शरदमासको मध्यरातमा सशीधरले आफ्नो पूर्ण तेज प्रकाश गरिरहेका छन् । पूर्णतया निश्चल आकाश जहाँ आज बादलको टुक्राले जूनको तेजलाई छेक्न सकेको छैन । शुक्रको महलमा भर्खर प्रवेश गरेर होला, चन्द्रमाले तेज प्रदान गर्नुको साथसाथै सारा जगतलाई प्रेममा उन्मत्त गराउन तत्पर देखिन्छन् । तिनै शुक्र जसलाई सारा संसारको जीवनको आधार प्रेमाधिकार प्राप्त रहेको छ, आज उनको महलमा शयर गर्न आइपुगेका चन्द्रमाको शीतलताले पृथ्वीमा प्राणीजगत् पनि निकै रोमाञ्चित भैरहेको छ ।

पछिपछि साथमै देवगुरु वृहस्पति पनि रहेका छन् जो आफ्नो परममित्र एवं धर्तीपुत्र मंगलको अन्त: पुरमा शयर गरिरहेका छन् । पृथ्वीबाट क्षितिजमा देखिएको यो अद्वितीय दृश्यलाई अझै सुन्दर बनाउन निकै पर नौलाखे ताराहरू टिलपिल गर्दै प्रकाश छरिरहेका छन् । यो मनमोहकतालाई देख्दा लाग्छ आज प्रेम र त्यागका कुनै गाथा रच्न यो सबै लीला रचिएको हो र सारा भुवन त्यसको साक्षी बस्न तम्तयार छ ।

कलकल बगिरहेको खुला र बगरमा लटरम्मै फुलेका पारिजातका फूल । इन्दुको प्रकाश यी श्वेत पुष्पका पत्रहरूमा पर्दा, ती पत्रहरू टल्किएका छन् कि आज अन्धकारलाई नै चुनौती भइरहेको छ । तिनै पारिजातका प्रेमिका हुन् निशा । सुरज डुबेसँगै सारा संसारभरि छाउँछिन् उनी । उनको गुण प्रकृति नै त्यही । ईश्वरले सिर्जना गरेको यो दिन र रातको व्यवस्थामा रातमाथिको अधिकार चन्द्रमालाई दिइएको छ र तिनै चन्द्रमाले पृथ्वीलाई परिक्रमा गरेसँगै कहिले पूर्ण रजनी त कहिले उजेली हुन्छिन् उनी । एक मास भरिमा एकपल्ट आउने यो समयमा निशा पनि हर्षित देखिन्छिन् ।

पारिजात पनि तिनै पुष्प हुन् जसको अस्तित्व निशा बिना असम्भव छ । निशाको सन्नाटालाई पर्दा लगाई प्रेमले तृप्त पार्न लालायित पारिजात जो सन्ध्याकाल सकिएसँगै आफ्नो प्रेमिका निशालाई पर्खिबसेका थिए, उनको बोटमा बिस्तारै फूल फुल्दै गैरहेका छन् र जगतला सुवासले भर्दै छन् ।  पवनसँग सवार गर्दै सुवासहरू टाढाटाढा जान खोजिरहेका छन् लाग्दछ पारिजातले निशालाई दिएको यो उपहारका बारे तिनै लोक र चौधै भुवनका राजा रानीहरू सूचित होउन् ।

यति आनन्दित सुगन्ध प्रदान गर्ने यो पारिजात पृथ्वीलोकमा कसरी आइपुगेको जान्नको लागि निशा निकै उत्सुक भइन् र उनी सोध्छिन् पारिजातलाई, ‘हे प्रिय ! आज यो धर्तीको कुनै भाग नहोला जहाँ तिम्रो सुवास नपुगेको होस्, हर प्राणी यहाँ तिम्रो वासनाले मन्त्रमुग्ध छन्, यस्तो अलौकिक खुसबु बोकेर कसरी आयौ तिमी यो पृथ्वीमा ?’

निशाको कौतुहलतालाई बुझेर पारिजातले सुनाउन थाले समुद्र मन्थनदेखि कृष्ण र सत्यभामा सम्मका कथाहरू ।

पारिजात बताउन सुरु गर्छन्,

‘एक समयको कुरा हो । दुर्वासा ऋषिको श्रापका कारण स्वर्गमा देवताहरू शक्तिहीन हुँदै गइरहेका थिए र कारण थियो राक्षसहरू सँगको युद्धमा भएको हार । राक्षसहरूका राजा थिए बलि र गुरु शुक्राचार्य । दानवगुरु शुक्राचार्यले महादेवको साधना गरेर प्राप्त गरेका सञ्जीवनी प्रयोग गर्दै युद्धमा मरेका राक्षसहरूलाई पुन:जीवित गराएका थिए । त्यसैले देवताहरूको सङ्ख्या घटिरहेको थियो र यो संकट टार्न  भनेर देवराज इन्द्र भगवान् विष्णुको शरणमा पुगे । भगवान् विष्णुले यो संकट समुद्र मन्थन गरेर त्यहाँबाट निस्केको अमृतपान गरेर मात्र टर्न सक्ने बताए ।  सोहीअनुसार समुद्र मन्थनको तयारी भयो ।

भगवान् विष्णुले मंदारा पर्वतलाई मथानी र वासुकी नागलाई रसी बनाउन भनेर देवताहरूलाई प्रदान गरे । देवताहरूले पनि समुद्र मन्थनको लागि चाहिने दल बल सहित तयारी गरे र रसीको अर्को भाग समाउनको लागि दैत्यहरूलाई पनि राजी गराए ।  भव्य प्रयोजन सहित मन्थन सुरु भयो र सबै भन्दा पहिला निस्क्यो कालकुट विष जसलाई महादेवले आफ्नो कण्ठमा राखे । सोही दिनबाट उनको नाम नीलकण्ठ हुन पुग्यो । त्यसपछि निस्किंदै गए अन्य धेरै रत्नहरू । तिनै रत्न मध्यको एक म पनि हुँ निशा ।’

यो कुरा सुनिसकेपछि निशा निकै प्रसन्न भइन् र मनमनै सोचुन् ‘समुन्द्र मन्थन जस्तो भव्यताबाट निस्केको यो अनमोल रत्नले आज मेरो लागि यति मिठो सुवास प्रदान गरिरहेका छन् ।’

पारिजातले कथा भन्दै गए, ‘त्यो समुद्र मन्थनबाट भगवती लक्ष्मी पनि निस्केकी थिइन् जसले स्वयंवर गरेर भगवान् विष्णुलाई रोजिन् । मन्थनबाटै निस्केका हुन् चन्द्रमा जसलाई महादेवले आफ्नो शिरमा चढाए ।’

यो कुरा सुनेर आकाशमा उदाइरहेका उनी चन्द्रमा पनि निकै हर्षित मुद्रामा देखिए । उनीले पनि पारिजातले भनेका यी कर्णप्रिय गाथाहरू सुनिरहे ।

पारिजात थप्छन्, ‘त्यहीँबाट निस्केको उच्चैःश्रवा घोडा जसलाई असुर राजा बलिले लगे र पछि त्यो इन्द्रको हातमा पुग्यो, ऐरावत हात्ती जुन इन्द्रलाई दिइयो । कौस्तुभ मणि भगवान् विष्णुले धारण गरे र कामधेनु गाई ऋषिहरूलाई दिइयो ।अप्सरा रम्भा पनि निस्किइन् जसलाई विश्वामित्रको तपस्या भंग गर्न पठाइयो । वारुनीलाई दैत्यहरूले मदिरा भनेर राखे र शंखलाई भगवान् विष्णुले राखे र विजय ध्वनि बनाए । चतुर्भुज धारी श्याम वर्णका धन्वन्तरि पनि निस्किए जसलाई वैद्यको पद दिइयो । म पारिजात र कल्पवृक्षलाई इन्द्रले स्वर्ग लगे अनि त्यहाँ रहेको बगैँचामा लगाए । र अन्तिममा निस्कियो अमृत । निस्किएको अमृत दानवहरूले छल  गरी आफ्नो बनाए । पछि भगवान् विष्णुले मोहिनी रूप धारण गरेर दानवबाट अमृत खोसेर देवताहरूलाई पिलाए ।’

यसरी स्वर्ग पुगेका पारिजात यस पृथ्वीलोकमा कसरी आइपुगे भन्ने कुराले निशालाई निकै उत्सुक बनायो र सोधे, ‘हे पारिजात ! तिम्रा यी कथाहरू सुन्दा परम आनन्दको महसुस गरिरहेकी छु । लागिरहेको छ, काल पनि यही रोकियोस् । अब मलाई तिमी त्यस स्वर्गबाट यस धर्तीमा कसरी आइपुग्यौ ? त्यो पनि भनेर मेरो कौतुहलता मेटाइदेऊ ।’

पारिजातले फेरि सुरु गरे, ‘त्यसरी समुद्र मन्थनबाट निस्किएपछि इन्द्रले मलाई स्वर्गको नन्दन वनमा लगेर स्थापना गरे । त्यहाँ रहँदा मेरो छहारीमा धेरै अप्सराहरू आउँदथे । इन्द्रको मञ्चमा नृत्य प्रस्तुत गरेर थाकेकी उर्वशी म भएको ठाउँमा आएर बिसाउँथिन् र यो सुगन्धले उनको थकान पल भरमै हट्थ्यो ।

एक दिनको कुरा हो । कृष्ण र उनकी दोस्रो पत्नी सत्यभामा शयर गर्दै इन्द्रको दरबारसम्म आइपुगे र म भएको बगैँचामा आए । यो सुवासबाट निकै मोहित भएको कृष्णले बोटबाट फूलको एउटा गुच्छा लगेर रुक्मिणीलाई दिएछन् । यो कुरा जब सत्यभामाले थाहा पाइन् उनलाई पनि आफ्नो बगैँचामा पारिजातको बोट होस् भन्ने लागेछ । यसरी उनले कृष्णलाई आफूलाई स्वर्गबाट पारिजातको बोट ल्याइदिनको लागि ढिपी गरिछन् । सत्यभामासँग हार्न नसकेपछि कृष्णले नारदलाई पारिजातको बोट लिन स्वर्ग पठाए तर इन्द्रले इन्कार गरेर फर्काइदिए ।  त्यसपछि कृष्ण आफै स्वर्ग पुगेर इन्द्रसँग बोट माग्दछन् । फेरि पनि इन्द्रले दिन मान्दैनन् ।

इन्द्रले भन्दै थिए – हे जगन्नाथ, यो पारिजात त स्वर्ग को आत्मा हो, शोभा हो, यही फूलको वासनाले देवताहरूको आयु क्षीण हुँदैन, उनीहरू सधैँ जवान् हुन्छन्, यदि तिमीलाई साँच्चै बोट चाहिएको हो भने मसँग युद्ध गर र जितेर लिएर जाऊ ।

इन्द्र बरु अरू सबै आभूषण दिन तयार तर पारिजातको बोट दिन नभएपछि युद्ध हुन पुग्यो जहाँ कृष्णले जिते र पारिजातको बोट लाई पृथ्वीमा लिएर आए । त्यही दिनदेखि म यस पृथ्वीमा सुवास छरिरहेको छु ।’

पारिजातका कथाहरू यहीँ सकिंदैनन् । उनी फेरि भन्छन्, ‘निशा, भगवतीलक्ष्मीलाई पनि निकै मन पर्ने पुष्प हो नि पारिजात । उनी त मेरा सखी हुन्, हामी दुवै जना समुद्र मन्थनबाट निस्किएका हौं । द्वापर युगमा पनि माता कुन्तीले यही फूल महादेवलाई चढाएर पूजा आराधना गर्ने गर्थिन् ।’

पारिजात र निशाको बीच यस्तै वार्तालाप हुँदाहुँदै पर क्षितिजबाट मधुर उषाका किरणहरू देखिन थाले । रविका किरण धर्तीमा परेसँगै पुरै जगतभरि छाएकी निशाले पारिजातसँग फेरि अर्को सन्ध्यापछि भेट्ने वाचा गर्दै बिदा मागिन् ।

निशासँगको वियोगमा निकै दुखी भएका पारिजात मनमनै सोच्छन् – किन यी खुसी, मिलनहरू यति छोटा हुन्छन् होला !

निशालाई नदेखेपछि पारिजातका पनि आफ्नो बोटमा फुलेका सबै फूलहरू भुइँमा झर्छन् ।

अघिसम्म यी दुई बीचको प्रेमका साक्षी बनेका चन्द्रमा, बृहस्पति अनि ती नौलाखे ताराहरू पनि बिलाइजान्छन् ।

भिएना, अष्ट्रिया