
चोपनारायण बन्जाडे
“महिला एक विदेशी भूमि हो, जहाँ एक लोग्नेमान्छे जवान हुँदै बस्ती बसाल्छ तर त्यो भूमिको रीतिरिवाज, राजनीति र भाषा कहिल्यै बुझ्दैन । अर्थात् महिला बुझि नसक्नु हुन्छन् ।” ग्रामीण भेगका सरकारी स्कुलका उत्पादनहरूलाई नेपालीमा रूपान्तरण गरेर पढाउँदा उनी जुरुक्क उठ्थिन्,- “यो हुँदै होइन, महिलालाई होच्याएको हो” । उनी यति चुर हुन्थिन् कि म यो मैले भनेको होइन कवि प्याटमोरले भनेका हुन् भन्न बाध्य हुन्थेँ ।
“यस्तो महिलालाई होच्याउने कुरा हामीलाई पढ्नपर्ने किन बनाइयो ?” उनी प्रश्न गर्थिन् ।
“यो त छलफलका लागि राखेको । तिमीले हामीले यही कुरा मान्न पर्छ भन्ने छैन । छलफलमा उठ्यो राम्रो भयो” मैले भन्थेँ ।
प्रत्येकजसो लैङ्गिक विषयवस्तु भएका पाठहरूमा उनी महिलाको पक्षमा जोडदार आवाज उठाउँथिन् । कहिलेकाहीँ त अस्वभाविक पनि बन्थिन् । चरम महिलावादी देखिन्थिन् अनि सहपाठी केटाहरूसँग बाझ्थिन् । पटकपटक केटाहरूले उनलाई जानाजानी उत्तेजित बनाउने प्रसङ्गहरू पनि उठाउँथे तर केटीहरूको समर्थनको आशामात्रै होइन उनीसँगै आवाज उठाऊन् भन्ने आशयले हेर्थिन् उनी ।
महिला र पुरुषमा हुने जैविक विविधताले औसत पुरुषहरू महिलाभन्दा अग्ला, वजनदार र बलिया हुन्छन् । पुरुष र महिलाको वंशाणु गुणको संरचनाले गर्दा व्यवहारमा पनि भिन्नता आउँछ भन्नेजस्ता कुरामा कहिलेकाहीँ सहमत त हुन्थिन् तर गणित र विज्ञानमा औसत केटाहरूको उपलब्धि राम्रो हुन्छ केटीहरूको भन्दा भन्ने केही अध्ययनहरूको निष्कर्षलाई भने ठाडो विरोध गर्थिन् ।
“महिलामा सहनशीलता लोग्नेमान्छेमा भन्दा बढी हुन्छ, ” यो भनाइलाई उनले सहन्थिन् तर जब “महिलाहरू कुराकानीले सम्बन्ध स्थापित गर्छ भन्ने सोच्छन् र त कुरा गर्न मन पराउँछन् । वाक्कलामा पुरुषहरूभन्दा धेरैधेरै सिपालु हुन्छन् ” भन्यो भने “कुरौटेको आरोप लगाउन त्यसो भनेको हो” भनेर प्रतिवाद गरिहाल्थिन्।
कक्षा ११ देखि स्नातक तेस्रो वर्षसम्म उनी मेरो विद्यार्थी भइ नै रहिन्। कैयौँ लैङ्गिक विषयवस्तुमा त उनी सम्बन्धित पाठको लेखक, किताबको सम्पादक, पाठ्यक्रम बनाउने युनिभर्सिटी , आफ्नै सहपाठी र पढाउने शिक्षक मलाईसम्म पनि विरोधी कित्तामा राखेर विवाद गर्थिन् । किन त्यसो गर्थिन् ? उनको मनोभाव बुझ्न राम्रो मनोवैज्ञानिक चाहिन्थ्यो होला तर सबैले खिस्सीमा उडाउँथे र भन्थे, “यो पाठ त योगमाया भएको दिन पढौँला सर, रमाइलो हुन्छ” तर पनि सुरुका वर्षहरूमा भन्दा पछिल्ला वर्षहरूमा क्रमशः कमकम प्रतिक्रिया दिन थालेकी थिइन् । सुरुसुरुका वर्षहरूका प्रतिक्रियाहरू आक्रोशित र असान्दर्भिक पनि हुन्थे तर पछिपछि केही परिपक्वता देखिन्थ्यो ।
स्नातक सिद्धिनै लाग्दा उनको बिहे भयो । बेलाबेलामा बाटाघाटामा भेट हुन्थ्यो । एउटा विद्यालयमा अध्यापन गर्थिन् । एउटा बच्चा भइसकेपछि श्रीमानसँग राम्रो हुन सकेन र छुट्टै बस्थिन् भन्ने पनि सुनिन्थ्यो तर पछि पुनः सम्बन्धलाई सुधार गरी सँगसँगै बस्न थाले रे भन्ने पनि सुनिन्थ्यो । स्वभावमा धेरै परिवर्तन भएजस्तो त लाग्थ्यो तर पनि उनलाई देख्नासाथ उनको त्यही उत्तेजित स्वभाव याद आउँथ्यो । जुरुक्क उठेर “होइन सर” भन्छिन् जस्तो लाग्थ्यो ।
लामो समयसम्म उही कक्षा र उही कोर्स पढाउने शिक्षकहरूले प्रत्येक वर्ष उही स्तर निर्धारण भएर आएका समग्र विद्यार्थीहरूमा पनि भिन्न स्तर अनुभव गर्छन् , स्वभाव त भिन्न हुने नै भयो । त्यस कक्षामा आउने विद्यार्थीहरूमध्ये कसैले पूरै कक्षा र शिक्षकको अलिकति बढी ध्यानाकर्षण गर्न सफल हुन्छन् । उनी त्यस्तैमध्येकी एक थिइन् । प्रसिद्ध विद्रोही महिला पात्रसँग पनि दाँज्थे सहपाठीहरू उनलाई ।
स्थानीय एक शिक्षकको छोराको बिहेको भव्य पार्टी थियो । खाना लिइसकेपछि लहरै कुर्सीमा खाना खाना म छेउको कुर्सीमा बसेँ, त्यसपछि मसँगै आएको छिमेकीको १० बर्से छोरालाई मैले सँगै राखेको थिएँ । खानाको एक गाँसमात्रै के राखेका थियौँ, दुईतीनवटा कुकुरहरू भीषण रूपमा लड्दैलड्दै त्यहीँ आइपुगे लगभग मिच्ने गरी । भाग्नेसम्म पनि ठाउँ थिएन । त्यसैले आइहाले लात्तीले हान्नुपर्छ भन्ने सोचले खुट्टा उठाएँ । तर त्यो बच्चाको छेउमै बसेकी महिला चिर्र चिच्याइन् र भोज खाइरहेका मान्छेहरूलाई मिच्तै खाना पोखिदिँदै दौडिइन् । आफ्नो भाग र अरू दुईवटाको भाग पनि पोखिदिइन् । साडी अल्झियो र लडिन् । मैले हेरें, चिनें पनि, उनी तिनै योगमाया थिइन् । सबैले उनैलाई हेरिरहेका थिए । उठिन् र हेरिन् , कुकुरहरूको लडाइँमा खासै कोही नतर्सिएको, मेरो र उनको बिचमा बसेको दशबर्से बच्चा पनि शान्त देखिन् । आफू त्यति धेरै तर्सिएकोमा रातो मुख लगाइन् । उनको चम्किलो पहेँलो ब्लाउजमा मासुको झोल बग्दै नछोपिएको पेटको भाग हुँदै साडीसम्म खसिसकेको थियो । अनायासै उनको मुखबाट फुत्किहाल्यो, “आइमाई भनेको आइमाई हो”।
आजभोलि महिलावादी मात्रै होइन सामान्य महिलाहरूले पनि महिलालाई बुझाउन आइमाई शब्दको प्रयोगलाई चर्को विरोध गर्ने बेलामा पनि उनले त्यो शब्द किन प्रयोग गरिन् ? सेक्सपियरकी इमिलिया पढ्दा उनको समर्थनमा उत्तेजित हुने उनले कसरी जर्ज इलियटकी डोरोथियालाई कमजोर मान्थिन् आज आफैँ किन कमजोर देखिइन् ?
नेपालको दशबर्से गृहयुद्धमा लैङ्गिक समानतालगायत सम्पूर्ण समानताको आवाज बुलन्द पार्दै अग्रपङ्क्तिमा युद्धको मोर्चा सम्हालेका महिलाहरूसम्म पनि युद्धपश्चात् परम्परागत लैङ्गिक भूमिकामा फर्किएका देखिएको छ । अझ कैयौँ त्यसक्रममा क्रान्तिकारी बिहे गर्नेहरू युद्धविरामका केही वर्षपछि तुलसी मठमा पूजा सम्पन्न गरी खाना तयार गरेर उद्देश्यबिना टोल चाहर्ने लोग्नेका लागि दिउँसो मध्याह्नसम्म भान्सा कुरिरहेका देखिन्छन् र हरेक सानाठुला पारिवारिक सवालमा एकल निर्णय उसैको हातमा छोडिदिएको देख्न सकिन्छ । किन सोच र व्यवहारमा यस्ता विचलन आउँछन् ? उनीहरूकै शब्दमा- जीवन र जगत्लाई बदल्न ज्यानको सम्म पर्बाह नगरी हिँडेकाहरू कसरी आफैँ बद्लिएका हुन्छन् ? आजको
बिहेभोजको घटनाले मलाई सोचमग्न बनायो यस्तै यस्तै सवालहरू आइरहे मनमा ।
यो उनको उमेर र अनुभवसँगैको परिपक्वताको स्वीकारोक्ती थियो कि उनी यहीँको संरचनामा जकडिँदा जकडिँदा आफूलाई कमजोर स्विकार्नुको बाध्यता ? यस्ता कुराको अध्ययन कहिले होलान् ? आफ्ना रूपान्तरणका सोचहरूलाई कहिलेसम्म समाधिस्थल पुऱ्याइरहलान् यी योगमायाहरू ? किन लैङ्गिक समानता र सामाजिक न्यायसहितको `धर्म-राज्य´को स्थापनाका लागि ज्यान दिनेसम्मको तयारीका साथ होमिएर पछि आफ्नै निष्ठालाई आत्महत्या गर्न लगाएर आफू पलायनको जिन्दगी बाँच्छन् अहिलेका कैयौँ यी योगमायाहरू ? त्यो रात निदाउनुभन्दा पहिले यस्तैयस्तै कुरा मेरो मनमा खेलिरहे ।
– सन्धिखर्क-०१, अर्घाखाँची ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

