काठमाडौं । नेपाल स्रष्टा समाजले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा लोकगीत सर्जक तथा गायिका लक्ष्मी तिवारी (तिवारी आमा) लाई ‘दमन्ता खनाल स्मृति स्रष्टा सम्मान’ प्रदान गरेको छ। उक्त सम्मानमा २० हजार एक सय एघार रुपैयाँ नगद, सम्मानपत्र र दोसल्ला समावेश थियो ।
साहित्यकार भागिरथी श्रेष्ठ, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ र संरक्षक पवन आलोकले संयुक्त रुपमा तिवारी आमालाई सम्मान प्रदान गर्नुभएको थियो । पाल्पा, रामपुर निवासी तिवारी आमा गाउँघरमा रहेर मौलिक लोकगीतको सिर्जना र गायनमा सक्रिय हुनुहुन्छ ।
कार्यक्रममा साहित्यकार श्रेष्ठले तिवारी आमालाई गाउँघरका प्रतिभावान् महिलाको ज्वलन्त उदाहरणको रुपमा चित्रण गर्दै सम्मानको व्यवस्था मिलाउने गीतकार पुष्पा खनाललाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, “आमाप्रति माया र सम्मानभाव प्रकट गर्दै आमाको जन्मदिनमै यो सम्मान समर्पण गर्नु पुष्पा खनालको प्रशंसनीय कार्य हो।”
समाजका संरक्षक आलोकले सम्मान प्राप्त गर्ने र सम्मान स्थापना गर्ने दुवैलाई धन्यवाद व्यक्त गर्नुभयो । डा. शान्तिमाया गिरिले तिवारी आमाको व्यक्तित्वबारे प्रकाश पार्दै उहाँ समाजका विकृति र विसंगतिमाथि सिलोक, तीज गीत, रोइला र रत्यौली गीतको माध्यमबाट कलम चलाउने स्रष्टा भएको बताउनुभयो । विद्यालयमा केवल दुई कक्षा मात्रै पढेकी तिवारी आमा नाचमा पनि उत्तिकै निपुण रहेको डा. गिरिले जानकारी दिनुभयो। उहाँले परदेशिएका नेपालीको पीडालाई पनि आफ्ना तीज गीतमा उजागर गरेको कुरा उल्लेख गर्नुभयो ।
सम्मान ग्रहण गर्दै तिवारी आमा आफूले छोरीले पढ्नु हुँदैन भन्ने तत्कालीन सामाजिक मान्यताका कारण पढ्न नपाएको बताइउनुभयो। उहाँले कार्यक्रममा राष्ट्रिय भावनाले ओतप्रोत गीत र आफ्नो छोरी जीवनको पीडालाई समेटिएका गीतहरू प्रस्तुत गर्दै रामपुरको महिमा झल्कने सिलोक पनि सुनाउनुभएको थियो ।
नेपाल स्रष्टा समाजका अध्यक्ष रोदनले यस सम्मानले राजधानी केन्द्रित पुरस्कार वितरण प्रणालीलाई तोड्दै ओझेलमा परेका ग्रामीण क्षेत्रका स्रष्टालाई सम्मान गर्ने समाजको प्रयासलाई उजागर गर्नुभयो । उहाँले सम्मान स्थापना गर्ने पुष्पा खनाल र सम्मानित तिवारी आमालाई बधाई दिनुभयो ।
गीतकार पुष्पा खनालले वि.सं. २०७५ मा आफ्नी आमाको नाममा यो सम्मानको स्थापना गर्नुभएको हो । कार्यक्रमको सञ्चालन रञ्जना निरौलाले गर्नुभएको थियो भने समाजका सचिव प्रकाश घायलले स्वागत मन्तव्य राख्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










