
अभिव्यक्ति पत्रिकाका संस्थापक सम्पादक तथा साहित्यकार नगेन्द्रराज शर्मा र सञ्चारकर्मी तथा साहित्यकार शरद् प्रधान दार्जीलिङमा सम्मानित भएका छन् । शर्मा र प्रधानलाई दार्जीलिङमा नरपूर्ण साहित्यिक गुठीले सम्मान गरेको हो ।
गुठीका संरक्षक एनबी क्षेत्री र साहित्यकार प्रेम प्रधानले सम्मानित स्रष्टाद्वयलाई दोसल्ला र ताम्रपत्रका साथमा सम्मान गरेका हुन् ।
सो कार्यक्रममा वरिष्ठ साहित्यकार डा. गीता क्षेत्रीद्वारा लिखित दृश्यानुभूति (विविध विधाको रचना सङ्गालो) र डा. नकुल क्षेत्रीद्वारा सम्पादित भारतीय नेपाली साहित्यको सय वर्ष शीर्षकका पुस्तकहरू लोकार्पण गरिएका थिए ।
सम्मानित व्यक्तित्व नगेन्द्रराज शर्मा, समाजका संरक्षक पवन आलोक, अध्यक्ष श्रीओम श्रेष्ठ”रोदन”, महासचिव देविका तिमिल्सिना तथा सम्मानित व्यक्तित्व शरद् प्रधानसहितले कार्यक्रमलाई सम्बोधन गरे । कार्यक्रममा नेपाल स्रष्टा समाजका साहित्यकारहरूलाई पनि अतिथिको रूपमा सम्मान गरिएको थियो ।
आयोजक संस्थाका तर्फबाट लोकार्पित कृतिका स्रष्टाद्वय डा. गीता क्षेत्री, डा. नकुल क्षेत्री, कृतिका परिचर्चाकार डा.राजकुमार क्षेत्री, डा. सानु लेप्चा र डा. कमला तामाङले बोलेका थिए ।
कार्यक्रमको सभापतित्व एन. बी क्षेत्रीले गरेका थिए भने सञ्चालन स्रष्टा कमल रेग्मीले गरेका थिए ।
नेपाली साहित्यकारको टोलीमा शर्मा, आलोक, रोदन, तिमिल्सिनाका अतिरिक्त चेतनाथ कँडेल “हरित”, प्रकाश घायल, तारा सुवेदी, डा. शान्तिमाया गिरी, शंकर भारती, मधु पाठक तथा माधव बिडारी ” चेतनपथ”लगायतको सहभागिता रहेको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

