काठमाडौं । कथाकृति ‘कालो गुलाफ’ र ‘मृत्युको छहारीमा’ एक कार्यक्रमका बिच सार्वजनिक भएकाे छ । कथाकारद्वय गोपाल अश्कको ‘कालो गुलाफ’ र विनयराज गौतमको ‘मृत्युको छहारीमा’ काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक भएकाे हाे ।

काठमाडौंमा लघुकथा समाज, नेपालद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि समालोचक साहित्यकार प्रा.डा. दयाराम श्रेष्ठलगायतले दुवै कथाकृतिकाे एकसाथ लोकार्पण गरेका हुन् ।

प्रा.डा. श्रेष्ठले आख्यानात्मक शैलीमा मन्तव्य दिँदै कथाकार अश्कका कथाहरूमा तराईको सुगन्ध र लोकजीवन भेटिने उल्लेख गरे भने समीक्षक प्रा.डा. कुमारप्रसाद कोइरालाले ‘मृत्युको छहारी’को चर्चा गर्दै कृतिमा आञ्चलिक स्वाद भेटिने बताए ।

‘कालो गुलाफ’माथि चर्चा गर्दै समीक्षक ज्ञानु अधिकारीले भोजपुरी समूदायको सांस्कृतिक एवं सामाजिक विषयवस्तु कृतिभित्रका कथाहरूमा भेटिने बताइन् ।

उक्त कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतम, श्रीओम रोदन, कथाकार गोपाल अश्क र विनयराज गौतम, हरि गौतम, तुलसीहरि कोइराला र सुमन सौरभले मन्तव्य राखेका थिए ।