भारतीय नेपाली भाषामा वर्तनीको मानकीकरण- ऐतिहासिक दस्तावे‍ज

अस्तित्व बचाउन भाषा र संस्कृतिको धेरै आवश्यकता छ ।

बालकृष्ण सम लेख्छन्,

“भाषा हो सभ्यता हाम्रो सारा उदय उन्नति

जीव वैभव भाषामै बाँच्दछन् पछिसम्म यी ।

तर भाषालाई झर्रो, प्रविधियुक्त र सरल बनाउने निहुँमा नेपाली भाषाको मानमर्दन गर्ने खेलका केही नायक, महानायकहरू पञ्चतत्त्वमा विलीन भइसक्यो तर नेपाली भाषाले त्यो दुःख अहिले पनि भोगिरहेको छ । बालकृष्ण पोखरेल र तारानाथ शर्मा आदिले सार्वजनिक रूपमा आत्मालोचना गरे पनि उनीहरूलाई आदर्श मान्नेहरूले वितण्डा मच्चाइरहे । फलस्वरूप नेपालमा सर्वोच्च अदालतले भाषा बिगार्ने अधिकार सरकार, विश्वविद्यालय वा प्रज्ञा प्रतिष्ठानलाई छैन भन्ने आदेश आए पछि केही मत्थर भए पनि बिग्रिएको भाषा पढेर अध्ययन पूरा गरेका पिँढीलाई पुरानो लयमा ल्याउन केही समय पक्कै लाग्नेछ ।

तर नेपाली भाषाको प्रयोग व्यापक रूपमा  नेपाली भाषी भारतीयहरूले पनि गर्ने हुनाले यसले उता पनि अन्योल सृजना गरे र गरी पनि रहेको छ अहिले पनि । नेपालमा जनताले प्रतिबन्ध लगाएको शब्दकोशको अहिले पनि उतातिर खोजी खोजी पढिरहेको तथ्य सार्वजनिक भएको छ । नेपाली भाषाले भारतको संविधानमा त स्थान पाए तर भाषाको मानकीकरणमा जुन अन्यौलता सृजना भएको छ त्यही कारणले उताका भाषाप्रेमी र बुद्धिजीवी जुरमुराउन बाध्य भए । यसको नेतृत्व गरे एक शताब्दी पूरा गरेको नेपाली साहित्य सम्मेलन दार्जीलिङले । सन् २०२२मा प्रकाशित ‘भारतीय नेपाली भाषामा वर्तनीको मानकीकरण’ नामक पुस्तक यसको उपज हो ।

पुस्तकको सम्पादकीयमा लेख्छन्, “सय वर्षको सँघारमा पुग्न लागेको नेपाली साहित्य सम्मेलन, दार्जीलिङले धेरै सामाजिक, साहित्यिक र प्राज्ञिक दायित्वहरूको रचनात्मक भूमिका र दायित्वहरूको निर्वाह गर्न बाँकी नै रहेको तथ्य सर्वविदित सत्य र अकाट्य तर्कमा आधारित वास्तविकताहरू हुन् । वास्तविकता सधैं कठोर, तीतो र कतिपल्ट त अनौठो पनि हुन्छ, तर योजना र कल्पना गरे जस्तो सहज, सरल, सुन्दर र अपेक्षित नहुन पनि सक्छ । सय वर्ष पुग्न लागेको सम्मेलनको कार्य योजना र परिकल्पनाको सन्दर्भमा पनि यही कठोर वास्तविकता बाधक र साधक दुवै भएर हाम्रो सामु उपस्थित छ । सय वर्ष अघिका साहित्यिक पुरोधाहरू साहित्यिक विरासतका रूपमा आफ्ना पछिल्ला पुस्ताहरूलाई हस्तान्तरण गर्दै आएका दायित्वहरू धेरै र विविध भए तापनि लेख्य भाषाको एकरूपताबारे आफ्नो अडान स्पष्ट गर्ने विषयबारे सम्मेलनका संस्थापक सूधपाहरूकै समयदेखि अहिलेसम्म पनि अनेक होइन एक रहिआएको छ ।

हाम्रो जाति, समाज र राष्ट्रलाई जोड्ने भाषाजस्तो संवेदनशील विषयलाई व्यावहारिक बनाउने बहानामा, जसलाई जे मन लाग्यो त्यही प्रचार गरेर पाठकहरूलाई भ्रममा पार्ने अभियान चलाउनुभन्दा नेपाली भाषाको हिज्जे (वर्तनी) बारे गम्भीर रूपमा सोचेर बहस गर्ने, आ-आफ्ना अमूल्य विचार लिपिबद्ध रूपमा हामीमाझ सार्वजनिक गरेर जाने कतिपय दिवङ्गत र कति जना हामीसितै उपस्थित लेखकहरूका मतमतान्तरलाई यस पुस्तकमा समावेश गरी पाठकसमक्ष राख्न पाउँदा ती कतिपय दायित्वहरू एउटा दायित्वको निर्वाह भएको ठानेका छौं । मोबाइलले मान्छेलाई सञ्चालन र नियन्त्रण गरिरहेको यो रुखो र निरपेक्ष समयमा आत्मीय अभिवादन र सम्बोधन आदानप्रदान गर्ने, नजिकिएर भेटघाट र भलाकुसारी गर्ने, अन्तर्क्रिया गर्ने र बेमतलबको कुरा गर्ने समय अहिले कसलाई छ र !”

भाषा बिग्रनुको चिन्ता जति नेपालमा थियो त्यतिकै भारतमा पनि हुनु स्वाभाविक थियो । नेपालमा त अदालत थियो र अङ्कुश लगाइदिए तर भारतमा त त्यसो गर्न सम्भव थिएन । यसैले त्यहाँका सबैभन्दा जेठा साहित्यिक संस्था नेपाली साहित्य सम्मेलन अग्रसर हुनु स्वाभाविक थियो । यही सिलसिलामा साहित्य अकादेमी र नेपाली साहित्य सम्मेलनको आयोजनामा नेपाली भाषाको वर्तनी (हिज्जे) विषयको एकरूपताबारे दुई दिवसीय (२९-३० अप्रेल २०१७) सङ्गोष्ठी सम्पन्न भयो र सङ्गोष्ठीको विषय थियो ‘भारतीय नेपाली भाषामा वर्तनीको मानकीकरण (Standarization of Indian Language)। त्यो सङ्गोष्ठीमा प्रस्तुत भएको कार्यपत्र र वर्तनीको विषयमा विभिन्न कालखण्डमा लेखिएका लेखहरूलाई संकलन गरी प्रकाशन गरिएको हो । यस पुस्तकले भारतीय नेपाली भाषालाई एउटा दिशानिर्देश गरेको छ ।

भारतमा पनि अहिले भाषाको विषयलाई लिएर केही अध्येताहरू दुई धारमा उभिएका छन् । तर यो नौलो कुरा होइन । नेपाली भाषाको एकीकरण विषयलाई लिएर पारसमणि प्रधान र शिवराज शर्माको मतमतान्तर भएको कुरा पुराना लेखहरूमा पढ्न सक्छौं । डा. जीवन नामदुङ, प्रेम प्रधान, डा. चन्द्रकुमार राई, डा. वीणा हा‌ङ्खिम, गोपीचन्द्र प्रधान र मेघमणि दाहालको सम्पादकत्वमा प्रकाशित यो पुस्तकमा २६ वटा पठनीय र मननीय लेखहरू समाविष्ट छन् ।

संयोजकको सम्बोधनमा  साहित्य अकादमी, दिल्ली, नेपाली भाषा परामर्श समितिका पूर्व संयोजक प्रेम प्रधान लेख्छन्, “साहित्य अकादेमीले नेपाली भाषालाई भारतको आधुनिक भाषाका रूपमा मान्यता दिनअघि कतिपय दस्तावेजहरू मागेको थियो । तीमध्ये भारतीय नेपाली भाषा साहित्यको छुट्टै इतिहास, व्याकरण र वर्णविन्यासको थियो । वर्णहरूमा पञ्चम वर्णको अनिवार्यता नै सबैभन्दा ठूलो शर्त थियो । भारतीय माटोको इतिहास, सुगन्ध अनि संस्कृतिसँग सम्बन्धित दस्तावेजलाई मात्र अकादेमीले स्वीकार गरेर साहित्य अकादेमीले नेपाली भाषालाई भारतको आधुनिक भाषाका रूपमा मान्यता दिएको हो ।

वर्तमानमा नेपाली भाषाको हिज्जे अनि पञ्चम वर्णमाथि भएको दृष्टि र भद्रगोलले मान्यता र व्यावहारिक शब्दहरू भत्काइएको छ, भाषाको सौन्दर्यलाई हटाएर हत्या गर्ने कोशिश गरिएको छ । यो हावा नेपालबाट चलेकोले त्यसको गन्ध यता भारतीय नेपाली भाषामा पनि फैलिन थालेकोछ । हाम्रा कतिपय विद्वानहरूले पनि नेपालमा आएको द्वन्द्वात्मक अनि विवादास्पद हावालाई आत्मसात् गर्न थालेकोले हामी सबैलाई चिन्ता लाग्नु स्वाभाविकै हो अनि अझ भाषाका विद्यार्थीहरू अन्योलको स्थितिमा छन् ।

साहित्य अकादेमीको उद्देश्य अनि मानक र सिद्धान्तअनुरूप भाषाको बिग्रिँदो स्थितिलाई मध्यनजर राखेर ‘भारतीय नेपाली भाषामा वर्तनीको मानकीकरण’ विषयक सङ्गोष्ठी आयोजन गर्ने आवश्यकता महसूस भएकोले अकादेमीले यस विषयमा सङ्गोष्ठी गर्ने औपचारिक निर्णय लिएको हो । यदि हामीले अकादेमीले दिएको मापदण्ड र मानकको सम्मान गरेनौं भने कुनै समयमा पनि नेपाली भाषाको मान्यता अकादेमीले खारिज गर्नसक्छ ।”

नेपाली भाषाको स्वरूपमा परिवर्तन भएमा साहित्य अकादमीले मान्यता खारेज गर्न सक्ने सम्भावनालाई मध्यनजर राखेर यो सङ्गोष्ठी आयोजना गरेको प्रष्ट पारिएको छ । उक्त पुस्तकमा समावेश भएका लेखहरू यस प्रकारका छन् :

१.    भारतीय नेपाली भाषा-साहित्यमा अन्य भारतीय भाषाको प्रभाव – प्रा. सुजाता रानी राई

२.   भारतीय नेपाली भाषा र नेपालको भाषा : तुलनात्मक दृष्टि -प्रा. नवीन पौड्याल

३.   भारतीय नेपाली भाषामा वर्तनीको मानकीकरण – असीत राई

४.   भारतीय नेपाली भाषामा ड़, ढ़ तथा पञ्चमवर्णको प्रयोगको आवश्यकता – डा. खेमराज नेपाल

५.   भाषाको मानकीकरणमा हाम्रो भाषिक भूगोल- लोकनाथ उपाध्याय चापागाई

६.  भारतीय नेपाली भाषाको उच्चारण भेद र अर्थ सङ्केत- अर्जुन प्रधान

७.   नेपाली भाषामा मानकीकरणको आवश्यकता- मिलन बान्तवा

८.   वर्णमाला में नेपाली साहित्य सम्मेलन का अपना अड़ान -कर्ण थामी

९.  भारतीय नेपाली भाषाका विशेषताहरू – प्रा. गङ्गाप्रसाद शर्मा (भट्टराई)

१०.  नेपाली लेखनमा स्वर वर्ण र व्यञ्जन वर्ण – डा. गोकुल सिन्हा

११. अनधिकृत हस्तक्षेपको सकस- शरच्चन्द्र बस्ती

१२. भाषा डुबाउने खेल – शरच्चन्द्र बस्ती

१३. शरच्चन्द्र बस्तीसित अन्तर्वार्ता

१४. किन यति निरङ्कुश ? – डा. गोविन्दराज भट्टराई

१५. भाषिक विमर्शको ऐनामा हाम्रो भाषा -लोकनाथ उपाध्याय चापागाईं

१६. नेपालीमा हिज्जेका समस्याहरू – डा. तारानाथ शर्मा

१७. विवादास्पद वर्णविन्यास खारेज

१८. आफ्नो निजी अस्तित्व गुमाइरहेका केही नेपाली वर्ण : एवम् ध्वनिचिन्ह – महानन्द पौड्याल

१९. ड़ र ढ़ को अस्तित्वमा सङ्कट

२०. सम्पादकीय (दियालो)- चन्द्रकुमार राई

२१.  व्ठ व्ळ्ह देखि ड़, ढ़ सम्म- डा. इन्द्रबहादुर राई

२२. भाषा बाटो पक्रिने बेला – शरच्चन्द्र बस्ती

२३. हिज्जेको खेल लेख्ने जति फेल! – शरच्चन्द्र बस्ती

२४. नेपाली भाषाका एकपाखे युवाहरूको सत्प्रयास नेपाली लेखन शैली – शिवराज शर्मा

२५. भाषिक भाँडभैलोको विपक्षमा – हरि अधिकारी

२६. नेपाली पाठ्यक्रम विषय फेरबदल आवश्यक-  हेमन्त प्रधान, कमल राई

भाषा हाम्रो अमूर्त सम्पदा हो अनि यसको संवर्द्धन गर्न हाम्रो दायित्व हो । जसरी मूर्त सम्पदाको स्वरूप फेरिंदा कुरूप हुन्छ त्यही नै भाषाको स्वरूप परिवर्तन हुँदा विरूप देखिन्छ । भाषा संसारभरि बोलिने नेपालीहरूको साझा सम्पत्ति हो, यो कसैको लहडीमा आएर जथाभावी  अवाञ्छनीय कार्य गर्ने छुट कसैलाई छैन चाहे त्यो विश्वविद्यालयको प्राध्यापक होस् या भाषाशास्त्री । यो पुस्तकमा भएका सबै कुरा यहाँ चर्चा गर्न सम्भव छैन । पुस्तकले पुरानो वर्तनी नै प्रयोग गर्नु पर्छ भनेर पैरवी गरेका छन् र यो जायज पनि हो । विश्वका पुराना भाषा जस्तै जर्मनी, फ्रेन्च, फारसी, अरबीले जति नै कठिन भए पनि आफ्नो पुरानो स्वरूप छाडेका छैनन् । उच्चारण गर्न कठिन भयो, लेख्न कठिन भयो भनेर परिवर्तनको नाममा भाँडभैलो मच्चाउनु कदापि जायज होइन । यसप्रति नेपाली साहित्य सम्मेलनले लिएको अडान स्तुत्य छ । सबैले दियालोले अनुसरण गरेको वर्णविन्यासलाई नै मानक मानेर लेख्नु पर्छ भन्ने मेरो व्यक्तिगत मान्यता छ ।

 

पुस्तकको नाम : भारतीय नेपाली भाषा वर्तनीको मानकीकण

सम्पादक मण्डली : डा. जीवन नामदुङ, प्रेम प्रधान, डा. चन्द्रकुमार राई, डा. वीणा हाङ्ङ्खिम, गोपीचन्द्र प्रधान, मेघमणि दाहाल

प्रकाशक :  नेपाली साहित्य सम्मेलन दार्जीलिङको पक्षमा

मधुसूदन बिष्ट

साझा पुस्तक प्रकाशन

ओल्ड सुपर मार्केट, दार्जीलिङ

संस्करण : सन् २०२२

मूल्य : भारु. ५००

====

‘कालान्तर’ मा कवि भविलाल लामिछाने

हरिभक्त मिथक भइसके अब- रक्सीको, कविताको,  गीतको अनि यायावर जिन्दगीको । उनी बितेको केही वर्षपछि उनलाई भेटेको संस्मरण लेख्ने कवि र लेखकहरू धेरै भए, केही उनलाई  सहयोग गरेका कुरा गर्छन् उनी बितेका कैयन् वर्षपछि । साँच्ची नै उनी मिथक भएछन्, शायद भगवान कृष्ण इन्द्रबहादुर राईको लीला लेखनमा जस्तो, विभिन्न रूपमा भेटिने । कवितामा निकै अब्बल, कथा लेखनमा सबल र रक्सी पिउने रहरमा चाहिं निकै दुर्बल थिए कटुवाल । हरिभक्त बितेका ४५ वर्ष भइसक्यो । अर्को हरिभक्त त जन्म सकेका छैनन् अहिले तर उनका चेलाहरू कविता र कथा लेख्न तल्लीन छन् मेची वारि, मेची पारि र ब्रह्मपुत्रको छेउछाउमा । उनको एउटा सुयोग्य चेला हुन्- असमका भविलाल लामिछाने जसलाई हरिभक्तले पढाए विद्यालयमा र जसले हरिभक्तसँग सङ्गत गर्ने अवसर पनि पाए । उही भविलालले भरखरै मात्र प्रकाशित गरे ‘कालान्तर’ कवितासंग्रह ।

केही समयअगाडि उनलाई नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रदान गरिने ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार’ बाट सम्मान गरियो । हाल सालुबारी, सिलगडीलाई कर्मथलो बनाएर सेवा निवृत जीवन बिताइरहनु भएका लामिछाने एक सशक्त कवि हुन्- यसमा दुविधा छैन ।

उनको सेल्फ पोट्रेट कविता- ‘ख्यालठट्टाको जिन्दगी’ले उनको कवित्व शक्तिको प्रदर्शन गरेको छ:

भविलाल !

कस्तो चल्दैछ त जिन्दगी ?

सोध्छन् सबैले

ठिकै छ

ख्याल-ठट्टामै चल्दैछ

समयसँग लाप्पा खेलेर

समय कहिले बाढी भएर उर्लिन्छ

म ढुङ्गा भएर उभिन्छु

कहिले त्यो

भीमसेन ढुङ्गा भएर बाटो छेक्छ

म पानी भएर बग्छु

बालुवामा मूल फुटाएर बग्नेलाई

केको धौ

समुन्द्रसम्म पुग्न

प्रस्तुत कवितासंग्रहमा लामाछोटा गरी जम्मा २५ वटा कविता छन् ।  सन् १९८३ मा प्रकाशित ‘अनागत’ कवितासंग्रह पछिको यो उनको दोस्रो कवितासंग्रह हो । ‘कालान्तर’को शल्यक्रिया गर्दै भूमिकामा समालोचक डा. सञ्जय बान्तवा लेख्छन्, “‘कालान्तर’मा दुई वटा खण्डमा विभाजित गरी योग्य र समर्थ कविता राखिएका छन् । खण्ड-१ मा मझौला आकारका कविता र खण्ड-२ मा ससाना मुक्तक आकारका कविता राखिएका छन् ।

पुस्तकको खण्ड-१ का कवितामा अधिकाधिक इतिहास चेतना, त्यस चेतना सम्बद्धताका आवृत्ति, देशप्रेम, आख्यानात्मकता, मानवताकेन्द्री सहभाव, नाटकीय प्रभावान्वित आदि जस्ता स्वर मुखरित बनेका छन् ।

पुस्तकको खण्ड-२ मा राखिएका केही कविता आकारमा छोटा छन् । यिनमा कविको आलोचनात्मक दृष्टिकोणको प्रकाशन अधिक भएको छ । कविताका संरचना तथा विषयवस्तुका आधारभूत तत्त्वलाई अभ्युद्देशात्मक दृष्टिले हेरेका छन् । यी कवितामा दृष्टिकोण र कथकको संवादमूलक विवरण नभएर कवि स्वयम्‌ले विश्लेषण गर्ने गरेका छन् । कविको एकल अथवा व्यक्तिगत होइन तर सामूहिक काव्यचरित्रको सङ्केतलाई काव्यिक रूपमा प्रकट गरिएको छ । डा. बान्तवाको यो समीक्षात्मक टिप्पणी पढे पछि कवि लामछानेको २५ वटा कवितामा निहित गुणहरूसँग राम्ररी परिचित हुने मौका पाउँछौं । भूमिकामा डा. बान्तावाले उनको पुरानो कवितासंग्रह ‘अनागत’-को विस्तृत समालोचना गर्नु भएको छ जसले गर्दा कवि लामिछानेको कविताको स्वरूप र प्रारूप बुझ्न सहज हुन्छ ।

“’अनागत’का कविताले भाव, चिन्तन, समवेदनाका प्रत्येक सीमालाई उद्रिक्त बनाएको छ । आइनसकेको तर सम्भाव्य समयलाई यी कविताले सम्बोधन गरेका थिए । आकर्षक विषयवस्तु र अद्वितीय भाषिक प्रस्तुतिका कारण कवि भविलाल लामिछानेको कवि व्यक्तित्व पाठकका मनमस्तिष्कमा नमेटिने गरी बसे प्रेरकका रूपमा, कविता रचनाका आदर्शका रूपमा,” लेख्छन् डा. बान्तवा ।

कवि कटुवालको सानिध्यमा हुर्नेको भविलाल अहिले उमेरले सत्तरीको उत्तरार्धको यात्रा तय गरिरहनु भएको छ र उनमा कटुवालपन हुनु स्वाभाविक हो । उनको हरिभक्त कटुवाल माथिको एउटा अन्तरङ्ग कृति चाँडै प्रकाशित हुने आशा लिएको छु ।

आफ्नो सृजना बारेमा लामिछाने लेख्छन्, “साहै साह्रो काम हो आफ्नो बारेमा वा आफ्नो सिर्जनाको बारेमा भन्नु । कविता पहिले लेखियो र परिभाषा पछि बन्यो । त्यसैले मलाई लाग्ने कुरो के भने कविता वा आख्यानलाई कुनै पनि परिभाषाको घेरोभित्र बाँध्न खोज्नु धृष्टता मात्र हो । कविता जबसम्म कविको कल्पनामा रहन्छ, कविको आफ्नो हुन्छ । पाठकको हातमा पुगेपछि कविदेखि कविताको छुटानाम भए जत्तिकै हुन्छ । कविले त्यसमाथि हक जताउन पाउँदैन । यसरी कविता सिर्जेर समाज र पाठकका हातमा सुम्पिदिन थालेको ६० वर्ष भइसकेछन् । सन्तोष छ मेरा कविताहरूले माया र राम्रो सुसार पाइरहेका छन् उनीहरूबाट ।”

सन् २०२२ मा उनको ‘अर्धासत्य’ नामक कथासंग्रह प्रकाशित थियो जसमा ९ वटा कथाहरू संग्रहित छन् ।

 

पुस्तको नाम : कालान्तर (कवितासङ्ग्रह)

कवि : भविलाल लामिछाने

संस्करण : प्रथम, अक्टोबर २०२४

मूल्य : भारु ३००

प्रकाशक :

bukant

९/२४९, दोस्रो तल्ला, जयशोदा भवन, हिलकार्ट रोड, सालबारी जिल्ला – दार्जीलिङ, पश्चिम बङ्गाल, भारत ७३४००२

bukant.22@gmail.com