मोहन सुबेदीको ‘विश्वसाहित्यका केही कवि र कथाकार’
असम, भारतका बहुआयामिक साहित्यकार मोहन सुवेदीको नयाँ कृति ‘विश्वसाहित्यका केही कवि र कथाकार’ केही महिना अगाडि असम, भारतबाट प्रकाशित भएको छ ।
नेपाली साहित्यमा अन्तर्राष्ट्रिय साहित्यकारहरूको जीवनी लेख्न्ने परप्परा विसं. २०२६ मा साझा प्रकाशनबाट प्रकाशित तारानाथ शर्माद्वारा लिखित ‘पश्चिमका केही महान् साहित्यकारहरू – समीक्षात्मक जीवनी’, त्यसपछि सोही साल नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित शारदाप्रसाद घिमिरेको ‘विश्वका कविको जीवनी’ शुरू भएको थियो । त्यसपछि सन् १९८१मा राजनारायण प्रधानले दार्जीलिङबाट ‘पन्ध्र प्रसिद्ध पुरुष’ लेखेरे यो परम्परालाई अगाडि बढाएका थिए ।
‘विश्वसाहित्यका केही कवि र कथाकार’को रचना गर्भको बारेमा लेखक मोहन सुबेदी लेख्छन्, ”’हाम्रो ध्वनि’ मासिक पत्रिकाकी सम्पादिका तथा सुसाहित्यिक स्व. शान्ति थापाले एकदिन मलाई फोनमा भन्नुभयो, ‘हाम्रो ध्वनिको आउँदो अङ्कदेखि तपाईंलाई मन परेका विश्वस्तरका कवि र कथाकारहरूको बारेमा संक्षेपमा लेख्नुहोस् र यो नियमित रूपले पत्रिकामा प्रकाशित हुनेछ ।’
यो सन् २००९ तिरको कुरो हो । त्यसबेला म भर्खरै सरुवा भएर धेमाजीम कार्यरत थिएँ । मैले लगत्तै उहाँलाई केही पनि भनिनँ ।
दश दिनपछि फेरि फोन आयो शान्ति दिदीको । यसपल्टको स्वर कडा थियो, ‘खोइ त रचना चाँडै तैयार पारेर पठाउनुहोस् ।’
मलाई लाग्यो, अब नलेखी हुँदैन । समयलाई उबारेर लेख्न बसें पहिलो रचना पाब्लो नेरूदाको बारेमा । त्यसबेला मलाई मन परेका, प्रभावित पारेका विश्वसाहित्यका मूर्धन्य साहित्यकारहरूको बारेमा अझै अध्ययन गर्ने मौका मिल्यो र त्यसरी नै जन्मिएका हुन् रचनाहरू । विश्वसाहित्यका प्रभावशाली लेखकहरूको बारेमा लेखिएका रचनाहरू उहाँहरूको सम्पूर्ण जीवनी होइन । मैले मन पराएका कवि कथाकारहरूको जीवनका टुक्राटुक्री समयलाई अति संक्षेपमा प्रस्तुत गर्न प्रयास गरेको मात्र हुँ ।
विश्वसाहित्य र भारतीय साहित्यमा मन परेका साहित्यकारहरूको सूची तैयार पार्दा धेरै कुराप्रति ध्यान दिनुपर्ने हुन्छ, किनभने प्रिय लेखकहरूको सबै कृति पढ्न सम्भव छैन र पढे पनि मनपर्दो नहुने असम्भव होइन ।“
यस पुस्तकमा विश्व प्रसिद्ध १९ वटा साहित्यकारहरूको संक्षिप्त जीवनी छन् । ती साहित्यकारहरूको सूचि यस प्रकारको छः १. पाब्लो नेरूदा, २. गार्थिया लोर्का, ३. अक्टोभियो पाज, ४. टी. एस. इलियट, ५. खलिल जिब्रान, ६. नाजिम हिकमत, ७. एजरा पाउण्ड, ८. विलियम येट्स्, ९. रवीन्द्रनाथ ठाकुर, १०. लक्ष्मीप्रसाद देवकोटा, ११. युजेनिओ मोन्टाले, १२. डब्ल्यि एइच, ओडेन, १३. मायाकोस्कि, १४. लु चुन, १५. ओ’ हेनरी, १६. समरसेट मोम, १७. फ्रान्त्ज काफ्का, १९. विश्वेश्वरप्रसाद कोइराला, १९. गोगोल ।
यी लेखहरूले उनीहरूको साहित्य सृजनालाई बुझ्न सहयोग गर्ने विश्वास लिएको छु । प्रायः जसो नाम सुनेको र धेरैले पढेको साहित्यकारको जीवनी र लेखनीलाई समेटिएकोले यो विशेषगरी विश्व साहित्यकार महान् हस्तीहरूलाई बुझ्न चाहने साहित्य पिपासुहरूको निम्ति लाभदायक छ । यस सूचिमा २ नेपाली साहित्यकार परेका छन् भने भारत र चीनको एक एक परेका छन् । नोबेल पुरस्कार विजेता मेक्सिकन कवि अक्टोभियो पाज भारतमा राजदूत पनि भएका थिए ।
प्रकाशकको तर्फबाट मुक्ति लुइँटेल, मूल सचिव, पुष्पलाल स्मृति अध्ययन गोष्ठी तेजपुर, असम लेख्छन्, “भारतेली नेपाली साहित्य जगतमा कविता, गीत, कथा तथा समालोचनाको क्षेत्रमा निरन्तर लेख्न सक्ने र आफ्ना धेरै कृतिद्वारा चर्चित रहनुभएका वरिष्ठ साहित्यकार मोहन सुवेदीको नवीनतम् कृति विश्वसाहित्यका केही कवि र कथाकार’ नामको यो ग्रन्थ लिएर हामी तपाईंहरूको समक्ष आइपुगेका छौं । विश्वसाहित्यमा बहुचर्चित र बहुपठित उन्नाइस जना कवि र कथाकारहरूको संक्षिप्त जीवनीलाई खूबै रोचक तरिकाले प्रस्तुत गर्नुभएको छ यस सङ्कलनका लेखकले । यी रचनाहरू सन् २००९ बाट २०११ सम्ममा गुवाहाटी, असमबाट निस्कने ‘हाम्रोध्वनि’ पत्रिकाका विभिन्न अङ्कमा प्रकाशित भएका हुन् र ती नै रचनाहरूलाई एकत्रित पारेर यो कृति प्रकाशनमा ल्याउने प्रयास गरिएको हो । हाम्रो यस्तो प्रयासलाई कृतिकारले सहमति दिनुभएको हुनाले यो सङ्कलनलाई पुष्पलाल स्मृति अध्ययन गोष्ठी, तेजपुर, असमद्वारा प्रकाशन गर्ने आँट गौं, जसका लागि हाम्रो संस्था उहाँप्रति आजीवन कृतज्ञ रहनेछ ।“
लेखकका अन्य कृतिहरू यस प्रकारका छन्:
१. पृथिवी जसरी भोग्दैछु (कविता सङ्कलन), सन् १९८७
२. माटो, मान्छे र माया (कथा सङ्कलन), सन् १९९८
३. केही शब्द र धुवाँ (कविता सङ्कलन), सन् २००४
४. साहित्य र समीक्षा (निबन्ध सङ्कलन), सन् २००५
५. मृतकहरूको देशमा (कथा सङ्कलन), सन् २००८
६. गीतको मूर्छना (गीत मङ्कलन), सन् २०१२
७. नीलो चरो र अन्य कविता (कविता सङ्कलन), सन् २०१६
८. विवेचना र मूल्याङ्कन (समालोचना सङ्कलन), सन् २०२१
९. सुगन्धी माटो (कविता सङ्कलन), सन् २०२३
अनुवाद कृतिः
१. मोरा (मूलः मुल्कराज आनन्द), नेशनेल बुक ट्रस्ट, दिल्ली, सन् २००२
२. कविता (मूलः नीलमणि फुकन), साहित्य अकादमी, दिल्ली, सन् २०१२
प्रकाशक : पुष्पलाल स्मृति अध्ययन गोष्ठी नेपालीपट्टि, पो.अ. तेजपुर – ७८४००१
जिला : शोणितपुर (असम)
संस्करण : प्रथम, जनवरी, सन् २०२५
मूल्य : भारु २००.००
====
सिर्जनाको पखेरोमा मदन ओझा – अभिनन्दन ग्रन्थ
सन् साठीको दशकमा दार्जीलिङमा तेस्रो आयामको आगमनसँगै भारतीय नेपाली कविहरूलाई कविता लेख्न सकस भएको थियो । कारण थियो कवितामा कोरा भावुकता होइन गहनता चाहिन्छ, प्रेम होइन घनत्व चाहिन्छ उनीहरूको मान्यता । तेस्रो आयामको वकालत गर्दै कवि वैरागी काइँला विसं. २०२१ को मुकुट पत्रिकामा लेख्छन्, “आधुनिक लेखनमा ‘तेस्रो आयाम’ नयाँ सग्लो दृष्टिकोण हो । यो, त्यो बिन्दु हो जसबाट जिन्दगीलाई समग्रतामा एकैपल्ट चियाएर देख्न सकिन्छ ।
मान्छे स्वयं तीन आयामको र मस्तिष्क समेत तीन आयामको भएकाले तीन आयामबाट कम्ती आयामको तल (Surface) र रेखा (Line) समेत ‘तेस्रो आयाम’ (Third Dimension) को विरोधाभास (Contrast) को सहयोग बिना बुझ्न सक्दैन । मान्छेले प्रथमतः वस्तुको यही ‘तेस्रो आयाम’ देख्छ, बुझ्छ अनि मात्र तल र रेखा । जिन्दगीको ‘तेस्रो आयाम’ देख्नु वा भोग्नु असमर्थ हुनु एक कोषीय अमीबा र बहुकोषीय भए पनि घस्रने गँडेउलाको पक्षमा स्वभाषिक ठहर्छ; तर मान्छेको पक्षमा भने भयंकर कमी र एबनार्म जिटी ! (Abnormality) हो ।“
दार्जीलिङका कविहरू आयामबाट प्रभावित नहुने त कुरै भएन । यसबाट अछुतो रहन नसकेका कवि थिए- मदन ओझा । मोफलमा बसेर साहित्य साधना गर्ने मदन ओझाको बारेमा प्रसिद्ध नाटककार मनबहादुर मुखिया मेरो फेसबुकमा लेख्छन्, “मदन मेरा कलेजका सहपाठी हुन् । त्यतिबेला नै उनले रोशनी( सन् १९६९) , पछ्यौरी (सन् १९७० सूर्यकुमार गिरी सँग सम्पादन), चौबन्दी (सन् १९७० सूर्यकुमार गिरीसँग सम्पादन) जस्ता उच्चस्तरीय पत्रिका निकालेका थिए । एउटा साहित्य गोष्ठीमा उनको कविताले प्रथम पुरस्कार अनि लक्ष्मण श्रीमलको कविताले दोस्रा पुरस्कार पाएको थियो ।” उ
नै मदन ओझाको असमबाट सन् १९६१ देखि के.बी. नेपालीको सम्पादकत्वमा निरन्तर प्रकाशित भइरहेको ‘बिन्दु’ पत्रिकाको बिन्दु प्रकाशनबाट ७४० पृष्ठको के.बी. नेपाली र सुकराज दियालीको सम्पादनमा भिमकाय ‘सिर्जनाको पखेरोमा मदन ओझा’ प्रकाशित भएको छ । जीवनकालमा नै थोरै लेखेर यति ठूलो सम्मान पाउनुहुने भाग्यमानी साहित्यकार मदन ओझाको लेखन यात्राले ६० वर्ष काटिसकेको छ ।
उनको बारेमा डा. जीवन नामढुंग लेख्छन्, ”ओझाका कविताहरू बुझिएन भन्नेहरू पनि कम थिएनन् । तर गनगनेहरूले उनका कविताहरू किन बुझेनन् जान्ने चासो पनि राखेनन् । बरु ओझाले भने १९६२-देखि आरम्भ गरेका आफ्नो काव्ययात्रा सन् १९६२ तिर अत्याधुनिक शैलीका कविका रूपमा आफ्नो छाप राख्न सक्षम भए ।“
यस अभिनन्दनमा १ सय ३५ जनाको लेख र समीक्षा समेटिएको छ – नब्बे कटेका उपन्यासकार कृष्णसिंह मोक्तान, स्व हस्त नेचाली, अस्सी कटेका साहित्यकार नन्द हांगखिम, सत्तरी कटेका डा. जीवन नामढुंग, दलसिंह अकेला, डा. जस योञ्जन ‘प्यासी’, विणा हांगखिम, साठी केटका गीता छेत्री, साङ्मु लेप्चा देखि युवा पुस्ताका नरेश कटुवाल, कौशल्या मुखिया, दीप प्रधान आदिको लेखहरू समेटिएका छन् ।
पुस्तकमा डा. कृष्णराज घतानी लेख्छन्, “मूल रूपमा मदन ओझा भारतीय नेपाली आधुनिक प्रयोगोन्मेषी कवि, गीतकार तथा सांस्कृतिक चेतनाका वाहककै रूपमा चिनिन आउने प्रतिभा हुन् । उनको साहित्यिक तथा सांस्कृतिक क्षेत्रमा देखिएका गुणात्मक कार्यहरूलाई नेपाली भाषा-साहित्यका ममर्श तथा विद्वानहरूले यथाशक्य मूल्याङ्कन गर्ने प्रयास गर्दै आएका देखिन्छन् ।“
विनोद स्याङदेन र दावा ग्याल्मोको स्वर तथा विनोद स्याङदेनको संगीत र मदन ओझाको शब्द यो गीत सन् सत्तरको दशकमा अति नै लोकप्रिय थियो,
“केटा – संग्लो दिल प्रीतिको बोकेर
जवानी रोज्न आउँला
कल्पना मीठो गरेर
सिन्दुर पोतेले सजाउँला ।
केटी – सुनौला कल्पना खिचेर
मुटुमा प्रीत रोजौंला
बेहोशी तिम्रो मायामा भुलेर सुटुक्क ।”
सम्पादकीयमा सम्पादक लेख्छन्, “दार्जीलिङको मगरजोंग चियाबारीमा जन्मिएका मदन ओझा पेशाले शिक्षक (भूतपूर्व प्रधान अध्यापक, आले प्राथमिक पाठशाला) । उनी साहित्यमा विशेष रूपले कविता सिर्जनाबाट चिनिएका हुन् । सन् १९७० देखिको कविता सिर्जनामा लागिपरेका ओझाको आजसम्म एउटै मात्र प्रकाशित कवितासंग्रह ‘आँशुपछिका आँखाहरूले हेर्दा…’ छ । ७० को दशकमा दार्जीलिङ एवम् विभिन्न ठाउँबाट प्रकाशित हुने पत्र-पत्रिकामा उनका कविता, निबन्ध एवम् विविध लेखहरू प्रशस्तै प्रकाशित हुन्थे । उनका कविता सिर्जनामा एउटा छुट्टै शैली एवम् विशेषता पाइन्छ । लामो शीर्षक र अलिक उत्कृष्ट कविताहरू । तेस्रो आयाम लेखनदेखि प्रभावित उनका कविताहरू फरक परिपाटीमा पाइन्छन् जुन कविताहरू मदन ओझाका भनेर चिन्न गाह्रो पर्दैन । चियाबारी श्रमिकको दुःखपीडा, समाजमा देखिएका, भोगिएका असन्तुष्टिका भाकाहरू, शोषण-दमन विरुद्धमा उठाइएका आवाजहरू उनका कवितामा देखिने भावहरू हुन् । ओझाका कविताहरूमा विशेष रूपले प्रणय र प्रकृति प्रेमको भाव बाक्लो रूपमा रहेको पाइन्छ ।“
मदन ओझाले एक युगको प्रतिनिधित्व गर्छ भारतीय नेपाली साहित्यको । यो पुस्तकले मदन ओझाको कृतित्व, व्यक्तित्व र सृजनालाई बुझ्न सहज हुने विश्वास लिएको छु ।
पुस्तकको नाम : सिर्जनाको पखेरोमा मदन ओझा
सम्पादक : के. बी. नेपाली
डा. सुकराज दियाली
प्रकाशक : बिन्दु-माया नेपाली स्मृति प्रकाशन
लामडिंग ७८२४४७, असम (भारत)
मूल्य : भारु. ५००/-



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ जेष्ठ २०८३, बिहीबार 










