अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यकममै भानुजयन्तीको उपलक्ष्यमा भानुको तस्वीरमा माल्यार्पण गरिएको थियो । कार्यक्रमको शुभारम्भ अमेरिकी तथा नेपाली राष्ट्रिय गानबाट सुरु गरिएको थियो । कार्यक्रममा सभापतित्वको भूमिका अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष गोवर्द्धन पूजाले गरेका थिए ।

प्रमुख अतिथि मेरिल्याण्ड विधान सभाका सदस्य सांसद डा. ह्यारी भण्डारी रहेका थिए । सपथग्रहण कार्यक्रममा अनेसास बिओटीका सभापति पदम विश्वकर्मा, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, बिओटीका पूर्व अध्यक्ष डा. श्याम कार्की तथा नवनिर्वाचित अध्यक्ष सर्वज्ञ वाग्लेलाई मञ्चमा आसन गराइएको थियो ।

भानुजयन्तीको अवसरमा आदिकवि भानुभक्त आचार्यको तस्वीरमा माल्यार्पण त्यहाँ उपस्थित भएका साहित्यकारहरुले समेत गरेका थिए । कार्यक्रममा अनेसास मेरिल्याण्डको तर्फबाट बिओटीका पूर्व अध्यक्ष डा. श्याम कार्की (दीर्घ सेवा सम्मान) तथा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी (ध्रुवतारा सम्मान) लाई सम्मान गरिएको थियो ।

मेरिल्याण्डका उपाध्यक्ष मधुकर अधिकारी तथा बिओटीका उपाध्यक्ष तीर्थ पाण्डेयले सम्मान पढेर सुनाएका थिए भने उक्त सम्मानपत्र सांसद डा. भण्डारीले प्रदान गरेका थिए । त्यस्तै, अध्यक्ष गोवर्द्धन पूजाले आफ्नो कार्यकारी समितिका पदाधिकारीहरुलाई मायाको चिन्ह प्रदान गरेका थिए ।

साधारण सभा पनि रहेकोले महासचिवको प्रतिवेदन बिमला निरौला तथा कोषाध्यक्षको प्रतिवेदन राजेन्द्र श्रेष्ठले निजानन्द मल्लको तर्फबाट प्रस्तुत गरेका थिए ।

निर्वाचन समितिका संयोजक गुणराज लुईंटेलले अध्यक्ष सर्वज्ञ वाग्ले लगायत उपस्थित नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण गराएका थिए । कार्यक्रममा उपस्थित भएका नवनिर्वाचित अध्यक्ष सर्वज्ञ वाग्ले लगायत अन्य पदाधिकारीहरुले छोटो मन्तव्य राखेका थिए ।

निर्वाचन समितिका संयोजक गुणराज लुईंटेलले निर्वाचनको बारेमा छोटो चर्चा गरेका थिए भने अन्य निर्वाचन समितिका सदस्यहरु जुम मार्फत जोडिएका थिए । पूर्व महासचिव बिमला निरौला सहित नवनिर्वाचित पदाधिकारीहरुले समेत कविता वाचन गरेका थिए ।

प्रमुख अतिथि सांसद डा. ह्यारी भण्डारी, अनेसास बिओटीका सभापति पदम विश्वकर्मा, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, बिओटीका पूर्व अध्यक्ष डा. श्याम कार्कीले मन्तव्य राखेका थिए ।