
म सानै थिएँ, सायद विद्यालयमा नै पढ्थेँ होला । एक दिन एउटा पसलमा खाने कुरा पोको पार्दै गरेको देखेँ एउटा ठुलो पस्तकको ठेलीहरू च्यात्दै । चिनेकै पसले भएकाले मागेर हेरेँ । त्यो त ‘भारती’ पत्रिकाको चार पाँचवटा अङ्कहरू एकै ठाँउमा बाइन्डिङ्ग गरेको पो रहेछ । हत्त न पत्त आफ्नो पुरानो पुस्तक र कापीसँग साटेँ र आफैँमा सुरक्षित राखेँ ती अमूल्य पत्रिकाहरू । त्यही पत्रिकाहरू सरसरती पढ्दा धेरै लेखक र लेखिकाहरूको अस्तित्वबोध भयो अनि उनीहरूले लेख र रचनाहरू पढ्ने अवसर पाएँ । तीमध्येमा एक थिइन्- राधिका राया, ठेगाना लेखिएको थियो- मलाया ।
नेपाली साहित्यमा महिला हस्ताक्षर नगण्य छन् । ६ दशक अगाडि त झनै कम । त्योभन्दा पनि शिक्षित महिलाहरू लेखनमा आउने त झन् कम । केटीहरू पढ्ने, लेख्ने भए केटाहरूलाई प्रेमपत्र लेख्छन् भन्ने जस्तो रुढीवादी संस्कारमा हुर्किएका महिलाहरू साहित्यमा लाग्नु भनेको असम्भवप्राय नै थियो । त्यही समय राधिका रायाको उदय हुन्छ दार्जीलिङमा एउटा लेखिकाका रूपमा । राधिका रायाले लेखन यात्रा सुरु गरकै बखत दार्जीलिङमा उनीभन्दा अग्रज थिए – सानुमति राई, प्रभावति रोका, चन्द्रकान्ता दर्नाल, तारा प्रधान र रत्न शाक्य । समकालीनमा भने देवकुमारी सिंह, सुभद्रा सुब्बा, सावित्री सुन्दास, लक्खीदेवी सुन्दास र पार्वती मुखिया प्रमुख थिए । उनीहरूका कथाहरू त्यस बखतका नामी पत्रिकाहरू- ‘भारती’, ‘गोर्खा’, ‘प्रभात’ मा प्रकाशित हुन्थ्यो तर कालान्तरमा उनीहरू बिस्तारै अस्ताए । केवल देवकुमारी सिंह, सानुमति राई, सावित्री सुन्दास, लक्खीदेवी सुन्दास र राधिका रायाले लेखनमा निरन्तरता दिएको पाउँछौँ । राधिका राया लेखनमा आउँदा पारिजातले आफ्नो लेखनयात्रा अझै सुरु गरेकी थिइनन् ।

राधिका राया
राधिका रायाको जन्म झापामा भएको ( कतै घुम, दार्जीलिङ पनि उल्लेख गरिएको छ) हो भने दार्जीलिङमा अध्ययन । जागिर खाने क्रममा कलकत्ता, मलाया, सिङ्गापुर, हङकङ पुगे अनि पुनः झापामा जीवनपर्यन्त अध्यायपनमा समर्पित रहिन् उनी ।
धेरै समालोचकहरूले सन् १९५४ मा ‘भारती’मा प्रकाशित ‘जीवनको इच्छा’ शीर्षक एकाङ्की राधिका रायाको प्रथम लेख भने तापनि ‘उदय’-को वर्ष १५, किरण १२ (जेष्ठ २०१०/ जुन १९५३) मा प्रकाशित ‘स्त्रीशिक्षा’ –लाई प्रथम लेख मान्न सकिन्छ । पछि ‘जीवनको इच्छा’ नामक एकाङ्कीसङ्ग्रह वि.सं. २०५९ मा प्रकाशित भयो । एकाङ्कीबाट लेखन यात्रा श्रीगणेश गरे तापनि राधिका रायाले कथा विधालाई प्राथमिकता दिएर लेखनलाई निरन्तरता दिइन् । उनको अर्को एकाङ्की ‘आदर्श दोष’ भारतीको वर्ष ७, सेटेम्बर-अक्टोबर १९५५( भदौ-असोज २०१२)मा प्रकाशित भएको पाउँछौँ ।
राधिया रायालाई एकदमै नजिकबाट चिन्नेमा भारतीय साहित्य एकेडेमी पुरस्कार प्राप्त साहित्यकार शरद् छेत्री अग्रपङ्क्तिमा आउँछन् । उनी नाताले राधिका रायाको दिदीको छोरा थिए । पिता नन्दलालसिंहको १ छोरा र ७ छोरी मध्येमा एक थिइन् राधिका । राधिका रायाको कथाहरू, यात्रा संस्मरणहरू पढेर साहित्यलेखनमा प्रेरणा पाएका थिए उनले । बाह्र दिन लगाएर गरिएको जहाजको यात्रा संस्मरण – ‘मेरो पहिलो समुन्द्र-यात्रा’ भारती-को वर्ष ६ सङ्ख्या १ मा प्रकाशित भएको थियो । यो लेख शरद् छेत्रीले धेरै पढेको लेखमध्येमा पर्छ । चूडामणि रेग्मीद्वारा सम्पादित ‘जुही’ पत्रिकाले वर्ष २०, अङ्क १, पूर्णाङ्क ४५( वि.सं. २०५७/५८) लाई ‘राधिका राया विशेषाङ्क’ नाम दिएर प्रकाशित गर्छ । सोही पत्रिका शरद् छेत्रीले ‘साहित्यकार राधिका रायाका कतिपय साहित्यिक रचनाहरू’ शीर्षकमा एउटा लेख लेख्छन् । उक्त लेखमा शरद् दाजुले राधिका रायाको साहित्य कर्मका बारेमा विस्तृत जानकारी दिएका छन् । उनी लेख्छन्, “लेखिका राधिका रायाका साहित्यिक रचनाहरूलाई सरसरी हेर्दा उनको साहित्यिक सिर्जना उर्वर समय सन् १९५० (वि. सं. २००७) देखि सन् १९७० (वि. सं. २०२७) सम्म अविकल मानिन्छ । सङ्कलित रूपमा उनको एउटा मात्र कथासङ्ग्रह ‘तिमी नगएकी भए‘ (सन् १९६६/वि. सं. २०२३) प्रकाशित भए पनि विविध विधामा अनेकौँ फुटकर रचनाहरू विभिन्न नेपाली पत्रपत्रिकातिर छापिएका छन् । एकाङ्की नाटकका क्षेत्रमा पनि उपर्युक्त लिखित एकाङ्कीहरू लगायत उनका अनेकौँ एकाङ्कीहरू चर्चामा आएका छन् । श्री गुमानसिंह चामलिङको सम्पादनमा निस्किएको पत्रिका ‘साहित्य-सङ्गम’ (सन् १९५९) को पहिलो र दोस्रो अङ्कमा प्रकाशित नाटक ‘मुरली’ -ले राधिका रायालाई सफलताको तहमा आरूढ पारेको थियो, जसलाई आर्जन गर्नमा उनका अघिल्ला नाटकहरू ‘प्रतिशोध‘, ‘प्रेमको प्रतीक’, ‘गजाधरकी दुलहीसित भानुको भेट’, ‘प्रहलाद‘ आदि पनि चर्चित भएका छन् भने ‘मैले भूल गरेँ‘ उनको अर्को उम्दा एकाङ्की मानिएको छ । यी मात्र होइनन् सिङ्गापुर सैनिक रेडियोबाट पनि उनका एकाङ्कीहरू प्रसारित भइरहन्थे भन्ने उल्लेख भएको छ ।”

शरद् प्रधान
राधिका रायाको तीनवटा कृतिहरू प्रकाशित भएका छन्- ‘तिमी नगएकी भए’ ( कथासङ्ग्रह, सन् १९६६ दोस्रो संस्करण वि.सं. २०६० मा जुही प्रकाशन, झापा ), ‘जीवनको इच्छा’ (एकाङ्कीसङ्ग्रह,वि. सं. २०५६) र ‘उनी गएको गोरेटो’ ( कथासङ्ग्रह, वि. सं. २०६०) । ‘तिमीलाई’, ‘आमाको माया’, ‘बधाई-पत्र’, ‘बहिनीलाई दक्षिणा’, ‘बाबुको रहर’, ‘जीवनकथा’, ‘परिचित आह्वान’, ‘दिदी’, ‘दीपको पत्र शशीलाई’, ‘तिमी नगएकी भए !’ ‘कस्तो अभिमान !’,’सम्झनामा’, ‘टीकाको दिन’, ‘दसैँको लुगा’ शीर्षकका चौधवटा कथाहरू ‘तिमी नगएकी भए’-मा सङ्ग्रहित छन् । उनको अर्को कथासङ्ग्रह ‘उनी गएको गोरेटो’-मा ‘सानु’, ‘आमा’, ‘विजय कसको?’, ‘बा ! बा !’,’उनी गएको गोरेटो’, ‘सुमन’, ‘सम्झनाहरू सम्भालेर’, ‘छिमेकीको सम्झना’, ‘उनी’, ‘अन्तिम दर्शन’, ‘भदौरे झरीले’, ‘राखी-त्यौहारको दिन’, ‘म के भनूँ ?’, ‘नारीमा समस्या’, ‘त्यस दिनको न्यानो काखमा’, ‘आफ्नो मायालु सागरी ?’ गरी बीसवटा कथाहरू सङ्ग्रहित छन् । जीवनको इच्छा’ एकाङ्की सङ्ग्रहमा ‘जीवनको इच्छा’, ‘प्रेमको प्रतीक’, ‘प्रतिशोध’, ‘अधुरो कहानी’, ‘मुरली’, ‘म र्फकेर आएँ’, ‘आदर्श प्रेम’, ‘मैले भूल गरेँ’ गरी जम्मा ८ वटा एकाङ्की समाविष्ट छन् । ती एकाङ्कीहरूका बारेमा समालोचक लीला लुइँटेल लेख्छिन्, “मानवजीवनमा शिक्षाको आवश्यकतालाई देखाइएका यिनका एकाङ्कीमा पुस्तान्तरबाट उत्पन्न भएको समस्यालाई प्रस्तुत गरिएको छ । काम र मामको खोजीमा बिदेसिन बाध्य नेपालीहरूको मनोविज्ञानको प्रस्तुति पाइने यिनका एकाङ्कीमा जीवनलाई सन्मार्गतर्फ उन्मुख गराउनुपर्ने भाव मुखरित गर्दै समाज सुधारको चाहना अभिव्यक्त छ । साहित्य, साहित्यकार तथा कलाप्रति आस्थाको भाव अभिव्यञ्जित यिनका अधिकांश एकाङ्कीहरूमा चिठी समावेश गरिएको पाइन्छ । मञ्चनका दृष्टिले यिनका एकाङ्कीहरू त्यति सरल र व्यावहारिक देखिँदैनन् । रेडियोबाट प्रसार गर्न लेखिएका हुनाले यस्तो स्थिति देखिएको हुन सक्छ साथै यिनका एकाङ्कीमा प्रयुक्त संवाद एवं भाषा सरल छ ।”
नेपाली साहित्यमा महिला लेखनमा लीला लुइटेँलको गहन अध्ययन छ । उनले समग्र नेपाली महिला साहित्यकार र उनीहरूका विधागत लेखनमाथि करिब आधा दर्जन पुस्तक प्रकाशित नै गरिसकेकी छिन् । राधिका रायाको कथाहरूको प्रवृत्ति र विशेषता माथि लेख्छिन् लीला लुइँटेल ‘नेपाली महिला कथाकार’ नामक पुस्तकमा, “राधिका राया स्वच्छन्दतावादी कथाकार हुन् । प्रेम, सौन्दर्य, अतिशय भावुकताका साथै पात्रहरूको अद्भुत संयोग तथा यात्रा विवरण, कल्पना तत्त्व अलङ्कृत भाषा, आदर्शवादको प्रधानता आदि पक्षहरूको प्रस्तुति रायाका कथामा पाइने हुनाले यिनलाई स्वच्छन्दतावादी कथाकार भनिएको हो । यिनका कथामा कतै कथानकले चरित्रलाई डोऱ्याएको पाइन्छ भने कतै चरित्रले कथानकलाई तानेका हुन्छ । यिनका कतिपय कथाहरूमा काम र मामको खोजीमा आफ्नो मातृभूमि र स्वजनहरूलाई छोडेर बिदेसिन बाध्य भएका हजारौँ नेपालीका दुःख- पीडाहरूलाई मूल विषयवस्तु बनाइएको पाइन्छ । ‘तिमी नगएकी भए’, ‘बहिनीलाई दक्षिणा’, ‘बाबुको रहर’, ‘परिचित आह्वान’ जस्ता कथाहरूमा यस प्रकारको विषयवस्तुलाई समेटिएको छ । यसका अतिरिक्त रायाका कथाहरूमा युगीन मानवीय जनजीवनका भोगाइ, प्रेमप्रणय, सत्-असत् पक्ष, सामाजिक, आर्थिक, सांस्कृतिक, साहित्यिक परिस्थिति, जीवनमूल्य, सङ्गति, विसङ्गति आदि विविध सन्दर्भ र प्रसङ्गहरूलाई अनुभूतिमय तुल्याएर प्रस्तुत गरिएको छ । ”
राधिया रायाको कथामा समाज र जीवनको सूक्ष्म अध्ययन पाउँछौँ । दृष्टान्तका निम्ति उनको ‘सम्झनामा’ कथाको यी हरफहरू पर्याप्त छन् – “रिमझिम रिमझिम वृष्टिको तालमा धुम्म भएको आकाशका ती काला-काला बादलका नृत्यमा, सुन्दरी नर्तकी बिजुलीको झलकमै तबला बज्न थाल्यो तब वृष्टि पनि आफ्नो तालमा पागल भई उठ्यो ।
तर त्यही वृष्टिको तालमा, बादलको ताण्डवमा सुन्दरी नर्तकीको देदीप्यमयी दर्शनमा पनि प्रतापको भावुक हृदयले खोजिरहेथ्यो कसैलाई! सोचिरहेथ्यो ऊ केही । आज रामनवमी, स्वदेशमा बितेको चहलपहलमा दुनियाँको सम्झना आयो उसलाई । बितेका दिन एक-एक गरी सजीव भई उठे । सम्झँदै गयो ऊ त्यस दिनको रामनवमी! मिलन–बिछोडको दिन अनि हर्षको दिन । १३ दिन पछि पारिपट्टि, खोरङ्ग खोलाको देब्रेपट्टि केही झुरुम्म रूखहरू छन् । मानिसहरू त्यसलाई जलजले भन्दछन् । यसैको पूर्वपट्टि ढप्प बसेको टाहारी खेत छ । त्यसको माझको बरको झ्याम्म झ्याम्मिएको एउटै रूख छ । मास्तिर सल्लेरी वन छ । छेउमा सानो खोलो त्यहीँ नै लाग्छ, वर्ष दिनको रामनवमी बजार । चार दिन–सप्तमी, अष्टमी, नवमी र दशमीका दिन । ” ‘सम्झनामा’ कथा उनको तिमी नगएकी भए’मा सङ्ग्रहित छ ।
विद्यार्थी जीवनमा उनी नजिकका साहित्यकारहरू थिए- अच्छा राई ‘रसिक’ र अगमसिंह गिरी । उनीहरूको प्रोत्साहनले उनको लेखनकार्यलाई थप ऊर्जा मिल्यो । राधिका रायाको प्रथम कथासङ्ग्रह दार्जीलिङबाट प्रकाशित भयो जसका प्रकाशक थिए उनका भेनाजु माथवरसिंह छेत्री – साहित्यकार शरद् छेत्रीका पिता । त्यो कथासङ्ग्रहका बारेमा शरद् छेत्री लेख्छन्, “त्यही उर्वर समयका राम्रा-राम्रा चौधवटा कथाहरू लिएर कथासङ्ग्रह ‘तिमी नगएकी भए’ (सन् १९६६) तयार पारिएको छ । दार्जीलिङबाट प्रकाशित र मुद्रित त्यस कथासङ्ग्रहको प्रकाशकमा मेरा पितीश्री माथवरसिंह छेत्रीको नाम अनि मुद्रकमा मणि प्रिन्टिङका स्वामी नगेन्द्रमणि प्रधानको नामाङ्कित छ । भूमिकामा श्रद्धेय प्राध्यापक श्री तुलसीबहादुर छेत्री (श्री तुलसी ‘अपतन’) ले कथाहरूको विश्लेषण गर्दै लेख्नुभएको छ, “… यसमा नेपाली जीवनको, विशेष गरी विदेशमा बस्नेहरूको राम्रो चित्र खिचिएको छ । नेपालीहरू आर्थिक सङ्कटले चेप्टिएर उछिट्टिएका छन् । जीवनको उच्चाकाङ्क्षा कसरी परिस्थितिले कुँजिन गएको छ, सामाजिक कुरीतिले हामीलाई कसरी पङ्गु बनाएको छ, त्यसको राम्रो चित्र हामी यहाँ पाउँछौँ….।’
राधिका रायाको जीवन सङ्घर्षमय थियो । कप्तान बुद्धिमान् लेप्चासँग बिहे, केही समयपछि कप्तान बुद्धिमान् आफ्नो पुर्व पत्नीसँगै पुनः घरजाम गरेपछि उनी निकै एक्लिइन् । छोरीलाई एक्लै शिक्षादीक्षा दिने दायित्वबोधबाट कहिले विमुख नहुने राया निकै कडा स्वभाव र छुच्ची भएको उनका दिदीका नातिनी शैलिका छेत्री संस्मरण गर्छिन् । दार्जीलिङको नेपाली गर्ल्स हाइस्कुल हुँदै सन्त जोसेफ कलेज पढेकी राधिका रायाले पछि रामकृष्ण बि.टी कलेजबाट बि.एड. गरिन् निकैपछि अनि त्यस बखत उनका सहपाठी थिए आफ्नै दिदीका छोरा प्रसिद्ध साहित्यकार शरद् छेत्री । उनको आत्मबल बलियो थियो, एक्लैले छोरीलाई डाक्टर पढाइन् । उनी स्वनिर्मित महिला थिइन् । आफ्नो कर्म र भविष्य उनी आफैँले तय गरिन् ।दियालो हाँगो : ६४, वर्ष १३, मार्च १६७३ मा प्रकाशित राधिका रायाका कथा ‘उनी गएको गोरेटोलाई’ ‘दियालो पुरस्कार’ द्वरा सम्मान गरियो । उक्त कथाको विश्लेषण गर्दै प्रेम प्रधान ‘दियालो-मा पुरस्कृत कथाहरू- एक अवलोकन’-मा लेख्छन्,” सशक्त नारी हस्ताक्षर राधिका रायाका कथा ‘उनी गएको गोरेटो’ मा कथाकारले आफ्नो प्रिय पतिको सम्झना गर्दै कथालाई सुन्दर भाषाशैली र शिल्पमा बुन्दै विषय वस्तुलाई रोचक बनाएकी छिन् । …… कथामा एउटी विवाहित पत्नीले आफ्नो पतिको अनुपस्थितिमा भोग्नुपरेको जीवन, पतिको अभाव, अनि उनको भङ्गालिँदै गएको मायालाई सामना गरेको स्थितिको वर्णन छ । कथामा नारीजीवनप्रतिको संवेदना छ । कथा मार्मिक छ र हृदयलाई छुन्छ । यसभित्र सामाजिक यथार्थता अनि जीवनको वास्तविक घटनाहरू, पीडा र समस्या छ । साधारण विषयवस्तुलाई आधार बनाई लेखिएको यस कथामा नारीको प्रेम र ममता अनि व्यथा छ ।”
कवि एवं समालोचक जीवन नामदुङले नेपाली समाजले सम्झन नसकेका धेरै साहित्यकारहरूको मुल्याङ्कन गरेर प्रशंसा योग्य काम गर्नुभएको छ । उनको ‘उल्लेख’ शीर्षक समालोचना सङ्ग्रहमा ती स्रष्टाहरूको कृतिहरूको विवेचना गरेका पाउँछौँ । उनले ‘राधिका रायाका कथागत प्रवृति’ नामक लेखमा रायाको कथाकारता माथि लेख्छन्, ” कथा लेखिका राधिका रायाका प्रायः सबैजसो कथाहरूमा अनुकूल पात्र चरित्र पाइने हुनाले प्रायः पात्रहरू परिवर्तनशील प्रकृतिका भन्दा पनि भावुक र सहृदयी किसिमका बढी छन् । पात्र चरित्र जीवनप्रति निराशावादी नभई आस्थावान् छन्, आशावादी प्रकृतिका बढी छन् । प्रवासी नेपाली जनजीवनको चित्रण गर्नमा कथाकार राया सफल भएकी छन् । अतः कथ्यलाई सजीवता र मार्मिकता प्रदान गर्दै पात्र चरित्रलाई यथार्थ ढङ्गमा प्रस्तुत गर्नु उनको कथालेखनको अर्को प्रमुख वैशिष्ट्य र विशेषता रहेको बुझिन्छ । उनी भारतीकालीन कथाकार हुन् । उनका प्रारम्भिक कालका धेरजसो रचनाहरू ‘भारती’ पत्रिकामा प्रकाशित भएको देखिन्छ ।”
उनको कथाकारिताका सन्दर्भमा समालोचक डा. जीवन नामदुङ्ग ‘जुही’ पत्रिकामा लेख्छन्, “कथागत प्रवृत्तिका दृष्टिले आदर्शवादी प्रवृत्ति, निराशा, कौतुहलता, त्याग र प्रणय-वेदनाका पुटहरू सिद्धहस्त सिकर्मीले आफ्नो कलाकारिता सुन्दर गृह निर्माणका पाटा-पाटामा प्रदर्शन गरेझैँ कथाकार रायाले पनि प्रदर्शन गरेकी छिन् । नारी कथाकारले नारी मनकै वेदना, पीडा, उच्छ्वास र अनुभूतिलाई आफ्ना कथाहरूमा मात्र होइन कथाका शीर्षकहरूमा समेत उतार्न सफल भएकी छिन् ।”
राधिका रायाको जीवनको पूर्वार्द्धको कमै चर्चा गरेको पाउँछौँ । उनले कथाकार देवकुमारी थापाको संस्मरण गर्दै लेखेको एउटा लेखमा सूर्यविक्रम ज्ञावालीको व्यक्तित्वको सुन्दर वर्णन गरेकी छिन् । उनी लेख्छिन्, ” त्यस समय मेरो वासस्थान दार्जीलिङ स्टेसन तलतिर रेलवे क्वाटरमा भएर होला, मन्तुलाल बिल्डिङमा मेरा साथीहरू बस्थे, म त्यही बाटाबाट ओहोरदोहोर गर्थेँ तर ज्ञवालीज्यूसित आँखा जुधाएर मैले कहिले बोल्न सकिनँ । हाम्रा समूहका साथीहरू ‘नमस्कार !’ मात्र गर्न समर्थ हुन्थे, ज्ञवालीज्यू अनुशासित, कम बोल्ने, ज्ञान र अनुभव शिक्षा क्षेत्रमा अनुपम भएको, इतिहासका त अधिनायक नै, स्वाभिमानी सदैव उच्च शिर भएको, सुसज्जित आफ्नै जातीय पोशाकमा, समान दृष्टिकोण शिक्षा क्षेत्रमा, भेदभाव नभएको, आफ्नो र अर्कामा विभिन्नता कहिल्यै नल्याउने, उहाँको साँचो व्यक्तित्वका छेउमा हामी डगमगाउँथ्यौँ, नजिक पर्न पनि गाह्रै पर्न जान्थ्यो ।”
‘भारती’ पत्रिकामा सक्रियसाथ कथा र निबन्ध लेखेकी राधिका रायाको नेपाल तथा भारत, मलेसिया र सिङ्गापुरबाट प्रकाशित हुने नेपाली साहित्यिक मासिक ‘उषा’, ‘साहित्य सङ्गम’, ‘दियालो’, ‘सुमन’, ‘विश्वदीप’, ‘भानु’, ‘लालीगुराँस’, ‘प्रतिभा’ ‘जुही’ आदि पत्रपत्रिकामा रचनाहरू छापिएको थियो । मलेसियाको प्रवास बसाइमा उनकै सम्पादनमा ‘उषा’ नामक साहित्यिक पत्रिका प्रकाशन भएको थियो । राधिका रायाको वि.सं. २०६९ मा ८१ वर्षको उमेरमा उपचारको क्रममा भारतको सिलगडीमा देहावसान भयो । उनलाई सम्झना गर्दै कुनै समय उनी नै अध्यक्ष भएको देवकोटा स्मृति भवनले वि.सं. २०७० मा ‘राधिका राया स्मृतिग्रन्थ’ प्रकाशित गरेको समेत थियो । ‘जीवनको इच्छा’ (निबन्धसङ्ग्रह : २०५९), र ‘आत्मकथ्य : विविध’ (२०६०) उनका अरू दुई कृतिहरू हुन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

