काठमाडौं । नेपाल स्रष्टा समाजले आफ्नो अर्धवार्षिक प्रकाशन ‘स्रष्टा दर्पण’को वर्ष १९, पूर्णाङ्क ३२ सार्वजनिक गरेको छ।

बिहीबार एक कार्यक्रमका बीच समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन र संरक्षक पवन आलोक लगायतले नयाँ अङ्क सार्वजनिक गर्नुभएकाे हाे ।

यस अङ्कमा विविध विधाका रचना समावेश गरिएका छन्। २४ जना कविहरूका कविता, १० जना निबन्धकारका निबन्ध, सात वटा नियात्रा, एक कथा, तीन लघुकथा, एक नाटक, दुइ गीत, एक रचनागर्भ, एक संस्मरण, तीन लेख र तीन मुक्तककारका मुक्तकहरू ‘स्रष्टा दर्पण’मा समेटिएका छन्। विशेष आकर्षणको रूपमा संस्कृतिविद् हरिराम जोशीसँगको महत्वपूर्ण अन्तर्वार्ता पनि यस अङ्कमा समावेश गरिएको छ।

नेपाल स्रष्टा समाजका नियमित गतिविधिहरूको संक्षिप्त जानकारी र समाजले प्रदान गर्ने पुरस्कारहरूको परिचय पनि यस प्रकाशनमा समावेश गरिएको छ। स्रष्टा दर्पणको प्रधान सम्पादक श्रीओम श्रेष्ठ रोदन र कार्यकारी सम्पादक डा. शान्तिमाया गिरी रहनुभएकाे छ । नियमित रूपमा प्रकाशित हुँदै आएको स्रष्टा दर्पणले नेपाली साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। यसको नयाँ अङ्कले साहित्यप्रेमी पाठकहरूलाई थप उत्साहित बनाउने विश्वास लिइएको छ।