ओमकार अग्रवाल अहिले बनारसको असीघाटमा डुबल्की लाउँदै छन् । गङ्गामा डुबुल्की लाउँदा उनलाई परमानन्द मिल्छ । यिनी हर साल गङ्गा स्नानका लागि काशी आउने गर्छन् । काशी र गङ्गाप्रति यिनको हृदयमा असीम आकर्षण मात्र होइन, त्यत्तिकै गहन आस्था पनि छ । उनको पिताजी जोगिन्दर अग्रवाल पनि यसरी नै हरसाल गङ्गास्नानका लागि काशी आउने गर्थे । उनलाई पचहत्तर वर्षको उमेरमा जवप्रोस्टेट ग्रन्थीको क्यान्सरको सङ्क्रमण भएपछि डाक्टरहरूले अब धेरै नबाँच्ने घोषणा गरिदिए । जीवनको आखिरी घडीमा बाँकी सास काशीझैँ बिसाउने इच्छा देखाएपछि उसलाई हतारहतार बनारस ल्याइयो । ल्याएको सात दिनमा गङ्गा किनारमा ब्रह्मलीन भए । उसलाई पनि काशीमा मऱ्यो भने स्वर्ग जान पाइने लालचाले भित्रबाटै समाएको थियो । बाबुको इच्छालाई पूरा गर्न ओमकार अग्रवालले अलिकति पनि कसर बाँकी राखेन ।
ओमकारको साँच्चैको पैतृक थलो राजस्थान हो । उसको बाजे जमानामा व्यापार गर्न सुरुमा पटना आएछन् । त्यसपछि नेपाल-भारतको सीमाको बजार जयनगर आए । जयनगरमा केही वर्षमा दोकान चलाएपछि नेपालको सिरहामा डर सरे । लाहान त्यो जमानाको पूर्वी पहाडका उदयपुर, खोटाङ, ओखलढुङ्गाको हाट भर्ने बजार थियो । नुनदेखि सुनसम्म,
लत्ताकपडादेखि फलाम, ताँबा, पित्तलसम्म यसै बजारबाट पहाड लगिन्थ्यो । बाजे नै लाहान आएको कहानी छ ? बाबु जोगिन्दर यहीँ जन्मिए । ओमकार यहीँ जन्मिए । बाबु जोगिन्दरले नै वंशजका आधारमा नेपाली नागरिकता लिएपछि भारतसितको सम्बन्ध टुट्यो । अपितु यिनका नातागोता र सारनतारन भारतसित अझ पनि कायमै छ ।
ओमकारका केही दाजुभाइहरू अझै पनि राजस्थानमा छन् । केही मामाचेला फुपूचेलाहरू जयपुरमा पनि छन् । तर ऊ राजस्थान र जयपुर त्यति जाँदैन । वर्षको एकचोटि पन्ध्र दिनको छुट्टी निकालेर बनारसचाहिँ आउने गर्छ । गङ्गास्नानमा उसको अतिशय ठूलो मोह छ । बाबु जोगिन्दरमा पनि सोही खालको मोह थियो । गङ्गास्नानको मोह बाबुबाट पैतृक अनुदानस्वरूप उसमा आएर हो कि कसो हो, वर्षको एकचोटि गङ्गा नुहाउन पाएन भने उसलाई खटपटी पैदा हुन्छ ।
ऊ बच्चा छँदै गङ्गास्नानको माहात्म्य बाबु जोगिन्दारले उसको मास्तिष्कमा यसरी घुसाइदिएको छ; अहिले बुढेसकाल हुँदा पनि त्यो घट्नुको साटो अरू बढेर गएको छ ।
मर्ने बेलामा पनि बूढाले ओमकारलाई भनेको हो– “बाबु ओमकार ! म मरेर गए पनि सालमा एकचोटि गङ्गास्नानको रीत नटुटाउनू, किनभने गङ्गामाताको जलमा यस्तो शक्ति छ । यसले जीवनमा गरेको हजार पाप पखालिदिन्छ र मान्छेलाई शुद्ध चोखो पारिदिन्छ । अनि अर्को कुरा सकिन्छ भने अन्तिम प्राण बिसाउन यहीँ आउनू, यहाँ शरीर छोड्न सकियो भने सिधै स्वर्गको सुखभोग मिल्छ; गन्दा नरकमा सड्नु पर्दैन ।”
गङ्गाजलमा डुबुल्की लाउँदा एक जुनी होइन सात जुनीका पाप पखालिन्छन् र यहाँ मृत्युवरण गर्दा स्वर्गको सुखभोग मिल्ने विश्वासले ओमकार अग्रवाल अभिभूत छ । लाहान त उसका निम्ति सिर्फ कमाउने थलो हो । पैसा सोहोर्ने थलो हो । जोगिन्दरकै पालामा राइस मिल खोल्यो । खाद्य सामग्रीको डिलर खोल्यो । कपडा पसल खोल्यो । ठूलाठूला सरकारी ठेक्कापट्टामा पनि हात हाल्यो । सम्पत्तिको हिसाब गर्दा करोडपति होइन अरबपतिमै गणना हुन्छ ।
सोझो औँलाले घिउ आउँदैन भनेर हर ठाउँ बाङ्गोँ औलाकै प्रयोग गरेर नौनी निकाल्यो । उसले के गरेको छैन । खाद्यान्नमा मिसावट गर्नेदेखि, कालाबजारी गर्ने, कृत्रिम अभाव सृजना गरी चर्को दाममा समान बेच्ने, नाकामा भन्सार छल्नेसम्मका अनेक अनैतिक कर्महरूको प्रयोग गरेर अकुत धन कमाएको छ । ठूलाबडा नेता र पार्टीलाई बेला-बेलामा आर्थिक सहयोग र चन्दा दिन पनि मन साँगुरो बनाउँदैन । त्यसैले सङ्कट पर्दा भर अभरमा उसलाई पार्टी नेताहरू नै बचाउन पुग्छन् ।
उसको विश्वास के छ भने पार्टीलाई चन्दा दिएर मात्र मैले गरेका कर्तुतहरू धुइन्नन् । दुई नम्बरी धन्दा र कलुष कर्महरूको पाप पखाल्न वर्षको एकचोटि गङ्गाघाटमा जलस्नान गर्नैपर्छ । त्यहाँ गएर सर्वाङ्ग डुबुल्की लाउनैपर्छ ।
वर्षको तीन सय पचास दिन मजाले व्यापार बिजनेस र ठेक्कापट्टामा खटिन्छ । बाँकी पन्ध्र दिन आफ्नो संसारी कामबाट निवृत्त हुन्छ र लाग्छ काशी नगरीतर्फ । सो समयको सम्पूर्ण कारोवारहरू कारिन्दाजन र छोराहरूलाई जिम्मा लाएर प्रायः पत्नीसहित अल्हड बनारसमा भूमिगत हुन्छ ।
कहिलेकाहीँ त दिनभरि जसो गङ्गामा डुबिबस्छ । यसले उसलाई एक अभिनव आनन्द दिएको हुन्छ । साथै मनमा एक भरोसा भाव उठेको हुन्छ; सालभरिका सारा व्यापारिक कुकर्महरू सिनित्त पखालिँदै छन् । म स्निग्ध र चोखो बन्दै छु । मेरो देह मात्र पावन बनिरहेको छैन । आत्मा पनि पवित्र हुँदै छ ।
मनमा उसको एउटै भाव गुञ्जायमान भैरहेको हुन्छ– हे गङ्गामाते ! मेरा जुनी-जुनीका पापहरू पखालिदेऊ ! मलाई पावनपवित्र बनाइदेऊ !
उसकी पत्नीले पनि गङ्गास्नानमा साथ दिन्छिन् तर ऊजति पानीमा डुबुल्की लाउन सक्तिनन् । दमको रोगी छिन् । चाँडै चिसाले समातिहाल्छ । ठिकठिकै नुहाएर उनी किनाराको सिँढीमा गङ्गाको अविरल प्रवाहलाई नियाली बस्छिन् । ऊ भने पानीमा पसेपछि भोकप्यास बिर्सिन्छ ।
+++++ +++++ +++++
हरेक साल यस नगरीमा आउँदा खाने बस्ने व्यवस्था गङ्गातटकै एक आलिशान होटलमा गरेको हुन्छ । बर्सैपिच्छे आउने एक नियमित ग्राहक भैसकेको छ ऊ होटलका लागि । लाहानबाट उसले फोनमार्फत कोठा बुक गराएको हुन्छ । यी पन्ध्रदिन उसले संसार बिर्सिन्छ । आफ्नो कामधन्दा फोनफान सबै कुराबाट अवकाश लिएको हुन्छ । बनारसका विभिन्न तीर्थस्थलको भ्रमण, पूजापाठ, प्रार्थना र गङ्गा डुबुल्कीमा उसको सारा दिनचर्या व्यतीत हुन्छ ।
बनारसमा चौरासी घाटमध्ये ऊ एकै ठाउँ डुबुल्की लाउँदैन । प्रातःकालमा मणिकर्णिका घाटमा डुबुल्की लायो भने मध्यान्नको गर्मीमा डुबुल्की लाउन असीघाट पुग्छ । सन्ध्या स्नानमा हरिश्चन्द्रघाटमा डुबुल्की लायो भने भोलिपल्टको बिहान केदारघाट पुगेर स्नान गर्छ । फेरि दिउँसो प्रभुघाटमा स्नान गऱ्यो भने सन्ध्या स्नानका लागि फेर ऊ चेतासिंह घाटतिर लाग्छ ।
यसरी पन्ध्र दिन त्यहाँ बस्ता बनारसका शिरदेखि पुच्छारसम्मका पूरै चौरासी ओटा घाटमा पालैपालो स्नान गरिसक्छ । उसलाई अर्को के विश्वास पनि छ भने चौरासी लाख जुनीका पाप चौरासीघाट नुहायो भने नाश भएर जान्छन् ।
घाट नुहाएर मात्र उसलाई चित्त बुझ्दैन । शिवशक्तिको दमदम आफैँमा चढेको भान मिल्छ । बाबा विश्वनाथको मन्दिर दिनको चौँसट्ठीचोटि नित्य प्रदक्षिणा गर्छ । ऊ उमेरले चौँसट्ठी भैसकेको छ । आफ्नो उमेर जति भयो त्यतिचोटि मन्दिरमा फेरो मार्दै आएको छ । पोहोर साल त्रिसट्ठीचोटि फेरो मारेथ्यो । परार साल बासट्ठीचोटि फेरो मारेथ्यो । एवंरीतबाट अघिल्ला सालहरूमा उमेरको हिसावले फेरो लगाएको हो ।
विश्वनाथको पूजन, प्रदक्षिणा त उसको दैनिक कर्म हो । पन्ध्र दिनको बनारस बसाइमा पन्ध्र दिनै त्यसमा लीन रहन्छ । त्यसपछिको समय चौँसट्ठी योगिनी, बाह्र सूर्य र छपन्न विनायक, आठ भैरव बयालीस शिवलिङ्ग, नौ गौरी र चौध ज्योर्तिलिङ्गको दर्शन गर्न पनि कहिल्यै छुटाउँदैन । गरिब-गुरुवा एवं साधुसंन्यासीलाई पनि धेरथोर दानदक्षिणा गरेर मनलाई परितृप्त पार्छ ।
हुन त ऊ आफ्नो जीवनकालमा थुप्रै तीर्थ घुमेको छ । जति-जति धन कमाउँदै गयो, जति-जति व्यापार व्यवसायबाट लाभ हासिल गर्दै गयो त्यति-त्यति तीर्थ घुम्ने भोकले उसलाई समात्दै लाग्यो । एकाधचोटि हरिद्वार हृषीकेश पनि पुग्यो । बद्री केदार पनि पुग्यो । सोमनाथको दर्शन गर्न द्वारका पनि पुग्यो । कृष्णको पावन भूमि मथुरा बृन्दावन पनि पुग्यो । इच्छा त उसलाई अमरनाथ पुग्ने पनि हो । त्यहाँ चाहिँ अझसम्म पुग्न सकेको छैन । धेरै टाढा त्यसमा पनि विकट हिमाली क्षेत्रको यात्रा गर्नुपर्ने भएकाले त्यहाँ जान उसलाई कहिल्यै आँट आएन ।
अमरनाथ मात्र होइन, मानसरोवरको कैलाश यात्रामा पनि जान हिचकिचाएको छ । मधेसमै जन्मेहुर्केको माडवारी विकट हिमाली यात्रामा स्वास्थ्यमाथि कुनै अवघात हुन सक्छ कि भन्ने उसलाई डर छ ।
नेपालकै पनि पशुपतिनाथदेखि मुक्तिनाथसम्म पुगेको छ । जहाँ-जहाँ पुगे पनि उसलाई काशी बनारसले जति मोहनी लाएको छ, त्यति कुनै ठाउँले उसको हृदय खिच्न सकेनन् । अब त उसलाई अन्त कहीँ जानु छैन । तन्नेरी उमेर हुँदा सके जति तीर्थ भ्याएकै हो, अब त दिनदिनै वृद्धपनले जित्दै लगेको छ । अरू तीर्थ घुम्ने चाहना विलीन भैसकेका छन् तर सालमा एकचोटि बनारस आउने र मनचिन्ते रूपमा गङ्गामा डुबुल्की लाउने बासना घट्नुको साटो अरू बढेर गएको छ ।
+++++ +++++ +++++
बनारसको गङ्गा तटमा पन्ध्रदिन बिताएर भोलि ओमकार अग्रवालका पतिपत्नी घर फर्किँदै छन् । घर फर्किने रेलको टिकट पहिले नै बुक गरिएको छ । भोलि साँझ सात बजे उनीहरू जयनगर प्रस्थान गर्नेछन् । घुम्ने र दर्शन गर्ने ठाउँहरू घुमिसकेका छन् । खाना खाएर होटेलमा रात्रि विश्रामका लागि आआफ्ना बेडमा पल्टिएका छन् ।
पत्नीले जिज्ञासा राखिन् –
“मणिकर्णिका घाटमा त कति धेरै मान्छेहरू जलिरहेका ? चिता एकछिन पनि खाली देखिनँ मैले त । एकैचोटि आठ ओटा दश ओटा लाश दिनरात जलेको छ, जलेको छ ।”
पति बोल्यो– “जल्दैनन् त, संसारको कुना-कुनाबाट मान्छे मर्नकै लागि यहाँ आउँछन् ।” लोग्नेको कुराले मनमा संशय पैदा भयो ।
“किन मर्नलाई यहाँ आउनुपरेको होला नि ?”
“तँलाई थाहा छैन, यहाँ मर्दा मोक्ष मिल्ने कुरा शास्त्रैमा लेखेको छ । सिधै स्वर्गको वास हुन्छ । हाम्रै पिताजी पनि यही मरेका होइनन् ?”
“ए त्यसो भ’र पो धेरै लाश जल्दा रहेछन् ।”
ओमकारकी पत्नी अलिक सोझो बुद्धिकी मान्छे छिन् । भोलि फर्किने टुङ्गो छ । पत्नीका केही किनमेलहरू बाँकी नै छन् । लोग्नेलाई गनगन गरिन् ।
“सधैँको स्नान, सधैँको स्नान । भोलि त बेलुका फर्किहाल्छौँ । सारीताडी खरिद गर्नु छ । नातिनातिनीलाई केही किनमेल भएको छैन । भोलि त मार्केटिङ गर्नुपर्छ ।”
“त्यसको चिन्ता नगर । भोलि बिहान मणिकर्णिका घाटमा स्नान गर्ने । विश्वनाथ बाबाको दर्शन गर्ने । त्यसपछि खाना खाएर किनमेलमा साडी मार्केट जाने हो ।”
लोग्नेको योजनामा प्रतिवाद जनाउन मन लाग्यो –“यत्रो पन्ध्र दिनमा हजारचोटि डुबुल्की लाइसक्नुभएको छ । अझै चित्त बुझेन । भोलि बिहान त होटलकै बाथरुममा नुहाएर सिधै मार्केटिङमा जाऔँ न । नत्रभ्याइन्न क्या!”
“तिमीलाई थाहै छैन । गङ्गास्नानको माहात्म्य । यत्रो गङ्गास्नानको मौका कसैले गुमाउँछ । तिमीलाई जान अल्छी लाग्यो भने तिमी कोठामै बस ! म नुहाएर आउँछु ।”
“मेरो खुट्टा धेरै दुखेको छ । भोलि तपाईँ मात्र गएर नुहाउनुहोस् । म कोठामै बस्छु ।”
बूढाबूढीको यही सल्लाह भयो । दुवै जना निद्रादेवीको शरणमा घुर्न थाले । भोरभोरको मन्दिरका घण्टाको चर्को ध्वनिले उनीहरूको निद्रा खुल्यो ।
झ्यालको पर्दा सारेर बाहिर चिहायो अग्रवाल बूढो । धर्तीमा उज्यालो खसिसकेको थियो । नुहाउने सरसामाग्री सानो हाते व्यागमा हालेर मणिकर्णिका घाटतिर लाग्यो ।
जाने बेलामा पुलुक्क पतिको मुखतिर हेर्दै भनिन् –“अलिछिटो फर्किनू है !”
ऊ केही नभनी ओर्ल्यो । मणिकर्णिका घाटमा पुग्दा सूर्योदयका कलिला किरणहरूले गङ्गाको जलप्रवाहलाई मृदुलस्पर्श गरिसकेको थियो । किनाराको सिँढीमा कपडा उतारेर ऊ गङ्गामा डबुल्की लाउन थाल्यो । जति डुबुल्की लायो उति विभोर आनन्दको नशामा निमग्न बन्यो । सधैँ कम्मर कम्मर पानी भएको ठाउँमा नुहाउँथ्यो । धेरै पर गएपछि पत्नीले हकारपकार पार्थिन् र ऊ छेउमै आएर नुहाउन बाध्य बन्थ्यो तर आज ऊसित पत्नी थिइनन् ।
उसलाई सँधै डुबुल्की लाउने ठाउँबाट अझै उता जान मन भयो । बिहानको चिसो चिसो समयमा गङ्गाको पानीले न्यानो स्पर्श दिएको थियो । केही पर गएर डुबुल्की माऱ्यो । उसलाई झन् मजा आयो । अझै एक स्टेप परको आनन्दले उसलाई आकर्षण गऱ्यो । यसो गर्दागर्दै पहिले नुहाउने थलोबाट करिब बीस हात परको दूरीमा पुगिसकेको थियो ऊ ।
डुबुल्की लाउँदालाउँदै ऊ एक्कासि आँत्तियो । कारण उसले टेक्ने ठाउँ कतै भेटेन । गङ्गाको अतल प्रवाहनजिक पुगिसकेको थियो । ऊ आँत्तिएर किनारातिर फर्किन खोज्यो तर जलको कुनै अदृश्य प्रवाहले उसलाई उतैतिर खिच्यो । किनारमा फर्किन अनेक बलबुता लायो तापनि उसको सामर्थ्यले भ्याउँदै भ्याएन ।
आसपासका डुङ्गावालहरू चिच्याए– “डुब्यो ! डुब्यो ! मान्छे डुब्यो !!”
अत्तालिएर डुङ्गावालहरू उद्धारका आशयले कतै शरीर देखिन्छ कि हेर्न थाले तर गङ्गाको अतल जलप्रवाहले उसलाई निमोठेर भित्रै गाडिरह्यो । उसको शरीरबाट प्राणपखेरु हरण गरेर त्यहाँबाट पाँच किलोमिटर तलको तटमा शव पछारिदियो ।
यता पत्नी भने कोठामै छटपटाई बसेकी छिन् । उनको अन्तर्मन एकनाशसित बोलिरहेको छ– “किन ढिलो गर्नुभयो ! फर्किनलाई ? अब त आइपुग्नुपर्ने हो !”
समाप्त
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।