कवि एलबी क्षेत्रीको कवितासङ्ग्रह `को हो त्यो मान्छे ?´को गृह विमोचन गरिएको छ । द नारायणी रिसोर्ट गैँडाकोटमा एक कार्यक्रमका बिच कवि गोविन्दराज विनोदी, अरुण शर्मा, भूपिन, महेश पौड्याल र कवि क्षेत्रीले संयुक्तरूपमा कृति विमोचन गरेका हुन् ।

विमोचनपछि कृतिमाथि भूपिन र महेश पौड्यालले समीक्षात्मक टिप्पणी राखेका थिए । समीक्षकद्वयले क्षेत्रीका कवितामा समाज, मानवजीवन, राजनीति, दर्शन, लैङ्गिक समानता, यौन, प्रेमजस्ता सबैखाले विषयवस्तु समेटिएको बताए ।

कार्यक्रममा कविद्वय सरला जोशी र सुमन घिमिरेले कवि क्षेत्रीका कविता वाचन गरेका थिए । कार्यक्रमलाई सम्पूर्ण किताबका लेखराम सापकोटाले सहजीकरण गरेका थिए ।

कार्यक्रममा कवि क्षेत्रीले कविताको मर्म र लेखनका अनुभूति सुनाएका थिए ।

‘को हो त्यो मान्छे ?’ क्षेत्रीको छैटौँ कृति हो । पेज टर्नरबाट प्रकाशित पुस्तकको मूल्य २७५/- छ ।

यसअघि क्षेत्रीका त्रिशंकुको देशमा कथासङ्ग्रह, भीडमा हराएको मान्छे कवितासङ्ग्रह, इन्द्रमायाको देशमा कथासङ्ग्रह, व्रतभङ्ग कथासङ्ग्रह र अङ्ग्रेजी कविता र कथाको मिश्रितसङ्ग्रह द करिडर अफ सेन्सेस प्रकाशित छन् ।

निकट समयमा क्षेत्रीको संस्मरणसङ्ग्रह `अमेरिकामा ४३ दिन´ सार्वजनिक हुँदैछ ।