधिलाई पनि हेर्न सकिन्छ । मुख्यतः प्रवासी नेपालीहरूका निम्ति यसले गरेका कार्यहरूले सार्थकता पाउन सक्ने देख्दछु । जुनसुकै गतिविधि गर्दा पनि आफ्नो मौलिक धार्मिक सांस्कृतिक पक्षलाई पनि महत्त्व दिन आवश्यक छ । नेपाली भाषा र संस्कृतिका निम्ति काम गर्दा संस्कृतभाषाको प्रशिक्षणलाई पनि जोड्न पाए अति राम्रो हुन्थ्योजस्तो लाग्छ ।

तपाईँलाई नेपाली भाषाविज्ञ भन्न मिल्छ ? तपाई जुनसुकै बेला पनि जुन सुकै ठाउँमा तुरून्त नेपाली तथा संस्कृत भाषाको  चर्चा गर्न सक्नु हुन्छ भनिन्छ नि के यो कुरा साँचो हो ?

– वेदका ६ अङ्गमध्येका शिक्षाशास्त्र (ध्वनिविज्ञान), व्याकरण र निरुक्त (निर्वचनशास्त्र) औपचारिक तथा अनौपचारिक रूपमा पनि पढेकाले तथा नेपाली भाषा-व्याकरण पनि पढेकाले मलाई नेपाली भाषाका विविध पक्षमा विशेष ज्ञान र विवेचना गर्न सजिलो भएको छ । साथै पिताजीले २०२४ सालदेखि “जिम्दो नेपालि भासा” नामको भाषिक अभियान चलाउनुभएकाले र त्यसका विविध सिद्धान्त पढ्न पाएकाले पनि मेरो यस विषयको ज्ञान अरू नेपाली भाषाका विज्ञहरूको भन्दा विशिष्ट र पृथक् हुन पाएको छ । मेरो नेपाली भाषाको विज्ञता यसरी नै विकसित हुँदै आएको हो । मैले भर्खरै लेखेको  “वर्णमालाबाट हटाइएका दीर्घ ई र ऊ नेपालीमा उच्चरित हुँदैनन् ?” भन्ने शीर्षकको लेखबाट पनि अरूलाई यस विषयमा मेरो ज्ञानको आकलन गर्न सजिलो होला ।

सूक्ष्म रूपमा विचार गर्दा ठुला वैयाकरण र भाषाशास्त्री मानिएका व्यक्तिहरूले पनि राम्ररी अक्षर नचिनेको बुझिन्छ । उनीहरू वर्ण (श्रुति वा ध्वनि) र लिपिको भेद थाह नपाउने, ह्रस्व, दीर्घ र प्लुत स्वरहरूको उच्चारणको भेद पहिचान गर्न र जीवन्त भाषामा तिनको पृथक् महत्त्व आकलन गर्न नसक्ने स्थितिमा रहेका देखिन्छन् ।

पिताजीले पहिलो पटक नेपाली भाषाका वर्णहरूको यथार्थ रूपमा पहिचान गरी तिनको स्वरूप “नेपाली वर्णोच्चारण­शिक्षा”मा (साझा प्रकाशन, २०३१) प्रकाशित गर्नुभएको थियो । त्यस ग्रन्थबाट लाभ लिने तर त्यसको उल्लेख नगर्ने प्रवृत्ति नेपाली भाषा-व्याकरणका लेखकहरूमा देखिएको छ ।

पहिलो पटक नयाँ कुरा लेख्ने हाम्रा पिताजीका धेरै कुरा नेपाली भाषा-व्याकरणका लेखकहरूले तथा भाषाशास्त्रीहरूले स्रोतको उल्लेख नगरी आफैँले पहिलो पटक लेखेझैँ गरेर लेखेका पनि छन् । उनीहरूको त्यस्तो अनुचित कार्यको यथार्थ चित्र जनसमक्ष ल्याउनुपर्ने भएको छ । भाषाका क्षेत्रमा भएका कामको विवरण दिनकै निम्ति पुस्तक लेख्ने लेखकले पनि यस विषयमा यथार्थ कुरा अगाडि ल्याउन नसकेपछि र अझ असत्य कुरालाई नै सत्यजस्तो गरेर प्रस्तुत गरेपछि त हामीले नै सत्य-तथ्य अगाडि नल्याइनहुने परिस्थिति खडा भएको छ । यस प्रसङ्गमा भाषा-व्याकरणका ग्रन्थहरूको इतिहास केलाएर ककसले केके कुरा पहिलो पटक जनसमक्ष ल्याएका रहेछन् र ककसले अरूले लेखेका कुनकुन कुरालाई आफूले पहिलो पटक लेखेझैँ  गरेर लेखेका रहेछन् भन्ने कुराको पनि म विवेचनात्मक अध्ययन गर्दैछु ।

मेरा निम्ति संस्कृत त झनै पुर्खेउली सम्पत्तिजस्तो हो । आदिकवि भानुका पितामह श्रीकृष्ण आचार्य संस्कृतका ठुला विद्वान् र सदाचारी उच्चकुलीन ब्राह्मण हुनुहुन्थ्यो भन्ने कुरा भानुभक्तले काशीमा आफ्नो परिचय दिन पर्दा बनाउनुभएको यस पद्यबाट पनि स्पष्ट हुन्छ–

पाहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया
खुप् उच्चा-कुल आर्यवंशि हुन गै सत्कर्ममा मन्दिया ।
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया
तिन्को नाति म भानुभक्त भनि हुम् यो जानि चिह्नीलिया ।।

श्रीकृष्णकै साइँला छोरा पद्मनाभ(शेखर)पट्टिको सन्तति आफू पनि भएकाले मलाई संस्कृत­विद्या त आफ्नो रगतमै भएजस्तो लाग्छ । त्यसमा पनि हाम्रा पिताजी विगत १००० वर्ष यता भारतवर्षमा जन्मेका विद्वान्हरुमध्ये अद्वितीय विद्वान् हुनुहुन्थ्यो । उहाँले संस्कृत वाङ्मयका वेद-वेदाङ्गादि सबैजसो प्रमुख शास्त्रको तलस्पर्शी अध्ययन गर्नुभयो र विद्याका विभिन्न विधाहरूमा विशिष्ट ग्रन्थहरू पनि लेख्नुभयो । उक्तप्रकारका विशिष्ट विद्वान् व्यक्ति आफ्नै पिताजी हुनुभएकाले उहाँबाट शिक्षादीक्षा र संस्कार पाउनाले पनि संस्कृतको शास्त्रीय विद्याहरूमा तथा तिनको अनुपालनमा सहजता हुन पुगेको स्थिति हो ।

अन्त्यमा पाठकलाई के भन्न चाहनु हुन्छ ?

– जीवन क्षणभङ्गुर छ । त्यसैले दुष्कर्म र दुराचारबाट पाइने भौतिक सुख-सुविधा पनि अनित्य र अस्थायी नै हुन्छ । यो कुरा राम्ररी मनन गरेर सत्कर्म र सदाचार गरेर नै जीवनलाई सरल रूपमा व्यतीत गर्नु सज्जनहरूको कर्तव्य हो । यसतर्फ नयाँ पुस्ताका युवाहरूको ध्यान जाओस् भन्न चाहन्छु ।