इतिहास विजेताहरूको मात्रै लेखिँदै आएको छ । शासकले लेख्ने इतिहासले त्यस बखतको समाजलाई न्यायपूर्ण ढङ्गले चित्रण गरेको हुन्न । इतिहासमा किनाराकृत वर्गले केवल फुटनोटमा स्थान पाँउछ, कतिपयलाई त्यो पनि भाग्यमा जुर्दैन तर सन् साठीको दशकमा विश्वव्यापी रूपमा पुनर्लेखन गर्नुपर्छ भन्ने धेरै आवाज उठ्यो । यस्को फलस्वरूप सामाजिक इतिहास (Social History) लेख्ने परम्परा सुरु भयो । यो लेखनमा गैर-आख्यानमा मात्र सीमित नभएर सूक्ष्म रूपमा आख्यानतिर पनि प्रवेश गरे । भारतमा रामचन्द्र गुँवाले मोहनदास करमचन्द गान्धीलाई केन्द्रबिन्दु बनाएर भारतको इतिहासको पुनर्लेखनको थालनी गरे अनि सफलता पनि पाए । यसै गरी उनले क्रिकेटको इतिहास र इतिहासले भुलेको एक जना विदेशी भेरियर इलविनको विवेचनात्मक जीवनी पनि लेखे । यही परम्परालाई पछ्याउँदै नेपाली साहित्यमा पनि केही प्रयोगात्मक पुस्तकहरू आख्यान र गैर आख्यानमा प्रकाशित गरेको छ जसले इतिहासको गर्वमा लुकेका तितो सत्यहरूलाई उजागर गरिदिएको छ चाहे त्यो दासत्वको होस वा सती प्रथाको हो । अथवा राणाकालीन विभेदपूर्ण नीति वा पञ्चायतको बेलामा भएको ज्यादती होस् । यस्तै केही प्रयोग केही समयदेखि भारतीय नेपाली साहित्यमा पनि देखा परेका छन् । सन् १९८६ मा गोर्खाल्यान्ड आन्दोलन ताका यस्तै चर्चामा थिए भागीरथ रावतको ‘बाँस सल्किरहेको छ’ उपन्यास । यो उपन्यासले केही तहल्का मच्चाए पनि त्यो इतिहासको कति नजिक थियो त्यसको मूल्याङ्कन भयो भएन मलाई थाहा हुन सकेन ।

केही समय अगाडिदेखि गोर्खाल्यान्ड आन्दोलनलाई विषयवस्तु बनाएर केही उपन्यासहरू दार्जीलिङ र कालेबुङ  प्रकाशित भएको छ जसमा छुदेन काविमोको उपन्यास ‘फातसुङ’ र लेखनाथ क्षेत्रीको उपन्यास ‘फुलाङ्गे’ ले मदन पुरस्कारमा मनोनित हुने सौभाग्य पनि पाए तर आन्दोलनलाई महिलाको दृष्टिकोणबाट कमैले लेखेको होलान् । नलेखेको चाहिँ अब भन्न मिल्दैन कारण मुन्नु गौतमाको उपन्यास ‘पर्वत सोमरा र गोम्बेहरू’ ले नेपाली साहित्यमा प्रवेश गरिसकेको अवस्था छ । मुन्नु गौताम लेखनमा नौलो नाम नभए पनि यो फरक धार र शैलीको उपन्यासलेखनमा भने उनी नयाँ हुन् । माथि उल्लिखित दुई उपन्यास पढ्ने अवसर अहिलेसम्म जुरेकाले छैन यसैले मुन्नुको उपन्यासलाई तुलनात्मक समीक्षा गर्न असमर्थ छु तर उनले उठाएको विषय, समय-सन्दर्भ, शैलीमा केही विमर्श गर्न चाहन्छु ।

पृथक् शैलीमा लेखिएको यो उपन्यास पढ्दा कुनै दार्जीलिङको (अहिले त कालेबुङ पनि जिल्ला भयो) सङ्घर्षको इतिहासजस्तो लाग्छ जो सन् १९८१ मा दार्जीलिङको चोकबजार (तल्लो बाटाको अगाडि) पुलिसले गोली चलाउँदा दुई विद्यार्थीहरू शहीद भएकोबाट सुरु हुन्छ । ती दुईमध्येमा एक थिए होनाहार चित्रकार कृष्ण सुब्बा जसले मत्स्येन्द्र प्रधानको सन् १९८५मा साहित्य अकादमी पुरस्कार प्राप्त गरेको उपन्यास नीलकण्ठको आवारण चित्र बनाइदिएको थियो । उनी कँराते खेलाडी भएकाले पुलिसलाई दह्रो प्रतिवाद देखाएको चर्चा यत्रतत्र नसुन्ने कमै होला । पछि नगरपालिको भवनमा चलेको लामो न्यायिक जाँचमा गोली हान्ने र आदेश दिनेले सफाइ पायो तर मर्नेहरूले न न्याय पाए न क्षतिपूर्ति ।  यो प्रसङ्ग लेखिकालाई निकै झस्काएको छ किनभने यो घटना दुई-तीनपल्ट उठाएकी छिन् उनले । यो उपन्यासले विशेष गरी भुईँमान्छेको कुरा उठाएको छ जो इतिहासमा कहीँ उल्लेख गरिएको हुँदैन । न त उनीहरूको योगदानलाई कदर गर्छ । जनताले भोगेको दुःख दुवै तर्फबाट (प्रशासन र उग्र आन्दोलन) को जीवन्त वर्णनले आङ नै सिरिङ्ग हुन्छ । सिआरपिफले अमानवीय अत्याचारदेखि लिएर आन्दोलनकारीबाट शङ्काको भरमा निर्दोष मारियो कथालाई कलात्मक ढङ्गले बुनेको छ ।

शरद् प्रधान

मुन्नुको शैलीको त म फ्यानै बनेँ । एक ठाँउ उनी लेख्छिन्, “भूभागको मागमा तर विस्तारपछि अर्थको अधिकार पनि बढेको थियो जब सिमाना साथै सपना पनि खुम्चिन पुग्यो ।” घुमाउरो तरिकाले आफ्नो कुरा राख्न सक्नु मुन्नुको विशेषता हो । अङ्ग्रेजी विषयमा स्नातकोत्तर गरेकी मुन्नुमा ठेट नेपाली भाषाको प्रयोग पाउनु आफैँमा सुखद अनुभूति हो । भूभागको सपनालाई कसरी भुईँमा हिँड्ने मान्छे भुईँ छोडेर गाडीमा हिँड्न थाले भन्ने कुरा ‘जुँगे मोची भैया’ उपशीर्षक लेखमा प्रतीकात्मक रूपमा प्रस्तुत गरेकी छिन् । “बिस्तारै स्थिति सामान्य भयो तर अब खुट्टाको आवाजभन्दा बढी गाडीको कर्कश हर्न सुनिन थालियो क्षण-क्षणमा । ग्राहक घटे उलाहा केटाहरूसमेत आउन छाडे । मानिसहरूको स्थिति साँच्चै सुध्रियो र एक रुपियाँमा चप्पल-जुत्ता सिलाएर लगाउने चलन नै हरायो । थोत्रिएपछि घुइँक्याउने प्रथा बस्यो । सबैको साझा सपनाको बाटो हिँड्न छाडेर अगुवाहरू छलाङ लगाउने भएपछि सानाहरू पनि सबै उड्न थाले । अब हिँड्नै छाडेपछि जुत्ता फाट्ने र खिइने त कुरै आएन । भुईँमान्छेलाई भित्रैबाट चिन्ने भैया भुईँबाट माथि उठ्नै सकेनन् । तिनका फुच्चा ग्राहकहरू पनि सबै उँभो लागे । तिनीभन्दा पछि आएका तिनकै सम्बन्धीहरूले कालेबुङ बजार ओगटे । घरगाडी किने, उन्नति गरे । तिनी भने बसेकै ठाउँबाट कुन समय उच्छेद भए कसैलाई थाहै भएन ।”

उपन्यासमा ‘म’ पात्रलाई पनि उपयुक्त स्थान दिएको छ । उपन्यासमा ‘म’ मात्रको प्रेम प्रसङ्ग, परिवार, बिहे र अरू पारिवारिक कुराहरूको बेलीबिस्तारले चर्चा गरिएको छ । उनीबाटै सबै घटनाहरूलाई सुविस्तार तरिकाले वर्णन गरेको छ । कालेबुङमा गोली चलिसकेपछिको ह्रदयविदारक दृश्यको वर्णनले पाठकलाई सन् १९८६ मा पराउँछ । यो उपन्यासले गोर्खाल्यान्ड आन्दोलनको औचित्यमाथि नै प्रश्न उठाएको छ र यस्ले निम्ताइएको अराजकताले ल्याएको असन्तुलित समाजलाई राम्ररी प्रतिबिम्बित गरेको छ । कुनै समय नाइट सो हेरेर कोसौँ टाढा निर्धक्क घर फर्कने मान्छेहरू आन्दोलनपछि छ बजेभित्र घर पुग्ने हतारोलाई सायद आन्दोलनले ल्याएको नकारात्मक परिवर्तनको एउटा सूचक मान्न सकिन्छ । यो त केवल यौटा विम्ब हो असुरक्षाको, त्रासको, पलायनवादको ।

मुन्नुको उपन्यासले  आन्दोलनमा विस्थापित भएकाहरूको निर्वासित जीवनलाई चिहार्न भ्याएछन् ।  नायकमध्येका एक पर्वतमार्फत उनले भुटानी शरणार्थीहरूले देश  छोड्नुको पीडा र पर्वत आफ्नै मुलुकमा निर्वासित हुनुको मानसिक तनावको राम्ररी चित्रण गरेका छन् ।  खड्केको कुरा के हो भने यो उपन्यासमा पढ्दा कतै-कतै आख्यानभन्दा गैर आख्यानको बाहुल्य भेटिनु, मुख्य पात्रहरू उपन्यासमा निकै पछि मात्रै देखा पर्नु र म पात्रको स्पष्ट भूमिका नदेखिनु ।

गोर्खाल्यान्ड आन्दोलनले भारतीय नेपालीलाई गोर्खाको परिचय दिन सफल भए पनि मूलभूत समस्या यथावत् छ । भरखरै सरकारी जागिरका निम्ति बङ्गला लेख्न पढ्न जान्नुपर्छ भन्ने पश्चिम बङ्गाल सरकारको अध्यादेश यो पुष्टि हुन्छ । लेखिकाले उठाएका कतिपय विषयहरू राजनीतिमा लागेकाहरूलाई पाच्य नभए पनि आमजनतालाई भने पक्कै आफ्नै कथाजस्तो लाग्छ । आम मान्छेले बोलिने भाषालाई जस्ताको त्यस्तै उतारेका छिन मुन्नु गौतमले ।  शिक्षण पेसामा आबद्ध भएकाले होला प्रत्येक विषयलाई सूक्ष्महरूमा विश्लेषण गरेकी छिन् । मुन्नु गौतम कालेबुङबाट प्रकाशित हुने माया, नारी प्रधान पत्रिकाको कुशल सम्पादक हुनुका साथै कृतिमुक्त संवाद ( लेखसङ्ग्रह)-का लेखिका पनि हुनुहुन्छ ।