ईशा शाह एक सशक्त उपन्यासकार हुनुहुन्छ । उहाँले हालसम्म तीन वटा उपन्यास ‘एउटा कथाको अन्त्य – २०४८’, ‘उजाडिएको सिउँदो – २०४९’, ‘संकल्प – २०४९’, र कथासंग्रह ‘ईशाको सिर्जना- २०७०’ प्रकाशन गरिसक्नु भएको छ ।

प्रस्तुत छ, आख्यानकार ईशा शाहसँग उहाँकाे लेखनयात्रा र डायस्पाेरिक साहित्यबारे केन्द्रित भई साहित्यपोस्टका लागि साहित्यकार एवं अनेसासका वरिष्ठ उपाध्यक्ष तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंश: 

 

आजकल तपाईं व्यस्त हुनुहुन्छ । यस्तो घडीमा अध्ययन, लेखन र पुस्तक प्रकाशनलाई कसरी समय मिलाउनु भएको छ ? 

– मानिस जतिसुकै व्यस्त भए पनि लेख्न चाह्यो भने समय निस्किन्छ । समय भन्ने कुरा आफूले व्यवस्थापन गर्ने कुरा रहेछ ।

ईशा शाह

ईशा शाह

साहित्य, दर्शन, आत्मा र प्रकृतिलाई तपाईं कसरी हेर्नुभएको छ ? जीवन के हो ?

– म चाहिँ जीवनलाई समय अनुरूप जिउनै पर्ने बाध्यता भन्छु यसर्थ जीवन जिउने क्रममा साहित्य, दर्शन, आत्मा र प्रकृतिले महत्त्वपूर्ण भूमिका खेल्छन् ।

तपाईंलाई जाँगरिलो लेखक भन्दा हुन्छ ?

– म जाँगरिलो लेखक होइन त्यसैले मलाई यो अलङ्कार नलगाउँदा हुन्छ । म अब के गर्ने भन्ने अवस्था जब आउँछ नि तब मात्रै लेखौं भन्ने अवस्थामा पुग्छु ।

पुस्तक कसरी र किन जन्माउनु भयो ? यो ऊर्जा कहाँबाट पाउनु भएको छ ?

– अब पुस्तक लेखनको कुरा गर्ने हो भने सानै थिएँ । बालसुलभ मनमा पटक पटक चाहिने नचाहिने कुराहरू आउन थाल्यो । शायद त्यो अवस्थालाई बाल्यकालको संक्रमित अवस्था पनि भनिन्छ । त्यो अवस्थामा हुँदा पुस्तक अध्ययनतिर मन गयो । पुस्तक छनौट गलत हुन पुग्यो र मनमा यत्तिको त म नि लेख्छु भन्ने हुटहुटी जाग्यो त्यसैले उपन्यास लेख्ने प्रयास गरें । फलस्वरूप २०४८ र २०४९ सालमा तीनवटा उपन्यास छापियो र २०७० सालमा साना कथाहरूको संकलन छापियो ।

साहित्य लेखन, अध्ययन, चिन्तन र मनन सबैको सन्तुलनले नै मानिसलाई उचाइमा लान्छ भन्ने कुरामा कत्तिको विश्वास गर्नु हुन्छ ? 

– पढ्न लायक र प्रेरणा दायक पुस्तक हात पर्यो भने यो सम्भव छ भन्ने कुरामा म विश्वस्त छु ।

तपाईं लेखनमा बेजोड मेहनत गर्नु हुन्छ हो ? जीवनलाई उत्कृष्ट बनाउन र उत्कृष्ट लेख्न के गर्नु पर्छ ?

– म गर्दिनँ र मेरो बिचारमा यो सम्भव पनि छैन । किनभने कतिपय अवस्थामा एउटा विषयमा लेख्न बस्यो लेखिसक्दा विषयान्तर भएको हुन्छ । उत्कृष्ट भनेको के ? म त सहज तरिकाले बाँच्नुलाई उत्कृष्टता हो भन्छु । अब रह्यो उत्कृष्ट लेखनको कुरा ! त्यो पेशेवरको काम हो साहित्यकारको काम होइन । किनकि साहित्यकारले बजार हेरेर लेख्न सक्दैन ।

खाली समय कसरी बिताउनु हुन्छ ?

– कस्तो जटिल प्रश्न ? निदाउँदा त बिना सपना निदाउन सकिंदैन भने समय खाली कसरी रहला ? पढ्ने, लेख्ने लगायत नियमित काम हुन्छ ।

तपाईंलाई गजल, गीत, कविता, कथा, नियात्रा र उपन्यास कुन मन पर्छ ? यो राम्रो लेख्न के गर्नु पर्छ ? किन ?

– मेरो कलम सबै क्षेत्रमा चल्छ तर म मेरो विधा उपन्यास हो भन्न रुचाउँछु । म लेख्छु तर साहित्यमा राम्रो भनेको के हो भन्ने कुरा मलाई अहिलेसम्म थाहा हुन सकेको छैन । म एउटा साहित्यकार भएको हिसाबले भन्नु पर्दा मेरो लेखन मलाई चित्त बुझ्नु नै राम्रो हो भन्ने लाग्छ । पाठक र बजारलाई केन्द्रमा राखेर लेख्ने लेखक साहित्यकार होइनन् ती पेशेवर हुन् जो बजार र पुरस्कारका भागी हुन्छन् ।

नेपालको साहित्यिक पत्रकारितालाई कसरी हेर्नु भएको छ ?

– साहित्यलाई बजार र पाठक समक्ष पुर्याउने काममा साहित्यिक पत्रकारिताले महत्त्वपूर्ण भूमिका खेल्छ तर सही सूचना र समालोचना हुनु पर्छ ।

साहित्यकारले लेखेर बाँच्न के गर्नु पर्छ ?

– साहित्यकारले लेखेर बाँच्न आफूलाई बजारमुखी बनाउनु पर्छ जुन सम्भव छ जस्तो मलाई लाग्दैन ।

साहित्यको मापदण्ड के हो ?

– एउटा असल साहित्यकारले साहित्य सिर्जना गर्दा आफू रहेको धरातल र देशको संविधानमा रहेको नियम कानून अन्तर्गत रहेर लेखिनु पर्छ जस्तो मलाई लाग्छ ।

एउटा साहित्यकारको नाताले तपाईं नेपालको राजनीतिक जगतलाई कसरी नियालिरहनु भएको छ ? 

– साहित्यकारभित्र मानवीय समवेदना भएको नाताले देशमा राजनैतिक विचलन आउनासाथै ऊ भित्र पनि मानसिक रूपमा विचलन आउनु स्वाभाविक हो । त्यसैले नेपाली राजनीतिले नेताहरूलाई त सहज बनाएको होला तर हामीलाई निकै असामान्य अवस्था सिर्जना भएको छ र कतिपय अवस्थामा त देशको अवस्था के होला भनेर समेत सोच्न बाध्य बनाएको छ ।

अहिलेको साहित्यमा विचार, युगचेतना, विश्वपरिवेश कसरी अभिव्यक्त भएको पाउनु हुन्छ ?

– म त व्यक्तिवादी प्रवृत्ति हाबी भएको छ भन्छु ।

पुरस्कार, सम्मान र समालोचनाको अवस्था कस्तो देख्नु भएको छ ?

– साहित्य भन्ने कुरा एउटालाई मन पर्दा अर्कोले मन पराइदिनु पर्छ भन्ने कुरा होइन । त्यसैले पुरस्कार, सम्मान र समालोचना भन्ने कुरामा फरक दृष्टिकोण रहन सक्छ । पुरस्कृत कृतिहरू पढिसकेपछि छिः के लेखेको होला भन्ने अवस्था नरहोस् भन्ने मेरो कामना हो ।

तपाईंको अप्रकाशित पुस्तकका बारेमा बताउनु हुन्छ कि ?

– कृतिको हकमा कतिपय प्रकाशककोमा थन्किएको छ । म मेरो आफ्नो लागि लेख्ने मान्छे भएकोले बजार र पाठकको इच्छा अनुरूप लेख्न सक्दिनँ कि जस्तो लाग्छ ।

डायस्पोरिक साहित्यका बारेमा तपाईंको धारणा के छ ? 

– हामी कहाँ जस्तो कामलाई भोलि भन्ने अवस्था छैन । त्यसैले लेख्न समयको आवश्यकता रहँदैन भन्ने कुरा प्रमाणित हुन्छ । व्यस्त समयका बाबजुद पनि लेख्न समय निक्लिन्छ । खुशी लाग्छ ।

कुन कुन नेपाली साहित्यकारको साहित्यिक पुस्तक हेर्नु भएको छ अहिले ?

– पछिल्लो समय मैले मोहन मैनालीको ‘मुकाम रणमैदान’ र राजेन्द्र कार्कीको ‘खाइराइड’ पढें ।

अन्तर्राष्ट्रिय साहित्य समाजलाई यहाँले कसरी हेर्नु भएको छ ?

– विदेशी भूमिलाई कर्मथलो बनाउनेहरू भित्रको साहित्यिक चेत देख्दा लोभ लाग्छ ।

लेख्नको लागि बढी कुन बेला मन पर्छ तपाईंलाई ? यसको लागि सिकारु लेखकको लागि केही सुझाव छ कि ?

– लेख्नको लागि व्यक्ति भित्र लेखकीय तत्त्व र हुटहुटी हुन आवश्यक हुनु पर्छ त्यसैले लेखनको लागि बेला आवश्यक पर्छ जस्तो मलाई लाग्दैन । कुरा रह्यो सिकारु लेखकको, म उहाँहरूलाई लेखन भनेको तपस्या हो भन्छु जहाँ प्रेम, त्याग र धैर्यता आवश्यक पर्छ ।

तपाईंले गर्नु भएको संघर्षको फल नै अहिलेको उचाइ हो ! जीवनमा संघर्ष गरेर अगाडि जान चाहनेलाई के भन्न चाहनु हुन्छ ?

– होइन र संघर्ष भनेको जीवन जिउनको लागि गरिने निरन्तर प्रयास हो । जुन साहित्यमा मात्रै होइन जुनसुकै क्षेत्रमा पनि आवश्यक छ ।

अर्को कुनै पुस्तक निकाल्ने तयारीमा हुनु हुन्छ कि ?

– लेखेर थुपारेको छु समय आएपछि निक्लिएला ।

अन्त्यमा पाठकलाई के भन्न चाहनु हुन्छ ?

– लेखकको लेखनलाई मूल्याङ्कन गर्ने सबैभन्दा महत्त्वपूर्ण पाटो भनेको पाठकहरूको पाठकीय चेत हो । तसर्थ हल्लाको भरमा नलागी यसलाई मुखरित हुन दिनु नै असल साहित्य सिर्जनाको महत्त्वपूर्ण पाटो र आवश्यकता हो । यसलाई जोगाएर असल साहित्य सर्जकलाई माया गरिदिनु होला भन्छु ।