भारतीय नेपाली गीत- एक अवलोकन

कमल रेग्मीद्वारा सम्पादित ‘भारतीय नेपाली गीत सञ्चयन’ भाग १ र २को प्रकाशन पछि भारतीय नेपाली गीतहरूको अभिलेखिकरणको श्रीगणेश हुन्छ ।

हुन त अम्बर गुरुङले पनि सन् १९६८ मा ‘सम्हालेर राख’ गीत संग्रहमा नेपाल र भारतका गीतकारहरूको गीत संकलन गरी प्रकाशित गरिसकेका थिए तर कमल रेग्मीको चाहिं विशुद्ध भारतीय गीतकारहरूको गीत समावेश गरिएको पाइन्छ ।

आधुनिक नेपाली गीति इतिहास त्यति पुरानो नभए पनि कथ्यमा आधारित लोकगीत निक्कै पुरानो हो । नेपाली भाषाको गीत भन्दा नेपालको अन्य भाषा जस्तै नेवारी(नेपाल) भाषा, मैथिलीको गीति इतिहास लामो छ । रेकर्डिङ र प्रसारणका हिसाबले भने सेतुरामको रेकर्ड भएको भजन ‘राम प्यारा छन्’ (वि.सं.१९६५) लाई नै आधुनिक नेपाली गीतको प्रसारणमा आरम्भ विन्दु मानिएको छ ।

भारतमा भने हाजीरमान राईको ‘मिठा मिठा नेपाली गीत’ (सन् १९००) लाई मानिए पनि ती गीतहरू रेकर्डिङ भयो भएन थाहा हुन सकेको छैन । गीतले जबसम्म स्वर र सङ्गीत पाउँदैन गीत कविताको एउटा रूपमा स्थापित हुन्छ र यसलाई विभिन्न चरणमा विभिन्न नाम र उपनामले सम्बोधन गरेको पाउन सकिन्छ । यदि रेकर्डिङ नभएको इतिहास हेर्ने हो भने लहरी, सवाई निक्कै पुरानो गीति विधा हो । भारतमा नै जन्मेको गीतकारको गीत रेकर्डिङ भएको  इतिहास हेर्ने हो भने मास्टर मित्रसेन थापा माथि विद्यावारिधि गर्ने डा. खगेन शर्माको अनुसार सन् १९३६ देखि उनका गीतहरू रेकर्डिङ भएको पाउँछौं । नेपालको ऊस्ताद साहिँला र रत्नदास प्रकाश मित्रसेनको समकालीन हुन् ।  रेकर्डिङ  हिसाबले मित्रसेनलाई प्रथम भारतीय गायक रूपमा लिन सकिन्छ भने हाजीरमान राई पहिलो गीतकार ! कमल रेग्मीद्वारा सम्पादित ‘भारतीय नेपाली गीत सञ्चयन’ भाग १ र २ पछि गीतकार पुरण गिरीको सम्पादनमा ‘भारतीय नेपाली गीत’ नामक पुस्तक साहित्य अकादेमी भारतले भरखरै प्रकशित गरेको छ । यो भारतीय नेपाली गीति इतिहासको कोसेढुङ्गा मान्न सकिन्छ । यस संग्रहमा २११ गीतकारहरूको गीत समावेश भएको ।  हाजीरमान राईको ‘

सिरि न सिरि बतासै लाग्यो, सुरिलो रूखैमा

पैलेको जस्तो जोभानै छैना, के हेर्छौ मुखैमा ।

चिलाउने जेन्को हांगा र बिंगा, भातै र पकाउने

काला र टोपि खाकि र कुर्थे, तरूणि फकाउने’ गीत देखि लिएर नयाँ पुस्ताका नैना अधिकारीको गीत सम्म समेटिएको पाँउछौं यस संग्रहमा । स्थापित गीतकारहरूको केही प्रसिद्ध गीतहरू राखिएको छ भने नयाँ पुस्ताका गीतकारको एउटा मात्र राखिएको छ । यस संग्रहमा भारतीय नेपाली गीतकार भाक्सुको बहादुरसिंह बराल, मित्रसेन थापा दार्जीलिङको दलसिंह गहतराजले एउटा युगलाई प्रतिनिधित्व गरेका छन् भने अम्बर गुरूङ, हरिभक्त कटुवाल, गोपाल योञ्जन, जितेन्द्र बरदेवा, नविन वरदेवा, शरण प्रधानले अर्को युगला ई। दिव्य खालिङ, जस योञ्जन प्यासी, मदन ओझा, पावन चाम्लिङ देखि कालिसिंह रनपहेली, पुरण गिरी, कमल रेग्मी ब्राइन मोक्तान सम्मको गीतले ठाउँ पाएको छ ।   प्रसिद्ध साहित्यकार पारिजात, बानिरा गिरी, ईश्वर बल्लभ, नरबहादुर दाहाल, सानु लामा, बैरागी काँईलाका गीतहरूलाई पनि स्थान दिएको यो संग्रहमा सम्पादकले गीतको विभिन्न आयामहरूलाई विश्लेशण गरेका छन् ।

भूमिकामा पुरण गिरी लेख्छन्, “यसैले कवि, गीतकार, कथाकार आदिका रचनाहरू लिएर सङ्कलन प्रकाशित गर्दा स्थापित स्रष्टाका धेर रचनाहरू समावेश गरेर पुरानो परम्परादेखि माथि उठ्न सक्यौं भने ती मूर्द्धन्य सर्जकहरूले पाउनुपर्ने सम्मान प्राप्त गर्नेछ । हामी न्याय गर्नदेखि वञ्चित नहौं भन्ने मेरो नितान्त व्यक्तिगत विचार पोखें ।

त्यसरी नै भारतीय नेपाली गीतमा पनि अग्रज तथा स्थापित गीतकारको अन्तर्मूल्याङ्कन गर्नहेतू चारदेखि पाँच गीतहरू समावेश गरेर प्रकाशमा ल्याउने मेरो जमर्कोले कतिसम्म न्याय पाउला ? भविष्यमा विद्वान्-विदुषी सर्जकले निक्र्योल गर्लान् भन्ने कुरामा अपेक्षित रहें ।

गीतको सामर्थ्य सर्वदेशीय तथा सर्वकालिक कलामा अझ शिखरमा पुऱ्याउन सक्षम हुन्छ, यसैले साहित्यका अन्य विधाभन्दा घेर लोकप्रियता गीतले हासिल गर्छ । गीत लेखनको प्रारम्भिक चरणमै कतिपय गीतकारहरू शिखरमा पुगेका देखिन्छन् ।

भारतीय नेपाली गीतलाई कहाँसम्म समेट्न सकें त्यो विज्ञ पाठक एवम् गीतकार तथा गीतिसत संलग्न हुने महानुभावलाई म कहाँ कति चुकें औंल्याउने स्वतन्त्रता दिएर स्वस्थ सुझाव दिने विनम्र अनुरोध राखें ।

साहित्य अकादेमीका कतिपय नियमहरूले साँध-सिमानामा बाँधिनुपर्दा समावेश गर्नुपर्ने धेरै तथ्यहरू तथा गीतकारहरू छुट्टिन गएकोमा क्षमाप्रार्थी छु । यदि आगामी दिनमा यही विधामा केही कार्य गर्ने अवसर पाए छुटेका गीतकारहरूलाई अवश्य नै समावेश गर्नेछु ।”

यो पुस्तकमा खोट लगाउनु पर्ने ठाउँ कमै छ किनकि यसले पुरानो पुस्ताको मित्रसेनदेखि नयाँ पुस्ताका नैना अधिकारी अटेका छन् । ‘अनि देवराली रुन्छ नाटक’को मनबहादुर मुखियादेखि त्यही नाटकको अभिनेत्री मेनुका प्रधान अटेकी छिन् । पुरानामा चन्द्रमित लख्सम छिन् भने नयाँमा योगिता राई पनि छिन् । जातीय कवि अगमसिंह गिरीले पनि स्थान पाउनुभएको छ भने मिजोरामकी कवि लक्ष्मी ‘मिनु’ र युग गीतकार नरदेन रूम्बा ।  नेपालमा नै जन्मेर दार्जीलिङमा दिक्षित भएका ईश्वर वल्लभ र वैरागी काइँला समावेश भएका छन् भने दार्जीलिङमा जन्मेर नेपाल कर्मभूमि बनाउने पारिजात, बानिरा गिरी, अम्बर गुरुङ, गोपाल योञ्जन, दिव्य खालिङलाई पनि महत्वको साथ स्थान दिएको छ ।

अगमसिंह तामाङ ‘अपतन’ सिक्किमका प्रसिद्ध कवि एंव गीतकार हुन् । उनले लेखेका बाल गीत र भजनहरू सिक्किमको विभित्र विद्यालयमा गाइन्थ्यो भन्ने कुरा सुनेको थिएँ ।  तामाङज्युले लेख्नु भएको सिक्किम वन्दना कुनै बेला निकै चर्चित थियो ।

“सिक्किम जननी गर्छौ पुकार

गाउँछौं जय जयकार

सिक्किम माता देश प्यारा”

यही कुरालाई स्मरण गर्दै भाषा संग्रामी एवं भारतको पूर्व सांसद दिलकुमारी भण्डारी दश जुन २०२१-को आफ्नो फेसबुक स्टाटसमा लेख्छिन्, “यहाँ एउटा सत्य उजागर गर्न चाहन्छु- मैले सिक्किमको च्याखुंग जुनियर हाईस्कूल, रँगेली जुनियर हाई स्कूलपछि नाम्चि हायर सेकेनडेरी स्कूलसम्म कार्यरत रहँदा राष्ट्रगानको रूपमा बुमटार नाम्चि निवासी स्व. अगमसिंह तामाङ अपतनद्वारा रचित गीत गाउँथ्यौं ।” पछि यस गीतलाई सिक्केमेली भाषाको राष्ट्र गीतले विस्थापित गरेको र सन् १९७५ पछि भारतसँग विलय भए सँगै त्यो गीत पनि विलय भएको जानकारी दिन्छिन् दिलकुमारी भण्डारी । यो गीत पनि रख्न पाए कति राम्रो हुन्थ्यो होला ।

तिमी तिमी रहेछौ मंगले गाँउको

म पनि त त्यही गाउँ

माया लगाउ रैछौ एकै ठाउँ”

धुर्व केसीले गाएको यस गीतको गीतकार पद्मश्री स्व काजी सिंह पनि छुटेछ, दुःख लाग्यो ।

“असारै महिनामा, पानी पर्‍यो रुझाउने ।

एक्लो यो मेरो मन, कसरी बुझाउने ।

भन्थिन् है मैच्यांगले, रुँदै धरर ।

नौ डाँडा पारि छ, कम्पनी शहर । बिछोडको बेलैमा ।…”

यसका गीतकार तुलसी गजमेर पनि छुटेछन् ।  १९७४ AD सांगीतिक समूहलाई मा प्रसिद्धीको चुलीमा पुराएको गीत-

जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो
जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो” – रचियता कालेबुङको मपन परियारको गीत छुड्दा एउटा कालखण्ड छुटिएको जस्तो लाग्छ । विगत २० वर्षमा भारतबाट रचिएको सबैभन्दा प्रसिद्ध यही हो । हरिभक्त कटुवालको मेरो आँखालाई राख्ने फूलबारी छैन – गीत अम्बर गुरुङको नाम छापिएको छ । यस्लाई पनि सुधार्न जरूरी छ । गीतकार पी अर्जुन पनि छुटेछ जस्को गोर्खाल्याण्ड सम्बन्धित गीत निक्कै चर्चित छ ।

सम्पादकले आत्मालोचना गरे जस्तै यदि यो पुस्तकले दोस्रो संस्कारण देख्न पाए भने यी कुराहरू समावेश गरिनेछ भन्ने आशा गर्छु ।

पुरण गिरी मूलतः गीतकार हुन् । उनका तीनवटा गीत सङ्ग्रह ‘जिन्दगीको लयान्तर’ (सन् २००८), ‘बिम्बहरू’ (सन् २०१६), ‘लिरिकल पुरण गिरी इन ट्रान्सलेशन’ (मनप्रसाद सुब्बाद्वारा अङग्रेजीमा अनूदित, सन् २०१८), ‘चन्द्र-सूर्यको प्रेमकथा’ (गीतिकाव्य, सन् २०२०) र ‘मर्मको मिठास’ (सन् २०२२) प्रकाशित छ ।

पुस्तकको नाम : भारतीय नेपाली कविता

सम्पादक : पुरण गिरी

प्रकाशक : साहित्य अकादमी, दिल्ली

पहिलो संस्करण : २०२४

मूल्य : भारु ५०० ।

‍= = = =

‘दियालो’को ऐतिहासिक अंक

सन् १९२४ मा स्थापना नेपाली साहित्य सम्मेलन दार्जीलिङले नेपाली साहित्यको उत्थानको निम्ति जे जति काम गरेका छन् त्यस्को तुलना कुनै अरू संघसंस्थासँग गर्न सकिन्न । १०१ वर्ष भयो, अझै पनि सक्रिय छ साहित्यिक गतिविधिमा, वर्तमान परिस्थिले गतिमा केही सुस्तता ल्याए पनि यो जीवन्त छ, चलयमान छ । राय साहेव हरिप्रसाद प्रधानको (नेपालको प्रधान न्यायाधीश) अध्यक्षतामा गठन भए पनि यस्लाई अघि बढाउने मुख्य व्यक्तिहरू थिएः सूर्यविक्रम ज्ञावाली, धरणीधर कोइराला र पारसमणि प्रधान( सूधपा) ।  नेपाली साहित्य सम्मेलनको प्रथम कार्यसमितिको अध्यक्ष थिए हरिप्रसाद प्रधान, उप–अध्यक्षमा धरणीधर कोइराला, मन्त्री द्वयमा पारसमणि प्रधान र सूर्य विक्रम ज्ञावाली ।  सुधपाको सुत्रपात हुनमा पनि नेपाली साहित्य सम्मेलनको ठूलो योगदान छ । यी तीनै व्यक्तित्वहरूको आफ्ना आफ्नै मौलिक विशेषता थियो । धरणीधरको जागरण कविता, पारसमणिको व्याकरण र पाठ्य पुस्तक, अनि सूर्यविक्रम ज्ञावालीको इतिहास लेखन, समालोचना र सम्पादन । नेपाली साहित्य सम्मेलनले एक शतक पूरा गरेको अवसरमा यसको मुखपत्र दियालोले शतवार्षिकी विशेषाङ्क प्रकाशित गरेको छ । विगत ६५ वर्षदेखि निरन्तर प्रकाशित भइरहेको दियालोले हाँगो १५५लाई यो विशेषाङ्कको स्वरूप प्रदान गरेको छ । डा. जीवन नामदुंगको प्रधान सम्पादकत्व एंव प्रेम प्रधान र डा. चन्द्रकुमार राईको सम्पादकत्वमा प्रकाशित यो अंकमा अत्यन्त संग्रहणीय छ ।

सम्पादकीयमा जीवन नामदुंग लेख्छन्, “सम्मेलन स्थापना भएको सय वर्ष पुग्यो भने यस संस्थाको मुखपत्र दियालो प्रकाशन भएको पैंसठ वर्ष पुग्यो । १९५९ को नोभेम्बर महिनादेखि प्रकाशन आरम्म भएको ‘दियालो’ ले गई महिना २०२५ मा पैंसठ वर्ष पूरा गरेको अनि एक सय पचपन्न हाँगोको रूपमा दियालो शतवार्षिकी विशेषाङ्क प्रस्तुत गरिरहेका छौं । नेपाली साहित्य सम्मेलन र दियालो-सित जो जो सम्बन्धित छन् उहाँहरूलाई दियालोको प्रकाशनमा आएको तथा आइरहने अवरोधहरूबारे बताइसन पर्दैन तर जसले दियालो नियमित रूपमा हेर्दैनन्, उहाँहरूका लागि ‘दियालो’ विभिन्न हाँगोहरू पठनीय छन् अनि हाँगो १ सय ५४ को सम्पादकीय अझ उल्लेखनीय छ । भारतको राष्ट्रिय स्तरको साहित्यिक संस्था साहित्य अकादेमीले विगत केडी वर्षदेखि यसो अकादेमीद्वारा मान्यताप्राप्त प्रत्येक भारतीय साहित्यका चयनित रचनाहरूलाई लिएर ‘रचना सञ्चयन शीर्षकको साहित्य श्रृङ्खला (Series) को प्रकाशन शुरू गरेको छ । यसो गर्नाले प्रत्येक भाषाका साहित्यकारहरूका राम्रा रचनाहरू हराएर जाँदैनन् अनि ती रचनासित त्यस भाषाका लेखक पनि बाँचिरहन्छन् । साहित्य र साहित्यकारहरूलाई बचाउने यो एउटा अनुकरणीय पदक्षेप सर्वभारतीय साहित्यमा नै अहिले ज्यादै लोकप्रिय बन्दै गइरहेछ । पत्रिकाले लेखक जन्माउँछन्, प्रेरणा पनि दिन्छ, धेरथोर पारिश्रमिक पनि दिन्छ, तर पत्रिकाले पुस्तक प्रकाशित गरिदिँदैन । पुस्तक प्रकाशित नभएपछि जस्तै राम्रा, प्रतिभाशाली र लगनशील लेखकहरू पनि बिलाएर जान्छन् । हाम्रो साहित्यमा यस्ता अनेक उदाहरण छन् ।

‘दियालो’ ले यस्तो हुन नदिन हाम्रा सर्जक र तिनका सिर्जनाहरू हराएर नजावोस् भन्नाखातिर ‘दियालो रचना सञ्चयन’ प्रकाशन गर्ने निधो गरेको छ । यस्तो भयावह त्रासदीबाट हाम्रा सर्जकहरूलाई केही मात्रामा भए तापनि राहत होस् भन्ने आशयले ‘दियालो’ मा पहिलेबाटै प्रकाशित रचनाहरूलाई पुनर्प्रकाशन गर्दै सञ्चयन गरेका हौं । ठोस, मानक र ऐतिहासिक महत्त्वका महान् साहित्यिक ग्रन्थहरूको प्रकाशन गर्ने भौतिक पूर्वाधार तथा बौद्धिक प्राज्ञिक ग्रन्थहरू प्रकाशन गर्ने उद्देश्य रहँदारहँदै सम्बन्धित उद्देश्य र सरोकारका रचनाहरू यथासमय प्राप्त हुन नसक्दा हामीसित जेजस्ता र जति रचना उपलब्ध भए ती साहित्यिक सामग्री यस हाँगोमा समावेश गरेका छौं । साहित्यिक रचनागत श्रेष्ठताको मानदण्ड पनि सर्वकालिक नभएर समसामयिक हुँदछन् भन्ने तथ्यलाई पनि ध्यानमा राख्दै ‘दियालो’ मा पूर्वप्रकाशित कतिपय रचनाहरूलाई यस हाँगोमा पुनर्प्रकाशित गरेका छौं ।”

सम्पादकीयमा उल्लेख गरे अनुसार नेपाली साहित्य सम्मेलनले ‘दियालो रचना सञ्चयन’ को चार भागमा प्रकाशित गरिसकेको छ ।

दियालोको यस अंकमा भारत र नेपालको गरी २३ जना लेखकको खोजमूलक लेखहरू प्रकाशित भएका छन्  नेपाली साहित्य सम्मेलन र दियालोको गतिविधिहरूले पनि स्थान पाएका छन् । अधिकांश लेखहरू नेपाली भाषा, साहित्य र नेपाली साहित्य सम्मेलनलाई योगदान दिने व्यक्तित्वहरूमा केन्द्रित छन् । नेपाललाई प्रतिनिधित्व गर्दै ७ जनाले लेखेको छन् र प्रायःजसो लेख्नेहरूले नेपाली भाषाको पुरानो स्वरूपलाई मान्यता दिनुपर्छ र भाषा  बिगार्ने कसैलाई अधिकार छैन भन्ने विषयलाई जोड दिएर लेखेका छन् । उक्त अंकमा प्रकाशित लेखहरूको फेहरिस्त यस प्रकारको छः

१.     नेपाली साहित्य सम्मेलन अनि पारसमणि प्रधान / उदय मणि प्रधान

२.     नेपाली साहित्य सम्मेलन, बार्जीलिङको सङ्क्षिप्त पृष्ठभूमि / डा. नरेशचन्द्र खाती

३.     भारतीय नेपाली साहित्यमा ‘नेपाली साहित्य सम्मेलन पत्रिका को योगदान / डा. मोहनप्रसाद दाहाल

४.     भाषा बचाउने संघर्षमा दार्जीलिङ र नेपाल / रोचक घिमिरे

५.     नेपाली साहित्य सम्मेलनका त्रिरत्नहरू / राजबहादुर राई

६.     तत्सम शब्द सानो विवेचना / डा. तुलसी भट्टराई

७.    अनुवाद साहित्यमा नेपाली साहित्य सम्मेलनको योगदान / डा. इन्द्रबहादुर छेत्री

८.     प्रत्येकजातिलाई सभ्यतातिरको यात्रापथ देखाउने उज्यालो नै भाषा रहेछ /

डा. गोविन्दराज भट्टराई

९.     भाग्सूमा नेपाली भाषा र साहित्यको गतिविधि / लक्ष्मीनारायण प्रधान ‘मधुप’

१०.   वर्तनीको विवाद र ‘नेकशुले-२०६९’ / शरच्चन्द्र वस्ती

११.   ‘दियालो’ को सन्दर्भमा भारतीय नेपाली/गोर्खालीहरूको उत्थान विन्दु पहिल्याउँदै मुहानसम्म पुग्न खोज्दा… / केदार गुरुङ

१२.   बृहत्तर नेपाली शब्दकोशको कहानी / चूड़ामणि गौतम

१३.   रामलाल अधिकारी व्यक्तित्व पनि कृतित्व पनि /थीरूप्रसाद नेपाल

१४.   देवनागरी लिपि शास्त्रीय परिपूर्ण अनि वैज्ञानिक सिद्ध / पं० गम्भीर राई ‘अग्निहोत्री’

१५.  सन्दर्भ डायस्पोराः भारतीय गोर्खा डास्पोरा होइनन् / ज्ञानबहादुर छेत्री

१६.   नेपाली साहित्य सम्मेलन भारत-नेपालको मितेरी साँघु शरद प्रधान

१७.  उत्तर पश्चिमाञ्चलको नेपाली लोक साहित्य / उदय ठाकुर

१८.   मणिपुरमा नेपाली भाषा साहित्य / भवानी अधिकारी

१९.   असम र दार्जीलिङका दुई सपूत विष्णुलाल उपाध्याय र शिवकुमार राईको साहित्यिक तथा सामाजिक अवदानः एक तुलनात्मक अध्ययन /खेमराज नेपाल

२०.   दिल्लीमा नेपाली साहित्यिक गतिविधिको इतिहासः एक अध्ययन / जे०के० बराईली

२१.   डुवर्सको नेपाली साहित्यको सर्वेक्षण र विश्लेषण / मननारायण प्रधान

२२.   लेख्य नेपाली भाषामा देखिएका समस्या र तिनको निराकरण / कुमारप्रसाद कोइराला

२३.   नाट्यभूषण ओमनारायण गुप्त / डा. जीवन नामदुंग

 

भारतीय नेपाली साहित्यको उन्नयनमा दियालोले खेलेको भूमिका उल्लेखनिय छ । यस पत्रकिका माध्यमबाट धेरैले आफ्नो गरिमामय साहित्यिक यात्रा शुरू गरेका छन् । यस अवसरमा दियालोको पहिलो सम्पादक मण्डललाई श्रद्धापूर्वक सम्झनु पर्छ ।

१. इन्द्रबहादुर राई : हाँगो १ देखि हाँगो २१ सम्म

२. गणेशलाल सुब्बा : हाँगो १ देखि हाँगो २१ सम्म

३. देवकुमारी सिंह : हाँगो १ देखि हाँगो २१ सम्म

४. भानुभक्त कुमाई : हाँगो १ देखि हाँगो २१ सम्म

५. वीरविक्रम गुरुङ : हाँगो १ देखि हाँगो २१ सम्म

६. तुलसीबहादुर छेत्री : हाँगो १ देखि हाँगो २१ सम्म

उँहाहरूले जग बसालेको दियालो अहिले नेपाली साहित्यलाई मार्गनिर्देशन गर्ने दियालो भएको छ । दियालोले प्रयोग गरेको भाषा नेपाली साहित्यको मानक भाषा हुन् । नेपालबाट भाषाद्रोहीहरूले वर्तमानमा विवाद निकालेर भाडभैलो मचाएता पनि भारतबाट दियालोले जुन अडान लिएको छ यो प्रंशसायोग्य छन् । डा. जीवन नामदुंग, प्रेम प्रधान र डा. चन्द्रकुमार राई यस महत् कार्यको साधुवादको पात्र हुन् ।

 

पुस्तकको नाम : दियालो शतवार्षिकी विशेषाङ्क

प्रधान सम्पादक : डा. जीवन नामदुंग

सम्पादकगण : प्रेम प्रधान र डा. चन्द्रकुमार राई

प्रकाशक : नेपाली साहित्य सम्मेलन, दार्जीलिङ

संस्करण : वर्ष ६०, हाँगा : १५५ -२०२५

मूल्य : भारु ३०० /