त्यसपछि बुढो अतीतले आफ्नो विगत खोतल्न थाल्यो । “घाम अझै ब्युँझिसकेको थिएन, मेरी आमा ब्युँझिन् । घडीमा घण्टा सुई चार नम्बरको काँटीमा अल्झेको थियो । फेरि आमाको छटपटी सुरु भयो । जुरुक्क उठेर आमा ढोकानेर पुगिन् । ढोकाको एउटा मात्रै खापा खोलेर एक बाजी नजर बाहिर हुत्त्याइन् । हिउँदको चिसो बतास कोठाभित्र छिर्‍यो । आमाले बाहिर के देखिन् कुन्नि ! एक छिन ढोका खुल्लै छोडेर बिजुलीको गतिमा फेरि ओछ्यानतिर फर्किन् र मेरो ढाडमा थपथपाइन् । बिस्तारै मेरो टाउको मुसारिन् । सिरकले मेरो छोपिन बाँकी पुरै शरीर छोपिदिइन् । शिरदेखि पैतालासम्म । अनि हतार-हतार बाहिर  निस्किन् । ढोका बन्द गरेर खै कता बत्तिइन् । आमाको पदचाप केही बेरसम्म मेरो कानमा गुन्जिरहे । र, बिस्तारै माटोमा बिलाउँदै गए ।

आमालाई लागेको थियो म निदाएको छु । तर मेरा आँखा मात्र बन्द थिए । आमासँगै म पनि ब्युँझिसकेको थिएँ । आमाले मलाई अँध्यारोमा त्यसरी एक्लै छोडेर जाँदा मेरो बाल मस्तिष्कले के सोच्यो ? मेरो मनमा कस्ता कुराहरू खेले ? स्मृतिपटलमा अहिले त्यी कुराहरू केही याद छैनन् । मनमा के – के कुरा खेलाउँदै म भुसुक्क निदाएछु । ब्युँझँदा म आमाको काखमा थिएँ ।

त्यो एक अप्रिय रात थियो, जुन रातपछि हाम्रो घडीमा समय उल्टो बग्न सुरु गर्‍यो । त्यो चिसो रातले मेरो हृदयभित्र प्रशस्त ठाउँ ओगटेको थियो । हिउँदको त्यो चिसो रातजस्तै म चिसो भएको थिएँ । र, मेरो भविष्य बिस्तारै अँध्यारोतिर धकेलिँदै थियो ।

बिहानीपख एक दिनको उज्यालो बोकेर झाँक्री डाँडामा घाम झुल्कियो । हिजो मात्रै हाम्रो घरको उज्यालो जति लिएर पश्चिम डाँडोबाट ओरालो खसेको थियो । हाम्रो आँखामा एक जुनी अँध्यारो खन्याइदिएर । घर अगाडिको धारामा पल्लो घरकी काकीसँग आमाले रातिको घटना बारे बेलिबिस्तार लगाउँदै थिइन् । आँगनको डिलमा बसेर मैले आमालाई सुनिरहेँ ।

हाम्रो घरभन्दा माथि मूलबाटो थियो । त्यो बाटो जङ्गलभित्र घुसेर अर्को गाउँ निस्कन्थ्यो । घरबाट माथितिर उकालो आधा घण्टा हिँड्नुभयो भने तपाईं मूलबाटोमा देखा पर्न सक्नुहुन्थ्यो । राति त्यही बाटोमा आमाले एउटा टर्चको उज्यालो देखिन्छन् । राति मूलबाटोमा टर्च बाल्नेहरू माओवादी भएको लख काटी बालाई उनीहरूबाट छुटाएर ल्याउन भनी आमा त्यहाँ पुगेकी रहिछन् । त्यसताक गाउँमा राती हिँड्ने प्रायः माओवादी हुन्थे । आमा त्यहाँ पुग्दा टर्चले डाँडो काटिसकेछ । अलिकति पलाएका आशाका त्यान्द्रा त्यहीँ छुटाएर आमा घर फर्किछन् ।

बा गाउँमा नाम चलेका शिक्षक थिए । गाउँकै विद्यालयमा पढाउँथे । काका माओवादी भएको हुँदा सुराकीहरूले बालाई पनि माओवादीको बिल्ला भिराइदिएका थिए । काका भने आफ्नै खुसीले माओवादीमा लागेका थिए । माओवादीमा प्रवेश गरेदेखि काका वर्षमा तीन-चार चोटि मात्र घर आउँथे । काका सङ्गै काकाका साथी पनि आउँथे । काकासँग हतियार हुन्थ्यो । हतियार हेर्न मेरो साथी असोक हाम्रो घरसम्म डोरिन्थ्यो । घोड्किलोमा झुन्ड्याइएको हतियारतिर औँला सोझ्याउँदै म बडो अदबका साथ भन्थेँ । “देखिस्, मरो काकासँग प्वाँलै-प्वाल भएको हतियार छ ।” ऊ दङ्ग पर्थ्यो । काकाले ल्याएको मिठाइ हामी बाँडेर खान्थ्यौँ । ऊ मेरो सबैभन्दा मिल्ने साथी थियो । काका घरमा दुई-तीन दिन भन्दा बढी कहिल्यै बसेनन् । काका गएपछि म फेरि काका आउने दिन कुरेर बस्थेँ ।

एक दिन असोक र म स्कुलबाट घर फर्कँदै थियौँ । बाटो छेवैको झाडीबाट एउटा चरी भुर्र उडेर गयो । चरीको गुँड भएको अनुमान लगाइ म झाडीभित्र पसेँ । मेरो पछि-पछि थियो असोक । झाडीभित्र चरीको गुँड तुर्लुङ्ग झुन्डिएको मैले देखेँ । गुँडभित्र थिए चार वटा अण्डा ।

“यो गुँड मेरो हो, पहिला मैले देखेको हुँ ।” मैले चरीको गुँडमा दाबी गरेँ ।

“मैले ढुङ्गा हानेर उडेको हो चरी । यो गुँड मेरो हो ।” ऊ गुँडमा आफ्नो हक जताउन खोज्थ्यो ।

हामी चरीको गुँडलाई तेरो-मेरो भनेर एक अर्कामा बाझिरहेका थियौँ । हठात् एउटा बन्दुकको भयानक आवाजले हामीलाई तर्सायो । “ड्याङ…ड्याङ…ड्याङ..!” आवाज कताबाट आइरहेको थियो, ठम्याउन मुस्किल पर्‍यो । हामी झाडीबाट बाहिर निस्क्यौँ । त्यो आवाज पहाडमा ठोक्किएर चारै दिशातिर गुन्जिहरेको थियो । एक छिनपछि झाँक्री डाँडाको ठिक माथिबाट कालो बादललाई चिर्दै एउटा हेलिकप्टर फुत्त बाहिर निस्क्यो । हामी उभिएको आकाशमाथि दुई फन्का मारेर फेरि बादलभित्रै हरायो । हेलिकप्टर सँगै बन्दुकको आवाज पनि हरायो । हेलिकप्टरले एउटा गहिरो सन्नाटा छोडेर अलप भएको थियो ।

“तिमीहरूलाई बाँच्न मन छैन ?” एउटा प्रश्नले हामीलाई पछाडिबाट च्वास्सै घोच्यो । मुन्टो बटारेर हामीले आवाज आएतिर हेर्यौं । त्यहाँ महेश सर थिए । स्कुलमा होमवर्क नगर्दा बाघ बनेर गर्जने महेश सर आज आफैँ बिरालो बनेर मकैबारीको कान्लातिर कुक्रुक्क परेर बसेका थिए । र सम्भवतः उनी मुसो हुने तरखरमा थिए । मुसोमा परिणत हुँदै गरेको बिरालोले हामीलाई भन्यो, “तिमीहरू पनि मकैबारीभित्र पस र लुक्दै-लुक्दै आफ्नो घर गइहाल । नत्र भए आकाशबाट भटभटेले बम खसाल्नेछ, र हामी सबैलाई ध्वस्त पार्नेछ ।”

सन्नाटालाई चिर्दै फेरि बन्दुकको आवाजले हामीलाई हमला गर्न थाल्यो । आवाज अगिको भन्दा दुगुना ठुलो र भयानक भएर आएको थियो । त्यो आवाज निरन्तर आइरह्यो । “ड्याङ…ड्याङ…ड्याङ..!” बिरालो अहिले मुसो भइसकेको थियो । र अब मुसो हुने पालो हाम्रो थियो । त्यसपछि तपाईं देख्न सक्नुहुन्थ्यो मकैबारीको कान्लै-कान्ला कुदिरहेका तीन वटा मुसा । एकदम आतङ्कित ।

साँझ ७ बजे घरको थोत्रो रेडियोले हाम्रो कानमा एउटा अप्रिय समाचार खसाल्यो, “आज अपराह्न चार बजे दैलेख जिल्ला स्थित देउराली भन्ज्याङमा माओवादी र शाही नेपाली सेना बिच दोहोरो भिडन्त हुँदा छ जना माओवादीको घटनास्थलमै मृत्यु भएको छ । भिडन्तमा घाइते हुनेको सङ्ख्या…” त्यसपछि काका कहिल्यै घर फर्केर आएनन् । पछि थाहा भयो रेडियोले फुकेको ६ जनामा एक काका थिए ।

काकाको देहान्त भएको एक वर्ष पनि पुगेको थिएन । माओवादीमा संलग्न मान्छेहरूको लिस्ट लिन भनी गाउँमा सरकारी पक्षले सुराकी टोली पठायो । मेरा बा पनि माओवादी हुन भनेर कसैले अफवाह फैलाइदिएछ । बाको पनि लिस्टमा नाम थपियो ।
केही दिनपछि माओवादीले त्यो लिस्ट फेला पारे । लिस्टमा नाम भएका जतिलाई उनीहरूले अपहरणको शैलीमा जबरजस्ती आफूसँगै लिन थाले । आफूसँग नगएमा सेनाबाट खतरा हुने भन्दै जान नमानेकाहरूलाई पनि जबरजस्ती लिएर गए । बा पनि त्यसैमा परे । स्कुलमा विद्यार्थीलाई पढाइरहेको बेला बालाई एक डफ्फा माओवादीले जबरजस्ती घिसार्दै लगे । स्कुलबाट फर्केर मैले आमालाई हतासिएर भनेको थिएँ । “बालाई माओवादीले अपहरण गरे ।” त्यसपछि आमाको छटपटी सुरु भएको हो ।
बालाई माओवादीले लगेदेखि गाउँलेहरूले हामीलाई पहिलाको भन्दा नराम्रो नजरले हेर्न थालेका थिए । भित्र-भित्रै कुरा काट्थे । हेयको दृष्टिले हेर्थे । बा शिक्षक भएकोले स्कुलमा मेरा साथीहरूले मलाई औधी माया गर्थे । कसैले पनि मसँग झगडा गरेको मलाई सम्झना छैन । सबै साथीहरू मेरो नजिक हुन खोज्थे । बालाई माओवादीले लगेदेखि भने उनीहरूले मलाई हेप्न थालेका थिए ।

शनिवारको दिन थियो । दाउराको भारी बोकेर घर फर्कँदै थिएँ म । गाउँका केटाहरू चौरमा भलिबल खेलिरहेका थिए ।

“आतङ्ककारी आयो, आतङ्ककारी !” एउटाले चिच्यायो । सबै गलल्ल हाँसे । सबैका आँखा ममाथि परिरहेका थिए । मानौँ, म सर्कसको जोकर हुँ । सबैलाई हँसाइरहेछु । केही नबोली म चुपचाप आफ्नो बाटो लागेँ । पछाडिबाट एउटाले बलले हिर्कायो । बल मेरो गर्दनमा लाग्यो । शरीरको सन्तुलन गुमाएर म धङमङिए । आफूलाई सम्हालेर पछाडि फर्केँ । तौवा तौवा ! म त अचम्मित भएँ । सबैका आँखाले मलाई नै डसिरहेका थिए । र, सबैको ओठमा हाँसो उब्जेको मैले देखेँ । बललाई मैले खुट्टाले हिर्काएर उनीहरू तिरै हुर्याइदिएँ ।

“ओइ आतङ्ककारी…. खुट्टाले हिर्काउँछस् ! ” अर्को गर्ज्यो ।

घरमा पुग्ने बित्तिकै मैले आमालाई सोधेँ । “आमा, मलाई सबैले आतङ्ककारी किन भन्छन् ?” आमाले केही बोल्नुभएन । आमाको अनुहार उदास-उदास थियो । आमाको आँखामा डम्म आँसु भरिएर आयो । आँखाको डिल भत्किएर आँसु झर्न तयार देखिन्थ्यो । मैले तत्क्षण आफ्ना आँखा भुँइतिर ओरालेँ । मैले आमाको निभेको अनुहार हेर्नै सकिन । आमाको अगाडि रोएर म आमाको भत्केको मन अझै भत्काउन चाहन्नथेँ । घरपछाडिको आँपको फेदमुनि गएर म निकै बेरसम्म सुँक्सुकाइरहेँ ।

आँपको रुख अहिले छैन । त्यो रुख वास्तवमा मेरो सहारा थियो । मेरो एक मात्र साथी । जसको अगाडि म धक खोलेर रुन सक्थेँ । आफ्ना भावना पोख्न सक्थेँ । आज त्यो रुखको ठुटो मात्र बाँकी छ । केही वर्ष अघि त्यो रुखलाई चैतको हुरीले भाँचिदिएको थियो । जस्तै पिडामा पनि म अरूको अगाडि रुन सक्दिनथेँ । मनलाई काबुमा राख्ने कोसिस गर्थेँ । मभित्र असन्तोष, व्याकुलता, एकान्तपन र अनेक भत्कोसहरू उकुसमुकुस भएर बसेका हुन्थे । बाहिर पोखिन तयार । प्रायशः म झिसमिसे साँझमा त्यही रुखको फेदमा पुग्थेँ । रुखलाई अँगालो मार्थेँ । र धित मरुन्जेल रुन्थेँ । रोएर मन हलुङ्गो हुन्थ्यो । अनि शान्त मन लिएर घर फर्कन्थेँ । ती दिनहरू ज्यादै कष्टकर थिए । बा गएदेखि हाम्रो ओठमा कहिल्यै गुराँस फुलेन । हाम्रो अनुहारको चहक बा सँगै गायब भएको थियो ।

परन्तु एक दिन ईश्वरले हाम्रो लागि अन्तरिम खुसी वापस पठाइदिए । त्यस्तै मङ्सिरको महिना हुनुपर्छ । चिसो मौसम थियो । आँगनमा झिसमिसे साँझ ओर्लँदै थियो । अँध्यारोले आधा साम्राज्य जमाइसकेको थियो । म गाइलाई तिरिन हाल्न घरको मूल ढोकाबाट बाहिर निस्कनै आँटेको थिएँ । आँगनमा एउटा खजमजिएको अनुहार मैले देखेँ । मेरा पाइला ढोकैमा अडिए ।  ढोकामा उभिएर मैले त्यो अनुहार तिर गौर गरेर हेरेँ । त्यो अनुहारले मुस्कान ओढिरहेको थियो । अनुहारको आँखाले अपलक मलाई नै हेरिरहेका थिए । र, अनुहार सनै-सनै मतर्फ अगाडि बढिरहेको थियो । गाला भित्र धसिएर खोपिल्टा परेका । खङ्ग्रङ्ग परेको खोक्रो अनुहार । अनुहारका पाठ पुर्जा सबै खिइँदै गएछन् । लगभग नचिनिने भएछन् मेरा बा । आफ्नै बालाई चिन्न मुस्किल पर्यो मलाई ।

झन्डै एक वर्षपछि बा घर फर्केका थिए । बाले कति दिन खाना नखाई भोकभोकै बस्नुपर्यो होला ! कति रात नसुतेरै जङ्गलमा बिताए होलान् ! त्यो एक वर्षको अवधिमा कति त्रासदीको जीवन बित्यो ! बाले कति कष्ट भोग्नुपर्‍यो ! त्यति धेरै सोच्ने मेरो उमेर थिएन । म त आफ्ना बा घर फर्केर आउँदा हर्षविभोर भएको थिएँ । आमाको आँखाबाट पनि हर्षाशु खसेका थिए । र, खुसीले चम्किएको थियो आमाको मुखमण्डल । त्यो समयको अन्तरिम खुसी घरको कोठा-चोटासम्म फैलिएको थियो । गायब भएको घरको उज्यालो फेरि फिर्ता भएको थियो ।

त्यही राति बालाई हनहनती ज्वरो आयो । चुलोको छेउमा पाखी ओछ्याएर बा सुतेका थिए । ज्वरोले निदाउन सकेनन्, रातभरि छटपटाइरहे । हाम्रो खुसी धेरै बेर टिक्न सकेन । बा घर आएको हप्ता दिन पनि पुगेको थिएन । गाउँमा गस्ती आउँदै छ भन्ने हल्ला सुनियो । भर्खरै माओवादीबाट भागेर आएका मेरा बाले फेरि आर्मीबाट भाग्नुपर्ने भयो । जिन्दगी भागेरै बित्ने भयो ।

ज्वरोले अझै छोडेको थिएन । बाले घर छोड्नुपर्ने भयो । पश्चिमको डाँडाबाट घाम ओरालाेतिर खस्दै थियो मेरा बा उकालो लागे । मूलबाटो सम्म पुग्दा मैले बालाई देखेँ, जुन बाटो सम्मको दुरी कुनै समय रातको अन्तिम प्रहरमा मेरी आमाका पाइतालाले नापेका थिए । त्यसपछि बा जङ्गलभित्र हराए । जसरी कुहिरोमा घाम हराउँछ । मेरो दृष्टिभन्दा धेरै पर पुगिसक्दा पनि मैले बालाई हेरिरहेँ, बा गएको बाटोतिर दृष्टि फिँजाइरहेँ । आमा भित्र सुँक्कसुँक्क रुँदै थिइन् ।

साँझ मामा घरबाट हजुरआमा आइन् । हामीलाई आर्मीबाट बचाउन । गाउँमा आर्मी आउने खबर हजुरआमाको कानसम्म पुगेछ । हजुरआमाको सल्लाहबमोजिम हामीले घर छोड्ने निधो गर्यौं । राति अँध्यारोमा हिँड्न डर हुन्थ्यो त्यो बेला । तरै, हामीले डरलाई जितेर राति नै घर छोड्नुपर्ने भयो । कारण, त्यो भन्दा ठुलो डर हामीलाई गस्तीमा आएको आर्मीसँग हुन्थ्यो । उनीहरू सँगै हिँडिरहेको थियो हाम्रो काल । हामीलाई बाँच्नु थियो, हामीले घर छोड्यौँ ।

झाँक्री डाँडामा जून अडिएको थियो । अगाडि मेरो आफ्नै छाया हिँडिरहेको थियो, लुखुर-लुखुर  । पछि-पछि  हुन्थेँ म, उसलाई पछ्याइरहेको । आमा र हजुरआमा मेरो पछि थिए । दुई घण्टा हिँडेर हामी मामा घर पुग्यौँ । त्यो गाउँमा भरसक माओवादी र आर्मी/प्रहरी पस्थेन, गाउँ अछेक थियो ।

भोलिपल्ट छकालै छिमेकी काकी मामाघर टुपुल्किइन् । उनी धेरै हतास देखिन्थिन् । आमालाई कोठाको अँध्यारो कुनातिर लिएर भासिएको स्वरमा उनले भनिन्, “हिजो राती गाउँमा आर्मी आयो । तिमी हिजो भागेर नआएको भए आर्मीले मार्ने रैछ नि, बाबै ।”

हाम्रो घरमा कोही नदेखेपछि आर्मीले छिमेकी काकीको घरमा गएर केरकार गरेछ । घरमा कोही नभएको सङ्केत पाएपछि उनीहरूले हाम्रो घरमा आगो सल्काइदिएछन् । घर जलेपछि अव कहाँ जाने, जानलाई ठाउँ थिएन । हामी मामा घरमै बस्ने भयौँ ।
गाउँ छोडेपछि धेरै थोक उतै छुटे । सँगै गोठाला जाने मेरा बालसखाहरू छुटे । हामीले खेल्ने चिप्ले ढुङ्गा । आँपको रुख । मैले पढ्ने स्कुल । मुरली बजाउँदै डुली हिँड्ने वन जङ्गल, पाखा पखेरा । चरीको गुँड खोज्दै हिँड्ने ती दिनहरू । सबै छुटे । नियतिले मलाई एक्लो-बेग्लो बनाएको थियो । नयाँ ठाउँ/नयाँ परिवेशमा रमाउनुपर्ने भयो । मैले छुट्टै संसार रच्नुपर्ने भयो ।
देशमा युद्ध नरोकिएसम्म हामीले मामाघरमा गुपचुप जीवन बाँच्यौँ । देशमा शान्ति आएपछि मात्र हामी आफ्नो गाउँ फर्क्यौं ।”

बुढो अतीत भर्खरै गायब भएको छ । जो मेरो पुरानो डायरी टकटकाउँदा डायरीका पानाबाट झरेको थियो । र उसले मलाई सात वर्ष पछाडि धकेलेर विस्मृत हुनै लागेका केही धुमिल यादहरू माझ छोडिदिएको थियो ।

बाहिर रिमझिम-रिमझिम पानी बर्सिरहेको छ । वर्षाको दुई थोपा पानी मैले आँखामा सँगालेर राखेको छु । ढाँगिला-ढाँगिली पानीमा भिज्दै छन् । रमाइरहेछन् उफ्रँदै । म झ्यालबाट उनीहरू तिरै एकटकले हेरिरहेको छु । मेरो अघिल्तिर पसारिएको छ, एक पुरानो डायरी । झ्यालबाट बाहिर छरिएको आफूलाई फेरि डायरीमा केन्द्रित गर्छु ।

टेबुलबाट कलम टिप्छु र समेट्न खोज्छु आफ्नो बर्तमानलाई, लेखिन बाँकि डायरीका खाली पानाहरूमा । जसरी मैले यही डायरीका पानाहरूमा आफ्नो विगतदेखि बर्तमानसम्मका घटनाक्रमलाई समेट्न खोजेको थिएँ, कुनै एक उदास साँझ । र आज ती स्मृति बनेर मेरो मस्तिष्कमा उभिन आइपुगे । आगे मेरो टुहुरो वर्तमान बोल्छ डायरीका पानाहरूमा –

देशमा युद्ध रोकियो । शान्ति आयो । लोकतन्त्र आयो । गणतन्त्र आयो । अरू-अरु पनि के-के आयो । तर मेरा बा घर फर्केर आएनन् । अव त आमाको पनि स्वर्गवास भइसकेको छ । म सँग मेरी श्रीमती र एक छोरी छिन् । द्वन्द्वकालमा आर्मीले ध्वस्त पारेको भग्न घरलाई भत्काएर त्यही जगमा नयाँ घर बनाएको छु । गाउँमा व्यावसायिक तरकारी खेती सुरु गरेको छु ।

मलाई अहिले कसैले आतङ्ककारी भन्दैन । सबैले सम्मानजनक व्यवहार गर्छन् । सुखी परिवार छ मेरो । केही कुराको कमी छैन । तर, एउटा कुराले हामीलाई पिरोल्छ । त्यो हो – बा को याद । मेरो स्मृति दंशमा जब बाका याद सजीव भएर आउँछन्, म मौन हुन्छु । श्रीमतीले पनि मेरो मौनता बुझ्छिन् । बाको याद आउँदा हामी दुवै मौन । यस्तो प्रतीत हुन्छ मानौँ हामी मौनतामा आफ्ना भावना विनिमय गरिरहेका छौँ । एक छिनमा पुरै घर सन्नाटामा डुबिसकेको हुन्छ ।

कहिलेकाहीँ म आफूलाई ऐना अगाडि ठिङ्ग उभ्याउँछु, ऐनामा आफ्नो प्रतिविम्ब हेर्छु । त्यहाँ बाको अनुहार भेटाउँछु । सायद बा बेपत्ता हुँदा मेरै उमेरका हुँदा हुन् । अब त बुढो भइसके होलान् । कहाँ छन् होला मेरा बा ? जिउँदै छन् होला ? की मरिसके ? सोचिल्याउँदा उदास-उजाड हुन्छु । र, बार्दलीको फलैँचामा बसेर बा गएको बाटोतिर आँखा बिछ्याउँछु । सोच्छु- त्यही बाटोबाट पिठ्युँमा बडेमानको झोला बोकेर घँगारुको लट्ठी टेक्दै मेरा बा फिर्ता आइदिए हुन्थ्यो । थाहा छ, त्यो सम्भव छैन । तर आस लागिरहन्छ ।