१. शर्मिलाकहाँ बदनाम रात

(चन्द्र घिमिरे)

त्यो गाला देऊ
त्यो औँला देऊ
त्यो मुटु देऊ
त्यो नयन देऊ
त्यो जलन देऊ
कति गछ्र्यौ हिसाब सरू,
नाम बदनाम हुन देऊ !

त्यो फूल देऊ
त्यो मुस्कान देऊ
एकबारको जुनीमा
बैँस मक्किएको रात लेऊ
तिम्रो सिरानीमा बास देऊ
वरदान वा सराप देऊ
हुन्देऊ आजको रात सरू,
मलाई जेमन्तै हुन देऊ !

२. पीडाहरू माझिरहेकी कान्छी

(सरस्वती प्रतीक्षा)

कान्छी
पीडाहरू माझिरहेकी छ
आफ्नो मनले, विश्वासले, धैर्यताले
कान्छी धमिला पीडाहरू माझिरहेकी छ !

आज
पीडाहरू माझिरहेकी कान्छी,
भोलि
धमिलो समाज माझ्ली—नमाझ्ली ?
भोलि
धमिलो संस्कार माझ्ली—नमाझ्ली ?
आज
म उसलाई यति मात्र सोध्छु—
ए पीडाहरू माझिरहेकी कान्छी !
के तिमी पीडाहरूकी वीराङ्गना हौ ?

३. आरुको फूल

(सन्तोष थेवे)

न चल्न सक्छ
न छल्न सक्छ
बिचरा आरुको बोटले
मान्छेले जस्तो
जवानी कहाँ लुकाउन सक्छ ?

मान्छेले लुकाएर पो त
नत्र सबैभन्दा बढी
भित्रभित्रै सल्केर
को जल्न सक्छ ?
को चल्न सक्छ ?
को छल्न सक्छ ?

४. मेचमाथिको मान्छे

(नाकिम)

भिरेको छु भन्छ—
शिरमा टोपी
शरीरमा दौरा—सुरुवाल
खुट्टामा जुत्ता
अर्थात्
राष्ट्रिय पोशाक !

तर म त
हजार पटक हेरे पनि
सर्वाङ्गै देख्छु नाङ्गै—
त्यो, मेचमाथिको मान्छे !!

५. ब्रुफिन

( सुमन घिमिरे )

पहिल्यै छुट्टिँदा
घाउ दुखेको रहेछ,
अनि मिल्दा चाहिँ
घाउ लुकेको रहेछ !

आज फेरि
छुट्टिने क्रममा
घाउ दुख्दै छ,
मन रुँदै छ !
तर म दुख्ने घाउ लुकाउँदै
स्मरण गर्दै छु,

घाउ पुरानै हो
दुखाइ पनि पुरानै हो,
मात्र ‘ब्रुफिन’ ले काम गरेको रहेछ !!