सन् १९३६ कलकत्तामा जन्मनु भएको राजनारायण प्रधान चर्चित साहित्यकार हुनुहुन्छ । विविध विधामा कलम चलाउनु भएको उहाँ विशेष गरी समालोचकका नाममा चिनिनुहुन्छ । प्रधान नेपाली र अंग्रेजी दुवै भाषामा उत्तिकै दख्खल राख्ने बौद्धिक अगुवा हुनुहुन्छ । दार्जिलिङ मात्र होइन पूर्वोतर भारतका लाखौं नेपालीभाषीमाझ प्रधान सर्वाधिक पढिने साहित्यकार हुन् ।

उनका ‘नौ नामी नेता (फिचर), पन्ध्र प्रसिद्ध पुरुष (फिचर) १९६८’, ‘केही कृति केही स्मृति (१९७३)’, ‘पैँतिस प्रसिद्ध पुरुष (१९८३)’, ‘दश महान् नाटक-अध्ययनहरू (१९८३)’, ‘केही अनुहार केही झलक (१९९५)’, ‘एउटै धरती एउटै आकाश (१९९६)’, ‘विश्वविख्यात व्यक्तिहरू (२००३)’, ‘एउटा आइतबार यसरी बित्यो (निबन्ध) २००४’, ‘विश्वका दश महान् नाटक-अध्ययनहरू (२००५)’, ‘पन्चै बाजा बजाउँदै (कथासङ्ग्रह)’, ‘अङ्ग्रेजी-नेपाली शब्दकोश (१९९३)’, दार्जिलिङ डायरी,  नेपाली व्याकरण आदि प्रकाशित छन् । पारसमणि पुरस्कार, भानुभक्त पुरस्कारबाट सम्मानित राजनारायण प्रधानको असी वर्षको उमेरमा बिहिवार १९ नोभेम्बर २०१५ दार्जिलिङमा निधन भएको हो ।

प्रस्तुत छ, वरिष्ठ साहित्यकार राजनरायण प्रधानसँग साहित्यपोस्ट अंग्रेजी विभागका विशेष सम्पादक शरद् प्रधानले लिनुभएको एउटा पुरानो अन्तर्वार्ता ।

 

साहित्यतर्फ अग्रसर हुने प्रेरणा तपाईंले कहाँबाट अथवा कोबाट पाउनु भयो ?

– सानैदेखि कृतिहरू पढ्ने गर्थें । बिस्तारै ममा लेख्ने इच्छा जागेको थियो ।

लेखेर मात्र पनि हुँदैन, त्यसलाई प्रकाशित गर्नु लेखकको मुख्य कर्तव्य हो, अर्को प्रश्न तपाईंको कुन रचना सर्वप्रथम कुन पत्रिकामा प्रकाशित भयो ?

– मेरो एउटा निबन्ध ‘साहित्य’ धेरै अघि शायद १९५५ तिर भारतमा छापिएको थियो ।

भानुभक्त पुरस्कारद्वारा तपाईंको कृति सम्मानित भएकोले तपाईंलाई समालोचकको रूपमा बढी मात्रले स्वीकार गरे । पुरस्कार प्राप्ति सम्बन्धमा तपाईंको प्रतिक्रिया के छ ? अनि पुरस्कृत कृति माथि तपाईंको के धारणा छ ?

– भानुभक्त पुरस्कारको निम्ति एउटा पद्धति छ । धेरै लेखक-लेखिकालाई सर्वश्रेष्ठ पुस्तक चयन गर्न अनुरोध गरिन्छ । यस वर्ष बहुसंख्याले मेरो कृतिलाई मनोनीत गरेका थिए । पुरस्कार पाउँदा खुशी लाग्नु त स्वाभाविक नै हो । यो पुस्तक लेख्न मैले झण्डै तीन वर्ष गालें । यसमा मैले पाश्चात्य नाटकहरूको विकास पथ अंकित गर्न चाहेको थिएँ यसमा ट्रेजेडीको विशद विवेचना गर्न चाहेको छु । ट्रेजेडीको बदलँदो रूप, यसको आकृति-प्रकृति खिच्ने प्रयास गरेको छु ।

वर्तमान नेपाली समालोचनाको उपलब्धिका प्रमुख बुँदा के हुन् ? 

– नेपाली समालोचकको क्षेत्रमा नयाँ हस्ताक्षरहरू देखिँदै छन् । यो क्षेत्र समृद्ध नै छ भन्नु पर्‍यो ।

सायद लाग्छ तपाईंको समसामयिक कालमा नै आयामेली साहित्यिक आन्दोलन शुरु भएको होला । प्रश्न छ, तपाईंको धारणा र समालोचकीय दृष्टि यस आन्दोलनप्रति कस्तो छ ?

– साहित्य हल्का-फुल्का भयो र यसमा अब गहिराइ हुनुपर्छ भन्ने केही साथीहरू थिए- तीमध्ये इन्द्र दाइ, बल्लभ र काइँला हुन् । साहित्यमा त्यहीँ गहिराइ दिन खोजिएको हो आयामिक लेखनमा । साहित्यमा जुनै लेबल लगाए पनि आखिर साहित्यमा सधैँ अध्ययन गरिने जीवन नै हो ।

तपाईंले हास्य-व्यङ्ग्यमा पनि निकै प्रतिष्ठा पाउनुभएको सबैलाई विदित नै छ । वर्तमान नेपाली हास्य-व्यङ्ग्य बारेमा आफ्नो धारणा कस्तो छ ?

– नेपाली ‘हास्य-व्यङ्ग्य समृद्ध नै छ, लाग्छ । दार्जिलिङमा अच्छा राई, प्रेम थापा, हीराकुमार सिंहहरू यस क्षेत्रमा निकै सफल थिए । अहिले नेपालमा भैरव अर्याल, रामकुमार पाँडे र केशवराज पिंडालीहरू यस क्षेत्रमा निकै माथि छन् । तर हास्य-व्यङ्ग्य समय र स्थानले सीमित पारेको हुन्छ ।

प्रश्नकर्ता साधारण पाठकवर्ग र युवा विद्यार्थी समूहबाट आएको छ । धेरै नै अन्योलमा छ किन तपाईं अहिले (वर्तमान) विशेष पश्चिमे साहित्य सिद्धान्त र मान्यतासित संलग्न हुनुहुन्छ (त्यो विषय पुरस्कृत कृतिले नै प्रस्ट गर्छ) र हालमा नेपाली समालोचनातर्फ कम रुचि दिएको (कम आकृष्ट) भएको महसुस वा प्रतीत हुन्छ । यस विषयमा तपाईंको निश्चय केही ठोस धारणा वा व्यक्तिगत विचार हुनुपर्छ ।

– यो प्रश्न मलाई अरूले पनि गरेका हुन् । अरू भाषाको साहित्यमा पाश्चात्य साहित्यको विषयमा विवेचना गरेकै हुन्छ । साहित्यको उचाइ थाहा पाउनुलाई पाश्चात्य साहित्य नै हेर्नु पर्छ । नेपाली समालोचनामा मेरो रुचि कम भएको होइन । मेरो प्रथम समीक्षात्मक पुस्तक ‘केही कृति केही स्मृति’ प्रकाशित भएको हो । हालमा नेपाली उपन्यासहरूको अध्ययनमा लागेको छु र एउटा समीक्षात्मक कृति लेख्ने विचार गरेको छु ।

साहित्यको क्षेत्रमा तपाईंको कृतिको प्रोत्साहन पाउनु भएको छ ?

– साहित्यको क्षेत्रमा प्रशस्त प्रोत्साहन पाएकै हुँ । सर्वप्रथम पुस्तकलाई प्रकाशमा ल्याउन प्रकाशक चाहिन्छ । प्रकाशकको उत्साहले नै कृतिहरू छापिएको हुन् ।

जीवन र साहित्य सम्बन्धमा तपाईंको कस्तो दृष्टि छ ?

– साहित्यमा अध्ययन गरिने जीवन नै हो ।

आफ्ना कृतिहरूमध्ये कुन चाहिँ तपाईंलाई श्रेष्ठ लाग्छ ?

– सबै लेखकलाई आफ्ना सबै कृतिहरू मन पर्छन् । मेरा कृतिहरूमा विशेष गरी केही कृत्ति यही स्मृति, दश महान् नाटक अध्ययनहरू र पैँतिस प्रसिद्ध पुरुष मन पर्छ ।

समालोचकको हैसियतमा तपाईंलाई कुन कृतिहरू (कथा, कविता, उपन्यास) नेपाली साहित्यमा उत्कृष्ट लाग्छ ?

– नेपाली साहित्यमा उपन्यास विधा नै समृद्ध छ जस्तो लाग्छ !

अन्तिम प्रश्न दार्जिलिङ नेपाली साहित्यको गतिविधि बारेमा तपाईंको धारणा ?

– दार्जिलिङमा साहित्य गर्नेहरू धेरै छन् । प्रत्येक वर्ष धेरै पुस्तकहरू छापिन्छन् । कतिपय कृतिहरू उच्च श्रेणीका छैनन् होला । तैपनि पुस्तकहरू प्रकाशमा आउनु नै शुभ लक्षण हो ।

(यो अन्तर्वाता सन्त जोसेफ कलेज, दार्जीलिङको मुखपत्र नर्थ पोइन्टर- को सन् १९८४-८५ अंकमा प्रकाशित भएको थियो ।)