
“कुखुरी काँ !”
भालेको पहिलो डाँकमै मनकुमारी जुरुक्क उठिन् । पूर्वको ज्योतिले धर्तीलाई स्पर्श गरेकै थिएन । सामान्य सुची सकेर लुगा फेरिन् र बेलुकी नै ठीक पारेको झोला बोकिन् । छोरा सुतेको ठाउँमा हेरिन् तर हेरिरहन सकिनन् । बिस्तारै बिरालाको चालमा बाहिर निस्किइन् । उनका अपाङ्ग लोग्ने पिँढीमा मस्त निदाएका थिए । लोग्नेको घुराइको बाक्लो आवाजले छोरा बिउँझेला भनेर उनी रसाएका आँखालाई कोस कोस पुछेर सुक्खा गराउँदै तगारो नाघेर तलतिर झरिन् ।
रुँदै गरेको छोरा छाडेर हिंड्न आमालाई गाह्रो हुन्छ नै । यही ठानेर उनले सुस्तरी पाइला चालेकी थिइन् । गोठको भैंसीले कराएर बोलाए झैं गर्यो । शायद मनकुमारीको घर छोड्ने कुरा थाहा पाएर भैंसीले बोलाएको होला ! पशुवाक्य मान्छेले बुझ्ने कुरै भएन । उनी घरतिर नफर्की सरासर बाटो लागिन् । उनलाई बुटवलको बस भेट्टाउनु थियो ।
“ल ! ल ! जानै लाग्यो छिटो आउनुस् !”
बस हिंड्नै लागेको रहेछ ।
मनकुमारी बाटोभरी आफ्नो काखे बालक छोरालाई सम्झँदै बेचैन हुन्थिन् । नजिकै सीटमा बसेका अन्य महिलाका काखेनानी देखेर मनकुमारीको मुटु जोडजोडले धड्कियो, हुनसक्छ आफ्नो नानी सम्झिएर झन् भन्दा झन् धड्की नै रह्यो ।
नागबेली आकारको पहाडी बाटोमा बसले रफ्तार लियो । बसको गति बढ्नासाथ यात्रुको धड्कन बढ्दै जान्थ्यो । धड्कन भन्दा डर अझै बढी हुन्थ्यो । झ्यालसँगैको सीटमा बसेकी मनकुमारी आफ्ना सम्झनाका तरेलीहरूमा पर्दा हाल्न झ्यालबाट बाहिर हेर्थिन् र भुल्न खोज्थिन् । तर, उनलाई घरको याद आइरहेको थियो । घरको भन्दा सानो बालक छोराको यादले सताइरहेको थियो । बसले केही कम गति लिएको बेलामा सीटमै अडेस लागेर निदाउने जमर्को गर्थिन् तर निदाउन सकेकी थिइनन् ।
उसो त मनकुमारी विदेश जाने योजना बनेदेखि नै राम्रोसँग निदाएकी थिइनन् । झन् तीन रात भयो उनले पलक पटक्कै नजोडेको । मनभरी खेलेका कुराका बयानले निदाउन पो कहाँ दिन्थ्यो र ।
“गौरी पनि म जस्तै महिला त हो नि ! विदेश गएर कति धेरै पैसा कमाएर आफ्नो बन्दोबस्त गरेकी छे । परिवारलाई शहरमा लगेर राखेकी छे । छोराछोरीलाई राम्रोसँग पढाएकी छे ।” मनकुमारीको मगजमा नयाँ पुराना कुराका दृष्य फेरिंदै रहे ।
“मनकुमारी तिमी पनि हिँड विदेश ।” गौरीले धेरै पटक मनकुमारीलाई भनेकी थिइन् । उमेरमै पैसा कमाए छोराछोरीलाई राम्रो शिक्षा दिन सकिन्छ । बुढेसकालमा सुख पाइन्छ । शत्रु, वैरीका अगाडि ठाडो शिर गरेर बाँच्न पाइन्छ । यस्ता अनेकौं कुरा गरेकी थिइन् गौरीले मनकुमारीसँग ।
गौरीका कुराले भित्रसम्म छोइएकी मनकुमारी आफ्नो जीवनको निरस भूमिलाई उर्वर बनाउन विदेश जाने निर्णयमा पुगेकी छन् । “गौरीलाई विदेश पठाउने मान्छेले नै बहिनी चिन्ता नगर्नू, राम्रो ठाउँमा पठाइदिन्छु ।’’ भनेको थियो ।
“राम्रै ठाउँमा पठाउला ! एकै भेटमा कस्तो नजिकको आफन्तको जस्तो व्यवहार गरेको थियो । पैसा कमाउन थालेपछि पहिला ऋण तिर्छु, लोग्नेको उपचार गर्छु अनि छोराछोरी पढाउँछु ।” मनकुमारीका मनमा अनेकौं दृष्यका वर्षात भए । धेरै सपना आँखामा आएर अलप भए ।
“ए ! बुटवल, बुटवल !”
“ल ! ल ! आयो !”
“आ–आफ्नो सामान लिएर झर्नुस् । सहचालकले जोडले कराएर मनकुमारीको तर्कना बिथोलिदियो । केटा मान्छेहरू फटाफट पहिले ओर्लिए । झोला, गुन्टा भएका मानिसहरू र नानी बोकेका महिला बिस्तारै ओर्लिए । मनकुमारी पनि ओर्लिइन् ।
“मनकुमारी तपाईं नै होइन ?”
“हो, म नै हो ।”
“म लालहरि, गौरीले फोनमा कुराकानी गराइदिएको मान्छे । ल हिंड्नुस् । म तपाईंलाई मेनपावर अफिस पुर्याइदिन्छु । पर्सीको फ्लाइट छ । उहाँहरू पनि हुनुहुन्छ ।” लालहरिले मनकुमारीलाई अरू तीनजना महिलालाई देखायो । अरू तीन जना महिला र मनकुमारीले आफ्नो भविष्यको बाटो लालहरिको जिम्मामा छाडे ।
० ० ० ०
नेपाल सरकारले महिलालाई वैदेशिक रोजगारीमा जान धेरै प्रक्रिया पूरा गर्नुपर्ने बनाएको थियो । झन्डैझन्डै प्रतिबन्धको अवस्था थियो । त्यसैले मनकुमारीले समूहका सबैलाई खाडी देश लैजाने भनेर लालहरिले पहिले नयाँ दिल्ली पुर्यायो । हातमा राहदानी र प्लेन टिकट थमाउँदै राम्रोसँग जानू, धेरै पैसा कमाउनू भन्यो । दुबईको एयरपोर्टमा मेरो मान्छे लिन आउँछ । उताको बन्दोबस्त सबै उसैले हेर्छ भनेर आश्वस्त बनायो । मनमा डर डर लागे पनि पैसा कमाएर सुखको संसार बनाउने सपनाले मनकुमारी लगायतको मन जितेको थियो । उनीहरूका लागि यो यात्रा नौलो अनुभव थियो । अरू साथी कता छुटे, कता परे मनकुमारीले पत्तो पाइनन् । अत्यन्तै नौलो यात्रा गर्न लागेकी मनकुमारीले आफ्नो झोला बोकिन् र पछि फर्केर हेरिन् । लालहरि गइसकेको थियो ।
जहाजमा कतैकतै नेपाली बोलेको सुनेर मनकुमारीले एक्लो यात्रामा पनि ढाडस दिइन् आफैंलाई । तीन घण्टाको यात्रापछि दुबई एयरपोर्टमा जहाजले ओराल्यो । नितान्त नौलो ठाउँ, नौला मान्छे, नौलो नौलो बोली । लालहरिले भनेझैं प्रक्रिया पूरा गर्दै उनी एयरपोर्ट बाहिर निस्किइन् ।
“मनकुमारी तपाईं नै हो ?” एउटा मान्छेले नजिकै आएर सोध्यो ।
“म लिन आएको तपाईंलाई, हिंड्नुस् ।” उसले यति भन्यो र ट्याक्सी बोलायो । नेपाली मान्छेले नै बोलाएर सँगै जाँदा मनकुमारीलाई अलिक चैनको सास आयो ।
“म शिवलाल ।”
“घरमा को को छन् ?”
“तपाईंको लोग्ने के गर्नुहुन्छ ?”
मनकुमारीले उत्तर दिन नपाउँदै एकपछि अर्को प्रश्न गर्थ्यो त्यो मान्छेले । घर परिवारको सम्झनाले मनकुमारीको आँखा रसाइरहे ।
करीब आधा घण्टाको यात्रापछि ट्याक्सी रोकियो । मनकुमारी ओर्लिइन् । तातो हावाले स्पर्श गर्नासाथ उनको शरीरले बेचैनी ठान्यो । त्यो मान्छेले उनलाई एउटा घरभित्र लिएर गयो । त्यहाँ एउटा कोठामा अरू पनि दिदीबहिनी रहेछन् । मनकुमारीलाई अरू दिदीबहिनी देख्दा खुसी र आधार मिलेको आभास भयो । परिचय साटासाट भयो । बिदा मनाउन जम्मा भएका रहेछन् उनीहरू ।
मनकुमारीको भिजिटिङ भिसा रहेछ । शिवलालले उनको काम खोज्ने जिम्मा लिएका रहेछन् । भन्ने बित्तिकै काम पाइएन । घरमा छोराछोरी छिट्टै फर्कनू आमा भनेर चिच्याउँदा उनको कलेजा नौचिरा हुन्थ्यो । महँगो ब्याजमा काढिएको ऋणले अनेक हाँगाबिँगा हाल्दै थियो । कुनै राम्रो काम नपाएपछि एकजना नेपाली मान्छेले एउटा भारतीय परिवारको घरमा राखिदिए । थोरै तलब र गाह्रो काम थियो । तर परिवार र ऋण सम्झिएर उनले काम गर्न मञ्जुर गरिन् ।
एक साँझ एकजना नेपालीले फोन गरेर परिचय दियो । “म कुमार ! अस्ति बर दुबईमा भेटेको के त !”
“ए ! अँ, चिने, चिनें ।“
“किन यतिबेला फोन गर्नुभयो त कुमारजी ?”
“एउटा राम्रो काम भेटिएको छ, मिल्छ भने भोलि छुट्टी मिलाएर यता आउनू । काम चित्त बुझे यतै गर्नुहोला मनकुमारीजी ।”
“हुन्छ, म आउँछु, कुमारजी ।”
एक भारी सपना बोकेको मनलाई अलिकति खुशी मिले जस्तो भयो । मनकुमारी घरमा पैसा पठाउने बहाना गरेर निस्किइन् । अलिअलि जम्मा भएको पैसा घरमा पढाउनुपर्ने पनि थियो । आफूलाई केही मेसो नभएको हुँदा कुमारले सहयोग गर्नेछ भन्ने आशा अनुरूप कुमारले सहयोग गरेर पैसा पठाइदियो । नेपाली मन नेपालीपन निकै सुखद आत्मीयता मनकुमारी गद्गद भइन् ।
“निकै गर्मी छ चिसो पिऊँ !” कुमारले चिसो पेय पदार्थले भरिएको गिलास मनकुमारीको हातमा थमायो र आफूले पनि पिउन थाल्यो । त्यहाँ अरू मान्छे कोही थिएनन् ।
पेय पदार्थमा नशालु तत्त्व मिसाइको रहेछ । मनकुमारी अर्धचेत बनिन् । कुमारले कुत्सित् हर्कत पूरा गर्यो । मनकुमारी रोइन्, कराइन् तर उनको पुकार सुन्ने भित्ता बाहेक कोही थिएन । भित्ताको पनि कान हुन्छ भन्थे तर मनकुमारीको रोदन भित्ताले सुनेन । उनी लुटिइरहिन् ।
नशाले केही छोडेपछि आफ्नो अस्मिता गुमाएर मनकुमारी फर्किइन् । केही बोलूँ नयाँ र नौलो ठाउँ, त्यसमाथि आफ्नै इज्जतमाथि प्रश्न ।
० ० ० ०
एकदिन मनभरि घरको पीर अनि आफू लुटिएको पीडाको बीचमा काम गर्दागर्दै बेहोस भएर ढलिन् मनकुमारी । उनलाई स्वास्थ्यकर्मी ल्याएर देखाइयो । बिडम्बना मनकुमारी गर्भवती बनेकी रहिछन् । यो थाहा पाउने बित्तिकै साहूनीले मनकुमारीलाई कामबाट निकालिदिइन् । मनकुमारीको विकल्प थिएन र त्यही कुमारलाई फोन गरिन् । भेट गर्नुपर्ने भन्ने बित्तिकै हौसिएको कुमार मनकुमारीको कुरा सुन्ने बित्तिकै आगो
भयो र उल्टै मनकुमारीलाई लाञ्छना लगाउन थाल्यो । आफूले कुनै हालतमा स्वीकार नगर्ने र आफू प्रतिष्ठित मान्छे भएकाले यस्ता कुरा कसैले विश्वास नगर्ने भन्दै उल्टै धम्की दियो ।
मनकुमारीको अवस्था दयनीय भयो । दुई रातसम्म भोकप्यास सहेर सडकमै बसिन् । समुद्रमा फाल हालेर जीवन त्याग गर्न नसोचेकी पनि होइन । तर घरमा अशक्त श्रीमान र साना अबोध छोराछोरी सम्झिएर त्यसो गर्न सकिनन् । भोकप्यासले ग्रसित मनकुमारी समुद्र किनारको बालुवामै ढलिन् र भीड जम्मा भयो । मनकुमारीलाई अस्पताल लगियो । सज्जन नेपाली दाजुभाइ दिदीबहिनीले सहयोग गरे । उनको अवस्था हेरेर कसैले दुबईमा रहेका समाजसेवी मुकुन्द थापालाई खबर गरिदियो । मुकुन्द थापाले सबै चाँजोपाँजो मिलाएर उनको उपचार गरिदिए । समाजसेवी थापाले नै राजदूतावासको सहयोगमा बढ्दै गरेको गर्भ सहित मनकुमारीलाई नेपाल फर्काए । नेपाल त फर्किइन् उनी, तर जाने ठाउँ देखिनन् । घरमा जाने कुरै थिएन । बेलाबेलामा पेटमा रहेको शिशुले लात हानेर उनको गाउँ फर्कने योजना बिथोलिदिन्थ्यो । चिनजान आफन्तकोमा जाने सम्भावना नै थिएन, उफ् !
दुबई हुँदा चिनजान भएकी एकजना साथीको घर काठमाडौंमा थियो । त्रिभुवन एयरपोर्टबाहिर निस्केर एकजना व्यक्तिको सहयोगले उनै साथी सुनितालाई फोन गरिन् ।
आपत्मा आफन्तभन्दा असल मन भएका साथी नै बढी काम लाग्ने हुन्छन् । मनकुमारीलाई भेट्न सुनिता तुरुन्तै आइहालिन् । मनकुमारी र सुनिता अँगालोमा कसिए । सुनितालाई देख्दा मनकुमारीलाई निकै ठूलो आधार मिलेको थियो । दुवैजना सुनिताको घर गए । मनकुमारीले रुँदैरुँदै आफ्नो सबै कुरा सुनाइन् । सुनिताको आँखाबाट पनि आँसु बर्सिए ।
भोलिपल्टै सुनिताले मनकुमारीलाई राम्रो हेरचाह हुने संस्था ‘ह्याप्पी–होम’मा लगेर छोडिन् । चाहेर पनि आफूसँग राख्न सकिनन् । परिवारलाई के भन्नू ? बेला बेलामा संस्थामा गएर भेट्ने गर्थिन् सुनिता ।
दुई महिनापछि मनकुमारीले सुन्दर छोरीलाई जन्म दिइन् । मुटु अब दुईतिर बाँडियो । उता, घरको याद उत्तिकै छ । यहाँ अर्को मुटुको टुक्रा ! छोरी बोकेर घर जान पनि त नहुने । कसलाई छोड्ने, कसलाई अँगाल्ने दोधारमा परिन् ।बेलाबेलामा घरतिरको खबर सुनेर मरेतुल्य हुन्थिन् मनकुमारी । आफन्त, इष्टमित्रमा लामो समयदेखि बेखबर मनकुमारीलाई समाजले अनेक कुरा काटेर उनको चरित्रमाथि औंला उठाएको थियो । कतिले त सुखको खोजीमा पोइल भागेको किटानी गरेका थिए । छोरामान्छे बेखबर बनेको भए अनेक सहानुभूतिको वर्षा गराउँथ्यो समाजले । मनकुमारी रहरले होइन बाध्यताले बेखबर बनेकी थिइन् यही समाजको चुत्थो इज्जतका लागि ।
टाउकामाथि खसेको आकाश पन्छाउन सानो आँट र हिम्मतले सम्भव थिएन । छोराछोरीको भविष्य, लोग्नेको उपचार, साहूको ऋण, काखे नानीको व्यवस्थापन विकट पहाड बनेर उभिएका थिए मनकुमारी सामु ।
सुनिताको सहयोगमा सीपमूलक तालिम लिइन् मनकुमारीले । लगनशीलता र मेहनतले काम गर्दै जाँदा छोटो समयमा नै निकै तरक्की गरिन् उनले । गाँस बासको समस्या नपरेपछि अन्य योजना बनाउन र काम गर्न सजिलो हुन्छ भन्ने उनले बुझिन् ।
मनकुमारीले आफूलाई रसातल पुर्याउने दुष्टलाई सजाय दिलाउने हेतुले वैदेशिक रोजगार विभाग र प्रहरीमा समेत उजुरी दिइन् । विडम्बना, मनकुमारीको आशा यस कुरामा भने पूरा हुन पाएन । किनभने, कुमार भन्ने त्यो नरश्वानले अर्को नेपाली चेलीलाई मनकुमारीलाई झैं फन्दामा पारेर शोषण गर्न खोज्दा ती चेलीले दुबई पुलिसको जिम्मा लगाइदिइछन् । बलात्कार जस्तो जघन्य अपराधमा उसलाई मृत्युदण्डको फैसला भैसकेको रहेछ । मुकुन्द थापाद्वारा सुनेको खबरले घाउमा थोरै मलमको काम गर्यो मनुलाई ।
समय बित्यो । फराकिलो मन भएका मनकुमारीका लोग्नेले उनको बाध्यतालाई आत्मसात् गरेका छन् । लामो समयको उपचारपछि रोगलाई जितेर तन्दुरुस्त भएका उनी मनकुमारीलाई हरतरहले सहयोग गर्नेछन् । छोराछोरी पनि शहरको राम्रो विद्यालयमा पढ्छन् ।
मनकुमारीमा हरेक समस्या सामु सतिसाल झैं उभिइन् सुनिता । अभरमा परेका मान्छेलाई साथ सहयोगले लक्ष्यमा पुर्याउँछ भन्ने उदाहरण हो यो । महिलाको धन, यौवन लुट्नेदेखि जीवन नै चुँडाल्न पछि नपर्ने समाजका गलत मनोवृत्ति बोकेका मानिस र महिला विभेदका विरुद्धमा आवाज बुलन्द गर्ने मनसाय राखेर सामाजिक काम गर्न अगाडि बढ्दै छन् सुनिता र मनकुमारी ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

