सन् २०११ मा एउटा पाकिस्तानी ट्रेनर (स्रोत व्यक्ति) को ‘संवाद कौशल सेमिनार’मा सहभागी हुने अवसर थियो। पाँच तारे होटलमा आयोजित उक्त सेमिनारमा विविध क्षेत्रका मानिसहरूको उत्साहजनक उपस्थिति थियो। केही नयाँ कुरा सिक्ने उद्देश्यका साथ आएका ती सहभागीहरू एक अर्काप्रति अपरिचित थिए। त्यसैले सबै आ-आफ्नै समूह बनाएर बसेका थिए। यस्तोमा हामी अपवाद हुने कुरै भएन। सेमिनारको सुरुवाती चरणमा स्रोत व्यक्तिमार्फत एउटा कार्यका लागि निर्देशन प्राप्त भयो। सो कार्य थियो, ‘सेमिनारमा उपस्थित जतिसक्दो धेरै व्यक्तिहरुसँग छोटो चिनापर्ची, अन्तरक्रिया गर्नुपर्ने। एकअर्काका बारेमा संक्षिप्त जानकारी लिनुपर्ने र सम्पर्क नम्बर पनि सेयर (आदनप्रदान) गर्नुपर्ने।’ यस कार्यका लागि १० मिनेट समय अवधि दिइएको थियो।

निर्धारित समय सकियो। सेमिनारमा उपस्थित अधिकांशले त्यस कार्यलाई गम्भीरतापूर्वक लिएका थिएनन्। अझ यसो भनौँ, त्यसो गर्न संकोच मानेका थिए। असहज महसुस गरेका थिए। आफ्नो सुरक्षा घेराभन्दा बाहिर कोही जानै चाहेका थिएनन्। तोकिएको समयावधिभरि आफ्नै समूहका साथीहरुसँग गफिनमा नै मस्त रहे। सेमिनारमा उपस्थित निकै कमले मात्र दिइएको कार्यलाई गम्भीरतापूर्वक लिएर नयाँ व्यक्तिसँग अन्तरक्रिया गर्न मात्र होइन, सम्पर्क नम्बर समेत सेयर गर्न सफल भएका थिए। आखिर के कारण सेमिनारमा उपस्थित सबैले दिइएको कार्यलाई प्रभावकारी रुपमा सम्पन्न गर्न सकेनन्? किन ती सहभागीहरू नयाँ व्यक्तिसँग अन्तरक्रिया, चिनापर्ची गर्न तयार भएनन्? यसको सिधा उत्तर हो- लजालुपन अर्थात् लाज।

लाज के हो?
नयाँ व्यक्ति/मानिसको उपस्थितिमा अनुभूत हुने दकस, डर, असुरक्षा र असहजता वा अप्ठ्यारोपनलाई लाज/लजालुपन भनिन्छ। विशेषतः यो खाले अनुभूति नयाँ परिस्थितिमा रहँदा र अपरिचित व्यक्तिसँग रहँदा, संवाद गर्नुपर्दा उत्पन्न हुने गर्छ।

आत्मविश्वास कम भएका व्यक्तिहरुमा देखिने प्रमुख विशेषताहरूमध्ये अत्यधिक लजाउनु, शर्म मान्नु पनि एक हो। लजालु स्वाभावका व्यक्तिहरुमा अरुले के भन्लान्, अरुबाट आलोचित, अस्वीकृत र अपमानित हुनुपर्ने पो हो कि भन्ने डर हुन्छ। यही कारण उनीहरू आफूले भन्न चाहेका कुराहरू भन्दैनन्। मौन बसिदिन्छन्। त्यसैगरी उनीहरू आफूले गर्न चाहेका कुरा पनि गर्दैनन्। निष्क्रिय अवस्थामा बसिदिन्छन्।
लाज विभिन्न क्षेत्रमा रहँदा अनुभूत गर्न सकिन्छ। केहीबारे संक्षेपमा चर्चा गरौँ।

पहिलो, स्कुल जीवनमा अनुभूति हुने लाज। विद्यार्थी भाइबहिनीहरू आफू एक सामान्य सरकारी स्कुलमा पढ्नु पर्दा र सँगैका साथीहरू भने महङ्गो र प्रतिष्ठित प्राइभेट स्कुलमा पढेको देख्दा लाज अनुभूत गर्न सक्छन्। त्यसैगरी उनीहरू उच्च ग्रेड ल्याउन नसकेको अवस्थामा, साथीहरूको तुलनामा पुरानो लुगा र जुत्ता लगाउनु परेको अवस्थामा पनि लाज अनुभूत गर्न सक्छन्।

दोस्रो, व्यवसायमा अनुभूति हुने लाज। व्यवसाय एक्लैको प्रयासमा चलाउन सकिने कुरा होइन। मार्केटिङ, सामूहिक कार्य, सहकार्य आदिको आवश्यकता हुन्छ नै। यद्यपि कतिपय व्यवसायीहरू स्वयं मार्केटिङमा जुट्न, समूहमा घुलमिल हुन र सहकार्यका लागि प्रस्ताव राख्न अग्रसर हुँदैनन्। लाज अनुभूत गर्छन्।

तेस्रो, प्रेम-सम्बन्धमा अनुभूति हुने लाज। कतिपय जोडी प्रेम-सम्बन्धमा रहेको निकै लामो समय भइसक्दा पनि सार्वजनिक स्थानमा हात समातेर हिँड्न, अँगालो मार्न र चुम्बन गर्न हिम्मत गर्दैनन्। अति नै लाज अनुभूत गर्छन्। त्यसैगरी कतिपय प्रेमी वा प्रेमिकाहरू आफ्नो पार्टनर आकर्षक नभएको हुनाले वा अरु कुनै कारणले गर्दा साथीभाइ एवं परिवारमाझ परिचित गराउन तयार हुँदैनन्। औधी लाज मान्ने गर्छन्।

चौथो, सामाजिक जीवनमा अनुभूति हुने लाज। समाजमा सबै मानिसहरुको एकै खाले हैसियत हुनै सक्दैन। उनीहरू समान जीवनस्तरमा बाँचेका हुँदैनन्। कोही उच्च सामाजिक पद प्रतिष्ठामा रहेका हुन्छन् भने कोही गुमनाम। यस्तोमा गुमनाम रहन बाध्य मानिसहरू प्रतिष्ठित मानिसको निकट रहनुपर्दा दकस मान्छन्। लाज अनुभूत गर्छन्।

लाजको प्रभाव
लाजको प्रभाव नकारात्मक नै हुन्छ। कुनै पनि कोणबाट यसको प्रभाव सकारात्मक मान्न सकिँदैन। मुख्यतः आम मानिसको जीवनमा देखिने केही नकारात्मक प्रभावहरू यस किसिमका हुन सक्छन्:

प्रभाव एक, सीमित गुणवत्ता साथी। धेरै लजाउने व्यक्ति समूहमा टिक्न सक्दैन। कसैसँग पनि प्रभावकारी संवाद गर्न सक्दैन वा जान्दैन। सशक्त संवाद गर्न सके न सम्बन्ध स्थापित हुने हो ! त्यसैले धेरै लजाउने व्यक्ति नयाँ व्यक्तिसँग भावनात्मक सम्बन्ध जोड्न जोड्न सक्दैन। अर्को शब्दमा भन्नुपर्दा गुणवत्ता साथी बनाउन असक्षम रहन्छ। त्यसैगरी धेरै लजाउने व्यक्ति आत्मविश्वासी भएर अरुसामु आफ्नो वास्तविक व्यक्तित्व प्रस्तुत गर्न सक्दैन, जसकारण कोही पनि व्यक्ति साथी बन्नका लागि इच्छुक, आकर्षित हुँदैनन्।

गुणवत्ता साथीको सङ्गतले खुसीको स्तर बढाउन ठूलो भूमिका खेल्छ। यस तथ्यबाट लजालु व्यक्तिको खुसीको स्तर कम रहन्छ भन्ने प्रस्ट बुझ्न सकिन्छ।

प्रभाव दुई, सीमित व्यवसाय अवसर। एकल प्रयासमा व्यवसायको जग खडा गर्न सकिँदैन। यसर्थ मस्तिष्कमा कुनै नयाँ व्यवसाय गर्ने आइडिया या सोच उत्पन्न भएको खण्डमा सबैभन्दा पहिले अन्जान व्यक्तिलाई होइन, नजिकको साथीलाई भन्नु उचित रहन्छ। तर यसो नगरी प्रतिफलको ठूलो भाग खाने लोभमा एक्लै अगाडि बढ्ने निर्णय गरियो भने ? व्यवसाय चाँडै सुरुवात गर्न सकिएला, तर त्यसलाई गति दिन भने सकिँदैन। केही क्षणिक र व्यक्तिगत फाइदाहरू होलान्, तर सन्तुलित रुपमा व्यवसायिक गतिविधि चलाउन भने सकिँदैन। कुनै पनि बेला बन्द गर्नुपर्ने अवस्था आइलाग्न सक्छ। यस्तोमा व्यवसाय पूर्ण रुपमा फस्टाउन, दीर्घकालीन रुपमा जान सक्ने सोच्नु मुर्खता हो। त्यसैले गुणवत्ता, क्षमतावान् र शुभेच्छुक साथीभाइको साथ, सहयोग र सहकार्यको आवश्यकता पर्छ। यद्यपि लजालु व्यक्तिको हकमा न गुणवत्ता साथीको संख्या ठूलो हुन्छ न ऊ अरु व्यक्तिलाई मित्रताको हात बढाउन सक्षम रहन्छ। यसैकारण लजालु स्वाभावको व्यक्तिलाई साथीसँग नयाँ व्यवसायका अवसरहरूबारे, सहकार्यका सम्भावनाहरूबारे गहन अन्तरक्रिया गर्ने उचित वातावरण नै सिर्जना हुन सक्दैन। आवश्यक साथ र सहयोग मिल्ने त झन् निकै टाढाको कुरा हुन जान्छ।

प्रभाव तीन, असफल प्रेम सम्बन्ध। प्रेम-सम्बन्धमा आत्मविश्वास, सत्यता लगायत हास्य हेरिन्छ न कि लजालुपन। सामान्यतः महिलाहरूले पुरुषमा हेर्ने भनेको यिनै विशेषताहरू हुन्। उनीहरू अत्यधिक लजाउने पुरुषप्रति कत्ति पनि आकर्षित हुन सक्दैनन्। प्रेम-सम्बन्ध स्थापित गर्ने पक्षमा राजी हुँदैनन्। त्यसैगरी अत्यधिक लजाउने व्यक्तिको वास्तविक व्यक्तित्व पहिचान गर्न निकै कठिनाइ हुन्छ। यस्तो स्वभावको व्यक्तिसँग सजिलै घुलमिल हुन नसकिने हुँदा शंका गर्ने ठाउँहरू प्रशस्तै हुन्छन्। यसको बाबजूद पुरुष र महिला प्रेम-सम्बन्धमा जोडिए पनि निकट भविष्यमा अनेकन् असमझदारीहरू सतहमा आउन सक्छन्। जसकारण ती दुई अलग हुन पुग्छन् अथवा ती दुईको प्रेम-सम्बन्धमा सधैँका लागि पूर्णविराम लाग्न सक्छ।

लाज हटाउने विधि
विगतमा लजालु हुनुको अर्थ बाँकी जीवनभर उत्तिकै लजालु हुनुपर्छ भन्ने होइन। अबको बाँकी जीवनमा बहिर्मुखी व्यक्तित्वको विकास गरेर जिउन पनि सकिन्छ। अत्यधिक लजालुपन व्यक्तिगत विकास र प्रगतिको बाधक हो। यसबाट उन्मुक्त रहेर प्रगतिशील बाटो हिँड्नका निम्ति, जस्तोसुकै लाज पचाउन पनि निम्नानुसारको विधिहरू अवलम्बन गर्न सकिन्छः

आत्मछवि हटाउने
कुनै पनि व्यक्ति जन्मजात रुपमै लजालु हुन सक्दैन। अनुसन्धानले पनि लजालुपन पूर्ण रुपमा आनुवांशिक नभएको पुष्टि गरेको छ। बाल्यकालमा उपलब्ध हुने वातावरणको पनि प्रमुख भूमिका रहन्छ। सो वातावरणमा रहँदा कस्तो खाले धारणा, मनोविज्ञान र आत्मछवि विकास गरिन्छ, त्यही कुराले कुनैपनि व्यक्ति कत्तिको लजालु हुने भन्ने निर्धारण गर्छ। त्यसैले म लजालु स्वभावको छु, मेरो व्यक्तित्व प्रकार नै लजालुपन हो, म अन्तरमुखी छु, कुनै पनि अवस्थामा बहिर्मुखी हुन सक्दिनँ भन्ने जस्ता आत्मछवि त्याग्नु बुद्धिमानी रहन्छ।

नयाँ समूहमा जोडिने
एक्लो, एकलकाँटे रहँदा लजालुपन झन् धेरै बढ्दै र मजबुत हुँदै जान्छ। लजालुपन पूर्ण रुपमा हटाउन उपयुक्त वातावरण सिर्जना हुँदैन। त्यसैले एक्लै रहनु लजालुपनको उचित उपचार, समाधान होइन। यस्तोमा समूहमा जोडिनुको विकल्प छैन। यसका लागि मिटअप ग्रुपमा आबद्ध हुन सकिन्छ। सन् २०१७ को तथ्याङ्कअनुसार विश्वभरि २,२५,००० मिटअप ग्रुप सक्रिय रहेका छन्। अहिले यसको संख्या झन् धेरै भइसकेको छ। यस्तोमा आफूलाई उपयुक्त लाग्ने मिटअप ग्रुपमा संलग्न हुने गर्नोस्। आफ्नो सोचविचार खुलस्त रुपमा प्रस्तुत गर्ने गर्नोस्। यसो गर्नाले लजालुपन हटाउने प्रक्रियामा ठूलो मद्दत मिल्छ। त्यसैगरी लजालुपन हटाउन टोस्टमास्टर्स पनि उत्तिकै उपयुक्त माध्यम हुन सक्छ। टोस्टमास्टर्समा आबद्ध भएपछि संवाद कौशल एवं नेतृत्व क्षमता अभिवृद्धि गर्न सकिन्छ। लजालु हुन छाडेर बहिर्मुखी स्वभावको हुँदै गइन्छ। त्यसैगरी लजालुपन हटाउन विभिन्न क्लब र बारमा प्रवेश गर्न सकिन्छ। ठूलठूला संस्थामा आबद्ध भएर काम गर्न सकिन्छ। क्लब, बार तथा ठूलठूला संस्थामा सामूहिकीकरणको लागि पर्याप्त अवसरहरू प्राप्त हुन्छन्। परिणामस्वरूप लजालुपन हटाउँदै जान सकिन्छ।

स-साना सुरुवाती कदम चाल्ने
लजालुपन एकैपटक हटाउन सकिँदैन। स-साना सुरुवाती कदम चाल्ने गर्नुपर्छ। उदाहरणार्थ, कार्यक्षेत्रमा उत्पन्न हुने लजालुपन लिऊँ। मानौँ, तपाईँ कुनै एउटा प्रतिष्ठित संस्थामा कार्यरत हुनुहुन्छ। मानौँ, तपाईं सबै सहकर्मीसँग अन्तरक्रिया गर्ने क्रममा अत्यधिक लजाउने गर्नुहुन्छ । यही कारण तपाईंले गर्ने कार्य प्रभावकारी नहुन सक्छ। यस्तोमा एउटा विधि अवलम्बन गर्न सकिन्छ। त्यो हो, स-साना सुरुवाती कदम। यस क्रममा कुनै एक सहकर्मी छनोट गर्नोस्। ऊसँग छोटो संवाद गर्नोस्। खाजा खाने समयमा सँगै खाजा खाने गर्नोस्। कहिलेकाहीँ कार्यक्षेत्र बाहिर पनि चिया गफ, खानाको लागि प्रस्ताव राख्नोस्। अनि सहकर्मीको मनोभाव बुझेर आफ्नो धारणा राख्नोस्। यसो गर्नाले त्यस व्यक्तिसँग अन्तरक्रिया गर्दा उत्पन्न हुने लजालुपन हट्दै जानेछ। त्यसपछि अरु सहकर्मीमा पनि यही विधि प्रयोग गर्नोस्। केही सहकर्मीहरूसँग अन्तरक्रिया गर्दा उत्पन्न हुने लजालुपन पूर्ण रुपमा हटेपछि उनीहरूसँग सामूहिक अन्तरक्रियाको लागि पहल गर्नोस्। यस पश्चात् तपाईंको लागि लजालुपन कहिल्यै पनि समस्याको रुपमा यथावत् रहँदैन।

सिधा सामना गर्ने
लाजको अनुभूति लुकाएर वा त्यसबाट टाढा भागेर होइन, सिधा सामना गरेर मेटाउन सकिन्छ। यसको लागि केही व्यावहारिक अभ्यासहरूमा सामेल हुन सकिन्छ। यदि तपाईं अति लजालु हुनुहुन्छ भने बिना निम्तो अपरिचित व्यक्तिको बिहे भोजमा जानुस्। नवविवाहित जोडीलाई बधाई दिनुको साथसाथै टन्न खाएर पनि घर फर्कनुस्। कसले के भन्छन्, के भने त्यसबारे एकछिनको लागि भुलिदिनुस्। त्यसैगरी तपाईं एउटा अर्को अभ्यासको रुपमा गर्भनिरोधका गोली, साधन किन्न सक्नुहुन्छ। सुरु सुरुमा असहज लाग्न सक्छ। सिधा गएर किन्न सक्नुहुन्न भने कयौँ पटक क्लिनिकको बाटो हिँड्नुस्। उपयुक्त समय कुर्नुस्। आफूलाई सहज लाग्ने वा टाढाको क्लिनिक छनोट गर्नोस्। आवश्यक परे मास्क प्रयोग गरेर गर्भनिरोधका साधन खरिद गर्न जानुस्। एकदुई चरणको अभ्यासपश्चात अब मास्क बिना विपरीत लिङ्गी रहेको क्लिनिकमा गएर आत्मविश्वासका साथ गर्भनिरोधका साधन किन्ने कोसिस गर्नोस्। त्यसैगरी अर्को व्यावहारिक अभ्यास रुपमा नग्न अवस्थामा रहन सकिन्छ। यदि तपाईंलाई शरीर देखाउन लाज लाग्छ भने छोटो भन्दा छोटो कपडा लगाउने गर्नोस्। अभ्यासलाई चरम बिन्दुमा लैजान चाहनुहुन्छ भने नाङ्गै हिँडडुल गर्नोस्। जब तपाईं यस प्रकृतिका व्यावहारिक अभ्यासहरू निरन्तर गर्न सक्नुहुन्छ, तपाईंमा लाजको कुनै अवशेष बाँकी रहने छैनन्।