(संसारभरि नै आयामका दृष्टिले हाइकु, मुक्तक जस्ता लघुतम कवितादेखि बृहत् आयामका महाकाव्यसम्म विभिन्न किसिमका कविता लेखिँदै आएका छन् । तीमध्ये विश्वसाहित्यमा पनि र नेपाली साहित्यमा पनि छोटा कविताको आफ्नै सुन्दर परम्परा रहेको छ । सूक्ष्म कविताहरु कुनै निश्चित नियममा नबाँधिई स्वतन्त्र लेखनमा आधारित कविता हुन् । यी कविताका सन्दर्भमा स्वतन्त्रता आफैमा एउटा नियम र सबैभन्दा ठूलो सौन्दर्य हो । शब्दको मितव्ययी प्रयोगबाट भाव र विचारको घनत्व तथा अभिव्यक्तिको तीव्रतालाई कलात्मक रूपमा प्रस्तुत गर्नु नै यस्ता कविताको शक्ति हो । कविताको मूल शक्ति एउटै झिल्कोभित्र हुन्छ । त्यो झिल्को भनेको नै विचारको सघनता, भावको तीव्रता अनि आकस्मिक मोडबाट उत्पन्न हुने शक्तिशाली झट्का हो । त्यसले नै पाठकको हृदयमा गहिरो प्रभाव उत्पन्न गर्छ । आजको व्यस्त दुनियाँमा छोटाछरिता, सघन भावले भरिएका र अविस्मरणीय प्रभाव छोड्न सक्ने तागत भएका कविताहरूको औचित्य र उपयोगिता बढिरहेको छ । त्यसैले छोटा कविताको सौन्दर्य र यसको विशिष्ट पहिचानका बारेमा गम्भीर विमर्श हुनु जरुरी छ । त्यही विमर्शका लागि ध्यानाकर्षण गराउँदै यस शृङ्खलाको आरम्भ गरिएको हो । — डा. विप्लव ढकाल)
१. बस छुटे झैँ
(सरुभक्त)
आकाशमा तारा झर्ने बेला
बसचालक हर्न बजाउँछ,
मलाई जगाउँछ—
म आफै टुक्रिन्छु बसमा—
‘आशा–निराशा, हर्ष–विस्मात
विश्वास, लज्जा, हीनभावना …’
म असङ्ख्य यात्री बन्छु !
मभित्रका असङ्ख्य यात्री
परस्पर बिरोधी यात्री,
— यात्रा गर्छन् एउटा गन्तव्यपथमा —
हरेक मोडबाट हामफाल्ने डर
पेट्रोलको अन्तिम बूँद पथमै सकिने डर
कुहिरे डाँडा अचानक खस्ने डर
मेरो चालक हर्न बजाउँछ,
म छुट्छु— बस छुटे झैँ !
२. दुर्घटित
(गोविन्द गिरी प्रेरणा)
म सडकमा ओर्लिनुअघि नै
बाटो दुर्घटित भो’ !
मैले तर्नुअघि नै
पुल दुर्घटित भो’ !
बिहानी घाम झुल्कनुअघि नै
दिन दुर्घटित भो’ !
म स्कुल पुग्नुअघि नै
शिक्षा दुर्घटित भो’ !
म खुसी हुनुअघि नै
सुख दुर्घटित भो’ !
अहो ! के भएको यस्तो ?
मैले जीवन बाँच्नुअघि नै
मृत्यु दुर्घटित भो’ !
३. ढोका
(नकुल सिलवाल)
सुरुङबाट बाहिरिनु
भित्र पस्नुजस्तो सजिलो हुँदैन,
निस्कनुपर्ने ढोका प्रवेशद्वारजस्तो हुँदैन
आफैले ढोका बनाउनु भनेको
आफूलाई ढोका बनाउनु हो,
आफू आफ्नै ढोकाबाट निस्कनु भनेको
‘मुक्ति’ पाउनु हो,
जो भनेजस्तो ‘सरल’ छैन ।
आफूले आफ्नै हातमा किला ठोक्नु
भित्तामा किला ठोक्नुजस्तो कहाँ हो र !
खोरबाट, दाम्लोबाट
पशुले मुक्ति पाउनुजस्तो होइन
मान्छेले मुक्ति पाउनु भनेको !
४. कछुवा र खरायो
(राजेन्द्र थापा)
कहानीमा कछुवालाई जिताएर
मान्छेले खरायोलाई बदनाम गराइदियो,
इतिहास बदल्ने सोचेर खरायोले भन्यो—
‘आइज फेरि दौडौँ’
कछुवाले पनि भन्यो—
‘हुन्छ, तर यस पटक जो पहिले पुग्छ ऊ हार्छ’
खरायोले सोच्यो, ठीकै छ, म फेरि सुत्नेछु र
जितिहाल्छु,
दौड सुरु भयो,
यस पटक भने खरायो सुतेको देखेर
कछुवा पनि सुतिदियो,
आज पनि खरायो र कछुवा सुतिरहेका छन्,
र सायद हाम्रो देश पनि यस दौडमा सामेल छ !
५. आमा
(राजेन्द्र शलभ)
आमा सखारै
सूर्यसँगै ब्यूँझिनुहुन्छ
र सूर्यसँगै
उज्यालो बाँड्दै हिँड्नुहुन्छ
पूर्वदेखि पश्चिमसम्म
बिहानदेखि बेलुकासम्म
बाँड्दा–बाड्दै जब
न्याना किरणहरू सकिन्छन्
आमा पनि
सूर्यसँगै निदाउनुहुन्छ
भोलि बिहान सखारै उठ्न
र उज्यालो बाँड्न ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।