
समय, परिस्थितिले जीवनलाई नियन्त्रण गर्छ । जीवनमा कतिबेला कस्तो भवितव्य आइपर्छ थाहा हुँदैन । कहिलेकाहीँ अनुमान नै नगरेका समस्याहरू झेल्नुपर्छ भने कहिले अप्रत्याशित खुसीका कुरा पनि सुन्नुपर्छ ।
एकपल्टको कुरा हो, मैले मेरी सहपाठी पायललाई कल गरेँ । उनले कुरा लुकाउन खोज्दा खोज्दै पनि सधैँकी हँसमुख उनी उदास भएको सहजै थाहा पाएँ । उनको समस्या के होला भनेर म पिरोलिएँ । समाधान स्वरूप उनको अवस्थाको बारेमा बुझ्न खोजेँ । निकै कर गरेपछि उनले हालतको सविस्तार वर्णन गर्दै भनिन्, “तिमीसँग कुरा गरेर मेरो समस्याको निराकरण हुँदैन । तर शुभचिन्तकले सोधेपछि नभनूँ पनि कसरी ? कुरा कताबाट सुरु गरूँ ? मेरो समस्या प्रत्यक्ष देख्नका निम्ति तिमी समीपमा छैनौ । तिमी पनि अरूजस्तै फेसबुकमा हालेको फोटो हेरेर भव्य सहर, सफासुन्दर ठाउँ, सुखी परिवार, भगवानले एकर्काका निम्ति बनाएको सुन्दर जोडी बनेर कमेन्ट गर्नेमै पर्छौ । ती कमेन्ट गर्नेहरूलाई के थाहा बाहिरबाट सुन्दर देखिने जोडी पारिवारिक व्यवहार बिग्रिएर भित्रभित्रै कति कुरूप भइसकेको छ ?
बाहिरबाट हेर्दा सुखी परिवारभित्रकी सदस्य म मानसिक रूपमा म निकै तनावग्रस्त छु । त्यै पनि आफू खुसी छु भन्ने भ्रममा राख्न सामाजिक सञ्जालहरूमा खुसीयालीका पारिवारिक फोटाहरू पोस्ट गरिरहन्छु । वास्तवमा भन्नुपर्दा मैले समस्या कहिलेबाट सुरु भयो भन्ने नै थाहा पाइनँ । उहाँको आस्थामा अडिग मैले उहाँलाई यति विश्वास गरेछु कि विश्वासघात भएको थाहा पाउन समय लाग्यो । जब थाहा पाएँ समय निकै ढिलो भइसकेको रहेछ ।
विवाहपश्चात् मैले श्रीमान्लाई आफ्नो संरक्षक मान्नु, घरपरिवारको निम्ति मन, वचन र कर्मले अहोरात्र खटिनु, दुखका दिनमा साथ दिनु, परिवारको खुसी नै आफ्नो खुसी मान्नु, परिवारको भलो चाहनु अनि व्यवहार समाल्नु आदि, इत्यादि ।
म यी सबै कर्तव्यलाई आत्मसाथ गरिरहेकी छु । तर उहाँले सफल वैवाहिक जीवनमा निम्ति श्रीमान् श्रीमतीबिच कस्तो सम्बन्ध हुनुपर्छ भन्ने कुरा बिर्सिनु भएछ । आफ्नो पत्नीव्रत धर्म बिर्सिएर अकर्तव्यतर्फ उन्मुख हुनुभएछ । यतिसम्म कर्तव्यविमुख हुनुभएको छ कि उहाँले मेरो त वास्ता गर्नुभएन भएन, साना छोराहरूलाई पनि बेवास्ता गर्नुभएको छ ।
विदेशी मुलुकमा जन्मी हुर्किएकाले बाबुआमाबाहेक अरू नातासम्बन्ध नजानेका छोराहरूलाई बाबुआमाको सौहार्दपूर्ण सम्बन्धबाट वञ्चित गराउनु भएको छ । उहाँका कारण रमाइलो गर्ने उमेरका छोराहरूले पनि तनाव झेलिरहेका छन् । आफ्नो स्वतन्त्रता र अधिकारको कुरालाई महत्त्वपूर्ण मानेर अलग बस्ने निर्णय गर्ने उहाँले छोराहरूको बाबुआमासँगै बस्न पाउने अधिकार खोसिएको विषयलाई भने सामान्य रूपमा लिनुभएको छ । लोग्ने स्वास्नी छुट्टिएर बसे पनि सन्तानप्रति बाबुआमा दुवैको बराबरी जिम्मेवारी रहन्छ ।
त्यसैले सन्तानप्रतिको जिम्मेवारी पूरा गर्न एकहप्ता बाबुले र एकहप्ता आमाले राख्नुपर्ने कानुनी प्रावधान छ । सोहीअनुरूप अब उनीहरू १८ वर्षका नहुन्जेलसम्म एकहप्ता उहाँसँग र एकहप्ता मसँग बस्नुपर्नेछ । एकले अर्कालाई जीवनभर साथ दिने भनेर गरेको बाचा टुटेर असामञ्जस्यको अवस्था सिर्जना भएको छ । सम्बन्धविच्छेदको कागजी प्रमाण पर्खेर बस्नुपर्दाको यो समय मेरा निम्ति सहज छैन । जीवन अस्तव्यस्त चलिरहेकोले अन्योलमा छु ।
अचानक आइपरेको सङ्कटलाई एक्लैले सामना गर्न सजिलो रहेनछ । अपरिचित मान्छेहरूको भिडमा आफू एक्लो भएको महसुस गरिरहेकी छु । टाढा भएका आफन्तलाई यी कुरा सुनाउन मन छैन । सुनाएर पनि के गर्नु ? आखिर मेरो पीर उनीहरूले बेहोर्ने पनि होइनन् । फेरि आफ्नो व्यथा अरूलाई सुनाएर भावनात्मक रूपमा अझ आघात बेहोर्नुभन्दा बरु केही समयको निम्ति सम्पर्कविहीन हुन रुचाएकी छु । अब राख्छु गुड नाइट ।”
उनले आफ्नो समस्या राखेर कुरा टुङ्ग्याइन् । उनको पीडामा म अप्रत्याशित रूपमा सामेल हुन पुगेँ । उनी जटिल अवस्थामा छन् भन्ने सुनेदेखि मन अशान्त रह्यो । भौगोलिक दूरीका कारण मुस्किल परिस्थितिमा उनको नजिक हुन नसकेमा छटपटी भैरह्यो । उनको वर्तमान अवस्थाको आकलनले मन व्याकुल भैरह्यो । यस्तो अवस्थामा उनलाई असल सहयोगीको खाँचो छ । जसको सद्भाव र सान्त्वनाले उनको अशान्त मनमा शान्ति मिल्छ । तर त्यो कसरी सम्भव होला ? म चिन्तन गरिरहेँ ।
उनका सामु उपस्थित भएर सहयोग गर्न नसके पनि सान्त्वना दिएर सहयोग गर्न सक्थे भन्ने लागिरह्यो । तर उनले कल गर्न मनाही गरेकी थिइन् । मेरी साथीको एकान्त बस्ने आग्रहलाई नकार्न सकिनँ । यसरी धेरै दिन बिते ।
एकदिन फेसबुक खोल्ने बित्तिकै उनको प्रोफाइल पिक्चरमा मेरा आँखा पुगे । सोसल मिडियामा उनको वापसीले हर्षित भएको मैले उनको फोटोलाई हेरिरहेँ । गगनचुम्बी भवनलाई पछाडि पारेर फूलबारीमा खिचिएको उनको फोटो साँच्चै आकर्षक छ । रङ्गीचङ्गी फूलहरूका माझमा गुलाबी रङको लुगा लगाएर बेन्चमा बसेकी उनी फूल झैँ सुन्दर छन् । उनी यति राम्री छन् कि रङ्गीचङ्गी फूल, पुतलीहरू समेत उनको सौन्दर्यसामु फिका देखिएका छन् । उनी पुराणमा वर्णित त्रिलोककै मनमोहक युवती स्वर्गका राजा इन्द्रकी अप्सरा वा कामदेवकी पत्नी रतीभन्दा कम छैनन् । तर वास्तवमा भन्नुपर्दा म उनको सौन्दर्यलाई अरूसँग दाँजेर समदृष्टिले हेर्न चाहन्न ।
उनले निधारमा लगाएको रातो टिकाले मेरो आँखा लोभ्याएको छ । ठूला-ठूला आँखाका कोससम्म तानेर लगाएको गाजलले उनको शोभालाई अझ बढाएको छ । रातो चम्किलो लिपस्टिकले उनको पातलो ओठ बिछट्ट राम्रो देखाएको छ । लामो कालो कपाललाई शिरमा सिउरेको कालो चस्माले सपक्क मिलाएको छ । अनि दुवै कानका पछाडिबाट तल झरेको गुङरूङ्ङ कपालले उनको पुष्ट स्तनलाई छपक्क छोपेको छ । सौन्दर्यले भरिपूर्ण जति हेरे पनि धीत नमर्ने उनको फोटो हेरिरहँदा फोटोमा उनीसँगै भएको व्यक्ति भने मैले चिन्न सकिन । आँखाले नठम्याएको हो कि भनेर जुम गरी नियालेँ । तरपनि चिनिनँ । अनि कमेन्ट पढेँ ।
कमेन्टमा विवाहवर्ष गाँठको उपलक्ष्यमा शुभकामना दिएको पढेपछि ती व्यक्तिसँग उनले दोस्रो विवाह गरिछन् भन्ने छर्लङ्ङ भयो । पुनर्विवाहपछिको दाम्पत्य जीवनको निम्ति हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै उनीसँगको भेटलाई सम्झेँ । जीवनमा धेरै मानिसहरूसँग परिचय भयो तर सद्विचार अनि निःस्वार्थ व्यवहार गर्न मानिस थोरै मात्र भेटेको छु । उनी तिनै थोरैभित्र पर्छिन् ।
समय,परिस्थितिका कारण सम्पर्क हुन नसके पनि उनीप्रतिको मेरो माया कहिल्यै कम हुँदैन । उनले गरेको सहयोग म बिर्सन सक्तिन । बिर्सनु पनि कसरी ? उनको कारणले मैले जीवनको मूल्य बुझेँ । पारिवारिक समस्याका कारण विचलित भएको मलाई आखिरमा उनले नै सहि मार्ग अवगत गराइन् । सामाजिक व्यवहार बुझेकी उनले जीवनमा आइपर्न समस्यासँग भाग्नुभन्दा त्यसको समाधानको बाटो खोज्न सल्लाह दिइन् ।
उनले भन्थिन्, “तिमी यसरी अत्मपीडक भएर नबस । दाम्पत्य जीवनमा आएका समस्याको समाधान आफैले खोज्नुपर्छ । पतिपत्नीबिचको समस्यालाई सहमतिमा सुल्झाउने कोशिस गर । तिमी आफ्नो हकअधिकार सुनिश्चित गर । तर अरूको अधिकार हनन नगर । आफ्नो स्वाभिमानको रक्षा गर । आफ्नो स्वार्थ पूरा गर्नका निम्ति अरूको आत्मसम्मानमा ठेस पुग्ने काम कहिल्यै नगर । तिम्रो जीवन तिमीले नै सार्थक बनाउनुपर्छ । व्यावहारिक भएर समयानुकूल चल्न सिक ।”
उनीसँगको निकटता जीवनभर पाउनका निम्ति पुनर्विवाहको अभिलाषा प्रकट गरेँ । पुनर्विवाहपछिको रमाइलो भविष्यका सपनाहरू पनि देखेँ । तर उनको भरपुर सहयोगको बाबजुद पनि मेरै कारण हाम्रा चाहनाले साकार रूप पाउन सकेनन् किनकि म हुतीहारा अनि काँतर थिएँ । तर उनी निडर अनि आँटिली थिइन् ।
उनको आँट, हिम्मतको साकार स्वरूप देखेर मेरा आँखा हर्षले रसाए । जुनसुकै समस्याको समाधान खोज्न सक्ने, जस्तो हालतमा पनि विचलित नभई कन धैर्यपूर्वक अघि बढ्न सक्ने प्रतिमा उनमा विद्यमान थियो । त्यसैले वैवाहिक जीवनमा आइपरेको समस्यालाई समाधान गरेर जीवनको नयाँ मार्ग तय गरिछन् ।
जे गरिन्, राम्रो गरिन् । उनको पुनर्विवाहले आफूले माया गरेको मान्छे सधैँ खुसी रहोस् भन्ने मेरो मनोभाव पूरा भयो । चाहना पूरा भएसँगै मन प्रहर्षित भयो । बर्षदिन दिक्दारीमा बाचिरहेको मैले क्षणभरमा सहजै सुखको अनुभूति गरेँ ।
क्यालगेरी, क्यानाडा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

