
भएर पनि कवि सामर्थ्यवान । भएर पनि शक्ति कविताको । भएर पनि घर बाँसवारीमै । नभेटिएपछि लामो समय । नदेखिएपछि कहीँ पनि । न छापिएपछि कुनै कविता । गरेनन् कसैले पनि सोधीखोजी ।
थाहा छ सबैलाई । सिर्जनामा समर्पितहरुलाई गर्नुपर्छ सम्मान जिउँदै । भनिरहेकै भए पनि निरन्तर । हुने गरेका छन् नभएपछि नै धेरै । बनेको छ ठ्याक्कै उखानजस्तै । हुन्छ हेला नजिकैको तीर्थ नै । अँध्यारो भएजस्तै दियोमुनि । भएका थिए हिजो । भइरहेका छन् आज । हुने नै छ भोलि पनि ।
छ समाज हाम्रो यस्तै । बाँच्ने पनि यहीँ नै हामी । बलियो बनेजस्तै औपचारिकता सधैँ । कमजोर बनेको त्यत्तिकै होइन आदर्श । चाहिन्थेन बनाउन नत्र सालिकहरु । पर्थेन निकाल्न स्मृति ग्रन्थहरु । पातलो भएर श्रद्धा । बन्ने गरेको छ बलियो श्राद्ध ।
नाम छ त्यस्तै भीमदर्शन रोकाको । चिनिनु भाछ मजाले कवितामा । नवीन प्रयोक्ता पनि र प्रतिष्ठित पनि । नलेख्नु भए पनि सङ्ख्याले धरै । नहुनु भए पनि सम्पर्कमा धेरै । नजानु भए पनि सभा समारोहमा धेरै । सक्दैनन् चाहेर पनि बिर्सन कसैले । हो यही नै सामर्थ्य सिर्जनाको । होला कालजयी भनेको यस्तै ।
गर्नुभएको थियो विद्रोह कवितामा । त्यागेर पुरानो शैली । गर्नुभयो प्रयोग रुवाइ शैलीकोे । बन्नुभो प्रयोत्ता पनि प्रथम नै । सम्मान छ विशिष्ट नै मुक्तकमा आफ्नै । बन्यो विशेषता नै नवीनता र विविधताको । बन्नुभएको विशेष त्यसैले भीमदर्शन । प्रवृत्ति उहाँको काव्यमा । जीवन्त रुप प्रणयको आद्यान्त । बन्नुभए पनि एक्लै । बन्नुभएको छ भीडमा पनि एक्लै ।
छैन साहित्यिक यात्रा पनि लामो । वर्ष सड्तिस जम्माजम्मी । देखिएन लेख्नुभएको वर्षमा एउटा पनि । छन् कविता मात्र सत्ताइसवटा । नहोला नसकेर नलेख्नुभएको । होइन नभएर पनि सङ्गत । हुनसक्छ नभ्याएरै नै धेरै ।
आउनुभएको थियो नेपालमा । बनेर प्रतिनिधि विद्यार्थी सम्मेलनको । भाग लिनलाई आठ सालमा । हुनुहुन्थ्यो जवान वर्ष एक्काइसको । हुनथाल्यो सङ्गत त्यसपछि । हस्तीहरुसँग नेपाली साहित्यको । महाकवि देवकोटा, शङ्कर लामिछाने र तुलसीनाथ ढुङ्गेलहरुसँग । सम र सिद्धिचरणहरुसँग । चित्तधर र माधव घिमिरेहरुसँग । व्यथित र उत्तम नेपालीहरुसँग । रमाएपछि साथीहरुसँग । मन पराउनुभो माटो आफ्नै । चाहनु भएन फर्किनलार्ई भारतको भाक्सु ।
जानुभाथ्यो बालकैमा भाक्सुतिर । हुँदै मात्र तीनचार महिनाको । बसेर काखैमा आमा वसन्तदेवीको । थियो जागिर बुबा हस्तलाल भारतीय सेनामा । भए पनि मूलघर गुल्मी । जन्मनुभएको थियो काठमाडौँको कालधारामा । थियो मिति सन् १९३० डिसेम्बरको २९ ।
नेता बनेर विद्यार्थीको । आउनुभएपछि नेपाल । हुनथालेपछि सत्सङ्ग स्रष्टाहरुसँग । लेख्नुभएको थियो कविता । छापियो दस सालमा कविता पहिलो । पत्रिका थियो ‘प्रगति’ । बन्यो त्यहीबेला काव्य प्रतिष्ठान । हुनुहुन्थ्यो अध्यक्ष महाकवि लक्ष्मीप्रसाद देवकोटा । शङ्कर लामिछाने बन्नुभो सचिव । वालकृष्ण सम, केदारमान व्यथित र भीमदर्शन रोका बन्नुभो सदस्य । पत्रिका थियो प्रतिष्ठानको ‘इन्द्रेणी’ । हुनुहुन्थ्यो सम्पादक माधवप्रसाद घिमिरे । विद्यार्थी प्रतिनिधि बनेर आउनुभएको थियो नेपाल । बन्नुभो प्रतिनिधि नेपालकै । चार वर्षपछि नै चीन यात्राको । हुनुभएर सदस्य प्रतिनिधि मण्डलको ।
भएपछि सम्बन्ध साहित्यका सगरमाथाहरुसँग । लेख्नुभो कविता बेजोड नै । सङ्ख्याले भने निकै कम । हुन्थ्यो प्रस्तुति पनि निकै प्रभावकारी । अभिलेख छ कविताको दसदेखि त्रिचालीस सालसम्मको । छन् तर कविता मात्र सत्ताइस । थिए प्रकाशित चौबीस । बाँकी थिए छापिन तीनवटा ।
निणर्य गरेपछि नफर्किने भारत । थाल्नुभो काम विद्यालयमा । पुग्नुभो पढाउन पोखरा कन्या मन्दिर । लागेपछि बाह्र साल । हुनुभो बिरामी अठार वर्षपछि । सक्नुभएन पढाउन पटक्कै त्यसपछि । गर्नुपर्यो आराम आठ वर्ष पूरै । सक्नुभएपछि पढाउन फेरि । जोडिनुभो सिद्धार्थ वनस्थलीसँग अड्तिस सालमा । संयोग पनि अचम्मकै । हुनुभो फेरि बिरामी त्यस्तै । अठार वर्षपछि नै फेरि ।
बिताउनुभो पढाएरै पाँच दशक । थियो विषय अङ्ग्रेजी । पढाउनुहुन्थ्यो ट्युशन घरमा पनि । हुन्थेन फुर्सद कहिल्यै । पढाउनुभो श्रीमतीलाई पनि घरमै । मीना रोका हुनुहुन्थेन मात्र श्रीमती भीमदर्शन रोकाको । हुनुहुन्थ्यो टाइपिष्ट पहिलो नेपालकै । दम्पति नै बन्नुभो इतिहास बनाउने ।
नभ्याए पनि लेख्नलाई कविता । मान्नुहुन्थ्यो विद्यार्थीलाई नै कविता । तपाईंबाट तँमा झरेका साथी थिए शङ्कर । भन्नुहुन्थ्यो उहाँलाई, हुन्छ प्राप्ति कविताको केटाकेटीमा । सुनाउनुहुन्थ्यो अनुभव । पानी परिरहेको बेला एकपटक । ओत लागेर बस्नुभएछ उहाँ । आमासँग छाता ओढेर आइरहेकी सानी विद्यार्थीले । लिएर छाता आमासँग । दिन आएछन् भीमदर्शनलाई । बिर्सेर आफूलाई त्यति फुच्चीले । आमालाई र परिरहेको पानीलाई पनि । हुन्छ के योभन्दा ठूलो हृदय र हार्दिकताको कविता । पग्लिएर आफै पुछेका थिए आँखाहरु । छैन सानो दर्शन यसमा ।
होइन लेख्नुभाको त्यत्तिकै – ‘जीवनमा छरिएर बसेका छन् कविता । मात्र देख्न र टिप्न सक्नुपर्छ । तर लेख्ने फुर्सद कसलाई ?’ भनेको त्यत्तिकै होइन महाकविले । उच्चकोटिका भावनात्मक कवि भनेर । छोटा गीति उडानमार्फत पाठकलाई रोमाञ्चित र आश्चर्यानुभूति गराउँछ भनेर । भन्नुहुन्छ भूपी शेरचन, भीम भावनाका कृषकाय गुरु भनेर । उर्दूको खानीबाट जुहार लिएर नेपाली काव्याकाशमा झुल्कने कवि भन्नुहुन्छ ईश्वर वराल । ठान्नुहुन्छ मोहनहिमांशु थापा, अनुप्रास र अत्यानुप्रासको संयोजन र कवितामा लयको सक्रिय भूमिकाले भीमदर्शनका कवितामा गेयताको अद्वितीय स्थान रहेको । हुनुहुन्छ कलाकार उत्तम नेपाली । लेख्नुभो कविता नै ‘भीमदर्शन रोका आकाशजस्तो एकोहोरो, मायाझैँ दोहोरो’ । गीत ऊ गाउँदैन तर बाँसुरीको तान मीठो छोड्छ भन्ने बुझाइ शङ्कर लामिछानेको । जदौकवि दाहाल यज्ञनिधिले ढोगेका थिए गोडैमा । रोकाका अक्षरलाई आवाजमा राखिदिनुभएको छ गायिका लोचन भट्टराईले ।
भएर पनि कवि सामर्थ्यवान । भएर पनि शक्ति कविताको । भएर पनि घर बाँसवारीमै । नभेटिएपछि लामो समय । नदेखिएपछि कहीँ पनि । न छापिएपछि कुनै कविता । गरेनन् कसैले पनि सोधीखोजी । बस्नुभो तीनदशक गुमनाम भएर । पक्षघात भएर बस्नुभो घरमै । दोहरिएपछि झन् छपन्न सालमा । सक्नुभएन बोल्न पनि । सक्नुभएन हिँड्न पनि । भएन सिधा दृष्टि पनि । पर्थ्याे खुवाउन पनि अरुले नै । समस्या थियो जिब्रो र चिउँडोमा । हुनसम्मको गाह्राे हुन्थ्यो खानेकुरा निल्नलाई । लडेर घरमै बसिरहँदा पनि । गरेनन् खोजी न साहित्यककारले । न साहित्यिक संघसंस्थाले । न सञ्चार माध्यमले । कुरै भएन गर्ने प्रज्ञाप्रतिष्ठानले ।
गर्नुभएको थियो सम्पर्क कवि मञ्जुलले । निस्कँदै थियो कवितासङ्ग्रह भीमदर्शनको -‘घाम डुबी तारा नउदाएको आकाश हुँ म’ । कविता छापिएको छयालीस वर्षपछि । दस सालमा छापिएको कवितासहित छपन्न सालमा । गर्नुपरेको थियो प्रकाशन श्रीमती मिना रोकाको नाममा आफैले । भए पनि भीमदर्शनकै नाममा एकाउन्न हजारको मुक्तक पुरस्कार । गरेको छ व्यवस्था नेपाल मुक्तक प्रतिष्ठानले । मिलेर सिद्धार्थ वनस्थलीका विद्यार्थीहरु । गरेका छन् स्थापना ‘भीमदर्शन रोका आदर्श गुरु सम्मान’ ।
सम्पर्कमा थिएँ कवि मञ्जुलसँग निरन्तर । उठाउनुभो सन्दर्भ एकदिन भीमदर्शनको । निस्किन लागेको कवितासङ्ग्रहको । उठाउनुभो विमोचन गरिदिने पनि । अध्यक्ष थिएँ म त्यतिखेर साराँँश नेपालको । सल्लाहले पछि गर्ने भयौँ मिलेर गुञ्जनसँग । गर्ने भयौँ उहाँलार्ई सम्मान पनि । साराँश, गुञ्जन र साहित्यिक पत्रकार संघले पनि । सल्लाह थियो कवि मञ्जुलकै ।
तय गर्यौं कार्यक्रम गर्ने मिति सन्ताउन सालको बैशाख पच्चीस गते । हुनुहुन्थेन त्यतिबेला पनि स्वस्थ उहाँ । भर्ना हुनुभएको थियो अस्पताल एक वर्षअघि । भयो सम्मान र विमोचन त्यही दिन एक वर्षपछि । मान्नुभो धन्य भीमदर्शनले ।
थिए पढ्नेहरु धेरै नै भीमदर्शनका रचनालाई । कम थिए भेट्नेहरु भने निकै कम । आएका थिए हेर्नलाई भए पनि उहाँलाई । गरेका थियौँ निम्तो पनि त्यहीअनुसार ।
परिरहेको थियो पानी बिहानदेखि एकनासले । पुगेका थियौँ समयभन्दा अघि नै प्रज्ञा भवनमा । डराइरहेका थियौँ हामी । कम हुने हो कि सहभागी भनेर । उत्साह बढाउन खोजेका थियौँ । हिँड्न, बोल्न नसक्ने कविलाई ल्याएर । उल्टो असर पर्ने हो कि सहभागी नभएर भन्ने ।
भरिँदै गए क्रमश कुर्सीहरु । धेरै भए आउनेहरु कुर्सीहरुभन्दा । रोक्न सकेन पानीले कसैलाई । बढी भयो कविप्रतिको सम्मान । आएका थिए हेर्न र भेट्न भीमदर्शनलाई ।
प्रज्ञाको आँगनमा ओरालेपछि गाडीबाट । उचाल्यौँ ह्वील चियरसहित उहाँलाई । लग्यौँ बोकेर तीनचार जनाले । गराउनासाथ हलमा प्रवेश । बज्यो ताली लामै समयसम्म स्वागतको । देखेपछि उहाँलाई भए स्तब्ध सबैजना । निस्किएन आवाज कसैको पनि । मात्र हेरिरहे एकनासले । बस्नुभएको थियो त्यसै गरी ह्विल चियरमा । सक्नु हुन्थेन बोल्न केही पनि । सक्नु हुन्थेन चलाउन हातहरु । थिएनन् चलेका राम्रोसँग आँखाहरु । गरिरहनुभएको थियो विस्तारै यताउति आँखाहरुलाई ।
सुरु गरेँ मैले कार्यक्रम भावुक हुँदै । उपकुलपति हुनुहुन्थ्यो मोहन कोइराला सभापति । प्रमुख अतिथि कविवर माधव घिमिरे । गर्नुभो सम्मान कृष्णचन्द्रसिँह प्रधान समेतले । नभएजस्तो भएको थियो सम्मान समारोह । नभएजस्तो थियो विमोचन समारोह । बोलेका थिए भावुक भएर सम्मान गर्नेहरुले । मञ्जुल, मोहनहिमांशु थापा र किरण मानन्धरले पनि । विप्लव ढकालले सारांशबाट र भागीरथी श्रेष्ठले गुञ्जनबाट ।
बनाएको थिएँ कार्यक्रम औपचारिक । बनेको थियो पूरै भावनात्मक । शान्त थियो वातावरण । रोकिएको थिएन पर्नलाई पानी । गरेनन् हतार जानलाई कसैले पनि । माग्नुभो माइक बोल्नलाई विष्णुविभू घिमिरे, उषा शेरचन, ज्ञान उदास र रमा शर्माले पनि । प्रेम देखेर आफूप्रतिको । हुनुभएको थियो भावविभोर उहाँ । व्यक्त गर्न सक्नुभएको थिएन प्रतिक्रियामा केही पनि । देखिरहेका थिए आँसुले भरिएका आँखाहरु । चुहिएको आँसुलाई पुछ्ने हात थियो अर्कैको रुमाल समाउने ।
गाउनुभएपछि गीत उहाँकै लोचन भट्टराईले । भएको थियो हल शून्यशून्य । भक्कानिनुभएको थियो भीमदर्शन पनि । कार्यक्रमकाे समय नाघिसकेको थियो तीन घण्टा । चाहेका थिएनन् उठ्नलाई कुर्सीबाट कोही पनि ।
सम्झिन्छु स्वस्थ हुँदा भएको पहिलो भेटको । पाएको थिएँ पचपन्नमा उत्तम शान्ति पुरस्कार मैले । निबन्धसङ्ग्रह पहिलो ‘अर्थहीन अर्थहरु’ बाट । बनाएर अवसर त्यसैलाई । डाक्नुभएको थियो अग्रज स्रष्टा, समालोचक माधवलाल कर्माचार्यले । बस्नुहुन्थ्यो बाँसवारीमा । हुनुहुन्थ्यो नजिकै भीमदर्शन पनि । हुनुहुन्थ्यो उहाँ र चित्तरन्जन नेपाली । सम्मानित हुनुभाथ्यो सरकारबाट । सम्भवत राष्ट्रिय प्रतिभा पुरस्कारले । दिनुभो सगुन कौसीमा राखेर हामीलाई । गर्नुभएको थियो परम्परा नेवारीअनुसार । लगाइदिनु भएको थियो टीका रातो । ठानेको थिएँ पाएकोभन्दा ठूलो पुरस्कार । पाएर अग्रजको प्रेम अनुजप्रतिको । पाएर भेट्न भीमदर्शनलाई ।
गर्थें काम मधुपर्कमा त्यतिबेला । भइरहन्थ्यो भेट हरेक दिन स्रष्टाहरुसँग । भएको थिएन भेट एकपटक पनि भीमदर्शनसँग । प्रभावित थिएँ कविताले । झन् भएँ बढी शालीनताले । गर्न पाएपछि विमोचन उहाँको कवितासङ्ग्रहको । गर्न पाएपछि सम्मान साराशबाट । लेखेको थिएँ सन्ताउन सालमा मधुपर्कमा पनि ।
हुनुभो भर्ना अस्पतालमा फेरि । गएको थिएँ हेर्नलाई त्यहीँ । भएपछि केही समय । सुनाउनुभो दुखद समाचार भाउजूले । भएको थियो सल्लाह लैजाने कि प्रज्ञामा भन्ने । अन्तिम श्रद्धाञ्जलीका लागि । नमानेपछि व्यवस्थापन । नमिलेपछि व्यवस्थापन । लगियो सिधै पशुपतिमा । दिन थियो कवि नहुनुभएको । चैतको चौविस गते उनानसाठी सालको ।
नलेखेरै धेरै कविता । नगएरै कार्यक्रमहरुमा । नभेटेरै तीन दशक कसैलाई । साक्षी बसेर आफ्नै सङ्ग्रहको । नसके पनि लिन आफै सम्मान । नबोलेरै धेरै वर्ष । नटेकेरै पाइताला माटोमा । जानुभो नभनी कसैलाई केही । मात्र छोडेर नहराउने कविताहरु । हुनुभएको छ त्यसैले भीमदर्शन रोका ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

