ज्ञानबहादुर छेत्रीको ‘पाँच प्रसिद्ध गोर्खा’
भारतको स्वतान्त्रता संग्रामदेखि वर्तमान राजनीति, साहित्य, समाज र अन्य विभिन्न क्षेत्रमा नेपालीहरू(गोर्खाली)को ठूलो योगदानलाई भारतले नकार्न सक्दैन । चाहे त्यो महात्मा गान्धीको ‘भारत छोडो’ आन्दोलन होस् या नेताजी सुभाषचन्द्र बोसको ‘आज़ाद हिन्द फ़ौज’ होस् नेपालीहरूले अग्रणी भूमिका खेलेका थिए । तर भारतीय इतिहासमा नेपालीहरूको योगदान र बलिदानको खासै चर्चा नभएको दुखद अनुभूति धेरैले गरेका छन् ।
माथिको विषयलाई मध्यनजर राखी कलम चलाएका छन् असमका समालोचक-निबन्धकार ज्ञानबहादुर छेत्रीले ! अहिले ‘जातिको इतिहास आफैले लेख्नुपर्छ’ भन्ने अभियान बलियो छ असममा । अंग्रेजी भाषामा असमकै पुरुषोत्तम भण्डारीले यस विषयमा ठेलीका ठेली पुस्तक प्रकाशित गरिसक्नु भएको छ भने ज्ञानबहादुर छेत्रीको ‘पाँच प्रसिद्ध गोर्खा’ जाति चिनाउने अभियानको एउटा बलियो दृष्टान्त हो ।
यस पुस्तकमा छेत्रीले आफ्नो जातिको ५ जना प्रतिभाहरू- युगपुरुष डम्बरसिंह गुरुङ, स्वाधीनता सङ्ग्रामी छबिलाल उपाध्याय, श्रमिक नेता दलवीर सिंह लोहार, नरबहादुर भण्डारी भारतीय गोर्खाका सान र मानका प्रतीक र वाङ्मयका साधक, समाज सुधारक मास्टर मित्रसेन थापालाई परिचित गराउने प्रयास गर्नुभएको छ ।
पुस्तकको भूमिकामा छेत्री लेख्छन्, “अरूले लेखिदिएको इतिहास पक्षपातपूर्ण भएको देखियो । आफ्नो इतिहास प्रामाणिक तथ्यसहित आफै लेख्नुपर्ने रहेछ भन्ने चेत हामीमा धेरै ढिलो गरी, अनेकौं हन्डर खाएपछि भर्खरै मात्र पलाएको हो । हाम्रो मातृभाषा नेपाली शुरूमै संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त हुनुपर्ने, छत्तिस वर्ष आन्दोलन गरेर सन् १९९२ मा सांवैधानिक मान्यता प्राप्त भयो । नेताजी सुभाषचन्द्र बोसको वीरगाथा सबैतिर गुन्जिएको छ, सारा देशले गर्वका साथ स्मरण गरेको छ । नेताजीका परम विश्वस्त आजाद हिन्द फौजका मेजर दुर्गा मल्लको सालिक संसद भवन परिसरमा बनिन पनि लामो समय पर्खिनु परेको हो । ब्रिटिश सरकारले १९४५ को २५ अगस्तका दिन दुर्गा मल्ललाई फाँसी दियो । उनी शहीद भएको छ दशकपछि सन् २००४ मा मात्र संसद परिसरमा उनको सालिक बनियो । बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्तैन । स्वाधीन देशमा वाचाल हुनुपर्ने रहेछ । निमुखा सबल्टर्न वर्गमाथि अरूले थिचोमिचो गर्ने मौका पाउँछन् । त्यसैले अरू सङ्कीर्ण स्वार्थलाई त्यागेर जातीय मुद्दामा एक भएर आवाज बुलन्द पार्नु समयको आह्वान हो ।”
अरूले होइन आफैले इतिहास लेख्नुपर्छ भन्ने बोध गरेर लेखिएको यो पुस्तक पूर्ण इतिहास नभए पनि भारतीय नेपाली पाठकलाई गर्वबोध अनुभूत गराउने कुराहरूले भरिएको छ ।
नेता डम्बरसिंह गुरुङको निधनमा कवि नरेन्द्रप्रसाद कुमाईले सन् १९४८ मा ‘सेनानीको मृत्यु शोकमा’ लेखेर कालेबुङबाट प्रकाशित हुने ‘गोर्खा’, पत्रिकाको वर्ष ४, किरण १५–१६, अप्रेल २४, १९४८ प्रकाशित गर्छः

पाँच प्रसिद्ध गोर्खा
“उही गोर्खालिगका जन्मदाता मध्येका एक होनाहार गोर्खे नेता डम्बरसिंह गुरुङ बारेमा रोचक लेख छन् यस पुस्तकमा । गुरुङको असामायिक मृत्युपछि उनको भाइ ब्यारिस्टर अरिबहादुर गुरुङले नेपाली जातिको प्रतिनिधित्व गरेका थिए भारतको संविधान निर्माण कमिटिमा र संविधानमा उनको हस्ताक्षर पनि छन् । यो पुस्तकमा समेटिएका सिक्किमका पूर्व मुख्यमन्त्रि नरबहादुर भण्डारीको नेपाली भाषालाई सन् १९९२ मा सांवैधानिक मान्यता दिलाउने ठूलो योगदान छ । उहाँसँगै तत्कालीन सांसद तथा भण्डारीकी पत्नि दिलकुमारी भण्डारीले गर्नु भएको अथक प्रयासलाई उल्लेख गर्नु जरूरी छ । यी दम्पतीको भागिरथ प्रयास नभएको भए भाषाले सांवैधानिक मान्यता पाउन निक्कै समय लाग्ने थियो । मैले नरबहादुर भण्डारीलाई सन् १९९६ मा भेटेर अन्तर्वाता लिने सौभाग्य पाएको थिएँ । समाज सुधारक मास्टर मित्रसेन थापाको जन्म थलो भाक्सु पोहोर साल जाने अवसर पाएको थिएँ । मित्रसेनको योगदानको कदर गर्नु सबै नेपालीको कर्तव्य किनकि उनको गीतले नेपाल र भारतलाई जोडेको छ । तर त्यो तीर्थस्थल कमै नेपाली पुगेका छन् ।
पाँचै जनाले आफ्नो आफ्नो क्षेत्रमा दिएको महत्वपूर्ण योगदानलाई उजागर गरी पाठक समक्ष पुराउने महत् कार्य गरेका छेत्रीको यो २०औं कृति हो । उनको साहित्य अकादमी भारतबाट अनुवाद साहित्य पुरस्कार पाइसक्नु भएको छ । उनले नेपाली साहित्यको इतिहास बारेमा अंग्रेजीमा निबन्ध पुस्तक प्रकाशित गरिसक्नु भएका छन् भने नेपालीबाट असमीया र हिन्दीबाट नेपालीमा अनुवादको साथै असमीयामा पनि लेख्नु भएका छन् ।
पुस्तकको उपयोगिता बारे लेखक लेख्छन्, “यस पुस्तकले हाम्रा छात्र-छात्राहरूमा जातीय चेतना जगाउँदै भारत तथा विश्वका गोर्खा सपुतहरूको वीरता, त्याग र उनीहरूले विभिन्न क्षेत्रहरूमा देखाएका कृतित्वको बारेमा अधिक खोज अनुसन्धान गर्न प्रेरित गर्न सकेछ भने यो पुस्तक लेख्नुको उद्देश्य सफल भएको र आफ्नो श्रम सार्थक भएको ठान्नेछु ।”
पुस्तकको नाम : पाँच प्रसिद्ध गोर्खा (व्यक्तित्व र कृतित्व)
लेखक : ज्ञानबहादुर छेत्री (तेजपुर)
प्रकाशक : इन्द्रेनी प्रकाशन, असम
रुक्मिणी भवन
बडसोला, शोणितपुर, असम
७८४११७
मो. ८८७६८२०२१०
पहिलो प्रकाश : मार्च २०२५
मूल्य : भारु २०० रुपियाँ
= = = =
दोस्रो विश्वयुद्ध : एक वीर गोर्खा योद्धाको आत्मकथा
युद्धलाई विषयवस्तु बनाएर सवाई लेख्ने प्रचलन नेपाली साहित्यमा पुरानो हो । गद्यभन्दा पद्यमा अभिव्यक्त गर्न सहज हुने भएकोले त्यसो गरेको हुनसक्छ । सन् १७८८ देखि १७९२ सम्म भएको नेपाल-भोटको लडाइँलाई लिएर लेखिएको बाग्दल डाँगीको भोटको लडाइँको सवाई (वि.स१९१२) लाई नै प्रथम युद्ध सवाई भन्न सकिन्छ ।
भोटको लडाइँको सवाई वि.सं. १९१२ मा भोट-नेपाल युद्धमा भोटको कुतीमा अवरुद्ध नेपाली सेनाका जवानहरूले लडेको वीरत्वपूर्ण लडाइँको काव्य वर्णन हो । युद्ध विषयमा आधारित पहिलो सवाई काव्य भए तापनि भाव, भाषा एवम् शैलीका दृष्टिले प्रस्तुत सवाई काव्य निकै प्रभावशाली रहेको देखिन्छ । त्यसपछि क्रमशः दीनबहादुर हवल्दारको काबुलको सवाई (वि.स. १९१९), तुलचन आलेको मणिपुरको लडाइँको सवाई (वि.स. १९५०), नवलसिंह घर्तीको जर्मनीको लडाइँको सवाई (वि.स. १९६२), लक्ष्मीकान्त भट्टराईको तिब्बत मिसनको सवाई (वि.स. १९६३), गजवीर राना मगरको नागाहिलको सवाई (वि.स. १९७०) र नरेन्द्रनाथ शर्माको जर्मनीको लडाइँको सवाई वा युरोप महाभारत ( वि.स. १९७७) प्रकाशित हुन्छ । सन् १८१४ को नेपाल- अंग्रेजको नालापानीको युद्ध पछि सन् १८१५मा अंग्रेजले पहिलो गोर्खा बटालियन खडा गर्छ भारतको भाक्सुमा र त्यसपछि गोर्खा सैनिकहरू संसारको विभिन्न मुलुकमा लडाइँ गर्न जान्छन् लाहुरे बनेर ।
वस्तुतः यस किसिमका सवाई काव्यहरूका माध्यमबाट नेपाली सवाईकारहरूले विश्व प्रसिद्ध गोर्खा वा नेपाली जातिको लडाकु वा वीर प्रवृत्ति, सोझोपन, जसको नून खायो उसको गुन गाउनुपर्छ भन्ने कथनको अनुशीलन जस्ता विशेषताहरू पनि दर्शाउने गरेको पाइन्छ ।

दोस्रो विश्वयुद्ध
एक वर्षअगाडि अल्का आत्रेय चूडालको सम्पादनमा “गोर्खाली युद्धबन्दीका लोकभाका र कथा” नामक पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको छ । सय वर्षअघि पहिलो विश्व युद्धमा जर्मनद्वारा युद्धबन्दी बनाइएका गोर्खा सैनिकले युद्धबारे गाएको गीत हो । यो गीत अल्काले जर्मन सरकारको अनुमति लिएर आर्कायबबाट नेपालीमा सारेर पुस्तक तयार पारेको हो । यसले पनि नेपालको युद्ध साहित्यको ढिकुटी भरेको छ । विगत केही वर्षमा अंग्रेजी भाषामा गोर्खा सैनिकहरूले केही आत्मकथा लेखेका छन् । नेपाली युद्ध साहित्यमा थप ईंटा थपिएको छ- कौशल्या मुखिया सुब्बाद्वारा सम्पादित “दोस्रो विश्वयुद्ध : एक वीर गोर्खा योद्धाको आत्मकथा । “कौशल्या मुखिया सुब्बाका ससुराबुवा मेजर गणेश बहादुर सुब्बा हजारौं गोर्खा सैनिकसँगै दोस्रो विश्व युद्धमा होमिन पुग्छ । शिलाङबाट भर्ती भई इटालीसम्म युद्ध लडेको गाथा समेटिएको यो पुस्तकले अहिलेको पाकिस्तान, इरान, इराक, ग्रिस, अफ्रिका,इजराइल, इटालीको तत्कालिन भूगोल र अवस्थालाई उजागर गरेको छ । केही अंग्रेजीबाट नेपालीमा अनुवाद गरिएका छन् भने केही मेजर गणेशबहादुर सुब्बासँग गरिएको कुराकानीमा आधारित छन् ।
पुस्तकमा प्रसिद्ध साहित्यकार हरेन आले लेख्छन्, “दोस्रो महासमरको धुवाँभित्र केटौले सत्र वर्षको उमेरमा गणेशबहादुर सुब्बाले पनि भर्ती भई २/७ गोर्खा राइफल्सको तालिम केन्द्र शिलाङबाट सैनिक जीवनका शुरूआत गरेका थिए । यही तथ्य उहाँक दैनिकीबाट थाहा हुँदैछ । यो दिन थियो २४ अप्रेल, १९४० साल । शान्तिसमयन नौदेखि दश महीनाको तालिमलाई युद्धको समयमा छोटो पार्दै सात महीनाको तालिम सकेर उहाँको पल्टन बलुचिस्तानको चमनमा पुग्न, ठाउँठाउँमा रेस बदली गर्दै अग्रसरित हुन्छन् ।”
युद्धको कारण भोग्नु परेको कष्ट, मानवीय क्षति र मानसिक तनावको कुनै हिसाब किताब हुँदैन । युद्ध पिपासुहरूको अंहमको कारण लाखौं गोर्खा सैनिक शहीद हुन वाध्य हुन्छ अरूको निम्ति । यो शौक थिएन तर वाध्यता थियो । दोस्रो विश्व युद्धमा ९ हजार गोर्खा सैनिकले ज्यान गुमाउँछ र २० हजार घाइते हुन्छन् । यस अर्थमा गणेशबहादुर सुब्बा निक्कै भाग्यमानी साबित हुन्छन् किनकि उहाँ २० हजार भित्र पर्नु भएन । उत्तर अफ्रिकाको निर्णायक युद्ध अन्तर्गत आफ्नो डायरीमा लेख्छन् मेजर सुब्बा, “एक रहस्यपूर्ण अपराह्न, दक्षिण अफ्रिकी सेनाको गाडीमा सवार भएर, हामी उत्तर अफ्रिकाको नयाँ गन्तव्यतिर प्रस्थान गर्यौं । बाटोमा हाम्रो कम्पनी कमाण्डर क्याप्टन आरए ई. टेलरको मूलले झण्डै अघि आफू आएकै ठाउँतिर जान लागेछौं । जेनरल टकर (२) जी. ओ. ले चाल नपाउनुभएको भए त्यहाँ एउटा हुनसम्मको ठूलो मूल हुनेरहेछ । जेनरल साहबले कठोर शब्दमा धम्काएर हामीलाई आफ्नो ठीक गन्तव्यतिर पठाउनुभयो । बाटामा ठाउँठाउँ, जस्तै मार्सामातुर, सिडी बटानि, सल्लुम बरदिया, गमबुट र फोर्ट कापुजोमा बिसाउँदै पहाडको अप्ठ्यारो बाटो आधा काट्यौं । हुन त समुद्र किनारमा कालोपत्र बिछ्याएको सुविधाजनक सडक थियो, त्यो सडकले तर हाम्रो उद्देश्य पूरा नगर्ने । हालफाया घाँटीतिर बढ्दै जाँदा बाटोमा जर्मन, इटालीयन र ब्रिटिश फौजले ध्वस्त पारेर फ्याँकिराखेका, विभिन्न प्रकारका हतियारहरू देख्यौं । दुश्मनले ठाउँठाउँमा छहारी बनाइराखेको हुनाले हामीले छहारी बनाइरहन परेन । टब्रुक जाँदा हामीले कुनै ठाउँ विश्राम गर्न पाएनौं न त बुटपट्टी नै खोल्न पायौं । राती सुत्दा ‘युनिफर्म’ र बुटपट्टीसितै सुत्यौं । यसरी सुत्ने बानी नै भइसकेकोले कुनै थाहा शुद्धि नरहने । चौबीसै घण्टा अत्यन्त सतर्क भएर आफ्नो दायित्व पूरा गर्यौं त्यस क्षेत्रमा ।”
६ वर्ष लामो युद्ध समाप्त भएपछि उनको पल्टन ग्रिसबाट भारत फर्कन्छ र त्यसपछि भारत र पाकिस्तान विभाजन हुन्छ । भारत स्वतन्त्र भएपछि गोर्खा सैनिकको पनि विभाजन हुन्छ र गणेश बहादुर सुब्बा ब्रिटिस आर्मीमा जान्छन् र त्यहीबाट सेवा निवृत हुन्छन् ।
अगमसिंह गिरिले ‘युद्ध र योद्धा’ खण्डकाव्यलमा दोस्रो विश्व युद्धमा गोर्खा सैनिकको भूमिका बारे लेख्छन्,
“युद्ध तिम्रो थिएन त्यसैले
आत्मा – प्रतिष्ठा कुँजिएको थियो
स्वाभिमान पर – युद्धको
अग्नि – ज्वालामा भष्मीभूत भएथ्यो
स्वप्न – आकांक्षा प्रियता जीवनको सबै
क्षण – क्षण – चूर्ण – बिचूर्ण बनेथ्यो
साअनि, फर्केका थियौ तिमी
श्मशानको विरक्ति बोकेर
युद्ध – क्लान्त घाइते शरीर लिएर
रणभूमिको आर्तनादपूर्ण
ध्वनी – प्रतिध्वनिहरू”
यही कुरालाई आत्मसात् गरी सम्पादकीयमा कौशल्या मुखिया सुब्बाले पुस्तकको रचनागर्व बारे बिस्तृतरूपमा स्पष्ट पारेकी छिन् । कौशल्या लेख्छिन्, “अङ्ग्रेजको शासनमा अङ्ग्रेजका पक्षमा लडिनुको अपवादस्वरूप नै आजसम्म पनि गोर्खाहरूका राजनैतिक अस्तित्व भने प्रश्नचिह्नबाट उकल्नै सकिरहेको छैन, जो गोर्खाहरूका निम्ति अवहेलित अनुभवका मानसिक तनाव एवम् पीडा नै बन्न पुगेको छ । अपितु यस्ता विश्वयुद्धहरूमा नै गोर्खाहरूले आफ्ना रणकौशलद्वारा विश्वलाई अवाक् तुल्याएका थिए । यही युद्धहरूले गोर्खा जातिलाई विश्वमा बहादुर, साहसी, इमानदार, उद्यमी जातिका रूपमा परिचित गराए जो हाम्रा निम्ति गौरवमय थप उपलब्धिको इतिहास हो ।”
दोस्रो विश्वयुद्धामा एक लाख बीस हजार गोर्खा सैनिकले भाग लिएका थिए जसमध्ये ९ हजारले प्राण गुमाएको थिए भने २० हजार घाइते भएका थिए ।
पुस्तक नै तयार पार्नुको उद्देश्य बारेमा मुखिया लेख्छिन्, ” प्रस्तोताको पक्षबाट निष्कर्षमा भन्नुपर्दा यस पुस्तक प्रकाशनको मूल ध्येय गोर्खा योद्धाहरूले विश्वयुद्धमा लडेर सुवर्ण अक्षरमा आफ्ना जातिका नाम विश्व इतिहासमा अङ्कित गरेका छन् । गोर्खाहरू वीर जाति हुन्, लडाकु, उद्यमी, इमानदार जाति हुन् भनी पहिलो र दोस्रो विश्वयुद्धले हाम्रो योग्यता, रणकौशलका सत्य तथ्यलाई उजागर गरेका छन् । अङ्ग्रेजी फिल्म, उपन्यास, कथाहरूमा विश्वयुद्धको चर्चा-परिचर्चा हुँदा रोमाञ्चित हुने हाम्रा मन हाम्रै बाउबाजेले पनि लडेका अनि विश्वसमक्ष आफ्ना सबल उपस्थिति दिएका सत्य तथ्यलाई उजागर गर्ने यो मेरो क्षुद्र अभिप्राय मात्र हो ।”
कौशल्या मुखिया सुब्बुको ‘राङभाङ उपत्यकाः हिजो र आज(अध्ययन) र दृष्टि(कथा संग्रह) प्रकाशित भएको छन् ।
पुस्तकको नाम : दोस्रो विश्वयुद्धः एक वीर गोर्खा योद्धाको आत्मकथा
सम्पादिका : कौशल्या मुखिया सुब्बा
प्रकाशक : गोर्खा ज्योति प्रकाशन, मणिपुर
मूल्य : उल्लेख छैन
पहिलो संस्करण : सन् २०२३



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३ माघ २०८२, शनिबार 










