शिक्षाको महत्त्व समयक्रमसँगै बढ्दो छ । शिक्षाबिनाको समाज अन्धकार हुन्छ र किताब बिनाको समाज चेतना विहीन हुन्छ भन्ने कुरा हिजो पनि उत्तिकै सान्दर्भिक थियो र त्यो आज झन् बढेर गएको छ। “ यदि कुनै पनि देशलाई ध्वस्त बनाउनु छ भने त्यहाँ कुनै बम वा मिसाइल प्रहार गर्नु पर्दैन, केबल त्यहाँको शिक्षालाई बिगार गरिदिए पुग्छ” भन्ने एकजना विद्वानको भनाइले पनि शिक्षाको महत्त्व कति रहेछ भन्ने कुरालाई सङ्केत गर्दछ। आजको चर्को प्रतिस्पर्धात्मक जमानामा हाम्रो शिक्षा पनि अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय हुनुपर्छ। यदि त्यसो हुन सकेन भने विकासका हरेक चरणमा हामी पछाडि पर्छौ। हामी कुनै एक व्यक्ति मात्र पछाडि पर्दैनौ समग्र समाज र देशनै पछाडि पर्छ। शिक्षा गुणस्तरयुक्त र प्रतिस्पर्धी त हुनुपर्छ नै त्यसबाहेक शिक्षाले बालबालिकामा अनुशासन, नैतिकता, असल आचरण, देश प्रेम, संस्कृतिको जगेर्ना र कानुन पालन गर्ने संस्कार पनि सिकाउनुपर्छ। तब मात्र त्यो समाज वा राष्ट्र समुन्नत र संस्कार युक्त बन्न सक्छ।
वास्तवमा समाजको चेतनाको स्तर हाम्रो पठन संस्कृतिले निर्धारण गरेको हुन्छ। पठन संस्कृति निर्माणको लागि हामीले किताब पढ्ने गर्नुपर्छ। पुस्तक पढेर जति धेरै ज्ञान अन्यत्रबाट आर्जन गर्न सकिँदैन। पुस्तक कागज र अक्षरहरूको सङ्ग्रह मात्रै होइन। यो त ज्ञानको विश्वविद्यालय हो। पुस्तक हाम्रो जीवनलाई सरल र सहज बनाउने जीवन निर्देशिका पनि हो। वास्तवमा पुस्तकमा जीवन पनि हुन्छ। त्यसैले त एक प्रसिद्ध उपन्यासकार जर्ज आर आर मार्टिनले भनेका छन् “ एउटा पाठक मर्नु अघि उसले एक हजार जीवन जिएको हुन्छ र कहिल्यै नपढ्ने मान्छेले एउटै मात्र जीवन जिउँछ”। पुस्तक अध्ययनले जीवन जिउने कला मात्र सिकाउँदैन, व्यक्तिको चरित्र निर्माण गर्न पनि सहयोग गर्छ। पुस्तक पढ्ने समाज चरित्रवान्, सुसंस्कृत, सभ्य र अनुशासित हुन्छ।
एक प्रख्यात अङ्ग्रेजी साहित्यकार जोसेफ एडिसनले भनेका छन् –”Reading is to the mind what exercise is to the body” (“रिडिङ इज टु द माइन्ड ह्वाट एक्ससाईज इज टु त बडी”) अर्थात् शारीरिक तन्दुरुस्तीका लागि व्यायाम जरुरी भए जस्तै दिमागको तन्दुरुस्ती र सक्रियताको लागि पढाइ आवश्यक छ। जसरी व्यायामले हाम्रो शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाउँछ, ठिक त्यसै गरी पुस्तक पढेर हाम्रो मन मस्तिष्क स्वस्थ र आनन्दमय बन्न सक्छ। रोग होस वा भोक, फुर्सद होस वा व्यस्तता, अनुकूल परिस्थिति होस वा प्रतिकुल परिस्थिति, अभाव होस वा सम्पन्नता, धनी होस वा गरिब सबै अवस्थामा पुस्तक आनन्द, प्रेरणा र ऊर्जाको स्रोत बन्न पुग्छ।
पुस्तक अध्ययनको फाइदा वा गुणको बखान जति गरे पनि सकिँदैन । किनकि यसको फाइदा बखान गर्न नसकिने छ । तर समाजमा अहिले पठन संस्कृति हराउँदै गएको छ । पछिल्लो समय मोबाइल तथा इन्टरनेटको सहज पहुँचका कारण गाउँगाउँमा सामाजिक सञ्जाल (फेसबुक, टिकटक, अनलाइन गेम, युट्युब) को पहुँच बढ्दै जाँदा हामी सबै त्यसैमा रमाउन थालेका छौँ । केही समयको लागि क्षणिक मनोरञ्जन दिने उपकरणको प्रयोगमा लिप्त हुँदै जाँदा जीवनको मार्ग देखाउने पुस्तक पढ्ने संस्कृतिमा ह्रास आइरहेको छ । हुन त यस्ता सामाजिक सञ्जालको प्रयोग सही ढङ्गले गर्न सक्ने हो भने धेरै कुराहरूको ज्ञान हासिल हुन सक्छ र सञ्जालको प्रयोग बाट पनि आफ्नो पठन-पाठन र ज्ञानको दायरालाई बढाउन सकिन्छ तर सस्तो प्रचार, लोकप्रियता र व्यावसायिक उद्देश्यका साथ सनसनीपूर्ण तरिकाले सञ्जालमा आउने विषयहरूको बढ्दो भेलले हामीलाई त्यतै डोर्याइरहेको छ। कहिलेकाहीँ त हामी के ठिक र के बेठिक भन्न समेत छुट्टाउन नसक्ने अवस्थामा पुगेका छौ। र यस्तै कुराहरूको पछाडि लाग्दा हामी मानसिक रूपमा समेत कमजोर बनिरहेका छौ। सामाजिक सञ्जालमा रमाउँदै गर्दा हामीलाई एउटा किताब पढ्न समेत निकै अल्छी लाग्न थालेको छ।
हामी सबैले घरमा खाने खाद्यान्नदेखि लगाउने लत्ताकपडासम्म, इन्टरनेटदेखि मोबाइलमा राख्ने ब्यालेन्ससम्मका लागि नियमित बजेट विनियोजन गर्छौँ । फेरी फेरी कपडा लगाउन हामीसँग पैसा हुन्छ तर किताब खरिद गर्न हामीमध्ये कमैले मात्र बजेट छुट्टाउँछौ । किताब पनि किनेर पढ्ने हो र ? भन्ने मानसिकता हामीमा रहेको छ। घरमा अभिभावकले पनि आफ्ना बच्चाहरूको लागि पुस्तक पढ भनेर उपलब्ध गराइदिने चलन सामान्यतया छैन। तर मोबाइल वा ग्याजेट वा उनीहरूका अन्य आवश्यकता भने तुरुन्तै पुरा गरिदिने गर्छौ। एकातिर आफ्ना सन्तानलाई किताबको महत्त्व अभिभावकले दर्साउन नसक्नु वा बुझाउन सक्ने ज्ञान नुहुनु, विद्यार्थी स्वयम् पढ्न जागरूक नुहुन र विद्यालयले पनि पाठ्यक्रम भन्दा बाहिरका किताब पढ्न पर्छ भन्ने ज्ञान दिन नसक्दा किताब पढ्ने भनेको केबल कक्षा उत्तीर्ण हुने साधन मात्र हो र यस्ता किताबहरू पढ्न गाह्रो हुन्छ भन्ने मनोभावना अभिवृद्धि भएको पाइन्छ।
विद्यार्थी भनेको अध्ययन गर्ने वर्ग हो, जो नियमित रूपमा विद्या आर्जनमा लागिरहन्छ। आज तपाईँ हामीले धेरै मिहिनेत गरेर अध्ययन गर्यौ भने मात्र भविष्यमा सफल र सक्षम नागरिक बन्न सक्छौ। देशको समृद्धि र विकासमा आफ्नो महत्त्वपूर्ण योगदान दिन सक्छौ। त्यसैले हामीले पुस्तक पढ्न कहिल्यै पनि अल्छी मान्नु हुँदैन। मनोरञ्जन मानेर पुस्तक पढ्न सकियो भने पढ्दा निकै आनन्द महसुस हुन्छ। मानिसका सोचाई, विचार, आवेग वा उत्तेजना तथा संवेदनाहरूलाई बुझ्न पुस्तक पढ्नुपर्छ। पुस्तक पढ्नु भनेको केबल किताबमा भएका कुरा रटेर कक्षा उत्तीर्ण हुनु मात्र होइन। जीवनको मूल्य बुझ्न सकिएन भने क्लास फस्ट भएर मात्रै केही अर्थ हुँदैन। त्यसैले जीवनको मूल्य बुझ्न, अनुशासित बन्न तथा चिन्तन संस्कृतिको विकास गर्न पुस्तक पढ्ने गर्नुपर्छ। कहिलेकाहीँ हामीलाई निकै मानसिक तनाव तथा समस्या हुनसक्छ। यस्तो अवस्थामा पुस्तक पढियो भने तनाव बाट समेत मुक्त हुन सकिन्छ। पुस्तकले तपाईँ हाम्रो सिर्जनशील र कल्पनाशील क्षमता पनि बढाउँछ। त्यसैले नियमित रूपमा समय छुट्टाएर पुस्तक पढ्ने बानीको विकास गर्नुपर्छ। फुर्सदको समयमा पनि फेसबुक तथा सामाजिक सञ्जाल चलाउनुको साटो पुस्तक पढ्ने बानीको विकास गर्नुपर्छ।
विश्वका महान् मानिएका व्यक्तिहरू पुस्तक पढेरै महान् बनेका हुन्। उदाहरणको लागि अमेरिकाका पूर्व राष्ट्रपति अब्राह्म लिङ्कनले पुस्तकहरू निकै पढ्ने गर्थे। विश्वविख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले पनि पुस्तकलाई निकै माया गर्थे। विश्वका सबैभन्दा धनी मध्येका एक बिल गेट्सले वर्षभरिमा ५० वटा पुस्तकहरू पढ्ने गर्छन्। अर्का धनी व्यक्ति वारेन बफेटले प्रत्येक दिन ५ देखि ६ घण्टा पढेरै बिताउँछन्। उनले प्रत्येक दिन ५०० पेज बराबरको किताब वा पत्रपत्रिका पढ्ने गर्छन्। मङ्गल ग्रहमा बस्ती बसाल्ने योजना बनाएर काम गरिरहेका टेस्ला कम्पनीका सिइओ तथा विश्वचर्चित व्यक्ति एलोन मस्कले रकेट साइन्सको कल्पना र खोज पुस्तक पढेरै गरेका हुन्। उनले बच्चा अवस्थामै इन्साईकोलोपेडिया ब्रिटानिका (Encyclopedia Britannica) नामक ठुलो विश्वकोष पढेर सकेका थिए। १७ वर्षको कलिलो उमेरमै विश्व विख्यात नोबेल शान्ति पुरस्कार पाउन सफल पाकिस्तानी नारी मलला युसुफजाईले बालिकाहरूलाई राज्यले शिक्षामा अवसर दिनुपर्छ र बालिकाहरूले पनि पढ्न पाउनुपर्छ भन्ने अभियान चलाएकै कारण १५ वर्षको उमेरमा तालिबानको गोली खानु परेको थियो। उनले आफ्नो ज्यानलाई जोखिममा राखेरै भए पनि बालिकाहरूलाई पढ्न प्रेरित गरिन र अहिलेसम्म पनि बालिका शिक्षाको क्षेत्रमा लागि काम गरिरहेकी छन्। नेपालमा समेत पूर्व प्रधानमन्त्री केपी शर्मा ओली जेल जीवनमा रहँदा हजारौँ किताब पढेका थिए भन्ने कुरा उहाँले विभिन्न अन्तर्वार्ताहरूमा बताउनुभएको छ। त्यसैले नेता होस वा अभिनेता, वैज्ञानिक होस वा समाज सुधारक सबैले आफ्नो व्यस्त समयका बाबजुद पनि पढाइलाई जीवनको अभिन्न अङ्ग बनाएका हुन्छन्। त्यसैले त उनीहरू सफल छन्।
तपाईँ हाम्रो अभिभावकसँग आर्थिक अभावको कारण किताब किन्दिन सक्ने अवस्था नहुन पनि सक्छ। उहाँहरूले चाहँदा चाहँदै पनि हामीलाई चाहिएको र पढ्न मन लागेको पुस्तक किन्दिन उहाँहरूसँग पैसा नहुनु सक्छ।त्यसैले हामीले हाम्रो क्षमता बढाउन तथा अतिरिक्त ज्ञान आर्जन गर्नको लागि विद्यालयको पुस्तकालय वा सार्वजनिक पुस्तकालयको प्रयोग गर्नुपर्ने हुन्छ। विद्यालयको पुस्तकालय तथा सार्वजनिक पुस्तकालयमा प्रशस्त पुस्तकहरू भयो भने मात्र हामीले चाहेको किताबहरू रोजेर पढ्न सक्छौ। त्यसैले हामीले पढ्ने विद्यालय वा हामी बस्ने वरपर सार्वजनिक पुस्तकालय भए नभएको, भएको भए पर्याप्त किताब भए नभएको ख्याल गरेर यस्ता पुस्तकालयहरूबाट किताब छानेर पढ्ने बानी बसाल्नुपर्छ। यदि हामीले पढ्ने विद्यालयमा पुस्तकालय छैन भने विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा आफूलाई पढाउने गुरुहरूलाई विद्यालयमा पुस्तकालय निर्माण गर्न आग्रह गर्नुपर्छ। आफूले पढ्ने विद्यालयमा सुविधा सम्पन्न पुस्तकालय स्थापना गर्न आफू बसेको स्थानीय तहका पदाधिकारीहरू तथा स्थानीय सरकारलाई पनि आग्रह गर्नुपर्छ।
(नोट: विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूमा पुस्तक पढ्ने बानीको विकास भई विद्यालयको समग्र शैक्षिक वातावरण सुधार होस् भन्ने उद्देश्यका साथ मिति २०८० असार ८ गते आफ्नो जन्मदिनको अवसर पारेर मलाई उच्च शिक्षाको लागि जापान सरकारले उपलब्ध गराएको छात्रवृत्ति बापतको रकममध्ये केही रकम बचत गरी खरिद गरिएका विभिन्न विषय र क्षेत्रसँग सम्बन्धित करिब ४५ हजार रुपैयाँ बराबरका पुस्तकहरू पूर्वविद्यार्थीको हैसियतमा श्री वाग्ला मा.वि, धुर्कोट ७ गुल्मीलाई प्रदान गर्ने सन्दर्भमा विद्यालयलाई पठाएको पत्रको परिमार्जित स्वरूप ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।