 
			
			
			
			
			
			“यो यात्रा पनि टुङ्गिने अवस्थामा छ
एउटा भोलि टुङ्गिनेछ अर्को चार दिनपछि
जीवनको यात्रा लामो हुन्छ यो त यात्राभित्रको यात्रा हो
नटुङ्गिने कुरै भएन जीवनयात्रा पनि त टुङ्गिन्छ एक दिन ! ” (पृष्ठ १३२ )
अन्ततः अमेरिकामा ४३ दिन पुस्तक भरखरै पढेर सकेँ । यो नितान्त यात्रा अनुभवको पुस्तक हो ।
आख्यानकार एल.बी. सरको अमेरिकाको पारिवारिक भ्रमणको बारेमा केन्द्रित रहेर यो किताबको अन्त्य भएको छ । जीवनमा हरेक जो कोहीले यात्राको थालनी गरेकै हुन्छन् । तीमध्ये कमैले मात्र आफ्नो यात्रा अनुभूतिलाई किताबको आकार दिन सफल हुन्छन् । यस अर्थमा एल.बी. सर सफल हुनुभएको छ । ४३ दिनको अमेरिका बसाइका सन्दर्भमा केही रोचक र रमाइला प्रसङ्गहरू, सरका विद्यार्थीसँगको भेट, अमेरिकाको भौगोलिक सुन्दरताको बयान, अमेरिकी जीवनशैली, मेसिन जस्ता मानिस, सुन्दर भविष्य निर्माणका लागि मानिसका भागदौड, केही मिठा पल, केही खुशी र उमङ्गका क्षण, केही गुनासो, केही अप्ठ्यारो, थोरै आत्मीयता, धेरै बनावटी हार्दिकता, अमेरिका भ्रमणका नौलो अनुभवबारे सरले यस किताबमा उल्लेख गर्नुभएको छ ।
“भूपेन्द्रको फोन आउँदा निकै हल्ला गरेर आएको प्रसन्नता केही नबोली सुटुक्क प्रस्थान गर्न खोज्दा म फिस्स हाँसेको मात्र थिएँ । अब उनको फोन कहिल्यै आउँदैन भन्ने मलाईभन्दा बढी मेरो मनोविज्ञानलाई थाहा थियो । मेरा ओठमा रहस्यमय मुस्कानले स्थान लियो । अमेरिकामा बसुन्जेल भूपेन्द्रको मात्र होइन फोन गर्छु भनेका धेरैको फोन आएको थिएन ।”
जब जिन्दगीमा हामीले अरूमाथि चाहेको भन्दा बढ्ता अपेक्षा राखिन्छ, तब आफूले अपेक्षा गरे अनुसारको नतिजा नआउन पनि सक्छ । किनकि संसारमा एउटै कुराको अपेक्षा निश्चित छ, त्यो हो “मृत्यु” । मृत्युबाहेक सबै कुरा अनिश्चित छ । हामीले राखेका अपेक्षाहरू आफू अनुकूल नहुन पनि सक्छ । अमेरिकामा एल.बी. सरलाई यस्तै भएको छ । सरले अपेक्षा गरेका नजिकका मान्छेहरूबाटै सरको अनुरोधलाई उपेक्षा भएको छ । फोन गर्छु भनेर आश्वासन दिएर फोनसमेत नगर्नेहरू भेटिए । यो कुराले सरलाई केही हदसम्म निराश बनायो । यसबाट शायद सरले जिन्दगीमा ठूलो सिकाइको अनुभव लिनुभयो होला ।
भनिन्छ “गुँद पनि धेरै खायो भने तीतो हुन्छ ।” जब पाहुना बस्न गएकाहरू निर्धक्क पाहुना भएर बसिदिन्छन् तब अतिथि सत्कार गर्ने पक्षलाई निकै झर्को लाग्छ सक्छ । जसकोमा पाहुना बस्न गएको हो उसलाई यस्तो लाग्नु स्वाभाविक पनि हो । अनि त अनेकौँ बहानाहरू उब्जिन्छन्, हुँदै नभएको व्यस्तताहरू एक्कासि तय हुन्छन् र पाहुनालाई समय दिन नसकिने अवस्थाको सिर्जना हुन पुग्छ । त्यसमाथि अमेरिकाको व्यस्त जीवनमा आफ्ना सबै कामकाजलाई छोडेर पाहुनालाई घुमाउन समय दिनु ठुलै चुनौती पनि हुन्छ । कहिलेकाहीँ सम्बन्धको हिसाबले अनुरोधलाई सिधै नकार्न सकिन्न । मुखले स्वीकार गरे तापनि भित्री मनले नकारिरहेको हुन सक्छ । यस्ता कुरालाई हामी आफैँले बुझेर त्यो अनुसारको निर्णय लिनु उपयुक्त हुनेछ ।
“मीना म्याम पहिलोपटक पौडी खेल्ने पहिरनमा हुनुहुन्थ्यो । छर्लङ्ग साँप्रा देखाउनुपरेकोमा एकछिन लजाएर मलाई हेर्नुभयो । मैले भनेँ- ‘पौडी खेल्ने लुगामा राम्री देखिएकी छौ । तिम्रा साँप्रा राम्रा छन् । लाज मान्नुपर्दैन । यो अमेरिका हो ।” (पृष्ठ -६९)
एल.बी. स्टाइल भन्दैमा आफ्नै धर्मपत्नीलाई यस किसिमले प्रस्तुत गर्नु कतिसम्म उचित होला ? मेरो हकमा मलाई मन परेन । मन परेन त परेन ।
मीना म्यामको स्वभाव अनुसार उहाँलाई यसरी प्रस्तुत गर्नु उहाँको व्यक्तित्वमाथि अभद्रता लाद्नु हो जस्तो लाग्छ । शायद किताब लेख्ने बेलामा यो प्रसङ्गबारे म्यामलाई जानकारी गराइएको हुन्थ्यो भने म्यामले सहमति जनाउनु हुन्थेन होला ।
पुस्तक विमोचनका क्रममा कवि सामना पहाडले साँप्राको बारेमा आफ्नो असहमति सहितको विचार राख्नुभएको थियो । सरले ‘यो एल.बी. स्टाइल हो‘ भनेर सुझावलाई स्वीकार्न सक्नु भएन ।
त्यस्तै नियात्राकार तथा सफल व्यवसायी जीवा लामिछानेले पनि “अमेरिका जस्तो देशमा जहाँ मान्छेलाई एक अर्कालाई हाई भन्नेसम्मको समय अभाव रहन्छ । त्यस्तो ठाउँमा भ्रमणमा गएकालाई नजिकका प्रियजनहरूले आफूलाई समय दिएनन् भन्नू उचित होइन” भन्ने मत जाहेर गर्नुभएको थियो ।
एल.बी. सर जत्तिको सर्जकलाई अमेरिकामा होटेलमै बस्दा पनि त्यति धेरै आर्थिक चुनौती हुँदैन भन्ने मेरो ठहर हो । अमेरिका जाँदा दश हजार डलर साटेर लैजानु भएको सरले म्याडमको साथमा अमेरिका ४३ दिन घुमेर अस्ट्रेलिया फर्किँदा अझै उहाँसँग चार हजार डलर बाँकी नै रहेछ ।
नेपालबाट अमेरिका भ्रमणमा जाँदा सरले अमेरिकामा भेटिएका आफ्ना प्रिय विद्यार्थी, साथीभाइलगायत अमेरिकी नागरिकलाई मायाको चिनो स्वरूप प्रदान गर्नुभएको ऊनको सल, पुस्तक, चुरा, नेपाल घुम्न आउनुस् भन्ने लोगो सहितको सेतो टिसर्टको प्रसङ्ग अत्यन्तै लाभदायक देखियो । आफ्नो देशलाई चिनाउन सरले गर्नुभएको मेहनत प्रशंसायोग्य छ । यसलाई लेखक बसन्त बस्नेतले समाचार बनाएर पत्रिकामा नछापेको प्रसङ्ग बडो रमाइलो थियो । शायद सरले गरेको कार्य बसन्त बस्नेतलाई खासै ठूलो नलागेको हुनसक्छ या त उनको टिमले समाचार बनाउन उचित नठानेको हुनसक्छ । यसलाई सकारात्मक ढङ्गले लिन सकियो भने मनमा शान्ति मिल्नेछ ।
पुस्तकका मन परेका केही हरफहरू :
– जाने त गइहाल्छन् तर सम्झना छोडेर जान्छन्, तिनैको सम्झना ठाउँ ठाउँमा गार्डेन अफ पिस, गार्डेन अफ लबर, गार्डेन अफ होप लेखिएका बोर्डहरू थिए । मृतकहरूलाई गरिएको यो सम्मानलाई आँखा चिम्लेर मैले पनि मनमनै सलाम भनेँ । (पृष्ठ -१४२)
– संसारभरिका मान्छे के काला, के गोरा, के अफ्रिकन, के अमेरिकन, के नेपाली, सबैको प्राथमिकता खुशी प्राप्त गर्नु नै त हो । छोटो जीवनकालको एउटा उद्देश्य रमाइलो जीवन बाँच्नु नै त हो । (पृष्ठ – १४३)
– सम्बन्धबिना जीवन बाँच्न कठीन हुन्छ । किनकि जीवन नै सम्बन्ध हो । (पृष्ठ – १४९)
– कुनै कुनै खुशी यस्ता हुन्छन् जो पलभरमा प्राप्त हुन्छन् तर जिन्दगीभरिका लागि उपकार बनेर बस्छन् । (पृष्ठ – १५०)
– मेरो अनुभूतिलाई पुस्तकको आकार दिने प्रयास गरेको । फेरि पनि चाहेजस्तो पुस्तक बन्न सकेको छैन । तर त्यसको अफसोस छैन । जे बनेको छ एल.बी. शैलीको बनेको छ । पुस्तक आफ्नो खुशीका लागि लेख्ने हो र म खुशी छु । (पृष्ठ -१५१)
अन्तमा, एल.बी. सरले भाषा सम्पादन नगरेको कारण किताब जति स्तरीय बन्नुपर्ने थियो त्यो बन्न नसकेको महसुस गरेँ । केही ठाउँमा आमा तथा दिदीबहिनीमाझ उच्चारण गर्न असहज हुने किसिमका यौनलाई बिम्बको रूपमा प्रयोग गरिएका शब्द चयन अलि अपाच्य भयो कि ?
एल.बी. स्टाइल हो भन्दैमा सबै कुरा समाजले सहजै रूपमा स्विकार्छ भन्ने हुँदैन । आउने दिनहरूमा सरले यस विषयमा अलि ध्यान पुराउनुपर्ने देखियो । बाँकी कुरा पुस्तक पढ्दा रमाइलो, रोचक छ । पैसा असुल छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
 
					 
				 १४ कार्तिक २०८२, शुक्रबार
  
				१४ कार्तिक २०८२, शुक्रबार				

 




 
																	 
																	 
																	 
																	


