मालिकको निर्मम हत्यापछि माया जेल गइन् । सौगात उनलाई भेट्न बरोबर त्यहाँ  गइरहन्थ्यो । आफू जेल परेपछि उसले चटक्कै बिर्सिएला भन्ने डर जो मायामा थियो त्यो बिस्तारै हट्दै गयो । तैपनि आफूले यस कालकोठरीबाट छुटकारा पाउञ्जेलसम्म त उसले कतै बिहे गरेर घरजम बसालिसक्छ कि भन्ने शङ्काले त मनको  एउटा कुनामा डेरा जमाएकै थियो । तथापि उसले देखाएको निष्कपट र निश्चल प्रेमको विश्वासले नै उनलाई निकै आशावादी बनाएको थियो ।

उनलाई सौगातको यस कुराले पनि अति नै प्रभाव पारेको थियो, जुन दिन उनले आफ्नो अस्मिताको रक्षार्थ सानैदेखि पालनपोषण गर्ने साहूको इहलीला समाप्त गरेकी थिइन्; त्यस दिनसम्म उसले उनलाई न प्रेमप्रस्ताव नै राखेको थियो न त सदैव साथ दिने वचनै दिएको थियो । अझ आफू समस्यामा परेको र आगामी जीवन कष्टकर हुने थाहा पाउँदा पाउँदै पनि साथ दिन हाँसी खुसी तयार भएको थियो । उसले चाहेको भए त आफ्नो बाटो तय गर्न र उनलाई बिर्सन कुनै कठिनाइ नहुँदो हो । माया आफ्नो अतीत सम्झिरहेकी थिइन् ।

त्यति मात्रै कहाँ हो र ! हत्यापछि वकिलकोमा पुगेर छलफल गर्दा उसले त त्यो हत्या नै आफूले गरेको हो भनेर वकिललाई भनेको थियो । वकिल एकदमै मिजासिला र सहयोगी रहेछन् । सौगातलाई माया पनि असाध्यै गर्ने ! उसले हत्या गरेको कुरा त पत्याउँदै पत्याएन वकिलले । पछि सबै कुरा मायाले  बेलिबिस्तार लगाएपछि पो वकिलले लामो सास फेरेको थियो । ऊ निर्दोष भएको र जसले अपराध गरेको छ उसैले  सजाय पाउनुपर्ने जिकिर मायाले गरेपछि वकिलले उक्त  मुद्दा लड्ने निश्चित भयो र कमभन्दा कम सजाय हुने गरी मुद्दाको फैसला भएको थियो ।

मायाले आफूलाई मालिकले बलात्कार गर्ने प्रयास गरेको पुष्ट प्रमाण जुटाएर प्रमाणित गर्न सकेको भए त त्यो जेल सजाय पनि हुने थिएन भनेर वकिलले भनेका भए तापनि यथेष्ट प्रमाण नपुगेपछि उनी जेलजीवन बिताउन विवश भएकी थिइन् । आफ्नो अस्तित्व बचाउन खोज्दा भएको घटनामा माया दोषी करार भई कारावासको सजाय भोग्नुपरेको यथार्थबाट सौगात निकै तनावमा परेको थियो । फेरि मायाको आफ्नो इज्जत जोगाउन कसैको ज्यानै लिन सक्ने निडर स्वभावबाट अति नै प्रभावित भएको थियो । र , ऊ त्यसबेला सौगातले आफूलाई गरेको सहयोग र  आफू जाने कारावासमा समेत जान तयार भएको सम्झेर अहिले पनि भाव विह्वल हुन्थिन्।

घटना घटेको दिन वकिलकोबाट फर्केपछि उनीहरू सरासर घटनास्थलमा आए र पोखरा गएकी साहुनीलाई घरकै नम्बरबाट फोन गरेर साहूजी सिकिस्त बिरामी भएको र आजै घर आउन अनुरोध गर्दै रोई पनि माया । राती एघार बजे साहुनी घर आइपुगिन् । उनी आउनुअघि उनीहरूले वकिलको सल्लाह अनुसार प्रहरीलाई पनि खबर गरिसकेका थिए । केही समयपछि नै साइरन बजाउँदै प्रहरीको भ्यान घरअघि रोकिएको थियो । र, छ सात जना बर्दीवाल प्रहरी त्यहाँ आइपुगेका थिए । त्यसपछि मायाले घटनाको वर्णन जसरी गरिन्, त्यो सुनेर मालिक्नी बेहोस भएर ढलेकी थिइन्  ।

० ० ०

जेलमा अनेक खालका मान्छेसँग मायाको भेट भयो । विशेष गरी महिला बन्दीहरूसँग त उनको छिटै नै  हेलमेल हुन पुग्यो । सुरु सुरुमा खुल्न गाह्राे मान्नेहरू पनि अचेल त दिल खोलेर कुरा गर्न थालेका थिए । अनि त्यस्ती कलिली केटी कुनचाहिँ केसमा यहाँ आएकी होलिन् भनेर त्यहाँका सबै बन्दी उत्सुक पनि  थिए । सबै जना उनीसँग बस्न, बोल्न र बसेर गफिन मन पराउँथे । त्यस्तैमा उनले छ सातजना महिलाहरूको जिन्दगी र उनीहरूमाथि थोपरिएको अन्यायको भारीलाई नजिकबाट  महसुस गर्ने अवसर पाइन् । आफ्नो सुनाइन् , अरूका पनि सुनिन् ।

मान्छेको जुनी साँच्चै अनौठो लाग्यो उनलाई । लाग्यो, मान्छे हत्या हिंसा रहरले गर्दैन , बाध्य बनाइन्छ । पेशेवर गुण्डा र हत्यारा बाहेक अरूले सितिमिति मान्छेको जीवनलीला समाप्त गर्ने मनाशय नहुने रहेछ भन्ने कुरो उनले त्यहीँ सिकिन् । तर अनैतिक सम्बन्धको विषय बेग्लै हुँदो रहेछ । त्यस्तो बेला होस गुम्ने, आवेश/आवेगमा आउने र कतिपय त सुनियोजित र योजनाबद्ध समेत हुने कुरा पनि अनुभूत गरिन् ।

बिहानको खाना खाएपछि कोही ढाकाटोपी बुन्न त कोही आफूले जानेको सीप र त्यहाँ उपलब्ध हुने, गर्न सकिने, मिल्ने काममा लाग्थे । एका दुईचाहिँ पढ्न लेख्नमै व्यस्त पनि देखिन्थे । साँघुरो ठाउँ, बाहिरफेरो घुम्न डुल्न नमिल्ने भएको हुँदा समय कटाउन निकै गाह्राे पर्दथ्यो । मायासँग हरदम नजिक हुन खोज्नेहरूमध्ये एकजना दिलमायाको जिन्दगी पनि विचित्रको लाग्यो उनलाई । सुन्दै जाँदा ती घटनाहरू कतै आफ्नै जीवनमा त घटेका होइनन् जस्तै लाग्ने !

रक्सीले टिल्ल भएर राती राती घर फर्किने लोग्नेको अत्याचार सहनै नसकेपछि दिलमायाले एउटा यस्तो कठोर निर्णय लिएकी थिइन् कि त्यस्तो हत्तपत्त कुनै स्वास्नीमान्छेले लोग्नेमाथि प्रयोग गर्दैनन् । पटकपटक रक्सी नखान, खानै परे पनि घरमै ल्याएर खान कति अनुनय विनय गरिन्; त्यसको लेखाजोखा नै थिएन । उल्टै घटिया स्तरको गाली र कहिलेकाहीँ त लात समेत खान पर्थ्यो उनले । यता घरमा हातमुख जोर्न धौधौ थियो। नुन बेसारदेखि लिएर भुटुन र सामलकै अभाव थियो । आफूले बनीबुतो नगरेदेखि भोकभोकै सुत्नुपर्ने अवस्था थियो। र , उनी पाएसम्म त मेलापात बनी गर्न जान्थिन् तर गाउँमा सधैँभरि के काम पाइन्थ्यो र !

उता लोग्ने भनाउँदो पनि ज्याला मजदुरी नै गर्ने गर्थ्यो । दिलमायाले भन्दा बढ्ता काम र ज्याला पाउँथ्यो । भूकम्पले गाउँभरिका घर भत्केकाले अझै लामो समय उसले काम पाइरहने पक्कापक्की जस्तै थियो । तर काम गरेको पैसा काँ खर्च गर्छ, के गर्छ दिलमायालाई केही थाहा हुँदैनथ्यो । खोजी गर्दा उहीँ बात र लात सहनुपर्थ्यो । उनले मायासँग बिस्तारै आफ्नो अतीत पोख्दै थिइन् तर अझैसम्म त्यो दिनको घटना कसरी घट्यो भनेर खोलेकी भने थिइनन् ।

“अनि त्यस दिन चाहिँ कसरी के भयो त दिदी भन्नू न ! मन हलुको हुन्छ ।” मायाको आत्मीय लाग्ने बोली र व्यवहारपछि दिलमायाले भनिन्, “तिमी भन्ने भए मेरो पनि भन्छु ।”

त्यसपछि मायाले आफू कसरी यहाँसम्म आइपुगें भन्ने कुरा बेलिबिस्तार लगाइन् । अनि त दिलमायालाई आफ्नो पनि भन्न कहरै लाग्यो । कुरा सुरु गर्न खोज्दा उनी एक पटक खै कता हराइन् कुन्नि ! गम्भीर देखिइन् ।

“मैले सहने जति सहिसकेको थिएँ माया ! आफूले मन परा’को केटालाई थामथामथुमथुम पारेर बाउआमाको वचन हार्न नसकी मन नपर्दा नपर्दै त्यो असत्तीसँग ब्या गरिहालेँ ।” उनी आफ्नो पूर्वप्रेमीलाई सम्झिन थालिन् । “कम्ती मुया गर्दैनथ्यो मलाई । बाउआमाले अर्कैसँग ब्या गर्दिने कुरो था’ पाएपछि मलाई भगाएरै लैजान्छु; सुख दिन नसके नि दु:ख चाहिँ दिन्न है दिलमाया आँट गर भनेर सारै कर गर्थ्यो । नामजस्तै बलियो र हृष्टपुष्ट थ्यो बले । मरो कम्ता राम्रो थे’न ! तर मैले नै बाउआमाको वचन काट्न सकिनँ र आज यो नर्कमा आउनुपरो ।”

“अनि के भयो त दिदी ?”

“अनि ब्या भ’कै रातदेखि आफ्नो बेबार देखाउन थालिहाल्यो नि ! म सुते पनि निदाएकी थिइनँ । ऊ मातेर आयो र बाघले सिकार झम्टे झैँ झम्टिन थाल्यो । म न त चिच्याउन सकेँ न त प्रतिकार गर्नै । जति अनुरोध गरे पनि उसले सुनेन, हल्लाखल्ला होला र पाहुनापाछा सबले थाहा पाउलान् भन्ने डरले म मरेतुल्य भएर सहिरहेँ । उसले त्यसको फाइदा लुटिरह्यो । यस्तो सधैँ दोहोरिन तेहेरिन थाल्यो । एकदिन होइन दुई दिन होइन सधैँभरि ऊ मातेर आउँथ्यो र नानाभाती कुरा गर्दै झम्टिन्थ्यो । सञ्च-बिसञ्च बुझ्ने, सुख-दुःखका कुरा गर्ने, अहँ यस्तो कहिल्यै गरेन ।

एकै ठाममा हुञ्जेल त ठिकठिकै थ्यो, बाउआमा नि वाक्क भ’का रचन् क्यार ! ब्या गरेको वर्ष दिन नपुग्दै छुट्याइदे । त्यसपछि त झन् ऊ फुकीदाँइ भयो र ममाथि अनेक लाञ्छना लगाउन थाल्यो । बनीबुतो नगरी खान लाउनै नपुग्ने ! कहिलेकाहीँ कतै केही काम पाउँदा मेलापात बनी गर्न जान थालेँ । मेरो साथमा दुई पोइसो देख्यो कि उसैलाई चाहिहाल्ने ! सुरुसुरुमा त ऊ खुसी होला, सुध्रेला भन्ने आशा थ्यो । माइतबाट घर आउँदा छोरीलाई दु:ख छ भन्थे, हाम्ले त्यसलाई दिन जानेनचम् भन्थे र सौ पचास हातमा राखिदिन्थे । उसलाई त त्यो पैसा दे पनि सुख नदिने ! नदे त झन् भाँडभैलो मच्चाइहाल्ने ! अनि यो पोइसो काँबाट ल्याइस् ? कोसँग सुतेर ल्याइस् ? फलानोसँग के कुरा गरिस् ? जस्ता सहनै नसक्ने आरोपहरू लाउन थालो ।

ऊ सुध्रिन्छ कि भनेर धेरै बाटो हेरेँ । सुध्रेन । सुध्रेला भन्ने आशा मरिसकेको थ्यो मेरो । अब बिस्तारै उसलाई छोड्ने र माइतै बस्ने योजना बनाइसकेकी थिएँ मैले । बलेले ‘ओइ दिलमाया अझै नि तिमी मान्छ्यौ भने म राजी छु है’ भनिरहन्थ्यो भेट हुँदा र मौका मिल्दा । मेरो मार्का उसले राम्रैसँग बुझेको थ्यो । ‘भाग्यमा जे लेखेको छ त्यही हुन्छ, अब म तिम्रै हुन लेखेको रच भने त भइजाला नि’ भनेर तर्किन्थेँ म । तर भित्री मनले त उसैसँग भाग्, तेरो खुसी  उसैसँग छ भने झैँ लागिरहन्थ्यो ।

तैपनि उसैसँग भागिहाल्ने निर्णय गरिसकेकी चाहिँ थिइनँ । माइत जाने र अलिब्यार उतै बस्ने वाला थेँ । तर त्यो रात सब उल्टो पाल्टो भइदो । तीज आउन तीन दिन बाँकी थियो । डाक्न भाइ आएछ । फर्किन्छु भन्दै थ्यो । मैले कर गरेर राखेँ । हामी खाना पकाई वरि उसैलाई पर्खेर बसिरहेका थियौँ । ऊ ढनफनिदैं साँझ ढल्केपछि आइपुग्यो र बाहिरबाटै कराउँदै भित्र पस्यो ।

‘ओइ को नाठोसँग छेस्, छिटो भन् ‘

ऊ बम्किन थाल्यो । खुद आफ्नै सालोलाई पनि चिनेन र भन्नु नभन्नु भन्न थाल्यो ।

मेरो रिसको पारो यसरी चढ्यो कि के भन्नु र माया !”

माया अघिदेखि नै उसका कुरा सुनेर आगो भइसकेकी थिई । “कस्तो असत्ती रहेछ ! मर्न नसकेको । अनि त्यसपछि के भयो त दिदी ?”

“त्यसपछि भाइले उसलाई सम्झाउन निकै कोसिस गर्यो तर सब व्यर्थ भयो । उल्टै सुन्नै नसकिने खालका तुच्छ गाली खायो । अनि ममा एक्कासि खै केको भूत सवार भयो कुन्नि ! छेउमा आगो फुक्न राखेको फलामे ढुङ्ग्री थ्यो । त्यही टिपेर झ्याम कि झ्याम टाउकामा ठटाएँ । ऊ ढलिसकेको थियो, तैपनि मेरो रिस मरेको थिएन । पछि भाइले मलाई समातेर तान्दा पो झसङ्ग भएँ, जुन बेला ऊ मुखबाट रगत छादिरहेको थियो  । अनि जे हुनु थ्यो त्यही भयो र अहिले यहाँ तिमीसँग छु । ”

यति भनेर उसले लामो सास फेरी । निधारबाट चिट्चिट् पसिना आइरहेको थियो ।

“ठिक गरिछ्यौ दिदी ठिक । कति अन्याय सहेर बस्नु त !” मायाले यत्ति भनी र आफू पनि अतीतमा हराउन थाली ।

राती सुतेपछि पनि मायालाई निद्रा परेन । कतै सौगात र आफ्नो सम्बन्ध बिहेमा टुङ्गिएपछि दिलमाया र उसको लोग्नेकै जस्तो हुने त होइन ! ऊ सोचमग्न भई । सम्झँदै गई । हैन यी पुरुषहरूले महिलालाई डस्न, तल पार्न र गिराउन कति धेरै बहाना र निहुँ पाएका हुन् हँ ! आफ्ना आफन्त र साथीभाइहरूसँग हाँस्दा बोल्दा पनि शङ्कै गर्ने ! नबोली बस्दा पनि सुख छैन ।

कि त भगवानले मान्छेलाई आफूजस्तै अन्तर्यामी बनाइदिनुपर्थ्यो, होइन भने शङ्का उपशङ्काको भरमा यातना र पीडा दिनेलाई नै सजायको भागीदार बनाउनुपर्थ्यो । भोलि त सौगात भेट्न आउँछ होला ! पक्कै आउँछ । अहिलेसम्म ऊ भेट्न पाउने दिन कसैगरी आएको छ । बरु यो भेटमा पो के विषयमा कुरा गर्ने होला ! हुन त कति नै बेर पो भेट्न दिन्छन् र ! जे होस् सौगात अरू पुरुषभन्दा फरक होस् । अब त यहाँबाट छुटकारा पाउन पनि त धेरै महिना छैन नि ! उसले कल्पना गरी ।

० ० ०

आफू छुटेकै दिन सौगातले पशुपतिनाथको दर्शन गर्न जाम् भनेर लिएर गयो । कत्ति ढिला नगरेर कसैलाई निम्ता समेत नगरी त्यही दिन गुह्येश्वरी मन्दिरमा गएर उनीहरूले बिहेको कर्मकाण्ड पूरा गरे । सहरको हल्लीखल्ली र कोलाहलमय वातावरणमा मन नरमाएपछि बिहे भएको तेस्रो दिन उनीहरू गाउँ फर्कने भए केही दिनको लागि । गाउँबाट फर्केपछि केके गर्ने भनेर सुन्दर सपनाहरू पनि सजाइसकेका थिए दुवैले । सुपर एक्सप्रेस गाडीमा सँगै बसेका थिए उनीहरू । केही छिनपछि मायालाई निद्रा लाग्न थाल्यो र उनी सौगातको काँध सिरानी गरेर ढल्केकी थिइन् । कच्ची सडकमा गाडी बेस्सरी हल्लिँदा मायाको निद्रा भङ्ग भयो । यताउता हेरिन्, त्यहाँ न सौगात थियो न त गाडी, गाउँ केही थिएन । थियो त केवल पहिलेजस्तै साँघुरो बन्दी कोठा, केही बन्दी साथीहरू, पालेपहरे र मुस्किलले घाम चियाउने एक चोक्टो चउर । सौगात र आफ्नो भावी जिन्दगी सम्झँदा सम्झँदै उनी भुसुक्कै निदाएकी रहिछन् । र, सपना नै सही उनी खुसीले पुलकित भएकी थिइन् त्यति बेला ।

माया अहिले पनि बिहान उज्यालो हुने बेलामा देखेको मीठो सपना सम्झेर ऊ आउने बाटो हेर्दै थिइन् । अरूहरूका भेट्ने आफन्तहरू आएर भेटी वरी फर्किसक्दा पनि सौगात आइपुगेको थिएन । पहिलेपहिले त भेट्ने समय नै नभईकन आइपुग्थ्यो ऊ । कतै उसलाई सञ्चो पो भएन कि ! केही अप्ठ्यारोमा पो छ कि !  मायाको मन बेचैन भइरहेको थियो । छटपटी बढ्दै थियो ।

मायाको हाल बुझेर दिलमायाले भनेकी थिइन् – “बहिनी, हेर त अहिलेसम्म मलाई भेट्न कोही आएको छ ? तिमी यहाँ आउनुअघि त्यही बले मरो आएको थ्यो दुई पटक । अब विदेश जान्छु र आएपछि भेट्न आउँछु है दिलमाया भन्थ्यो । त्यो गएपछि मलाई भेट्न कोही आएका छैनन् । तिमी त भाग्यमानी छ्यौ । हप्तैपिच्छे भेट्न आउँछ । आज भ्याएन होला, काम पर्यो होला ! अर्को हप्ता आइहाल्छ नि । बिरामी पनि त हुनसक्छ ! भो चिन्ता नगर ।”

“बरु पहिलेदेखि नै भेट्न नआएको भए त उसको यसरी यादै आउने थिएन नि दिदी । लत लागिसकेछ थाहै नपाई बानी पार्दियो उसैले, अनि के गर्नु त तपाईं नै भन्नुस् न !”

दिन ढल्नै लाग्दा जेलरले एउटा पत्र दियो मायालाई । झण्डैझण्डै दौडेर भित्र गई । उसलाई खोलेर पढ्न हतार भएको थियो । लेखिएको थियो –

प्रिय माया ,

तिम्रो हातको चिया खान नपाएकोले म सारै आहत भएको छु । अब तिमी छिटै मुक्त हुँदै छ्यौ र हामी त्यही दिन सधैँ सधैँका लागि एक हुनेछौँ । म त्यही दिनको प्रतीक्षामा छु । आज आउन पाइनँ, मेरो बाटो धेरै हेर्यौ होला ! नहेर्नू । अब एकै चोटि तिमीलाई लाने गरी आउँछु ।

तिम्रो सौगात

मायाले यो पत्र पटक पटक पढिन् । दिलमाया र अरू साथीहरूले के हो कि के हो भनेर कर गरेपछि बल्ल उसले सबैलाई पढेर सुनाइन् । सबैले मायालाई बधाई दिए । र, उनी त्यही दिनको पर्खाइमा अर्थात् सौगातलाई पर्खेर बसिरहेकी थिइन्।