परिरहेको छु अलमलमा । गरूँ कहाँबाट सुरु ? सम्झिनासाथ नाम । आँउछन् सन्दर्भहरू जोडजोडले । नजिक छन् सबै नजिकै भएका । छोड्नु कुनलाई ? बिर्सनु केलाई ? परेको छु धर्मसङ्कटमा ।
क्याप्टेनसाप अर्थात् क्याप्टेन जनकबहादुर राणा । रिटार्यड क्याप्टेन भारतीय सेनाका । सन्तति जङ्गबहादुरको । निवास वीरगन्जको । कहिले टाढा भएनौँ हामी चिनेदेखि । जीवनको अन्तिम समयसम्म नै । हुनै दिनुभएन टाढा कहिले ।
हुन्थ्यो भेट नियमितजस्तै काडमाडौँमा हुँदा । बनिरहन्थ्यो निहुँ केही न केही । वीरगन्ज हुँदा पनि टाढा बन्न दिन्थेन टेलिफोनले । चासो सधैँ साहित्य र साहित्यकै । गरिरहनुहुन्थ्यो सोधखोज । भइरहन्थ्यो कुराकानी हामीसँग । हामी भनेका जय छाङ्छा र म ।
परिचय भएको मधुपर्कमा नै हो पहिलोपटक । लगाउनुभएको थियो नेहरु कोट । ट्याप्प घाँटीसम्म टाँसिएको । कोट थियो कालो रङको । पाइन्ट थियो सेतो । आँखामा थियो चस्मा पावरको । अग्लो ज्यान । खाइलाग्दो अनुहार । लागिरहेको थियो को होला भन्ने । चिनाउनुभो वसन्तजीले । क्याप्टेन जनकबहादुर राणा उहाँ । श्रीओमजी उहाँ भनेर । उठ्नुभो जुरुक्क सोफाबाट । मिलायौँ जोडले हात दुवैले ।
भन्नासाथ क्याप्टेनसाप । चिनिहालेँ ‘लाहुरेको डायरी’को स्तम्भकार भनेर । पढ्थेँ नियमित कान्तिपुरको कोसेलीमा । भइहालेँ पूर्व परिचित, पूरै परिचित । चर्चित थियो त्यो ताका ‘लाहुरेको डायरी ’ । परिचय अर्को पनि थियो क्याप्टेनसापको । पहिलो मिस नेपाल रुबी राणाकी बाबु ।
परिचयको त्यो पल मिलेको हुनुपर्छ साइत पनि । बलवान् बन्यो संयोगको सुरुवात । घटेन कहिले सम्बन्ध । बढ्दै गयो मित्रता दिन प्रतिदिन । कहिलेकाहीँ अचम्म पनि लाग्थ्यो । बूढोमान्छेसँग बढेको सम्बन्धमा ।
भारतीय सेनाबाट निवृत्त हुनुभयो पैँतीस वर्षपछि । फर्कनुभयो मातृभूमि वीरगन्ज । उमेरले हुनुहुन्थ्यो बाजस्तै । बन्यौँ हामी साथी-साथी । भनिन्थ्यो प्रेममा मात्र हुन्छ सबै सम्भव । भएन मित्रतामा पनि असम्भव ।
नरम थियो उहाँको हात । लागेन कहिले बन्दुक चलाएको हात । लागेन कहिले कवाज खेलेको व्यवहार । अनुभव गर्थेँ हात मिलाउँदा प्रत्येकपटक । बोल्नुहुन्थ्यो विस्तारै । व्यवहार थियो नरम । बिसाउनासाथ बन्दुक बन्नुभएछ कृषक । पाल्नुभएछ माछा । लाग्नुभएको रहेछ अक्षरयात्रामा कृषिबाटै । समाइहाल्नुभो कलम । मार्नुभो कतिलाई युद्धमा पैतीँस वर्षमा ? कुरो भएन कहिल्यै । बूढ्यौलीमा समातेको कलमले बचाइराख्ने भो जहिल्यै । कमाल नै यही हो कलमको । मरेपछि पनि बचाइराख्ने ।
तीक्ष्ण हुनुहुन्थ्यो संस्मरणमा क्याप्टेनसाप । सुनाउनुहुन्थ्यो युद्धको मैदानलाई चित्रजस्तो बनाएर । युद्धसाहित्य भित्र्याउनुभयो त्यसैले नेपाली साहित्यमा । असङ्ख्य अनुभव थिए । जीवन र जागिरका संस्मरण । लेख्नुहुन्थ्यो साना सन्दर्भ पनि । बिर्सनु हुन्थेन नाम जुनै पात्रको पनि । ठ्याक्कैको तिथिमिति उतार्नसक्नुहुन्थ्यो संवाद पनि जस्ताको तस्तै । होलान् लेखेका अरूले पनि युद्धसाहित्यलाई । पाठकलाई सजिलोसँग पुऱ्याउने उहाँ नै हो । युद्धसाहित्यलाई लोकप्रिय बनाउने पनि हो क्याप्टेनसाप नै ।
उत्साही हुन्थे म सधैँ युद्धका घटना सुन्न । भेट भएपछि सधैँ खोतल्थेँ प्रसङ्ग युद्धका । सुनाउनुहुन्थ्यो प्रत्यक्ष प्रसारणजस्तै गरेर । सुनेको छु धेरैपटक नलेखिएका घटनाहरूका पनि । लाग्थ्यो देखिरहेछु दृश्य नै । फिल्म नै हेरेजस्तो गरी ।
सोधेको थिएँ एकपटक – पुग्नुभो कसरी भारतीय सेनामा ? मान्छे राणा खानदानको तपाईँ ।
‘ जङ्गबहादुरको सन्तति हुँ । भागेर पुगेका थियौँ भारत । लिन्थेन त्यति बेला राणा थरलाई भर्तीमा । लेखेँ थापा ढाँटेर थर ।’
सुनाउनुहुन्थ्यो भर्ती भएपछिका कठिन दिनहरू । गरेको परिश्रम र ज्ञानका कुरा । प्रभावित भएका अफिसरका कुरा । सम्झनुहुन्थ्यो युद्धका त्रासदी क्षण । युद्धविराम हुँदा गर्ने रमाइला र साङ्गीतिक क्षण । गोली गएका क्षण आँखै अगाडिबाट लागेर ढलेका पुक्लुकपुक्लुक मित्रहरू । सिरिङ्ग हुन्थ्यो शरीर । मात्र सुन्दा पनि घटना । सुन्थे ध्यान दिएर सधैँ ।
मधुपर्कमा हुनुहुन्थ्यो एक दिन । हुनुहुन्थ्यो जयजी पनि । माग्नुभो रचना ‘सगर’का लागि । सुरुवात गरेको थियो ‘सगर’ त्रैमासिक वीरगन्ज साहित्य परिषद्ले । छापियो पत्रिकामा । पुरस्कृत पनि हुनुभो जयजी ज्ञानपूर्ण पुरस्कारबाट । वर्षभरिका उत्कृष्ट रचनामध्ये पर्नुभो उहाँ पनि । गएँ म पनि उहाँसँगै वीरगन्ज । गऱ्यौँ त्यहीबाट दार्जिलिङ, कालिम्पोङ र सिक्किमसम्मको यात्रा पनि ।
कार्यक्रम थियो वैशाख एकगते त्रिपन्न सालको । हिँड्यौँ हामी चैत मसान्तमा काठमाडौँबाट । सहभागी थिए देशभरिबाट । त्यतिकै थिए प्रवासबाट पनि विसापको कार्यक्रममा । व्यवस्था थियो वासको । वचनबद्ध थियौँ हामी क्याप्टेनसाप कहाँ नै बस्ने । भन्नुभाथ्यो पहिले नै । बस्नुपर्ने सर्त उहाँकै घरमा ।
पुगेका थिएनौँ बसपार्कमा । ढिलो भएका थियौँ एक घण्टाजति । अलमल भएको थियो बाटामा । कुरिरहनुभएको थियो क्याप्टेनसाप । भनिएकै समयदेखि बसपार्कमा । टेक्नासाथ वीरगन्जभूमि । बढाउनुभो हात स्वागतको । मिलायौँ हात खुसीले । ओर्लनासाथ बसबाट । डाक्नुभो रिक्सा । चढ्यौँ आनन्दले । पछि लाग्यो हाम्रो रिक्सा उहाँ चढेकोको पछिपछि ।
‘कमला सदन’ लेखिएको थियो छपकैयामा । ओरालियौँ दुईतल्ले सेतो घरमा । रमाइलो गऱ्यौँ साँझमा । परिकारले , कुराकानीले । फरासिलो हुनुहुन्थ्यो जति उहाँ । हुनुहुन्थ्यो कप्तानीसाप झन् रमाइलो । लागेन पाहुना हौँ हामी । लाग्यो बसिरहेका छौँ पहिलेदेखि । बितायौँ एकै रात । लागेन पटक्कै त्यस्तो । गाह्रो भयो घर छोड्न भोलिपल्ट ।
सन्ताउन्न सालको तेस्रो महिनातिर । क्याप्टेनसाप आउनुभयो मधुपर्कमा । दिनुभो निकालेर ‘नेपाली’ त्रैमासिक –१६२ । पल्टाएँ सरसर्ती । रोकिएँ ‘रैनबसेरा’शीर्षकमा । नाम थियो क्याप्टेनसापको । भनिहाल्नुभो त्यही बेला । ‘पढेर के लाग्छ लेख्नुस्, कमलबाबुले छाप्छु भन्नुभएको छ ।’ भए पनि आग्रह उहाँको । भारी लाग्यो अलिकति । हार्दिक लाग्यो धेरै । भनिहालेँ ‘हुन्छ’ ।
अनुभूति लेख्ने मान्छे म आफ्नै । नरुचाउने अरूका अनुभूतिको चिरफार गर्ने । भएजस्तो पनि लाग्दैन सामर्थ्य । तम्सिने पढ्न सधैँ । तर्किने प्रतिक्रिया लेख्न । सजिलो लाग्दैन किन किन ?
लेखेको थिइनँ कहिल्यै ‘नेपाली’मा । लाग्यो, प्रवेश गर्ने भएँ क्याप्टेनसापमार्फत । वर्षले जेठो छ मभन्दा पत्रिका । अवसर पनि हो मेरा लागि । कमल दीक्षितजस्तो पाका सम्पादक भएको पत्रिका । उमेर, अनुभव, योगदान र सिर्जनाले पनि श्रद्धेय । लेख्न भन्नु मेरा लागि लाखै हो पुरस्कारजस्तै ।
नचिनेरै चिनेको क्पाप्टेनसाप । चिनेको कलम उघ्रिएदेखि उहाँसँग अक्षरहरूले । अनुहार र अनुभवसँग परिचित छु लेखनीको प्रारम्भदेखि । उमेरको फरकले नहुँदो रहेछ सिर्जनाको स्वादमा । समान छौँ भावनामा । निकट छौँ सिर्जनामा । तन धन केही हुन्न मन मिलेपछि ।
‘रैनबसेरा’ घटना हो एक साँझको क्याप्टनसापको । फाल्गुन अठार त्रिपन्न सालको । प्रकाशित भएको छ तीन वर्षपछि । माघ–चैत अङ्कमा ‘नेपाली’को । सम्पादकको टिप्पणी छ लेखभन्दामाथि । कथा, कविता नछाप्ने नियम छ नेपालीको भन्ने । क्याप्टेनसापले संस्मरण भनेर लेखे पनि उत्कृष्ट कथा भएको तर पन्छाउन मनले नमानेको उल्लेख सम्पादकको । भए पनि छापिएको छ तीन वर्षपछि । देखाउँछ यसले साहित्य र प्रकाशनको समस्या ।
वीरगन्ज पुगेँ फेरि पचपन्नको पुसमा । सम्मान नै गऱ्यो पूर्वजानकारीबिनै । वीरगन्ज साहित्य परिषद्ले कार्यक्रममा । समूहमा थिएँ त्यतिबेला स्रष्टाहरूको । छुट्टिएर जान सकिनँ क्याप्टेन सापको कमला सदनमा । अन्तिम दिन थियो कार्यक्रमको । चियानिम्तो गर्नुभो घरमा । रिक्सा चढेर पुग्यौँ धरणीधर कोइराला र म । भेटिनुभो रमेश गोर्खाली पनि बाटामा । पुग्यौँ तीन भाइ मिलेर । साथीहरू सबै गएका थिए कलैया । सक्रिय हुनुहुन्थ्यो साहित्यमा । विशेषता थियो घुलमिल हुने सबै पुस्तासँग ।
कार्यक्रम गरेका थियौँ सारांश नेपालबाट । सम्मान थियो चाइनिज कवि चङ चको । काठमाडौँ किचेन ,जमलमा । वर्ष चलिरहेको थियो छपन्नको । आउनुभाथ्यो क्याप्टेनसाप पनि । गाह्रो भएछ कार्यक्रमका बीचमा नै । निस्कनुभो नभनी कसैलाई । जानुभएछ ट्याक्सी चढेर । भइरहन्थ्यो त्यसपछि पनि भेट फाटफुट मात्र । भइरहन्थ्यो कुराकानी भने सधैँ ।
लामै फोन गर्नुहुन्थ्यो प्रायः शनिबार । वीरगन्ज हुँदा लामो हुन्थ्यो अझै । कुरा हुन्थ्यो साहित्यका वरिपरि नै । भनिरहन्थ्यो जयजी र म ,प्रकाशित संस्मरणहरूको सङ्ग्रह निकाल्न । गर्नुभएन हतार कहिल्यै । पाण्डुलिपि लिएर मात्र आउनुपर्छ काठमाडौँ । भन्यौँ पटकपटक पनि । ढिलो गरेर आउनू बरु । हुनुपर्छ पाण्डुलिपि भनेर । भन्थे बलै गरेर म । हाँस्नुहुन्थ्यो जहिल्यै । भन्नुहुन्थ्यो अनि –शुभचिन्तक हुनुहुन्छ तपाईँहरूजस्तो । मरेपछि म, निकालिहाल्नुहुन्छ नि पुस्तक ।
दुःख लाग्छ अहिले पनि । सार्थक हुन सकेन उहाँको विश्वास । कुरा भएकै छ । मिलेको छैन संयोग भनौँ । गुन्जिरहन्छ अहिले पनि विश्वासको बोली क्याप्टेनसापको । निस्कन्छ अवश्य । होला मात्र ढिलो चाँडो । ‘लाहुरेको डायरी‘ मा हुनेछ नाम क्या. जनकबहादुर राणा ।
भन्नु पनि भाथ्यो, सम्पादन पनि गरिसकेको धेरै रचनाको । सोध्नु पनि भएको थियो बेला-बेलामा । सहभागी भएको कार्यक्रमको । आयोजकको नाम । वक्ताहरूको नाम । भएको मिति ।
कार्यक्रम चलाउँथे इमेज एफएममा । जस पनि छ पहिलो साहित्यिक कार्यक्रम चलाउनेको ‘सारश्वत’ । गरेको थिएँ कुराकानी क्याप्टेनसापसँग पनि । आउनुभाथ्यो स्टुडियोमा नै । फोटो खिचाउनुभाथ्यो प्राविधिक मित्रलाई । दिनुभो एकप्रति मलाई । लेख्नुभाथ्यो फोटोपछाडि कविता –
सम्झना बिर्सनाको एक साँझ – श्रीओमजीको साथ
जीवन यात्रामा सगैँ हिँडेका सहयात्रीहरू
केही ओझेलिए यात्रापथमा पर्ने अन्धो घुम्तीहरूमा
केही बिसाए साँघुरा अँध्यारा गल्लीहरूमा
केही अन्तरङ्ग भएका गन्तव्यमा पुगेर बिछडिए
भैदिए को कहाँ को कता
र छाडेर गए स्मृतपटलमा
गाँठो पारेर गए मर्मस्थलमा
केही सम्झना केही करुण कथा
जीवन यात्रापथमा सगैँ हिँडेका सहयात्रीहरू
हृदयहीन सहयात्रीहरू ।
–२०५७ महाअष्टमी
समाचार वाचन सुरु गर्थेँ छ बजे । साढे छ मा मात्र बज्थ्यो कान्तिपुरमा । सुरु भएको थिएन अरू एफएममा । सुरु गरेँ ‘आजको सन्दर्भ ’। समसामयिक विषयमा नेताहरूसँग । अन्तर्वार्ता लिन्थे प्रत्यक्ष फोनबाट । आइसकेको थिएन मोबाइल । गाह्रै हुन्थ्यो सम्पर्क गर्न नेता दैनिक । नियमित स्रोता हुनुहुन्थ्यो क्याप्टेनसाप । प्रशंसा गर्नुहुन्थ्यो प्रश्न र आवाजको । प्रतिक्रिया दिनुहुन्थ्यो हरेक दिन ।
कविगोष्ठी थियो रेयुकाई नेपाल ,पाटनमा । अगाडि थियो साझा प्रकाशनको । कविहरू निम्त्याको थिएँ संयोजकको नाताले । हुनुहुन्थ्यो क्याप्टेनसाप पनि । प्रतियोगिता थियो विद्यालयस्तरीय कविताको । सन्दर्भ थियो अन्ताराष्ट्रिय स्वयं सेवा दिवसको । पुस अठार गते चौवन्न सालको । आमन्त्रण गरेँ निर्णायकमा । खुसी हुनुहुन्थ्यो एकपटक कवि र अर्कोपटक निर्णायक हुँदा । लेख्नुभो संस्मरण नै । ‘किस्सा प्रायश्चित्तको’ शीर्षकमा । छापियो समष्टि २०५५ मा । मिलाएर लेख्नुभाथ्यो मेरा बानीको बारेमा । दिनुभाथ्यो पत्रिकामा लेखेर ‘परम मित्र श्रीओम श्रेष्ठ ‘रोदन’ ज्यूमा नरिसाएर पढिदिने आग्रहसहित समर्पण ।’
तीक्ष्ण थियो संस्मरणशक्ति । लेख्नुहुन्थ्यो संवादसमेतको घटना । पढ्दा संस्मरण हुन्थ्यो चित्र हेरेजस्तो । जान्नुहुन्थ्यो नेपाली, अङ्ग्रेजी, हिन्दी र बङ्गाली भाषा । सिपालु हुनुहुन्थ्यो शब्द प्रयोग गर्न । जोडिन्थ्यो सन्दर्भको पनि सन्दर्भ । सक्नुहुन्नथ्यो लेख्न छोटो । हुन्थ्यो संस्मरण लामै जुनै ।
सम्बन्ध मित्रताको मात्र थिएन । बनिसकेको थियो पारिवारिक नै । चलिरहन्थ्यो आउने जानेक्रम घरमा । गर्नुहुन्थ्यो विश्वास हामीलार्ई । भन्नुहुन्थ्यो नभन्नुपर्ने कुराहरू पनि ।
गाल्दै लगेको थियो चिनीरोगले । लेजर गराउनुभाथ्यो पटक-पटक । नदेख्ने भएपछि राम्रोसँग आँखा । लगाउनुपर्थ्यो इन्सुलिन हरेक दिन । लड्नु पनि भयो एकपटक नमजाले । निस्कन सक्नुभएन बाहिर राम्रो नदेख्ने भएपछि । गरिरहनुहुन्थ्यो फोन साहित्यकारहरूसँग । सुनाउनुहुन्थ्यो कुरा गरेँ योयोसँग भनेर । सोधिरहनुहुन्थ्यो गतिविधि साहित्यको ।
गयौँ पटकपटक भेट्न उहाँलाई घरमा । हुन्थ्यौँ जयजी र म । केहीपटक मदन दाइ, पुष्पजी र अन्यसँग पनि गयौँ । निर्मोही व्यास सरसँग गएँ एकपटक ।
बढ्दै गएको थियो अस्वस्थता । भर्ना नै हुनुपऱ्यो टिचिङ अस्पतालमा । बन्नुभो कमजोर । देखिन्थ्यो शिथिल । गर्नुभएन कहिल्यै डरको । बलियो थियो थियो आत्मविश्वास ।
भर्ना हुनुभो बी एन्ड बी अस्पतालमा । फोन गऱ्यो विशालले । भन्नुभएको बाबाले भनेर । पुग्यौँ हामी खबर पाउनासाथ । हुनुभो खुशी अनि भन्नुभो – ‘तपाईँहरूसँग भेटघाट गर्न मन लागेर खबर गर्न लगाएको ।’
गलिसक्नुभएको थियो निकै । गर्नुभो कुरा आफैले आशा मारेजस्तो । विवाह गराउनुभो एक मात्र छोराको हस्पिटल हुँदै । भर गर्नुभएन समयको । गर्नुभो हतार । लड्डु खुवाउनुभो हस्पिटलमै खुसीयालीको भनेर ।
खुसीको लड्डुले भेट गराएन त्यसपछि । बन्यो अन्तिम भेट अस्पतालकै । खबर आयो दुःखद भाइटीकाको राति साठीसालमा । जानुभएछ एक्लै छोडेर सबैलाई ।
मित्रता थियो हार्दिक । कुरै भएन बिर्सन सक्ने । सम्बन्ध थियो अक्षरको । कुरै भएन मेटिने । गुन्जिरहन्छन् कानमा संस्मरण युद्धभूमिका । कसले पो बिर्सला र लाहुरेको डायरीलाई । सम्झने नै संस्मरणले हो क्याप्टेन जनकबहादुर राणालाई । समय धेरै होइन साहित्यमा लागेको । गर्नुभो धेरै । पाउनु पनि भो धेरै भन्छु ।
श्रद्धाञ्जलि होइन सलाम भन्छु । सम्झने थोरै होलान् बन्दुक बोक्ने क्याप्टेन भनेर । धेरै छन् नबिर्सने क्याप्टेनको कलम भनेर ।
त्यही राति उहाँले भातको सट्टामा रोटी खानुभएको थियो सुगर भएकाले । अन्ततः त्यही सुगरले जित्दै-जित्दै उहाँलाई हरायो २०६० को भाइटीकाको राति ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।