साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

सूक्ष्म कविता अर्थात् स्मार्ट पोयम्सः शृङ्खला २

Chovar Blues Mobile Size

(संसारभरि नै आयामका दृष्टिले हाइकु, मुक्तकजस्ता लघुतम कवितादेखि बृहत् आयामका महाकाव्यसम्म विभिन्न किसिमका कविता लेखिँदै आएका छन् । तीमध्ये विश्व साहित्यमा पनि र नेपाली साहित्यमा पनि छोटा कविताको आफ्नै सुन्दर परम्परा रहेको छ । छोटा कविता कुनै निश्चित नियममा नबाँधिई स्वतन्त्र लेखनमा आधारित कविता हुन् । यी कविताका सन्दर्भमा स्वतन्त्रता आफैँमा एउटा नियम र सबैभन्दा ठूलो सौन्दर्य हो । शब्दको मितव्ययी प्रयोगबाट भाव र विचारको घनत्व तथा अभिव्यक्तिको तीव्रतालाई कलात्मक रूपमा प्रस्तुत गर्नु नै यस्ता कविताको शक्ति हो । कविताको मूल शक्ति एउटै झिल्कोभित्र हुन्छ । त्यो झिल्को भनेको नै विचारको सघनता, भावको तीव्रता अनि आकस्मिक मोडबाट उत्पन्न हुने शक्तिशाली झट्का हो । त्यसले नै पाठकको हृदयमा गहिरो प्रभाव उत्पन्न गर्छ । आजको व्यस्त दुनियाँमा छोटाछरिता, सघन भावले भरिएका र अविस्मरणीय प्रभाव छोड्न सक्ने तागत भएका कविताहरूको औचित्य र उपयोगिता बढिरहेको छ । त्यसैले छोटा कविताको सौन्दर्य र यसको विशिष्ट पहिचानका बारेमा गम्भीर विमर्श हुनु जरुरी छ । त्यही विमर्शका लागि ध्यानाकर्षण गराउँदै यस शृङ्खलाको आरम्भ गरिएको हो ।

नेपाली छोटा कविताहरूको यस शृङ्खलामा पाँच कविका पाँच कविता समावेश गर्ने क्रममा चर्चित कविहरू श्रवण मुकारुङ, रमेश क्षितिज, मनु मञ्जिल, भीष्म उप्रेती र भूपिनका कविता रहेका छन् । – डा. विप्लव ढकाल)

 

श्रवण मुकारूङ

१. जङ्गली फूल

श्रवण मुकारुङ

गाउँ
सहर
वा नगरतिर
मलाई—
जङ्गली फूल भन्छन्
तर जङ्गलमै त
मेरो नाम अर्कै छ ।

 

 

sagarmani mobile size
रमेश क्षितिज

२. कुभिण्डे दह

रमेश क्षितिज

राजकुमारी जस्ती युवती जून
ओर्लिन्छे आकाशबाट
कहिले यो कुना, कहिले ऊ कुना
रातभरि नुहाइरहन्छे
यो पोखरीमा— निर्वश्त्र, निर्वश्त्र !
जुनेलीको जादुगरी छडीले छोएर
बिउँझाउँछे
छेउमा सुतेको राजकुमार पहाड
र बिहानीको रेशमी रुमाल सुकाएर डाँडामा
हराउँछे आफू— कहाँ हो कहाँ !
दिनभरि झोक्राएर पहाड
हेरिरहन्छ यही ऐनामा
आफ्नो उदास अनुहार !

मनु मञ्जिल

३. घोडा

मनु मञ्जिल

घोडाको सोचलाई
कुटेर यसरी दास बनाइएको छ,
यसरी लास बनाइएको छ
कि ऊ मुक्ति नै लगामसहितको खोज्छ,
स्वर्ग नै तबेलासहितको खोज्छ !

भीष्म उप्रेती

४. सूचना

भीष्म उप्रेती

‘‘कृपया फूललाई नछुनु होला’’
फूलबारीमा सूचना टाँगिएको थियो ।

सम्झेँ—
काँडालाई पनि त छुनु भएन,
घोचिहाल्छ !

 

भूपीन

५. सपना

भूपीन

मानिसका सपनाहरू
बच्चाको शरीरजस्ता !


विपना
उनीहरूले लगाएका कपडाजस्ता ।

सपनाहरू
जो बढ्छन् हर्लक्क कुनै बच्चाझैँ ।
तर वर्ष दिन नबित्दै
उनीहरूका कपडा
छोटा भैसकेका हुन्छन्
लगाउन मुस्किल हुने गरी ।

लगाऊँ दुनियाँ हाँस्छ
नलगाऊँ नाङ्गै भइन्छ ।

 

(कवि विप्लव ढकाल  (२०२४ ,भोजपुर– याकु, मारिङ ) ले कवितामा विद्यावारिधि  गर्ने क्रममा छाेटा कविताकाे पनि अध्ययन गरेका थिए । उनका निर्जन बन्दरगाह , कालो मध्यान्तर, प्रोफेसर शर्माको डायरी , च्याउको जङ्गल  जस्ता  कवितासङ्ग्रहहरू प्रकाशित छन्। त्रीचन्द्र कलेज काठमाडाैंमा अध्यापन गर्ने ढकालले दर्जन  बढी पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन्।)

सूक्ष्म अर्थात् स्मार्ट कविता पठाउने ठेगाना viplavdhakal@gmail.com

प्रतिक्रिया
Loading...