
कुनै पनि कुरा आफैँमा पूर्ण हुँदैन । कतिपय देखिने विषयले त्यसलाई सघाइरहेको हुन्छ । नदेखीकन सघाउने पनि त्यत्तिकै हुन्छन् । सत्य देखिएको मात्रै हुँदैन । गर्भका सत्यलाई पनि अस्वीकार गर्न मिल्दैन । सबैका आआफ्ना धर्म हुन्छन् । धर्म भनेको परम्पराको अर्थमा मात्रै हुँदैन । रूख वा विरुवामा फल्छ फल र फूल । के देखिएको फल र फूल मात्रै सत्य हो त ? होइन, नदेखिने जराले आफ्नो धर्म निर्वाह गरिरहेको हुन्छ । जरा नभए न हागाँ न कोपिला न फल न फूल नै ।
यसैले सम्झिनुपर्ने हो प्रकाश कोविदलाई जो उपन्यासमा एक समयका प्रसिद्धिमा र अधिकांश उपन्यासले एकताकाको युवाका मन जितेका उपन्यासकार थिए । तीसको दशकका प्रिय नाम थियो कोविद । नेपाल र नेपाली भाषी भएका ठाउँमा पुग्ने र पढिने उपन्यासकार । हुन त उनी उपन्यासकार मात्र होइनन् तर त्यसैले ओगट्यो उनको नामलाई । हुन त उनको चित्रकलाको चर्चा कम छैन । बिक्री नै हुन्थे उनका कला । नाटक पनि छापिएका मात्र होइनन् मञ्चन पनि भएका छन् । शिल्पकलाले पनि चिनिन्थे दार्जीलिङभरि । शिक्षण त उनको पेशा नै भइहाल्यो । सब परे ओझेलमा सब ।
नामैले पनि ओझेल हुन् । वास्तविक नाम त नरबहादुर राई । यो नामले घर परिवारभन्दा टाढा पुऱ्याउन सकेन । एउटा नाम छोपिए पनि अर्को नामले प्रसिद्धि पाएकै थियो । कामै पनि अन्धकार सुरुङजस्तो बनेको छ । साहित्यको ठूलो संसारमा कतै सानो शब्दले पनि सम्झेको छैन । बाँचुन्जेल भाग्यमानीजस्ता बनेका थिए कोविद ।

प्रकाश काेविद
सम्झन्छु त्यस समय जब उनको नामको उपन्यास आउनासाथ सकिहाल्थे बजारमा । सुरु गरेपछि छोड्न नसकिने गरी बाँधिराख्ने उपन्यास । बाढी नै लाग्थ्यो प्रतिक्रिया पत्रको । पाठकको माया र प्रकाशकको बलले उनी लेख्थे उपन्यास । नयाँ उपन्यास बजारमा पुगेको केही समयमा नै आग्रह आउने प्रकाशकको । पाण्डुलिपि अर्काले फुत्काउला कि भनेर पेस्की दिएर बाँध्ने गर्थे प्रकाशकहरू । कममध्ये कममा पर्ने लेखक थिए उनी, लोकप्रिय र व्यावसायिक रूपमा पनि ।
देवता, अर्कोजन्म, सीमा र नोयोजस्ता अरू पनि धेरै नाम छन् अत्यधिक लोकप्रिय भएका र धेरै संस्करण पनि निस्किएका । देवता र अर्कोजन्मको त चलचित्र पनि बन्न पायो तर पनि नाम र चर्चा छैन कतै पनि मूल्याङ्कन त टाढाको कुरा । के सिर्जना भनेको लेखकसँगै अस्ताउने हुन्छ र ? के लेखक भनेको मरेपछि नबाँच्ने हुन्छ र ?
सस्ता हिन्दी उपन्यासको अतिक्रमण थियो नेपाली पाठकमा त्यतिबेला । त्यतिखेर नै हो कोविदको उपन्यासले ठाउँ पाएको पनि । उनका उपन्यासहरूले घटाएकै हुन् भारतीय उपन्यासलाई, बढाएकै हो नेपाली पाठक, प्रचार भएकै हो नेपाली भाषाको, चेतना बढाएकै हो साहित्यको र सिर्जनामा उत्प्रेरित हुने पनि तिनै पाठक हुन् । आजसम्म आउने भऱ्याङको भूमिकामा रहेकै छ तर यसको पनि कतै हिसाब भएजस्तो लाग्दैन ।
मोती छरेर आँसु बटुँले
हार भएन जीत
हाँगाबाट खसेको फूलले
भुल्न सकेन प्रीत
चार हरफ हुन् यी प्रत्येक उपन्यासमा पाइने जो पर्याय बनेको थियो कोविदको । उपन्यास पढेर बिर्सनेले पनि नबिर्सने चार हरफ जो समर्पणमा हुन्थे नानालाई ।
उनको जन्म दार्जीलिङको भोटिया बस्तीमा भएको थियो । सन् १९३१ मा पृथ्वीमा आएका थिए कोविद । स्कुलमा उनी पढाइरहेका गुरुको चित्र बनाउँथे र साथीहरूलाई कथा पनि सुनाउँथे । थाहा नपाईकन उनको चित्र र अक्षर अभियान बनेको थियो । माध्यमिक तहमा नै साहित्यका लागि प्रकाश नाम राखेका उउनले पछि साथीभाइसँग मिलेर हस्तलिखित पत्रिका पनि निकाले ‘प्रकाश’ र पछि स्नातक भएपछि प्रकाशबाट कोविद बने, हराए त्यसपछि नरबहादुर राई ।

श्रीओम श्रेष्ठ ‘रोदन’
नहुने बिरुवाको चिल्लोपात हुँदै हुँदैन र हुनेले देखाएकै हुन्छ । उनले पन्ध्र वर्षमा ‘चोर’ कथा लेखे । सन् चौसठ्ठीमा ‘उदय’ पत्रिकामा कथा आयो ‘चित्रकार’ र पहिलो उपन्यास बन्यो ‘सङ्गम ’ जो बङ्गाली भाषामा पनि अनुवाद भयो । त्यसपछि पचासवटा निरन्तर लेखे । ‘चालीस दिन’ लेखेपछि अर्को उपन्यास जन्मिएन र छवटामै सीमित भयो कथासङ्ग्रह । नाटक र एकाङ्की भने एउटै मात्र अनि बालसाहित्यका पुस्तक पनि नभएका चाहिँ होइनन् । यस्तै विभिन्न विधामा पाँच दर्जन जति पुस्तक नासो छोडर उनी सन् बयानब्बेमा परलोक गए ।
कोविदका उपन्यासहरू सजिला छन्; सिधै बुझिने । उनी पनि त्यस्तै थिए; सोझा र सजिलै बुझिने भन्ने मेरो बुझाइ थियो । उनीसँग मेरो परिचय उनकै उपन्यासले गराएको थियो र सम्पर्क पनि उपन्यासले नै गराएको थियो । उनका उपन्यास पढेर मोहनी लागेजस्तै भएको थिएँ । त्यसैले नयाँ उपन्यास बजारमा आउनासाथ कि किनेर पढ्थेँ कि खोज्न जान्थेँ पुस्तकालयमा । प्रभाव बढ्दै गएपछि पत्र नै लेखेँ उपन्यासमा भएको ठेगानामा र केही समयमै उनको प्रेमपूर्वक उत्तर पनि पाएँ ।
मनपर्ने लेखकको हस्ताक्षर पाउनु पनि ठूलो मानिन्थ्यो, जमाना अटोग्राफको जो थियो । नाम लेखेर हस्ताक्षरसमेत भएको चिठी पाउनु सानो खुसी थिएन मेरा लागि । साहित्यमा लेख्न रहर गरिरहेको बेला थियो मेरो । सम्पर्क र अवसर खोजिरहेका बेला प्रेरणाको पहाडजस्तै लागेको थियो उहाँको उत्तर । पत्रले सम्बन्ध जोडेको त थियो नै हार्दिक अनुभव पनि गरिरहेको थिएँ । चिठीहरू कति हुलाकमा खसे । कतिवटा हातमा आए थाहा भएन । चार चिठी भने अझै रहेछन् कुनाको फाइलमा । चार वर्षको अभिलेख छ सन् त्रियासीदेखि छयासीसम्मका । चिठीमा कुरा साहित्यका नै भएजस्तो लाग्छ ।
के लेखेछु कुन्नि ? जुन माटो भए पनि हामी एकै हौँ भन्ने एकता र भातृत्वका कुरा लेखेका थिए पहिलो भेटमा नै ।
उनले त यस्तो पो लेखे मलाई – ‘सयपत्रीका सय थुङ्गा हुन्छन् । हामी नेपाली त्यही हौँ । हामी नेपालमा छौँ, हामी भारतमा छौँ –फूल त सयपत्री नै त हो । हामी नेपाली–एक नेपाली –जय नेपाली । ”
युवा जोस थियो, कति अक्षरमा मात्र भेट्ने भन्ने लाग्न थाल्यो र दार्जीलिङ घुम्ने पनि रहर थियो । त्यही आशयको लेखेँ हुँला सायद । मायाँ गरेरै लेखे उनले – ” तिम्रो दार्जीलिङ आउने इच्छालाई हार्दिक स्वागत छ । यहाँ मेरो घरमा पनि दाल र भात पाक्छ, त्यहाँ पनि त्यही हो । बालकृष्ण समले भनेका कुरा अलिक झूटो हुँदैछ –पार्टीवादीले तर सत्य सत्य नै हुन्छ आखिरमा ।”
उनी नै सन् चौरासीमा निजी कामले एक हप्ताका लागि आए काठमाडौँ । टेलिफोन नभएकाले सम्पर्क हुन सकेन । त्यतिखेर इन्द्रचोकमा नेपाल कलाकार सङ्घ थियो । कुमार दर्शनधारी त्यसको अध्यक्ष थिए । म नाटक खेलिरहेको थिएँ । त्यही भएर महासचिव थिएँ । काम भने नेपाल बैङ्कमा गर्थेँ न्युरोडमा । फुर्सदमा प्रायः त्यँही हुन्थेँ । त्यसैले पत्राचारको ठेगाना पनि त्यहीँको राखेको थिएँ ।
रञ्जना हलनजिकै फसिकेवमा बसेछन् कोविद । उनले भेट गर्नका लागि इन्द्रचोकमा चिठी लेखे । पाँच मिनेट पनि लाग्दैन पैदलमा चिठी लेख्ने र पाउनेको दूरी । हुलाक पनि नजिकै सुन्धारामा । चिठी पाएँ पन्ध्र दिनमा ! हुलाकको कमाल । त्यही पनि खोज्दै गएँ, भेटिने त कुरै भएन ।
बयालीस सालमा पुगेँ दार्जीलिङ । साथमा थियो छिमकी दिनेश । साझा प्रकाशन थियो त्यहीँ जसका प्रमुख थिए लक्ष्मण खड्का; साथीका काका । बस्ने जोहो त्यहीँ भयो हाम्रो । चिनेको लेखक भनेको कोविद मात्रै । सोध्दैसोध्दै पुग्यौँ भोटिया बस्तीमा । हामी भर्खरका केटाहरू तर उनले राम्रै आतिथ्य गरे । आतिथ्यताले दङ्ग पऱ्यौँ र उनीमाथिको प्रभाव झन् आकासियो । म “नयाँमार्ग” साप्ताहिकमा कलासाहित्यसम्बन्धी स्तम्भ लेख्थेँ नियमित । सम्पादक टोले दाइ लक्ष्मण विष्ट थिए । पत्रिकामा लेख्न हौस्याउने पनि उनी नै हुन् । मैले अन्तर्वार्ता पनि गरेँ पूरै पृष्ठको कोविद भेटको ।
उपन्यासमा नै केन्द्रित कुराकानी भए । उनले उपन्यासलाई यथार्थलाई कल्पनाले सजाएको भनेका थिए । उपन्यास लेख्न बसेपछि सकाएर मात्र उठ्थे र लेख्ने काम बिहान मात्रै गर्थे । उपन्यास लेख्नलाई तीनचार दिन स्कुलमा छ्ट्टी पनि लिन्थे । “अर्कोजन्म” धेरै पृष्ठको भए पनि दश दिनमा नै सकाएका थिए उनले । सबैभन्दा धेरै संस्करण छापिने पनि त्यही भयो र धेरैले मन पराएको पनि त्यही । कोविदको प्रिय भने “देवता” थियो । दुवै उपन्यासको चलचित्र बन्यो तर चलचित्रबाट उनी धेरै खुसी हुन सकेनन् ।
लेखेका थिए एक पटक उनले – “अर्कोजन्म रिलिज भयो तर म सिनेमासँग सन्तोष छैन । कारण, यसको फोटोग्राफी राम्रो हुँदै भएन । जे होस् लागत दाम यसले निकाल्ला ।” मिरिकमा सिनेमा हेरेर मिस शोभा नेम्बाङले गुनासो यसरी लेखेकी छिन् –आदरणीय दाजु, “उपन्यास पढेर जुन पात्रहरूको चित्राङ्कन हृदयमा बसालेकी थिएँ सो फिल्म हेरेर सबै बिग्रियो ।”
चिठी लेख्न ढिलो हुँदा पनि उनी लेख्थे – “आफ्नो व्यस्त जीवनले गर्दा कतिपय कुराहरू गर्न भ्याइँदैन रहेछ । आफू लेखक मात्र नभएर चित्रकार र शिल्पी पनि भइदिएकाले होला भन्छु । त्यसै कारण भाइको पत्रको उत्तर नदिँदा भाइलाई नै हियाएको सम्झ्यौ भने भाइलाई नै लाग्ला है पाप ।”
भारतका भन्दा नेपालका लेखक नै बलियो भन्थे हरेक सन्दर्भमा । काठमाडौँ आउँदा स्थापित साहित्यकारहरूसँग भेट हुँदाका संस्मरण पनि उनी गौरवकासाथ लेख्थे । पछि फेरि राजाको जन्मोत्सवको अवसरमा गरिने अन्ताराष्ट्रिय चित्रकला प्रदर्शनीको निम्तामा दुईदुई चित्र लिएर काठमाडौँ आए । कोविदसहित चार जना कलाकार पनि आएका थिए ।
सोधीखोजी गर्दै घरमा नै आइपुगेका थिए मकहाँ । त्यत्रो प्रसिद्ध लेखक मेरो घरमा आउँदा म निकै अग्लो भएको थिएँ खुसीले । घरपछाडि मकै उखेलिसकेको बारी थियो । श्यामश्वेत फोटो खिच्यौँ त्यहीँ उभिएर । उनको होचोहोचो कद, मोटो ज्यान र बिस्तारै बोल्ने बानी र लगाएको अनुहारको फोटाले पुरानो दिनमा फर्काउँछ मलाई ।
दार्जीलिङ फर्केपछि उनले पसल खोले सायद । सन् छयासीमा पाएको हवाइपत्रमा उनको नामको मुनि प्रकाश आर्टस एन्ड ह्यान्डीक्राफ्ट सेन्टर भोटिया बस्ती, दार्जीलिङको रबर छाप लागेको थियो । काठमाडौँमा निकै व्यस्त हुनुपरेकाले उपन्यास लेख्न नसकेको पनि लेखेका थिए उनले । घर फर्केपछि जलपाइगुडी गएर “सागर” लेखेको र पढ्न पनि आग्रह गरेका थिए । हात परेपछि थाहा पाएँ उपन्यासको भूमिकामा मेरो नाम पनि लेखेका रहेछन् ।
साहित्यकार मात्र होइनन् कोविद कलाकार पनि थिए । उनी छैनन् अहिले तर उनका कृतिहरू हराएका छैनन् । मनमा छाप परेपछि प्रभाव कहिल्यै हट्दैन । अरूका के कुरा आफैँले हटाउन खोजे पनि सकिँदैन, जस्तो कि मैले बिर्सन सकेको छैन कोविदलाई र उनका उपन्यासलाई । मजस्ता अरू पनि होलान् जो अग्ला भएका होलान् विचारले र नामले पनि तर कोविदलाई सम्झनु अन्यथा हुँदैन पटक्कै ।
अचम्म लाग्छ, दर्जनौँ कृति र कलाका स्रष्टा कतै नदेख्दा । किन नभएको होला मूल्याङ्कन कतै पनि ? प्रश्न गर्छु आफैँसँग र साहित्यसँग पनि गर्छु तर कतै पनि उत्तर छैन । यदि दुर्घटना नै हो भने नहोस् यस्तो दुर्घटना अरू कोहीमाथि पनि । अक्षर बोकेर अक्षर नै परिचय र अक्षर नै प्रतिष्ठा हुनेहरू बाँच्ने नै अक्षरमा हो ।
कोविदहरूलाई बिर्सेर अपमान गर्नुभन्दा सम्झेर सम्मान गर्दा के पो जान्छ र ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










