पहाडको दुर्गम बस्ती । दुईवटा घर आमुन्ने सामुन्ने । एक दलितको र अर्को एक बोहोरा क्षेत्री परिवारको । बाँकी गाउँघर अलिक पर तल ! बोहोरा परिवारको मर्द छबिलाल मलेसियामा कमाउँछ । दलित परिवारको दलबहादुर गाउँमा मजदुरी गर्छ । दलेकी स्वास्नी माया गाउँमै बनिबुतो गर्छे।
छबिलालको कमाइले उसकी श्रीमती चतुरीको औकात दिनदिनै उर्लिएको छ । बिना मुद्दा छिमेकीसँग कुरकुराई रहन्छे ! घरको डिलमा उभिएर ऊ बास्छे…ए माया ! किन नबोलेको ए दले..कप्टि ! अब हर्जना तिर ! आज तेरो सुँगुरले मेरो बारीका मकैका बिरुवा खन्यो ! तेरो कुखुराले बिस्कुन टिप्यो ! सुन्यौ के ए भात मारा हो.. ! सुँगुर कुखुरा पाल्नेको त जग्गाजमिन पनि आफ्नै हुनु पर्छ नि ! बुझिस् के ? तेरा छोराछोरीले मेरो बारीको चिचिला फलफूल चोर्छन । श्रीमती भनौदी फर्सीको मुन्टा टिप्छे ! सोध्नुपर्दैन तिमीहरूले एकपटक ! हँ..?
यसै गरी ऋतु अनुसारको फत्तुर र आरोप दलबहादुरको परिवारले खेपिरहे वर्षभरि । उसको आर्थिक अवस्था कमजोर थियो । छोराछोरी साना साना । बिहान बेलुका छाक टार्न धौ धौ थियो यिनीहरूलाई !
हेर्दाहेर्दै मलेसियाको कमाइले छबिलालको घर सिमेन्ट र ढुङ्गाले ठडियो । दलबहादुरको र उसको परिवारको गुजारा काठको घरमै चलिरहेको छ । घर सँगसँगै दलित परिवार दलबहादुरमाथि चतुरीको अत्याचार उसको घरभन्दा अग्लो भयो । छबिलाल मलेसियाबाट फोनमा धाक देखाउँछ । त्यो बजिया दलेको म उठिबास लगाइदिन्छु । त्यसको एकचोक्टा जग्गाको मोलतोल गरोस् !
आँगन जोडिएका नजिकका छिमेकी हुन् यिनीहरू !
समय । राति ११ः४७ बजे । निस्पट्ट अँधेरो । मृत्युको अन्तिम अवस्थाको आवाज’ ‘गुहार गुहार ! कोही छ ! बचाइदेऊ हामीलाई !’’ हामी मर्न चाहन्नौँ !’ ‘हामी जिउँदै पुरिएका छौँ है पुरिएका ! म मरेको छुईन !
काँपेको र शक्ति घटेको दुर्बल आवाज भत्किएको घरको भग्नावशेष मुनिबाट आइरहेको थियो । अन्य घर बस्ती नजिक थिएनन् । आज ६.४ रेक्टर स्केलको भूकम्प गएको छ । अन्य आवाज सुन्न सकिन्थ्यो मात्र भेरी नदी सुसाएको । वारिपारि हाहाकार मच्चिएको ।
मलेसियाबाट छबिलाल घर आएको पाँच दिन भएको थियो । दलबहादुर र उसका परिवारले छबिलालको रवाफ र धाक मात्र देखेका हुन भरिया आउँदा । दलबहादुरको ऊसँग न जम्काभेट भएको थियो न बोलचाल गर्न नै पाएको !
छबिलाल लोग्ने स्वास्नी दुबैजना भग्नावशेषमा पुरिएका थिए यस बेला । झिनो बाच्ने आशामा उद्धार मागिरहेका थिए तिनीहरू। चतुरीले प्राण त्याग्न धेरै समय बाँकी थिएन । दलित दलबहादुरको घर काठको एकतले थियो । तैपनि घर मज्जाले हल्लियो । तर, चोइटो पनि उप्किएन । उनीहरू सपरिवार सकुशल थिए । राँकोको उज्यालोमा माया र दलबहादुर भग्नावशेष मुनि दबिएको आवाज पहिल्याउँदै गए । छबिलालको सपरिवार भग्नाबशेषले छोपिएका रहेछन् । एक एक गरेर छबिलाल, चतुरी र आठ बर्षे छोराको उद्धार गर्दियो दलबहादुर बिश्वकर्माले । फाटफुटे स्थानीय उद्धार कर्ता बिहान बल्ल देखा परे त्यहाँ । तीन दिनपछि आकाशमा हेलिकप्टरको आवाज सुनियो ।
छबिलालले हात गुमाएछ । चतुरीको कम्मर चलेन । बिहान सदरमुकाम खलङ्गाको अस्पतालमा उपचारको लागि घाइते बोहोरा परिवार ओसार्न दलबहादुरको प्रमुख भूमिका रह्यो । रगत नदिए उनीहरूको जीवन लीला सकिन्छ रे । सदरमुकाममा रगतको हाहाकार थियो । ब्लड बैङ्क थिएन । दलबहादुरको रगत छबिलाल र चतुरीलाई ठ्याक्कै मेल खायो ।
तीन महिनापछि …। छबिलालले मलेसियामा बस्दा जोडेको डेढ तोलाको सुनको औँठी आफ्नो औंलाबाट खोल्यो । आँखाभरि आँसु भरेर उसले दलबहादुको हात तान्दै औंलामा लगाइदियो । दलबहादुरको खुट्टा समायो । अकाशतिर हेर्दै भन्यो, ‘दाजु तिमी असल छिमेकी मात्र नभएर महान् प्राणदाता हौ ! हामीले पुनर्जीवन पायौं। यस बेला चतुरीले आँखाबाट नारायणी बगाउँदै भनी हामीलाई क्षमा गरिदिनु दाजु !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।