घटिरहेको छ दूरी हार्दिकताको । भइरहेको सम्बन्धमा पनि त्यस्तै । बढिरहेको छ औपचारिकता । छ आडम्बर र कृत्रिमता हरेकमा । बढिरहेको छ चर्चा प्रदर्शन गर्नेहरूकै । घट्दै गइरहेको छ मूल्य भावनाको । बन्दै गइरहेको छ समय प्रदूषित । बनिरहेको छ समाज त्यस्तै । पुग्छ कहाँ होला ? छ अन्योल ।
नजिककाहरू बन्न सकेका छैनन् नजिक । टाढाकाहरू देखिरहेका छन् नजिक । प्रिय भएको छ प्रविधि । बनेको छ निर्देशित जीवनशैली । जटिल बन्दै गइरहेको छ चिन्न अरूलाई । सजिलो छैन आफैँलाई बुझ्न पनि । देखिएजस्तो भइरहेको छैन सत्य । भएजस्तो देखिरहेको छैन सत्य ।
नभएजस्तो सत्य बनिरहेको समय । उभिनुभएको छ चट्टानजस्तै अशेष मल्ल । देखिनुहुन्छ जस्तो हुनुहुन्छ पनि त्यस्तै । शेष नहुने भएर सत्य । बन्नुभएको छ अशेष । बन्न सक्नु हुन्न फरक त्यसैले । छैन फरक मन र मुखको आवाजमा पनि । फेर्नु हुन्न रङ्ग अवसरका लागि । बन्नु हुन्न बाजा समयानुसारको । बेच्नु हुन्न इमान स्वार्थका लागि ।
लेख्नुहुन्छ साहित्य । कथा, कवितामा विशेष । छन् मुक्तक र लघुकथा । लेख्नुहुन्छ नाटक । गर्नुहुन्छ अभिनय । छ विशेष निर्देशन । बनेको छ अग्लो परिचय हुन सम्मको । प्रतिष्ठा छ मजाले कमाउनुभएको । भएर अग्लो परेको छैन निहुरिन । निहुरिनुहुन्छ विनम्रताले आफैँ ।
बन्नुभएको छ पर्याय नेपाली रङ्गमञ्चको । पर्याय नै हुनुहुन्छ ‘सर्वनाम‘ नाट्यघरको पनि । गर्नुभएको छ क्रान्ति रङ्गमञ्चमा । गर्नुभएको छ आमूल परिवर्तन लेखन र निर्देशनमा । पुर्याउनुभएको छ नाटक गा-उँगाउँमा । हुन सक्छ रङ्गमञ्च जहाँ पनि भन्ने देखाएर । बन्नुभएको छ पिता सडकनाटकको । जन्माउनुभएको छ कलाकार कति-कति ।
बन्न सकेको छ ‘सर्वनाम’ प्रतिबद्धताको प्रतीक । बनेको छ परिणाम परिश्रमको । द्योतक बनेको छ निरन्तरताको पनि । इमानदारीको उदाहरण पनि ‘सर्वनाम’ नै ।
‘यो नाट्यकला भवनको निर्माणमा कुनै व्यक्ति तथा सरकारी गैरसरकारी र कुनै पनि अन्ताराष्ट्रिय सङ्घसंस्थाको एक पैसा पनि लगानी भएको छैन । नाटक र सडकनाटकको प्रस्तुतिबाट बचाएको एकएक पैसाबाट निर्माण भएको हो यो भवन ।’
उदाहरण हो यो खोजेर नपाइने । हुन सक्छ यहाँभन्दा ठूलो आदर्श ? पवित्रताको र इमानदारीको । सकेको छैन कतै लेख्ने आँट यस्तो । देख्ने गरी कसैले । बनेका छन् हजारौँ भवन यस्ता । छैनन् गरेका आँट यसरी । बनाउँछन् अवसर बन्नलाई आफू पनि । ‘सर्वनाम’ले भने राखेको छ टाँसेर भित्तामा । देख्ने गरी सबैले ।
हुन्छ बेइमानी सबैभन्दा निर्माणमा नै । ठान्छन् अवसर नेतृत्वले । भन्छन् बन्ने हो यसै बेला । देखिएकै छ समाजसेवामा हुने असमाजसेवा । पवित्र नाम बनेको छ अपवित्र । देखाएर दुःखी र गरिबी । भित्र्याउँछन् डलर साटेर दया । ओढेर खोल सेवा समाजको । गर्छन् सेवा स्वयंकै पहिला । यस्तोमा पनि गरेको छ चुनौती ‘सर्वनाम’ले । सबैका लागि र सधैँका लागि खुल्ला रूपमा ।
देखाउनुभएको मात्र होइन खोलेर छाती । ‘सर्वनाम’ भएर अशेष मल्लले । हो पाठ पनि अरूलाई । नभनेर कसैलाई । उदाहरण बन्नुभएको आफैँ ।
चाहनुभएको भए उहाँले ल्याउन सक्नुहुन्थ्यो सहयोग सरकारबाटै । गर्थे सहयोग विदेशीहरूले सहजै । राखेको भए चाहना बन्न अरूजस्तै धनी । हुन्थ्यो बन्न पनि सजिलै । गर्नु भएन लोभ अलिकति पनि । गर्नुभएन माया र मोह पनि कुनै । गर्नुभयो मात्र काम आदर्शको ।
हुन सक्दैन काम ठूलो योभन्दा । नगर्नेहरूका लागि र गर्नेहरूका लागि पनि । आदर्श हो समाजको र उदाहरण हो समर्पणको । हो त्यागको पनि । गर्छन् खर्च अरू प्राप्तिका लागि । पद र प्रतिष्ठाका लागि । त्याग्छन् सिद्धान्त । छोड्छन् र फोर्छन् पार्टी । भन्दैनन् साथीभाइ । गर्छन् गर्नुहुने र नहुने पनि । नगरेर केही पनि देखिनुभएको छ शिखरमा ।
जाँदै थियौँ हामी पोखरा । बजिरहेको थियो मोबाइल निरन्तर । भइरहेको थियो अनुरोध लिनलाई जिम्मेवारी । थियो कुरा प्रज्ञाप्रमुखको । मानिरहनुभएको थिएन उहाँ । भनिरहनुभएको थियो, “जान्नँ म अब कतै । सब थोक हो मेरा लागि ‘सर्वनाम’ ।”
होलान् धाउने कति-कति । होलान् दैलामा पुग्ने नेताका कति-कति । दिएका पनि होलान् आश्वासन केहीलाई । सकिरहनुभएको थिएन उहाँ भने स्विकार्न । आइसकेको मुखैअगाडि ।
परेको थिएँ अचम्ममा । हुँदो रहेछ यस्तो पनि भनेर । हुनुभएको थियो प्राज्ञ पचासमा । बढ्नुपर्ने हो महत्त्वकाङ्क्षा । त्यागको कथा पुराणमा भएजस्तो ।
गरेपछि विश्वास अध्यात्ममा । चिनिन्छ सबैभन्दा बढी आफैँलाई । बुझिन्छ बाँच्नुपर्ने समाज । सकिन्न नत्र कल्पना गर्न पनि । भन्लान् ढोँग सुन्नेहरू । हुन्छन् नाटक यस्ता धेरै । लाग्छन् मरेर प्राप्तिका लागि । भन्छन् नपाएपछि थिएन रुचि नै ।
जन्मनुभो धनकुटाको माटामा । साल थियो एघार विक्रमको । बन्नुभो छोरा लेखककै । काम गर्नुहुन्थ्यो बुबा पुस्तकालयमा । धनकुटा शाखा थियो नेपाल-भारत सांस्कृतिक केन्द्रको । हुन्थ्यो किताबैकिताब घरमा । आइरहन्थे घरमा अरू लेखकहरू । हुर्कनुभो हेरेर किताबलाई । नचिने पनि भेटेर सानैदेखि साहित्यकारलाई । परिवार त्यस्तै । परिवेश पनि त्यस्तै ।
हुन्थ्यो भदौरे जात्रा धनकुटामा । हुन्थ्यो नेवार टोलमा विशेष । चल्थ्यो नाटक महिनादिनसम्म । बनाइन्थ्यो मञ्च बाँसको । छानिएपछि कलाकार गरिन्थ्यो अभ्यास महिनौँ । हुनुहुन्थ्यो बाह्र वर्षको अशेष मल्ल । जानुहुन्थ्यो छानिन । छानिनु हुन्थेन देखेर फुच्चे । जानुहुन्थ्यो हेर्न अभ्यास । सक्नु भएन लुकाउन रहरलाई । बनाउनुभो समूह आफ्नै उमेरकाहरूको । सक्नुभो देखाउन नाटक । गर्नुभो अभिनय मूल भूमिकामा आफैँ । परे छक्क देखेर बालनाटक । गरे तारिफ सबैले विशेष अशेषको नै । जानुभएको थियो मञ्चमा पहिलोपटक मादल बजाउन । हुनुहुन्थ्यो मात्र आठ वर्ष ।
उम्रिएको रहेछ पात चिल्लो त्यही बेला । बस्नै नसक्ने चुप लागेर । थियो उत्साह मनमा । क्षमता थियो सिर्जनात्मक मस्तिष्कमा । पढ्दै हुनुहुन्थ्यो मात्र आठ कक्षामा । खोल्नुभो बाल सुधार सङ्घ पनि । बन्नुभो अध्यक्ष । देखाउनुभो नेतृत्व क्षमता पनि । निकाल्नुभो पत्रिका ‘लालुपाते’ तीस सालमा । निस्किएपछि पहिलो अङ्क । नियम बन्यो कडा सरकारी । सकेन निस्किन त्यसपछि ।
लेख्नुभो नाटक ‘तुवाँलाले ढाकेको बस्ती’ । वर्ष थियो बत्तीस । गराउनुभो निर्देशन उपेन्द्र दुःखीलाई । भयो नाटक मञ्चन गाउँमै । राखिएको थियो टिकट पच्चीस पचास पैसाको । मन पराए धेरैले । चल्यो सोचेभन्दा बढी नै ।
थियो जोस जब्बरको । आँट्नुभो देखाउन अन्त पनि । बन्यो टोली चालीस जनाको । भयो यात्रा पैदलै धनकुटाबाट । हिँड्नुभो देखाउँदै धरान, विराटनगर र वीरगञ्जमा । हुँदै गयो जम्मा पनि पैसाको । पुग्यो टोली काठमाडौँ लगाएर दश दिन ।
हुनुहुन्थ्यो सदस्य सचिव सत्यमोहन जोशी प्रज्ञा-प्रतिष्ठानमा । गरेपछि भेटघाट । बन्यो सहमति पनि । नाटकले कमाएको पैसा कटाउने खर्च पहिले । गर्ने आधा-आधा प्रज्ञा र नाटक टोलीलाई ।
चलेको थियो चर्चा नाटकको पहिलेदेखि । चल्यो पनि एक महिना नै त्यस बेला । आउनुभो हेर्न पहिलो दिन नै बालकृष्ण सम । गर्दै सोधखोज मञ्चपछाडि । खोज्दै अशेष मल्ललाई ।
चिनायो उहाँलाई काठमाडौँमा त्यही नाटकले । कमायो चर्चा पनि विशेष । बन्यो उपलब्धिमूलक । भयो सफल र सम्मान पनि । हो कुरा पैँतालीस वर्षअघिको ।
फेरिसक्यो काठमाडौँ भएभन्दा धेरै फरक । बनिसक्यो जीवन पनि अर्कै उहाँको । गरेर काम अथाह । कमाउनुभएको छ प्रतिष्ठा अथाह नै । बनेर अथक यात्री नाटकको । बन्नुभएको हो पर्याय रङ्गमञ्चको । त्यत्तिकै छ औचित्य नाटकको । हिजो पनि र आज पनि । भए पनि परिवर्तन जे-जे । हट्नसकेको छैन तुवाँलो अझै । ढाकिरहेको छ तुवाँलो बस्तीमा अझै ।
‘नभईकन पागलपन । लागिरहँदैन रङ्गमञ्चमा कोही पनि । पागल हुँ म त्यही ।’
भन्नुभएको होइन रहेछ त्यत्तिकै उहाँले ।
भन्नुहुन्छ, “रङ्गमञ्चविना म एक सेकेन्ड पनि बाँच्न सक्दिनँ । मेरो आदर्श, मेरो मन्दिर जे भने पनि रङ्गमञ्च नै हो ।”
होइन यो सामान्य हठ । गरेजस्तै प्रतिज्ञा महात्माहरूले । हो, तपस्याजस्तै ऋषिमुनिहरूको । होइन सजिलै उहाँ पनि बन्नुभएको । आदर्श र उदाहरण हो रङ्गकर्मको र रङ्गधर्मको पनि ।
बस्नुभो विराटनगर पढ्नलाई । निकाल्नुभो साहित्यिक पत्रिका ‘आँगन’ । बन्द भयो यो पनि निस्केपछि तीन अङ्क । बनाउनुभो युवा साहित्य परिवार । गर्नुभो हरेक हप्ता कवितागोष्ठी ।
आउनुभो पढ्न विश्वविद्यालयमा काठमाडौँ । टार्नुहुन्थ्यो खर्च छपाएर कविता गोरखापत्रमा । बजाएर कविता रेडियो नेपालमा । पाउनुभो जागिर परिवार नियोजन तथा मातृशिशु कल्याण योजनामा । थियो जिम्मा श्रव्यदृश्यको । लेख्नुहुन्थ्यो नाटक र गर्नुहुन्थ्यो रेकर्ड । प्रसारण हुन्थ्यो हप्तामा एक दिन रेडियो नेपालबाट ।
देखाउनुभो प्रहसन समेटेर राजनीतिका विकृति । खानुभो कुटाइ मन्डलेहरूबाट । विरोधी भनेर व्यवस्थाको । छोड्नु भएन लाग्न सडककविता क्रान्तिमा । समय थियो जनमतसङ्ग्रह छत्तीसको ।
बनाउनुभो त्यसपछि नाट्य संस्था ‘सर्वनाम’ । भदौ थियो अठतीसको । बढ्न थाल्यो नाटकको गति संस्थागत । गर्नुहुन्थ्यो विरोध विकृतिको त्यो पनि कलात्मकरूपमा । व्यापक बनाउन नाटकलाई । सीमित गर्न खोज्नुभएन रङ्गमञ्चमा मात्र । खोजी गर्न थाल्नुभो वैकल्पिक रङ्गमञ्चको । पुर्याउन गाउँ-गाउँसम्म सन्देश र चेतना । बनाउनुभो सडकनाटक । परीक्षण गर्नुभो पहिलोपटक कीर्तिपुरको चौरमा । थियो नाटक ‘हामी वसन्त खोजिरहेका छौँ ’। दिन थियो बीस गते भदौको उनन्चालीस सालको ।
भएको थियो प्रारम्भ त्यहीँबाट सडकनाटकको नेपालमा । निस्केपछि नाटक मञ्चबाट । पुग्न थाल्यो गाउँ-गाउँ सजिलैसँग । राख्न थाल्नुभो विज्ञापन पनि नाटकमा । बलियो बनेको छ अहिले सडकनाटक । सजिलो पनि सन्देश पुर्याउन समुदायमा । भनिएको त्यसैले हो पिता सडकनाटकको । होइन त्यत्तिकै लगाइदिएको टोपी ।
बनाएरै व्यापक नाटकलाई । मनोरञ्जन, कला र सन्देश हुन्थे नाटकमा । गर्नुभो नाटकमा सामाजिक र राजनीतिक रूपान्तरको प्रयोग । बन्नुभएको त्यसैले पर्याय रङ्गमञ्च र ‘सर्वनाम’को । बनाउनुभएन ‘सर्वनाम’लाई नाटकघर मात्र । जोड्नुभएको छ साहित्य र कलालाई सगँसँगै । गर्नुभएको छ मञ्चन कविताको । लघुकथालाई पनि गर्नुभएको छ मञ्चन । ‘हामी’मा मासिक हुन्थ्यो जोरकवि । भयो नाटकभित्र चित्रकला निर्माण पनि । भइरह्यो प्रदर्शनी चित्रकलाको । प्रतियोगिता भयो मोबाइल फिल्मको । मात्र तीन मिनेटको दृश्यांश । उत्सव भयो नाटक दश मिनेटको । हुन्छ प्रशिक्षण निरन्तर अभिनयको । भइरहन्छ अन्तःक्रिया, गोष्ठी, कार्यक्रमहरू ।
भएको थियो त्रिचालीसमा ‘नानीहरूको नाटकमेला’ । गरेको थिएँ प्रतिस्पर्धा गरेर नाटक निर्देशन । कलाकार थिए हिन्दू विद्यापीठ नेपालका । दोस्रो भएको थियो ‘हरिश्चन्द्रको कथा’ । जितेका थिए पुरस्कार उत्कृष्ट अभिनेता र उत्कृष्ट अभिनेत्रीको पनि ।
सहभागी थिएँ पाँच दिने कार्यशाला सडकनाटकमा । सतचालीसमा गरेको थियो ‘सर्वनाम’ले । श्रव्यनाटकको सिँडी निकाल्नुभएको थियो सिरडी साईँबाबाको । परेको थिएँ बोल्ने कलाकारमा म पनि । खेलेको थिएँ नाटक ‘कुमारी’ सभागृहमा । लेखन थियो उहाँकै । बनाएर भिडियोनाटक प्रसारण भयो धेरैपटक नेपाल टेलिभिजनबाट । जोडिएको छु पटक-पटक प्रत्यक्ष । कति हो कति अप्रत्यक्षमा । जोडिरहेका छौँ लघुकथा कामले अहिले पनि ।
लाग्नुभएपछि काममा उहाँ । लाग्नुहुन्छ पागलजस्तै । मार्नु हुन्न थकाइ । लिइरहनुहुन्छ तनाव नसकिएसम्म नाटक । देखिनुहुन्छ हतारमा सधैँ । चाहनु हुन्न फाल्न समय त्यत्तिकै ।
हुँदैन मनमा भण्डार कुनै कुराको । प्रकट गरिहाल्नुहुन्छ भएजस्तै मन । गर्नु हुन्न कन्जुस्याइँ गर्न खुलेर प्रशंसा अरूको । दिइरहनुहुन्छ प्रेरणा अरूलाई । राख्नुहुन्छ सोच सकारात्मक सधैँ ।
हुनुहुन्छ प्रस्ट देखिएजस्तै । देखिँदैन लकनछपन कहिल्यै । गर्नुहुन्छ रमाइलो भेटघाटमा । बन्नुहुन्छ गम्भीर पनि त्यत्तिकै । पाएजस्तो लाग्छ ऊर्जा भेटेपछि उहाँलाई ।
जोडिएको थिएँ नाटकले पहिले र लघुकथाले अहिले । साहित्यले सधैँ । गरेपछि सङ्गत उहाँसँग । सकिँदैन सितिमिति सोच्न नकारात्मक । छ शक्ति उहाँमा नदेखिने । होइन भनेको त्यत्तिकै अग्रजले । सङ्गत गर्नु असलको भनेर ।
लेख्नुहुन्छ कविता बलियो । छन् कथा शक्तिशाली । दह्रो झट्का हुन्छन् मुक्तकमा । कमजोर छैन कुनै सिर्जना । हुनुहुन्छ प्रतिनिधि नै तीसको नेपाली साहित्यको । भएजस्तै दुई आँखा । बनेका छन् कलासाहित्य साथसाथ । बन्नुहुन्छ अपूर्ण नभए कला । नहुँदा पनि साहित्य ।
होइन जीवन मात्रै उहाँको । बनेको छ परिवार नै त्यस्तै । हुनुहुन्थ्यो बुबा खगेन्द्र प्रधानाङ्ग । कमाउनुभएको थियो प्रसिद्धि आफ्नो समयमा । हुनुहुन्छ दाजु मुकेश मल्ल । चित्रकलामा हुनुहुन्छ अग्रज । हुनुहुन्छ धर्मपत्नी समालोचक प्राडा सावित्री कक्षपति । हुनुहुन्छ छोरी सम्पदा । लेखक निर्देशक भारतीय टेलिशृङ्खलाकी । छोरा अभिनित गर्नुहुन्छ अभिनय नै नाटकमा । मर्मज्ञ छन् परिवार नै कलासाहित्यको ।
जोडिएको थियो जोडी पनि नाटकबाटै । बन्यो परिवार नै पछि । भएको थियो नाटक सभागृहमा । सकिएपछि नाटक ‘सडकदेखि सडकसम्म’ । आएर अगाडि गर्नुभो टिप्पणी एक युवतीले कडासँग ।
‘तपाईँले नाटकमा स्त्रीको अपमान गर्नुभयो । यस्तो छुट तपाईँलाई कसले दियो ?’
मान्नु भएन अन्यथा अशेष मल्लले । स्विकार्नुभयो सकारात्मक रूपमा । ठान्नुभयो उल्टै असली समीक्षक । बन्यो त्यही टिप्पणी नै टुसा प्रेमको । बस्नुभो एकै घरधुरीमा भएपछि तीन वर्ष ।
हुनुभएर पनि प्रतिनिधि कवि, कथाकार । लिनासाथ नाम अशेष मल्लको । चिनिनुहुन्छ पहिले नाटकबाटै । परेजस्तै लाग्छ छायामा आफ्नै । लाग्छ, देख्नासाथको अशेष मल्लले बोक्दैन कि सबै अशेष मल्ललाई ?
हुनुभए पनि पर्याय सर्वनामको । पिता सडकनाटकको ।
नाटककार नयाँ शैलीको । कलाकार अभिनयको ।
निर्देशक नाटकको । मुक्तककार सडककविता क्रान्तिको ।
सकारात्मक सधैँको । प्रतिष्ठित कला साहित्यको ।
धनी सोचले, शैलीले, चिन्तनले ।
बनेर पनि अनेक बन्नुभएको छ अशेष एक ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।