यति बेला मौसमको उमङ्ग छ । मौसमसँगै फूलको उमङ्ग छ । सिरसिर हावाको बहावसँगै खुलेको निलो आकाश आफैमा मनमोहक छ । शिशिरको सिरेटोमा कुहिरोको घुम्टो ओढेर बसेकी प्रकृति मुसुक्क लजाउँदै आफ्नो बैँस देखाउन तम्सिएकी छन् । चिरबिर चराहरूको मिठो ध्वनिमा गुञ्जने वातावरणमा भर्खर टुसा पलाउँदै गरेका रुखका पातहरूसँग एकछिन बसेर साक्षात्कार गरिरहूँ जस्तो लाग्ने मौसमले सबैलाई लोभ्याउने बेला छ । अर्थात् यति बेला ऋतुराज वसन्त ऋतुको उत्साह छ ।
साना ठूला पार्क मानिसहरूले भरिएका छन् । बच्चाबच्चीहरू रमाइरहेका छन् । मानिसहरू आ-आफ्नो झुन्डमा साकुराको बोटमुनि बसेर मिठा मिठा परिकार खाँदै ‘हानामी’ पर्व मनाइरहेका छन् । बाटो, गल्ली, पार्क, जङ्गल र यत्रतत्र यति बेला रङ्गीबिरङ्गी साकुरा फुलेको छ । हो, यति बेला ‘जापान’ अर्थात् साकुराको देशमा ‘साकुरा’ एक प्रकारको पैयुँ फुल्ने सिजन छ ।
जापानीहरू आफ्नो जीवनलाई साकुराको जीवनचक्रसँग तुलना गर्छन् । जसरी साकुरा फूलको सौन्दर्य वर्णन गर्न नसकिने हुन्छ, तर त्यो सुन्दरता निकै छोटो समय मात्र रहन्छ र पात पलाउन थालेपछि घट्दै जान्छ । मानिसको जीवन पनि त्यस्तै हो । साकुराको फूल जस्तै निकै सुन्दर छ तर निकै छोटो । सुन्दर तर क्षणभङ्गुर जीवनको यही वास्तविकतालाई बुझेर हामीले जीवनका प्रत्येक पल बाँच्न सक्नुपर्छ भन्ने सन्देश साकुराले दिन्छ । र, जापानीहरू साकुराको सौन्दर्यमा आफ्नो जीवनको सुन्दरता समाहित गर्ने गर्छन् र सुन्दर प्रकृतिप्रति नतमस्तक भएर घरपरिवारका सदस्यहरू तथा साथीभाइहरू भेला भई अति उमङ्गपूर्ण उत्सवको रूपमा “हानामी” अर्थात् साकुरा पर्व मनाउने गर्छन् ।
प्रकृतिप्रतिको जापानीहरूको लगाव ज्यादै छ । प्रकृतिलाई नै भगवान् मान्ने उनीहरूले प्रकृतिसँग नजिक भएकै कारण लामो आयु बाँच्न सफल पनि छन् । फूल, रुख, जङ्गल, बोटबिरुवालाई निकै माया गर्छन् जापानीहरू । उनीहरूबाट सिकेको कुरा के हो भने प्रकृतिसँगको समीप्यताले हामीलाई जीवन जिउने कला सिकाउँदो रहेछ । हावासँग लय मिलाउन, आकाशजस्तै शिर उँचो बनाउन, बादल जस्तै गडगडाउन, पानी जस्तै बग्न, माटो जस्तै मिल्न, ढुङ्गाजस्तै अडान राख्न सबै प्रकृतिले नै सिकाउँदो रहेछ हामीलाई । त्यसैले त प्रकृति वास्तवमै सुन्दर छ । न कुनै स्वार्थ, न कुनै लोभ, न कुनै ईर्ष्या प्रकृतिसँग त्यस्तो केही नहुँदो रहेछ । केही गुमाउनु पर्ने र केही पाउनु पर्ने पनि नहुँदो रहेछ प्रकृतिसँग ।
भूगोलले सम्बन्धलाई टाढा वा नजिक बनाउने रहेछ । भूगोलअनुसार मानिसको रङ, भाषा, धर्म, संस्कृति र कला फेरिंदो रहेछ तर प्रकृतिसँगको साइनो वा सम्बन्ध भने नफेरिने रहेछ । त्यही प्रकृतिसँगको साइनो वा सम्बन्धले भौतिक रूपमा टाढा हुँदा पनि आफू जन्मेको, आफू हुर्केको गाउँ, ठाउँ, माटो, हावा, पानी र त्यहीको परिवेशसँग जोड्दो रहेछ । भूगोलबाट जति टाढा हुँदै गयो उति आफ्नो मातृभूमिको भूगोलसँग रमाउन मन लाग्ने रहेछ । त्यसैले त होला आज यो मन आफ्नो भौतिक शरीरलाई साकुराको शीतल छहारीमा आफैसँग राखेर प्रशान्त महासागर पारि त्यो प्यारो मातृभूमिको सम्झनामा बहकिएको छ ।
आज बाध्यताले निकै टाढा पुर्याएको छ । मातृभूमिबाट अलग बनाएको छ । आफ्नो माटोबाट सम्बन्ध विच्छेद्य बनाएको छ । तर यो मन भने यस्तो चिज रहेछ जसले त्यो जन्मथलो र त्यहाँका सम्झनाहरूलाई बिर्साउन नसक्दो रहेछ । त्यही गाउँ, त्यही कुवा, त्यही चौतारीहरूमा र त्यही डाँडापाखा र वन जङ्गलहरूमा यो मन निरन्तर घुम्दो रहेछ ।
गाउँमा दुःख भयो भनेर सुख खोज्दै शहर पसेका हामीहरूलाई सपनीमा पनि त्यही माटो, हावा, बाटो र पखेराहरूको यादले दिनरात सताउँदो रहेछ । जिन्दगीमा आँखाले देख्ने सुख भन्दा मनको सुख नै आनन्ददायी हुँदो रहेछ । सायद यो मनको सुख र भौतिक शरीरको सुख मापन गर्ने औजार फरक फरक हुन्छ क्यारे । त्यसैले त आज समय फेरिएको छ, समाज फेरिएको छ, मान्छे फेरिएका छन्, तर जन्मेर हुर्केको त्यो ठाउँ र गाउँसँगको सम्झना र सम्बन्ध कदापि फेरिएको छैन । मानसपटलमा दिगो, अविस्मरणीय र ताजा बनेर बसेको छ ।
त्यो जन्मेको माटोसँग साक्षात्कार गर्न नपाएको पनि कयौँ समय बितेछ । त्यो प्रकृतिसँग लडीबुडी गर्न नपाएको त बर्षौं बितेछ । सोच्छु गाउँमा गाईबाख्रा चराउन जाने र दाउरा खोज्न जाने त्यो वनमा पनि त साकुराजस्तै लटरम्म लालीगुराँस फुलेर राताम्मे भयो होला । बारीको छेउमा फुलेको पैयुँ र आरुको बोटले यौवन पुष्पित बैँस देखाउन नपाएर छटपटाइरहेको होला । त्यो बाटो, त्यो माटो, त्यो घर अनि त्यो आँगनले यही ज्यानको खोजी गरिरहेको होला । ऐँसेलु, काफल र तिजुले बनभरी मेरै बाटो हेर्दै होला ।
काफल पाक्यो-काफल पाक्यो भनेर गाउँदै उड्ने चरीले काफल पाकेको सन्देश गाउँभरि छर्दैछ होला । यो एक्लोपन, यो अत्यास र यो छटपटीले झन् त्यही गाउँ र त्यही गुराँसको याद दिलाउँछ बारबार । र, स्वरसम्राट नारायणगोपालले गाउनु भएको “म त लालीगुँरास भएछु, बनैभरी फुलिदिन्छु मनैभरी फुलिदिन्छु” गीतको सुमधुर आवाजमा विलीन हुँदै रङ्गीबिरङ्गी फुलेका गुराँसको फेदमा बसेर यताको हानामीमा रमाए जस्तै बाल्यकाल बेलाको ‘वनखाजा’ खाने रहर पलाउँछ ।
मलाई थाहा छ आज ती गाउँका बन र पाखाहरूमा प्रकृतिको मनमोहकतामा रमाउने मान्छेहरूको गुलजार छैन । ढुङ्गा र खरले छाएका, रातो माटो र सेतो कमेरोले चिटिक्क पारेर पोतिएका घरहरूमा आज भँगेरा र गौंथलीको गुँड लाग्न छाडेको छ । खण्डहर भएका घरहरूले आफ्नो अस्तित्व जोगाउन हामीसँगै हारगुहार गर्दै छन् । तुलसीको मठ वरिपरि बनमारा र तीतेपातीको झार लागेर झाडी बनेको छ । लैनो भैँसी, गाई र हल गोरुहरूले भरिभराउ हुने गोठहरूमा भ्यागुता र मुसाको साम्राज्य चलिरहेको छ । कुहकुहु गर्दै कराउने कोइली चरीको पीडा सुनिदिने कोही छैन । बारीमा फुलेको पहेँलपुर तोरीमा भुनभुन गर्दै भुनभुनाउने माहुरीको सङ्गीतमा रमाउने जमात आज गाउँमा छैन । त्यसैले त ती रमाइला र गुलजार गाउँहरू आज खण्डहर र उजाड बन्दै छन् ।
आज गाउँ शहर पसेको छ । शहर गाउँ पसेको छ । न ‘गाउँ’ गाउँ जस्तो बनेको छ, न ‘शहर’ शहर जस्तो । यता शहर भद्रगोल र अस्तव्यस्त छ । उता गाउँ सुनसान छ । यी र यस्तै तिता यथार्थमा उभिएर म भन्न बाध्य छु सबै थाहा हुँदाहुँदै पनि म गाउँ फर्कन किन सकिरहेको छैन ? किन त्यो प्रकृतिसँग रमाउन सकिरहेको छैन ? किन मातृभूमिको काखमा बसेर स्वच्छ हावा फेर्न पाइरहेको छैन ? उत्तर छोटो छ, किनकि बाध्यता छ । भोको पेटको बाध्यता, अभावको बाध्यता, जिम्मेवारीको बाध्यता, समयको बाध्यता र केही रहरको बाध्यता ।
तरपनि यो मनलाई भने शहर र विदेशको आलिसान सुखभन्दा त्यही गाउँको माटोको मायाले बारबार बाँधेर राखेको छ र मनमा अनेक सपनाहरू बनेर बसेका छन् । माछापुच्छ्रे हिमालको काखबाट मिर्मिरे उज्यालोसँगै छरिने घामका किरणहरू ठोक्किएर सुन्दर देखिने ती पाखापखेरा र डाँडाहरू हेर्दै घरको सिँढीमा बसेर भुटेका मकै र मोही खाने रहर छ । करेसाबारीमा मेहनतले फलाएको अर्गानिक तरकारी र ढिँडोको स्वाद लिने उत्कट अभिलाषा छ । गोधुली साँझको सिरसिर बतासमा अगेनाको छेउमा परिवारसँग बसेर लैनो भैँसीको दूध कराइमा तताउने सपना छ । नजिकैको बनमा साथीभाइहरूसँग रमाइलो गर्दै घिउ हालेको भात बनाएर ‘वनखाजा’ खाने योजना छ । र, एक दिन त्यो गाउँलाई फेरी पनि गुलजार बनाउनु छ ।
त्यसैले त साकुराको देशबाट सम्झँदै गर्दा स्वर्गीय राष्ट्रकवि माधवप्रसाद घिमिरेले रचना गर्नुभएको यो गीतले बारबार मनमा घोचिरहन्छ:
“लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो
हिमालचुली मुन्तिर पानी भर्ने पँधेरो ।
सम्झन्छु म हिउँचुली आँसुको ढिका खसाली
यो बिरानो मुलुकमा बस्दैन मन बसाली ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।