श्रीओम श्रेष्ठ‘रोदन’

नेपालको पहिलो लघुकथा कृतिका कृतिकार पूर्णप्रसाद ब्राह्मणको नाममा “पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान”को स्थापना गरिएको छ । लघुकथा समाज नेपालको आयोजनामा सम्पन्न एक कार्यक्रमका बीच यस सम्मानको स्थापना गरिएको छ ।

पुरस्कारको स्थापना गोरखा पत्रका पूर्व–प्रधानसम्पादक तथा लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन र श्रीमती ललिता श्रेष्ठले गरेका हुन् । “अहिलेसम्म साहित्यका अन्य विधाका पुरस्कार तथा सम्मानहरु प्रशस्तै स्थापना भए पनि लघुकथा सधैँ उपेक्षित रह्यो ।” श्रीओम श्रेष्ठ रोदनले साहित्यपोस्टसँग भने, “लघुकथाकारका लागि पनि एक महत्वपूर्ण सम्मान अर्पण गर्न सकियोस् भन्नका लागि हामीले यस सम्मानको स्थापना गरेका हौँ । यसका लागि हामीले आजै एक लाख रुपियाँको अक्षयकोष स्थापनाको पनि घोषणा गरेका छौँ ।”

“पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान”को पुरस्कार राशि ११ हजार १ सय एघार रहेको छ । यस पुरस्कारलाई लघुकथा समाजको आयोजनामा प्रत्येक वर्ष भदौ ५ गते अर्थात् लघुकथा दिवसको दिन अर्पण गरिने छ ।