१० वर्षे युएई बसाइमा मैले दोस्रो पटक “होम सिक” महसुस गरेँ, त्यो पनि दुई महिनाको घर बसाइबाट फर्किएपछि । मलाई लाग्थ्यो “म त सिङ्गल मान्छे, घर छोड्न के को पिर ?” तर त्यस्तो नहुँदो रैछ । घरबाट आएको केही दिनसम्म निक्कै छटपटी भइरहेको थियो । मानौँ जिन्दगीकै सबैभन्दा प्रिय चिज मबाट खोसिएको छ । यस्तै छटपटी पहिलो प्रेमिकासँग ब्रेकअप हुँदा पनि भएको थियो । तर यो पटक घरसँग ब्रेकअप भएको थियो । देशसँग ब्रेकअप भएको थियो ।

घर छोडेका कारणले मात्रै पनि मलाई छटपटी भइरहेको थिएन । युएई बस्न मन नलाग्नु, यहाँभन्दा बाहिर जाने योजनाहरू सफल नभइरहेको अवस्था लगायत कारणहरूले पनि मलाई छटपटी दिलाइरहेको थियो ।

घरबाट आएको केही दिनपछि ड्युटी पनि सुरु भयो।

ड्युटी सुरु भएकै केही दिनमा राति करिब १२ बजे रुमकै साथीको फोन आयो । उसो त राती ९ बजेपछि आउने साथीहरूको फोन मैले प्राय: उठाउने गरेको थिएन । त्यसपछि आउने फोन भनेको कि त जाँड खाएर ल्याङ गर्न हो, कि त कुनै अड्डामा बसेर जाँड खाँदा खाँदै पैसा अपुग भएपछि बैंक ट्रान्सफर गरिदिन भन्नलाई आउने हो । यही ठानेर मैले पहिलो पटकमा त्यो साथीको फोन उठाइन ।

एक छिनमा फेरि फोन आयो त्यही साथीको । केही साह्रै पर्‍यो कि के हो भन्ने सोचेर यो पटक चाहिँ उठाएँ ।”हेल्लो शर्मा जी के छ ? मैले तपाईंको लागि एउटी राम्री, इमानदार केटी खोजिदिएको छु है । कुरा गर्ने हो ?” मातेको स्वरमा साथीले भन्यो । कुरा बुझ्दै जाँदा त्यो साथी, साथीको गर्लफ्रेन्ड र उसकी साथी तीन जना मिलेर नजिकैको पार्कमा बसेर सितन पोल्दै रक्सी र बियर खाएका रैछन् । आफ्नी गर्लफ्रेन्ड सँग आएकी अर्की केटीलाई  साथीले मेरो गर्लफ्रेन्ड बन्न प्रस्ताव गरेको रैछ । र तिनले पनि मौन समर्थन जनाइसकेकी रैछिन् ।

“अहिले हतार नगरौँ सर, उसको नम्बर लिएर आउनुस्, भोलि म आफैँ कल गर्छु” मैले यति भनें र साथीबाट बिदा भएँ ।

साथीले त्यो केटीको बारेमा धेरै बयान गरिरहनु र मन भुलाउने बाटो हुन सक्छ भनेर नम्बर लिएँ । साथीले दिएको नम्बरको Whatsapp मा म्यासेज गरेँ तुरुन्तै ।

उनको पनि नाइट ड्युटी भएकोले साँझमा मात्र मेरो म्यासेजको रिप्लाई आयो । सामान्य कुराकानी भएकै रात भोलिपल्ट बिहान भेट्ने कुरामा दुवैको सहमति जुट्यो । प्रस्ताव चाहिँ मैले नै राखेको थिएँ । आखिर सम्बन्धलाई अगाडि बढाउनु नै छ भने भौतिक भेटको ठुलो अर्थ रहन्छ ।

बिहान ८ बजे भेट्ने कुरा भएको थियो । ७:३० मै सबै काम सकेर म रेडी भइसकेको थिएँ । पहिलो डेटिङ हाम्रो क्याम्प नजिकैको सपिङ मलमा जाने निर्णय गरियो । सपिङ मल जानु पर्ने मेरो व्यक्तिगत काम पनि थियो उसो त । डेटिङ पनि हुने, काम पनि हुने सोचेर मैले उनलाई त्यही सपिङ मलमा जान अनुरोध गरेँ । सपिङ मलसम्म हामी गफ गर्दै गयौँ ।

सुरुमै उनले भनिहालिन्, “म तपाईंलाई सधैँ चैँ साथ दिन सक्दिनँ है ।”

“मैले पनि तँलाई कोन्सा बिहे गरेर घर भित्र्याउने हो र ? यहाँ बसुन्जेल भए भइगयो नि !” मनले भनिरहेको थियो ।

“ठिकै छ त, जहिलेसम्म सक्नु हुन्छ त्यतिन्जेल साथ दिनुस् न ।” मैले बाहिरी जवाफमा यही फर्काएँ ।

“अनि मलाई भेटेर कस्तो लाग्यो त ? फेरि-फेरि भेट्नु पर्छ भन्ने लाग्यो ?” मैले  छुट्टिने बेलामा सोधेँ ।

“अँ, अब हामी भेटिरहनु पर्छ, खुसी लाग्यो हजुरलाई भेटेर”, लजाएको स्वरमा उनको जवाफ फर्कियो ।

उनलाई क्याम्पमा पुर्‍याएर म आफ्नो क्याम्प फर्किएँ, मनमा एक किसिमको खुसी लिएर । हामी दुवै जना आ-आफ्नो काममा अलिक बेसी नै व्यस्त हुने भएकोले फोन र म्यासेजमा उति साह्रो कुराकानी हुन पाएन । हामी दुवैको क्याम्प नजिक-नजिक नै भएकोले  बिहान-बिहान भेट्ने कुरा भयो । हाम्रो क्याम्पको नजिकै इन्डियन क्याफे छ, हाम्रो नियमित भेट त्यहाँ हुन थाल्यो । भेट बाक्लिएसँगै माया पनि गाढा भएझैँ लाग्न थाल्यो उनलाई पनि र मलाई पनि ।

त्यो क्याफेमा आइपुग्न उनलाई ५ मिनेट लाग्थ्यो भने मलाई १० मिनेट जति लाग्थ्यो । यसको मतलब ५ मिनेट भए पनि मेरा पैतालाहरूले बेसी दुख पाउँथे ।

तर प्रेममा रहुन्जेल मनले यस्ता सानातिना कुरालाई दुख हो भन्दैन । तर जब सम्बन्ध सकिन्छ, तब प्रेमका नाममा गरिएका अधिकांश कुराहरू व्यर्थ गरिएछ जस्तो लाग्न थाल्छ । त्यसैले सम्बन्ध भनेको मनको खेल बाहेक अरू केही हैन ।

उनी चुरोट पिउने भएकोले पहिलो भेटमै मैले उनलाई एक बण्डल चुरोट किनिदिएको थिएँ उपहारस्वरूप । उनी पनि दङ्ग परेकी थिइन् । अमृत नै किनेर दिएजस्तो गरी । संसारमा यस्ता प्रेमी सायदै होलान् जसले प्रेमिकालाई उपहारमा चुरोट किनिदिन्छ ।

हरेक भेटमा म उनलाई एक बट्टा चुरोट लिएर जान्थेँ । करिब एक घण्टाको बसाइमा कम्तीमा एक-एक कप चिया पिउँथ्यौँ । सामान्यतया अरू बेला म चिया पनि पिउँदिन थिएँ । तर उनलाई भेट्न जान थालेपछि हरेक दिन एक कप चिया पिउन थालियो । हुन त मान्छे प्रेममा परेपछि विष पिउन त पछि पर्दैन । मैले त चिया मात्र न हो पिएको ।

मैले उनलाई छोटो समयमै धेरै विश्वास गरिसकेको थिएँ । हरेक दिन जसो भेट भइरहँदा एक दिन कुराकानीकै क्रममा  मेरो मुखबाट निस्किहाल्यो, “हामी बिहे गरौँ न ल ?”

“मेरो त छोरी छ, म छोरी छोड्न सक्दिनँ,” फोक्सोबाट निस्किँदै गरेको धुवाँलाई बाहिर फाल्दै उनले भनिन् ।

“छोरी ?” जिल्ल परेँ ।

“अनि बुडो चाहिँ ?” मैले थप जिज्ञासु हुँदै सोधेँ ।

“बुडो घरमै छ” अलिक रिसाएको पारामा जवाफ दिइन् । उनको जवाफले प्रस्ट भनिरहेको थियो कि उनी श्रीमानसँग खुसी छैनन् भन्ने कुरा । “अनि बुडो चाहिँ के गर्छ नि ?” मैले फेरि सोधेँ । “केही गर्ने भए म यसरी अर्काको देशमा दुख गर्न आउन पर्थ्यो र ?”

अलिक झर्किएको शैलीमा उनको प्रतिप्रश्न तेर्सियो । त्यसपछि एक छिन हामी दुवै जना मौन बस्यौँ ।

“यसको मतलब म अर्काकी श्रीमतीसँगको प्रेममा छु ?” एक छिनपछि मुस्कुराउँदै मैले भनेँ । जवाफमा उनी पनि मन्द मुस्कुराइन मात्र ।

हुन त प्रवासमा कसको श्रीमान् हो, कसकी श्रीमती हो, कति जना छोराछोरी छन्, उमेर कति हो, जस्ता कुराहरूले खासै अर्थ राख्दैन पनि । मन मिलेर आ-आफ्नो प्यास मेटाउन पाए पुग्छ । यहाँ प्रेम गर्नुको मुख्य उद्देश्य नै भोक मेटाउनु हो । अपवादलाई छोड्ने हो भने यहाँ कसैले पनि जीवन बिताउनको लागि प्रेम गर्दैन । प्रेम गरेर एक दुई रात सँगै बिताउन पाए प्रेम सफल भएको मान्दा हुन्छ । मैले उनीसँग र उनले मसँग प्रेम गर्नुको पनि उद्देश्य योबाहेक अर्को थिएन । त्यसैले उनको सिन्दूरले मलाई फरक पार्ने कुरै आएन । यो कुरा उनलाई पनि थाहा थियो राम्रोसँग ।

एक छिनपछि उनी थप बोल्न थालिन्,  “बुडो भनाउँदो पनि नाम मात्रको बुडो छ । काम केही गर्ने हैन । बाहिर गएर पैसा आउने काम गर्नु त धेरै परको कुरा, घरको काममा समेत मलाई सघाउँदैन । बिहान भात खाएर गाउँ डुल्न निस्किएको मान्छे एकैचोटी बेलुका भात खाने बेलामा आइपुग्छ । त्यो पनि कहिले त टिल्ल मातेर । दिनभरि श्रीमती के गरी, कता गई, कति थाकी होला भन्ने पिरै छैन उसलाई । बस उसलाई त थाकेको मेरो शरीरमा आफ्नो उत्तेजना बिसाउन पाए पुग्छ । कहिलेकाहीँ त बुडी थाकेकी होला भनेर पनि सोच्दैन । कहिलेकाहीँ आज नगरौँ न म थाकेको छु भन्दा, बाहिर को सँग सुतेर आइस् र मसँग गर्न मान्दिनस् ? भन्दै उल्टै झम्टिन्थ्यो । तँ भालु होस् सम्म भन्न भ्याउँथ्यो । गाली मात्रै हो र ? कहिले त पिट्नुसम्म पिट्थ्यो । तर पनि म सहेर बसेँ । यस्ता नामर्दको सिन्दूर बोकेर हिँड्नु परेको छ ।”  यति भनिसक्दा उनका आँखाबाट आँसु खस्छ तप्प ।

“भयो नरुनुस्, म छु त अब” उनको आँसु  पुछ्दै म सम्झाउन खोज्छु ।

आँखा थप रसिलो पार्दै उनी थप्छिन्, “कुनै समय छोरीले बिस्कुट खान्छु भन्दा, १० रुपैयाँको बिस्कुट किनिदिने पैसा हुँदैन थियो मसँग । त्यसैले अब मसँग एउटै सपना छ त्यो हो छोरी । उसका हरेक चाहना पूरा गर्न सकूँ । अहिलेलाई चाहिँ म अर्काकी श्रीमती हो भन्ने कुरा मनमा ख्याल राखेर प्रेम गर्नुहोला । यहाँ भन्दा धेर भन्न चाहन्न ।” यति भन्दै धुवाँ सकिएको चुरोटलाई भुइँमा फाल्छिन् र चिया पिउन थाल्छिन् ।

आफ्नो श्रीमान् विदेश जान नमानेपछि आफू नै विदेश आएको कुरा पनि उनले जानकारी गराइन् ।

उनी थप्दै जान्छिन्, “बेलाबेला त तपाईंले यस्तो माया गरेको देख्दा सबैथोक छोडेर तपाईंसँगै गइदिऊँ जस्तो लाग्छ । तर म  त्यसो गर्न सक्दिनँ । जे सुकै भए पनि उसले मेरो सिउँदो रङ्ग्याएको छ । एक पटक जुठो भइसकेको सिउँदो अरूलाई कसरी दिनु फेरि रङ्ग्याउन ? म त सक्दिनँ ।”

यति बेला भने उनको अनुहारमा अलिकति भए पनि श्रीमानप्रति माया झल्किन्छ ।

“बिहे नै गर्ने भए पनि म त  रेडी छु है,” मैले उनको मन भड्काउने कोसिस गरेँ ।

नियमित भेटघाट र कुराकानीसँगै हाम्रो सम्बन्ध थप प्रस्ट हुँदै अघि बढ्यो । तर यति बेलासम्म बाहिर गएर रात बिताउने कुरा भने भइसकेको थिएन ।

केही दिनपछि  मेरो साथी, उसको गर्लफ्रेन्ड अनि म र मेरी गर्लफ्रेन्ड गरेर हामी चार जना नजिकै रहेको पार्क गयौँ साँझमा । जहाँ सेकुवा बनाएर खान मिल्थ्यो । साथीकी गर्लफ्रेन्ड र मैले मासुको साथमा स्प्राइड खायौँ भने साथी र मेरी गर्लफ्रेन्डले रक्सी र मासु ।

मेरो सामु उनले रक्सी पिएको यो पहिलो पटक थियो । त्यसकारण उनको लिमिट कति हो ? भन्ने मलाई थाहा हुन सकेन । उनले पिउन्जेल मैले केही भनिनँ । “म मातेँ भने सम्हाल्ने तपाईं हुनुहुन्छ नि, हैन ?” भन्दै उनले मस्त पिइन् । मैले रोक्न चाहिनँ पनि ।  चिनी त धेर खायो भने तीतो हुन्छ भनिन्छ, यो त रक्सी । उनलाई रक्सीको मात्रा धेर भएछ क्यार वान्ता गर्न थालिन् त्यहीँ पार्कमै ।

सम्हाल्छु भनेर अघि नै वाचा गरिसकेको थिएँ । त्यसैले उनको केयर गरेँ । पानी पिउन दिएँ । मुख धुन लगाएँ र एक छिन त्यहीँ पार्कमै रहेको बेन्चमा सुताएँ मेरै झोलाको सिरानी लगाएर । उनको मोबाइल, चुरोट र लाइटर मैले मेरो खल्तीमा राखेँ । ताकी भरे खोजेको बेला दिन सकूँ सजिलै ।

यति बेलासम्म सेकुवा खाने हाम्रो कार्यक्रम पनि सकिसकेको थियो । साथीलाई भनेर होटल बुक गर्न लगाएँ । हामी ट्याक्सी चढेर होटल पुग्यौं । ट्याक्सी चढ्ने बेला र ओर्लिने बेलासम्म पनि उनको वान्ता गर्ने क्रम भने रोकिएको थिएन । जिउ पुरै मेरै भरमा छोडिन र मैले पनि जतनसाथ कोठाभित्र लिएर गएँ । साथी  र साथीकी गर्लफ्रेन्ड पनि उनीहरूको कोठामा गए ।

कोठा छिर्नसाथ उनले आफ्नो जुता मात्र खोलिन् र बेडमा पल्टिन् । एक किसिमले उनी बेहोस अवस्थामा पुगिसकेकी थिइन् ।

“हुडी चाहिँ खोलेर सुत्नु न । अप्ठ्यारो हुन्छ,” मैले भनेँ । उनले सुनेको नसुनै गरिन् । मैले चाहिँ आफ्नो लुगा फेरेँ र बेडमा पुगेर उनको हुडी निकालिदिएँ । जुन हुडी बिहान मैले नै किनिदिएको थिएँ । भित्र चाहिँ  कालो टिसर्ट लगाएको रैछ । त्यही टिसर्टको साथमा मिलाएर सुताइदिएँ । मानौँ म लासलाई सुताइरहेको छु ।

यस्तो अवस्थामा त यसलाई के चलाउनु ? जस्तो लाग्यो र  केही नगरी बसेँ एकछिन । अब भने मलाई छटपटी हुन थाल्यो । यसलाई चलाऊँ,

बेहोस छे, नचलाऊँ मेरो मन र तन दुवै छटपटिन थालिसकेका थिए । फेरि पनि आफूले आफैँलाई सम्हाल्ने कोसिस भने गरिरहेँ र उनी होसमा आउने समय पर्खिरहेँ । जिन्दगीमा यस्तो पर्खाइ पहिलो पटक हुँदै थियो ।

बेहोस अवस्थामा उनीसँग शारीरिक सम्बन्ध राख्न सकिनँ र उचित ठानिनँ पनि । मनले नै मानेन । “यो त अपराध हुन्छ यार” भन्दै आफैँलाई सम्झाएँ । बेलाबेला भने मैले उनको शरीर छोएँ, त्यो पनि ढाडतिर । तर उनको शरीरले कुनै प्रतिक्रिया भने जनाइरहेको थिएन । राति ११ बजे कोठा पुगेको, १ बजिसक्दा पनि उनको होस खुलेको थिएन । यता म पनि सुत्न सकिरहेको थिइनँ । बेडको एक छेउमा कलकलाउँदो जवानी, अर्को छेउमा प्यासी मन र तन । म कसरी सुत्नु ? कसरी निदाउनु ? बेचैनीले सीमा नाघिसकेको थियो मेरो ।

एक बजेपछि भने उनले अचानक पानी मागिन् । ओ हो ! म खुसी भएँ । अनि बिस्तारै उनलाई उठाएँ र आफैँले  समाएर पानी पिलाएँ ।

“रक्सी त धेरै लागेछ त तपाईंलाई” मैले भनेँ । उनले टाउको मात्र हल्लाइन् । त्यसपछि भने पछिल्लो दुई घण्टादेखि मैले थुनेर राखेको आफ्नै मन र शरीरको बाँध भत्काइदिएँ र पोखिएँ उनीमाथि  । अनि म पनि  सुतेँ आनन्दले ।

भोलिपल्ट बिहान हामी चारै जना ट्याक्सीमा आ-आफ्नो क्याम्प फर्कियौँ । साथीबाट सापटी लिएको एक हजार दिह्राम भोलिपल्ट क्याम्प पुग्ने बेलासम्म सकिसकेको थियो । उनीसँग रात बिताउने चक्करमा मेरो ३६ हजार नेपाली रुपैयाँ खर्च भएछ । यो मेरो जीवनकै सबैभन्दा महङ्गो रात बन्न पुग्यो ।

एक रात बसिसकेपछि हाम्रो सम्बन्ध अझ गाढा होला भन्ने मेरो बुझाइ थियो । केही दिनसम्म त नियमित भेटघाट र कुराकानी भइरहेको थियो । पहिलेझैँ त्यही इन्डियन क्याफेमा हाम्रो भेट नियमित भइरह्यो । यो क्रम झन्डै एक महिनासम्म चलिरह्यो ।

बैँक खातामा तलब बापतको पैसा जम्मा हुनसाथ मैले उनलाई फेरि  होटलमा गएर रात बिताउने प्रस्ताव राखेँ फोनमार्फत । उनले आफू महिनावारी भएको जानकारी गराइन् र अर्को हप्ता छुट्टीको दिन जाने वाचा गरिन् ।

एक हप्तापछि मैले पुनः उनलाई त्यही प्रस्ताव दोहोर्‍याएँ ।  यो हप्ता साथीहरूसँग अन्तै पार्टी खान जाने प्लान छ भन्दै मेरो प्रस्ताव अस्वीकार गरिन् र “अर्को हप्ता जाऊँ न है ?” भन्दै मलाई फकाइन् ।

“हस्, हुन्छ” भन्नुको विकल्प पनि थिएन मसँग । तर यो पटक पनि बाहिर जान नमानेपछि भने मलाई शङ्का लाग्न थाल्यो उनीप्रति । हैन भने किन नमान्नु ? आफैँले आफैँलाई प्रश्न गरेँ । “कि त  यसले अर्को व्वाईफ्रेन्ड बनाइसकी, कि त यो मबाट टाढिन खोज्दै छे” मनले शङ्का गरिहाल्यो । फेरि पनि अर्को हप्ता जाने भनेर वाचा गरिसकेकोले कम्तीमा एक हप्ता धैर्य गर्ने निर्णय गरेँ मैले ।

अर्को हप्ता बाहिर जाने भनेर भनिसकेपछि मैले त्यही अनुसारको तयारी गरेँ । होटल बुक गरें । होटलसम्म जानका लागि एक जना पाकिस्तानीको गाडी बुक गरेँ ।

होटल बस्न जाँदा मैले आफैँले रुमबाट खाना बनाएर लाने गरेको थिएँ । त्यसको पनि तयारी पूरा गरेँ । सायद म मात्रै यस्तो मान्छे होला, जो फाइभ स्टार होटलमा बस्न जाँदा घरबाट भात बोकेर जान्छ, त्यो पनि प्रेमिकासँग जाँदा । सबै तयारी पूरा भइसकेपछि मैले उनलाई फोन गरेँ । “म त रेडी भइसकेँ त, तपाईं कति बेला निस्किने ?” सोधेँ ।

“सुन्नु न मेरो त आजको छुट्टी नै क्यान्सिल भयो । भोलि शनिबार छुट्टी पारिदिएको छ । तर भोलि मेरो दुबई जाने काम पर्‍यो । हामी अर्को हप्ता भेटौँ न, हुन्न ?” उनको यस्तो जवाफ आयो । त्यसपछि भने मेरो रिसको पारो तातेर आयो । “मसँग धेर मजाक नगर्नु है ! मैले होटेलसमेत बुक गरिसकेको छु । अहिले आएर यस्तो भन्न लाज  हुँदैन तपाईंलाई ? खुरुक्क आउनु है, भन्दिएको छु मैले ।” जङ्गिँदै भनेँ ।

“अर्को हप्ता भेट्दा भैगयो त अनि । म पोइला जान लागेको हैन त ।” थोरै जिस्किने शैलीमा उनले सम्झाउन थालिन् ।

“पर्दैन ! छिटो रेडी हुनु, म गाडी लिएर आउँछु ।” मैले पनि आफ्नो अडान कायमै राखेँ ।

“हैन कति हतारो हो के तपाईंलाई मसँग सुत्न ? सुत्न मात्र मसँग प्रेम गरेको हो ?” अलिक ठुलो स्वरमा झर्किँदै उनले प्रश्न गरिन् । हरेक पटक बहाना बनाउन थालेपछि भने मेरो पनि रिसको पारो माथि नै पुगिहाल्यो र भनेँ, “तेरो बाउ भन् मासाला…!”

“तपाईं” बाट एकैचोटि म “तँ” मा आइपुगेँ । कति ल्याङ गर्नु त अनि ?

“तेरो बाउ मासाला, तेरो आमा मासाला, साले तेरो शाखा सन्तान मासाला !” उनले पनि आफ्नो औकात देखाइहालिन् मैले जस्तै ।

त्यसपछि मैले नै फोन काटिदिएँ । योसँग झगडा गरेर काम छैन भन्ने बुझिसकेको थिएँ । किनभने  ऊ मसँग अब बाहिर जान तयार नै छैन ।

जब भेट्ने पक्का गरेर, पछि अनेक बहाना बनाउन थाल्छन् भने त्यहाँ शङ्का उत्पन्न हुनु स्वाभाविक हो । मैले त्यही शङ्का गरेको हो । फेरि उनी त्यही इन्डियन क्याफेमा समेत भेट्न आउन छोडिसकेकी थिइन् । यसले पनि मेरो शङ्कालाई थप बल पुगेको थियो । कोही आफूबाट टाढा हुन चाहन्छ र त्यसको लागि बहाना बनाउँछ भने त्यसलाई सजिलै जान दिनु पर्छ भन्ने मेरो आफ्नै सिद्धान्त छ ।

ऊसँगको सम्बन्ध सक्नु त मलाई उति साह्रो गाह्रो थिएन । किनभने विदेशमा यस्ता सम्बन्ध बनाइन्छ र भत्काइन्छ पनि । त्यसको कुनै हिसाब नै छैन । एक किसिमले भन्नुपर्दा सम्बन्ध जोडिनु र टुट्नु सामान्य जस्तै नै बनिसकेको थियो मेरो लागि ।

मनमा एउटा मात्र पीर परिरह्याे । जम्माजम्मी एक रात मात्र प्रेम गर्न पाएँ । र त्याे रात पनि होसमा नआउन्जेल उसलाई केही नगरी बसेँ, उसको होस खुल्ने प्रतीक्षामा बसेँ, त्यो दुई घण्टाको पर्खाइप्रति पनि मलाई पछुतो लागिरह्यो । त्यो दुई घण्टामा म उसलाई जे पनि गर्न सक्थेँ । तर गरिनँ ।

मेराे फटाहा मनले उसका लागि गरेको लगानीप्रति चुकचुक गरिरह्याे । शायद जमाना नै यस्ताे हो कि प्रेममा लगानी उठ्याे कि उठेन भनी हिसाब मिलाउनु । पैसाकाे लगानी भन्दा पनि समय र भावना चाहिँ बालुवामा हालेको पानी जस्तो हुन गयाे ।  प्रश्नहरू वरिपरि घुमिरहे । एक रातमै किन टाढिन चाही ऊ मबाट ?

चित्त बुझाउन त सकिरहेको थिइनँ रपनि कोशिस गरेँ ।

निर्णय पनि गरिहालेँ, उनलाई आफ्नो जिन्दगीबाट सधैँकाे लागि हटाउने ।