
अनेक छन् सन्दर्भ । भेटिरहेको छैन उठाउने ठाउँ । विद्यार्थी हुँदै पढेका पुस्तकका कुरा गरूँ कि ? परिचयपछिका कुरा गरूँ ? भेट भएपछिका सन्दर्भ छन् अनेक । भोटेवहालको घरमा आउँदाका कुरा गरूँ कि ? सानेपा घरको ? कि झम्सिखेल आउँदाका कुरा गरूँ ? अलमलिँदो रहेछ धेरै भएपछि ।
सुनाएको छु रचना कहिले । छु कहिले सुनेको पनि । छन् साहित्यका सुखका कुरा, दुःखका कुरा । स्रष्टाका इमान र बेमानका कुरा । सम्पादनका कुरा । रचना र अन्तर्वार्ताका कुरा ।
धेरै छन् स्रष्टाहरू । छन् परिचय सबैलाई चिन्ने आआफ्नै । छ प्रतिष्ठा पनि । चिन्न सकिन्छ सजिलै कृष्णप्रसाद पराजुलीलाई । जताबाट पनि र जसरी पनि । भेग छन् उहाँका आयाम । विस्तार भएका छन् व्यापक ।
कविता भएर चिनेँ । गीत भएर रेडियो नेपालबाट सुनेँ । निबन्ध भएर पढेँ । व्याकरणको कुरा के गर्नु ? ‘राम्रो रचना मीठो नेपाली’ बनेको छ पर्याय नै । गर्नुगरेको छ लोकसाहित्यको सन्दर्भ ‘लोकगीतको आलोक’ले । उदाहरण नै थिए सम्पादनका ‘गोधूलि’ र ‘सुनकोसी’ पत्रिका ।

श्रीओम श्रेष्ठ ‘रोदन’
बोकेको छ जन्मभूमिको कुरा ‘पूर्व एक नम्बर’ले । झुन्डेका छन् नानीहरू ‘रमाइलो नानी’ बालसाहित्यमा । संस्करणमा प्रकाशित पुस्तकहरू कति छन् कति । जेमा पनि त्यस्तै जुनमा पनि त्यस्तै । छैन दम नभएको केहीमा पनि । छैन कम भएको पनि केहीमा । बन्नुभएको छ उदाहरण नै उदाहरण कृष्णप्रसाद पराजुली ।
मानिन्थ्यो पराजुलीको हात परेपछि कमजोर हुँदैन किताब । थियो विश्वास धेरैमा । थियो सुन्दर अक्षर उहाँको । लोभलाग्दो थियो सम्पादन पनि । मिलाइदिनुहुन्थ्यो कलम लेख्न खोज्नेहरूलाई उहाँ । थपथपाइदिनुहुन्थ्यो उत्साहीलाई प्रोत्साहनको । विशाल थियो छाती मायाँ गर्ने । हो कुरा त्यति बेलाको । सजिलो थिएन नाम चलेका स्रष्टालाई भेट्न पनि ।
सृजनाका अङ्कुरलाई गोडमेल गरिदिने । पानी छर्किदिने । हुर्कन थालेपछि स्याहार्न सिकाइदिने । धेरै कमले मात्र गर्न रुचाउँथे यस्ता काम । यस्तै हार्दिकताले निहुरिने शिरहरू धेरै होलान् पराजुली सरका । एक हुँ म पनि । हुँला त्यसैले, दसैँमा परिवारबाहेक निधार थापेको । पहिलो र अन्तिम पनि उहाँ नै ।
गर्नुभो भाषासाहित्यलाई मायाँ । बनाउनुभो समृद्ध पनि । लेख्नुभो आफूले कति-कति । लेख्न प्रेरित गर्नुभो अरूलाई पनि । गर्नुहुन्थ्यो चिन्ता साहित्यकै । गर्नुहुन्थ्यो कुरा साहित्यकै । गएका बेला घरमा । हिँडेका बेला बाटामा । गलाएको थियो शरीर सुगरले । हिँड्नुहुन्थ्यो साँझबिहान सहयोगी लिएर ।
बाँच्नुभो आयुले जति । गर्नु भएन अरू केही भाषासाहित्यबाहेक । जन्मनुभएकै सृजनाकै लागि जस्तो । बाँच्नुभएकै साहित्यका लागिजस्तो । हुनुहुन्थ्यो दीर्घसृजनाका साधक । बन्नुभयो त्यसैले स्मरणीय र वन्दनीय पनि । हो यही सर्जक हुनुको अर्थ । हो उपलब्धि पनि यही ।
होलान् बहुमत नै अहिले । सार्थक ठान्नेहरू बाँचुन्जेल बाँच्नुलाई । जानै पर्दैन खोजी गर्न धेरै टाढा । छैनन् अहिले कतै बाँचुन्जेल साहित्यका सिंहजस्ता हुनेहरू । खोज्नुपर्ने भएका छन् कार्यक्रममा शान बन्नेहरू पनि । भ्याई नभ्याई हुनेहरू त्यति बेला । फुर्सदले पनि सम्झिँदैनन् अहिले । गुमनाम छन् । चिनाउनुपर्ने बनिसकेका छन् नयाँ पुस्तालाई ।

कृष्णप्रसाद पराजुली
रहेछन् सबै आडम्बर । गहनाजस्ता लाउन्जेल देखिने । केको न्यानोजस्तो मात्र । सत्ताले, शक्तिले, सम्पत्तिले दिने चर्चा त । सृजना मात्रै रहेछ बाँच्ने । हुनुभएको छ त्यही पराजुली सर । सकिने छैनन् बिर्सूँभन्दा पनि । कालजयी भएपछि सृजना । सक्दैन रहेछ हराउन स्रष्टा । होइन नि त्यत्तिकै उहाँ । सुखै छैन नपढी पराजुली सर । सन्दर्भ जुनै भए पनि ।
भाषा पढे पनि । व्याकरण पढे पनि । पढ्नैपर्छ जुन विधामा पनि । सृजनाका कुरा होस् कि शालीनताको कुरा होस् । सिकाउने कुरा होस् कि सम्पादनका कुरा होस् । पराजुली सर छोपेर हुनै सक्दैन सम्भव ।
छैन नलेख्नुभएको पनि केही । कुरै भएन कविता, गीतको । हुनुहुन्छ सिंहासनमा नै बालसाहित्यको । हुनुहुन्छ निबन्धमा त्यस्तै । उत्कृष्ट छ सम्पादन कलाका लागि । उतार्नुभएको छ लोकसाहित्यको आलोक नै । भाषा भइहाल्यो पर्याय नै । राम्रो रचना कसरी बनाउने ? मीठो नेपाली कसरी लेख्ने ? पुर्याएको छ हिउँचुलीमा नै । होइन नेपालीलाई मात्र । विदेशीलाई पनि । पढाइ हुन्छ भारतीय विश्वविद्यालयमा । नहोला नपढ्ने कोही पनि । त्यत्तिकै कसरी निस्कन्थे दजनौँ संस्करण पुस्तकका ? बन्नुभएको पनि त्यत्तिकै होइन । राम्रो पनि र मीठा पनि । हुनुभएको छ अझ राम्रो कृष्णप्रसाद मीठो पराजुली ।
थियो कला शब्दमा सुर भर्न सक्ने । अक्षरमा स्वाद भर्न सक्ने । हुँदैन सबैमा यस्तो कला । होइन कुरा नेपाल र नेपालीको मात्र । पुग्नुभएको छ पराजुली सर नेपाली पुगेका जुनसुकै भूगोलमा पनि । पढेका छन् नेपाली सिक्ने विदेशीले पनि ‘राम्रो रचना मीठो नेपाली’ । अक्षरको सूर्यजस्तै बन्नुभएको छ पराजुली सर; कहिले नअस्ताउने सूर्यजस्तै ।
हुनुहुन्थ्यो भरिपूर्ण भाषाले । सृजनाशक्तिले । सम्पादन-कलाले । सद्भावको भावनाले । शालीन व्यवहारले । सबैमा हुन सक्ने गुण होइन यति धेरै । निकै थोरैमा हुन सक्ने क्षमता राख्नुहुन्थ्यो उहाँ । कृष्णप्रसाद एक हुनुभएर बन्नुभएको छ अनेक । महाभारतको समयमा पनि कृष्ण नै हुनुहुन्थ्यो केन्द्रमा । सयपत्री फूल एउटै भए पनि । सयौँ पत्रलाई जोड्ने कृष्ण नै बन्नुभो नेपाली साहित्यमा ।
भन्नुहुन्थ्यो जीवन हुनुपर्छ साहित्यमा । हुनुपर्छ जीवन स्वस्थ । हुनुपर्छ संवेदना स्रष्टामा । हुनुपर्छ सन्देश पनि सृजनामा । भन्नुहुन्थ्यो भेटेजति सर्जकलाई । सक्दैन कसैले बिर्सन खोजेर पनि । पाइँदैन धर पढ्दिनँ भनेर पनि । सकिँदैन सुन्दिनँ भनेर कान थुन्न पनि । छन् गीत पनि त्यस्तै – तिमीलाई देखेर आँखा त्यहीँ छोडी हिँडेँ म … । छन् अरू कतिकति ?
जन्मायो काभ्रेको माटाले उहाँलाई । बनायो मान्छे देशकै । बयानब्बे साल असार चौध गते दिनुभएको थियो खुसी परिवारलाई मात्र । सत्तरीको चैत बीस गते बनाउनुभो दुःखी सबैलाई । बनेको थियो ठूलो समाचार देशको । गरे अनुभव धेरैले अभावको । शरीर हुँदाभन्दा नहुँदाको । डुबेको थियो देश नै शोकमा ।
गर्दैनन् अपेक्षा समाचारको कसैले आफैँ मरेको । होला मूल्याङ्कन हुने यसरी नै । भाषासाहित्यमा बाँच्ने यसरी नै । बाँचुन्जेल सृजनाको सार्थकताले बाँच्ने । त्यसपछि सृजनाको शक्तिले बाँच्ने ।
सम्झिरहेको छु ती दिन । मानाभात खाएको अनुभव भएको थियो । भेट्दा उहाँलाई पहिलोपटक । हुन्थ्यो त्यस्तै भोटेबहालको घरमा रचना देखाउन जाँदा पनि । सानेपा झरेपछि नजिकै भयौँ हामी । भूगोल र भावनाले पनि नजिक । गरेको थिएँ एकाउन्न सालमा एउटा अन्तर्वार्ता साप्ताहिकमा । बढिरहेको थियो त्यति बेलाको भनाइ र जीवन सँगसँगै । गरेको छु पटक-पटक कुरा पत्रिकाका लागि । भएको देखिन फरक लेखेका कुरा । बोलेका कुरा र व्यवहारका कुरा पनि । सृजना र जीवनशैली पनि । भएन कृत्रिम र ढोँग पनि कहिल्यै ।
गलाएको थियो चिनी रोगले देखिने गरी । भन्नु भएन गलेँ भनेर कहिल्यै । बिर्सनुहुन्थ्यो हिँडेर नित्य साँझबिहान । जहिल्यै साहित्य जुन बेला पनि । भन्नुहुन्थ्यो विमोचनको नाममा पुस्तकलाई लासजस्तो गरेर नबाँध्न । विमोचन नभनौँ लोकार्पण भनौँ भन्ने पनि उहाँ नै । ‘घुम्टी खोली’ चलिनै रहेको छ उहाँले दिनुभएको नाम ।
आइपुग्नुहुन्थ्यो मेरो दैलामा पनि कहिलेकहीँ । ‘राम्रो रचना मीठो नेपाली’को लेखक भनेपछि दोहर्याएर हेर्दथेँ उहाँलाई । कहिल्यै नकार्नु भएन सभा समारोहका लागि गरेको आग्रह । भएका छौँ निर्णायक धेरै ठाउँमा सँगै । हुनुहुन्थ्यो सजिलो सबैसँग ।
डोर्याउनुभो धेरैलाई साहित्यमा । सघाउनुभो कलम समाउन धेरैलाई । टल्काइदिनुभयो अक्षरहरू धेरैका । पछि लगाउनुभएको छ धेरैलाई आफू मात्र नहिँडेर । बाँडिरहनुहुन्थ्यो हात सधैँ अरूलाई । साथ दिइरहनुभएजस्तै । अनुभूति मात्र भए पनि । छन् धेरै पछि लाग्नेहरू मजस्तै ।
हो यात्रा एउटै । लक्ष्य पनि एउटै । फरक हुन् मात्र पैतालाहरू । एउटै छ ताल र गति पनि । मार्नु भएन लेखेर कहिल्यै थकाइ । लेखिरहनुभो धित मरुन्जेल । बस्नु परेन प्रतीक्षामा पाण्डुलिपिले कहिल्यै । धाउँथे प्रकाशकहरू नै । हतारो गर्थे व्यापार बढाउन । भाग्यमानी नै हो पराजुली सर यस मामिलामा पनि ।
हुन्छ प्रकाशनको पीडा लेखकलाई । हुँदैन थाहा अरूलाई । बन्दैन सजिलै सृजना । दिन्छ धेरै खुसी पाण्डुलिपिले । ओइलाउँछन् उत्साह छापिदिनेका यताउताका कुराले । निकाल्छन् सक्नेले यताउति नै स्विकारेर । गर्छन् आफ्नै सृजनामा आफैँ लगानी । बाध्य हुन्छन् भनौँ ।
सक्दैनन् जति गोप्य गरे पनि आफूसँग लुकाउन । गर्छन् खुसीको प्रदर्शनी । हाँस्छन् बाहिर मात्रै भए पनि । नदेखिने घाउजस्तै चहर्याइरहन्छ । नसक्नेको त कुरै भएन । चित्त बुझाउँछन् पाण्डुलिपि हेरेर । पाल्छन् आफूसँगै बर्सौँवर्षसम्म ।
गर्नु परेन कहिल्यै गुनासो प्रकाशनमा पराजुली सरलाई । किताबैले चलाउनुभो गाहेसाहे जीवन पनि । भएन दुःख कहिल्यै । बन्नुभयो असाध्यै भाग्यमानी र सफल पनि ।
हुनुहुन्थ्यो सन्तुष्ट । बनाउनुभो समृद्ध साहित्यलाई । पाउनसम्मको मायाँ पाउनुभो पाठकको । पाउनुभो सामाजिक सम्मान हुनसम्मको । चिनेन कहिल्यै सरकारी संस्थाले । दाहिने पारेर नेता घुम्न नजानेपछि । पाइन्छ कहाँ पद ? दिन्छ किन पदक ? दिन्छ किन पुरस्कार ?
भन्नुभएकै थियो तपाईँले – झन्डा र डन्डा चलाउने राजनीतिले बिगारेका ठाउँमा कहाँ मूल्याङ्कन हुन्छ र ?
लेख्नुभएकै छ कवितांशमा ,
बाँचेका छन् जहाँ मान्छे बोकाको टाउको जडी
अझ त्यो पनि उल्टो भै बन्छन् दक्षप्रजापति ।।
त्यो ठाउँमा कहाँ कल्ले वाणीको मर्म बुझ्दछ
साधनाशिल्पको तिम्रो देन को चिन्न सक्तछ !!
भाग्यमानी नै भन्छु कृष्णप्रसाद पराजुलीलाई । प्रज्ञाहीन कोटाको भिडमा नपर्नुभएकोमा । शब्द-शब्दमा बाँच्नेलाई । अंश-अंशमा बाँच्नेलाई । कृति-कृतिमा बाँच्नेलाई । माटो र मनको मायाँ पाउनेलाई । कुनै पदको बैसाखी टेकिरहनुपर्छ र ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

