कुमार सुब्बाको आकृति मेरो सामुन्ने आउँछ- दुब्लो, पातलो, छरितो शरीर अनि मधुर स्वर । उनको जीवन संगीतमा नै बित्यो । शिक्षण पेशा केही समय बिताए पनि संगीतको विकल्प देखेनन् उनले । एक प्रकारले भन्ने हो भने उनी संगीतको पर्यायवाची हुन् जस्तो लाग्छ । उनको संगीतमा जतिको आनन्द थियो उनको प्रारम्भिक जीवन त्यतिकै तिक्ततापूर्ण र कष्टमय थियो ।

कुमार सुब्बा

कुमार सुब्बा

कुमार सुब्बाको बाल्यकाल  बितेको थियो दार्जिलिङको भोटे बस्तीको नेवार गाउँमा । सानैदेखि आफ्नो दिदी भेनाजु- प्रसिद्ध साहित्यकार प्रकाश कोविदको घरमा कष्टकर जीवन बिताएका थिए । उनको यो जीवनको साक्षी अहिले पनि केही जीवित नै छन् । तर जुन ठाउँमा उनी हुर्किए त्यो ठाउँका अधिकांश मानिस शिक्षित थिए र शिक्षालाई प्राथमिकता दिन्थे । र यसको प्रभाव कुमार सुब्बालाई पनि पर्नु स्वाभाविक थियो ।

उनी बसेको ठ्याक्कै मुनि सार्वजनिक पानीको धारा थियो । पानी भर्न आउँदा उनी साथीहरूलाई गीत सुनाउँथे । सुन्नेहरूमा चर्चित रेडियो कर्मी तथा लेखिका छिमि अङ्मु भोटिया लामा पनि थिइन् । छिमि अङ्मु पनि गीत गाउनमा सोखिन भएकोले कुमार सुब्बा सँगै गीत गाउँथे । गीतहरू प्रायः हिन्दी फिल्म कै हुन्थे रे । कहिलेकाहीँ पानी ढिलो घरमा पुराउँदा उनीहरूले गाली पनि खान्थे रे ।

प्रकाश कोविदका फुपूका छोरा हुन् गायक-संगीतकार अशोक राई । नातागोताको हिसाबले गर्दा पनि अशोक राई र कुमार सुब्बा नजिक हुन स्वाभाविक थियो । त्यस ताका दार्जिलिङमा गीत संगीत प्रतियोगिता खुबै हुने गर्थ्यो । अम्बर गुरुङ र गोपाल योञ्जन दार्जिलिङमा नै थिए । शरण रञ्जित एउटा क्याम्प थियो भने कर्म गोपाल अर्को । अरुणा लामा, दिलमाया खाती यी दुवै क्याम्पको राम्रा गायिका ।

यसै बीच सत्र-अठार वर्षको ठिटो कुमार सुब्बाले भाग लिन्छ गोर्खा दुःख निवारण सम्मेलनको भवनमा आयोजित संगीत प्रतियोगितामा सन् १९६१ । स्व लाल बहादुर राईको शब्दको  ‘ए मेरी साइँली मायालु जान्न है मुगलान भागेर’  गीत श्री अशोक राईको संगीतमा गाउँछ कुमार सुब्बाले र प्रथम हुन्छन् ।  त्यही प्रतियोगितामा अरुणा लामा र दिलमाया खातीलाई प्रथम पुरस्कार दिएको थियो । इतिहास साक्षी छ ।

कुमार सुब्बालाई बृहत्तर परिचय दिए मनबहादुर मुखियाको नाटक ‘अनि देवराली रुन्छ’मा लेखिएको गीतहरूले । ए फूल चुँडेर लाने हो, सारङ्गीको तालले जस्ता कालजयी गीतहरूमा प्राण दिए कुमार सुब्बाले कर्म योञ्जनको संगीतमा । कुनै बेला यो गीत नै नाटक हो जस्तो लाग्थ्यो । तर यी गीत शुरुमा लाइभ गाउँदा दुर्गा खरेलले गाएका थिए तर पछि कुमार सुब्बाको स्वरमा रेडियो नेपालमा रेकड भयो ।

“सारंगीको तारले मेरो
मनको गीत गाउँछ
लेकदेखि बेसीसम्म 
गाइने मित लाउँछ 
राजै गाइने मित लाउँछ 

मेरो स्वरमा झोपडी र दरबारको कथा
सुनाई हिंड्छु लडाइँ र पिरतीको कथा
फूल रोए शीत हुन्छ मैल रोए गीत
खुकुरीको खिया मात्रै नेपालीको जीत
राजै नेपालीको जीत
रानीबनको डाँफे मुनालसँग झुली हिंड्छु
पहाडको डाँडाकाँडा डुली डुली हिंड्छु
सारंगीमा गाउँदै हिंड्दा मलाई माग्ने भन्छन्
नेपालीले नेपालीलाई नाचिनेझैँ गर्छन्
राजै नाचिनेझैँ गर्छन्
राजै गाइने मित लाउँछ” 

कुमार सुब्बाको स्वरको यो गीतले सम्पूर्ण नेपालीहरूको मन र मुटु छोएको थियो । अझै पनि  जादुमय आवाजको प्रभाव जारी छ ।

पछिल्लो समय कुमार सुब्बाको स्वरमा मञ्जुलको यो गीत निक्कै चर्चित भयो जसमा संगीत कर्म योञ्जन दिएका थिए:

“मेरो सानो मुरलीमा मेरो देश नअट्ला
तर मेरो मुरलीले भाखा राखूँ भन्छ
मेरो सानो मुटुभित्र मेरो देश नअट्ला
तर मेरो दश औँलाले देशै ढाकूँ भन्छ
सुनाखरी फुलूँ भन्छ सुनगाभा फुलूँ भन्छ
गुराँसको जोबन मेरो लालुपाते हाँसूँ भन्छ
वेणी र त्रिवेणी देशसँग मिलूँ भन्छ
बादलुले उडूँ भन्छ पखेरामा गुडूँ भन्छ
आकाशले अडूँ भन्दा पर्वतले बढूँ भन्छ
डाँफेचरी माथिमाथि हिमालमा चढूँ भन्छ”

कुमार सुब्बाको धेरै मर्म स्पर्शी गीतहरू छन् विभिन्न समय र सन्दर्भमा गाएका । पुरुषोत्तम प्रधानको शब्दमा, कर्म योञ्जनको संगीतमा कुमार सुब्बाले गाएको:

“मेरो जिन्दगी त्यो रात हो 
जहाँ जुन ताराहरू डुबिसक्यो, 
मरुभूमिका ती बाटिका 
जहाँ फूलहरू सुकिसक्यो ।….”

यो गीत सायद कमैले सुनेको होला । रेडियो नेपालमा सत्तरको दशकमा रेकर्ड भएको यो गीत मेरो प्रयासले गर्दा अहिले युट्युबमा सुन्न सकिन्छ ।

कुमार सुब्बाको मलाई अत्यन्त मन पर्ने गीतहरू मध्ये नोर्देन रुम्बाको शब्द र बद्री-दुर्गा खरेलको संगीतको यो गीत उत्कृष्ट लाग्छः

“आऊ बस  नजिकमा
एक क्षण बात गरौं
आज हामी तितो मिठो
मायाको बात गरौं
आऊ बस नजिकमा
भोलि फेरि यस्तै साँझ
नआउन पनि सक्छ
मायाको मस्त फूलहरू
मुर्झाउन पनि सक्छ
बरु आऊ आज हामी यो साँझको…..”  

कुमार सुब्बा हरसिङ स्कुलका शिक्षक हुँदा उनका सहकर्मी थिए अहिले चर्चित कवि केवलचन्द्र लामाका आमा मैती गुरुमा र साहित्यकार समिरण प्रियदर्शीका भाइ । शिक्षण पेशाबाट आफूलाई मन पर्ने संगीत पेशामा परिवर्तन गर्ने अवसर पाए उनले । मृदुभाषी कुमार सुब्बा मिलनसार पनि थिए । उनलाई रोगले थला पार्दा नेपालका संगीत साधक र संगीत प्रेमीहरूले सहयोग गरेका थिए । संगीत साधकले यस्तो सहयोग कमै पाउँछ । यस अर्थमा उनी भाग्यमानी पनि मान्नु पर्छ । उनी जति भारतमा चर्चित थिए नेपालमा पनि त्यतिकै थिए ।

पलेटी शृङ्खलामा कुमार सुब्बाको कार्यक्रम सम्पन्न भयो सन् २००८को मई महिनामा काठमाडौँमा । त्यही बेला उनले ईश्वर वल्लभको शब्दमा गोपाल योञ्जनको संगीतमा रचिएको गीत गाएका थिए:

“पहाड अझै सुकेको छैन है, पानी छ कतै पानी छ
बगेको खोला रुकेको छैन, जानु छ कतै जानु छ 
छाप्रोमा बत्ती निभेको छैन है, ज्योति छ अझै ज्योति छ
गीतको भाका लुकेको छैन, गाउनु अझै गाउनु छ…”

बोलको गीत गाएका थिए ।

गोपाल योञ्जनको शब्द र संगीतमा कुमार सुब्बाले गाएको यो गीत कमैले सुनेको होलाः

“म फूल थिएँ तर मेरो पराग नै थिएन
मान तिमीलाई पाउने मेरो भाग नै थिएन
ती तिम्रा न्याना ओठहरू मेरैलागि खुला थिए
ती ओठलाई सिँहार्ने मेरो आँट नै थिएन
ती खाली खाली अँजुली मलाई केही माग्दथे
ममा भने यौवन जोश, होस नै थिएन
मान तिमीलाई पाउने मेरो भाग नै थिएन
के बाँच्दथ्यौ ममा अरू कसैको आश विश्वासहरू
आफैँलाई आफैँसम्मको विश्वास नै थिएन
बजे घडी हातभरिका सुनाउँदा नै बुझाउँदा नै
तिमीसित बिताउने कुनै घडी नै थिएन
मान तिमीलाई पाउने मेरो भाग नै थिएन ।”

नेपाली संगीतमा कुमार सुब्बाको योगदानको सही मूल्याङ्कन गर्नु जरुरी छ । उनले गाएको कतिपय गीतहरू अझै पनि सार्वजनिक भएको छैन होला कतिपय प्राविधिक कारणले । कुमार सुब्बालाई सम्पूर्ण नेपाली श्रोताले सधैँ मन र मुटुमा राख्ने छ।

(शरद प्रधान भारतीय नेपाली साहित्यकारहरूको समीक्षात्मक जीवनी ‘स्मृति बिम्ब’का लेखक हुन् ।)