यात्रा संस्मरण नितान्त व्यक्तिगत अनुभूतिहरूको अभिलेख हो जसमा यात्राका क्रममा देखिएका, भोगिएका तथा महसूस गरिएका कुराहरू समेटिन्छन् । यसले यात्रुका भावना, सोच, अनुभव र त्यो स्थानसँगको सम्बन्धलाई प्रकट गर्छ । त्यसैले यात्रा संस्मरण कुनै स्थानको साधारण विवरण मात्र नभई लेखकको अन्तर्मनको यात्रा पनि हो ।

प्रत्येक पाइलाले नयाँ दृश्य मात्र देखाउँदैन, त्योभित्र कताकता दबिएर बसेका भावनाहरूलाई पनि जागृत गराउँछ । कहिले यात्राका बाटाहरूले हामीलाई बाल्यकालको सम्झनामा लैजान्छन्, कहिले तिनै उकाली ओरालीहरूले जीवनका आरोह अवरोहहरू सम्झाउँछन् । यात्रामा भेटिएका मान्छे, बोलिएका भााषाहरू अनि टाढाटाढाका गन्धहरूले हाम्रो मनमा अमिट छाप छोड्छन् । त्यसैले यात्रा संस्मरण लेखिँदा, त्यो केवल बाटो र गन्तव्यको वर्णन हुँदैन, त्यो त यात्रुका आँखाबाट हेरेको संसारको चित्र हो, जुन हृदयको क्यानभासमा कोरिन्छ । यो आत्माको ऐना हो, जहाँ लेखकले आफूलाई खोज्छ, सम्झन्छ र कहिलेकाहीँ पुनः पाउँछ ।

यात्रानिबन्धकार रञ्जु दाहालद्वारा लिखित “डोहोडोहो डोल्पो” २०८० फागुनमा प्रकाशित एक स्मरणीय कृति हो । यसभन्दा अघि उहाँको “प्रियसँगको यात्रा” नामक यात्रानिबन्ध सङ्ग्रह २०७५ सालमा प्रकाशित भइसकेको छ । जम्मा १५९ पानामा दशवटा शीर्षकहरूमा यात्रा संस्मरणहरू समेटिएका छन् । जसले पाठकहरूलाई हिमाली पहाडी भेग डोल्पोको भूगोल मात्र होइन, संस्कृति, समाज र आत्मासँगको गहिरो सम्पर्कको अनुभूति पनि दिलाउँछ । पुस्तकमा शुरूवातमै कताकता केही नमिलेको जस्ता नलागेको भने होइन । सिलसिला चुडिएको, प्रवाह टुटेको, अनि पढ्दै गर्दा मनलाई बाँध्न नसकेको अनुभूति भएको थियो । तर पढ्दै अघि बढ्दा बिस्तारै आफ्नो लेखनीको गुणस्तर कायम गर्न सफल रहे कृति र लेखक ।

पहिलो शीर्षक “त्यस पछि बजेन मोबाइल” ले नै पाठकको मनमा गहिरो कौतुहलता जगाउँछ । सामान्य रूपमा यात्रा गर्न निस्केको मान्छेलाई मोबाइल बजोस् कि नबजोस्, त्यति ठूलो कुरा नहुन सक्छ । तर जब यस शीर्षकको गहिराइमा पुगिन्छ तब महसूस हुन्छ – यो शीर्षक केवल प्रविधिको मौनतासँग होइन, एक विवाहित नारीको अन्तर्द्वन्द्व, उसका मनको गाँठो र सामाजिक बन्धनमाथि उसले गरेको विजयसँग जोडिएको छ । विवाहित नारीले घरको दैलो नाघेर, सबै जिम्मेवारी केही समयका लागि थाँती राखेर दशैँको बीचमा सिर्जनात्मक आत्मसन्तुष्टिका लागि यात्रा तय गर्नु कति सजिलो होला ? तर पनि उहाँले कुनै बहाना खोज्नुभएन, पाइलाहरू नरोकी अघि बढ्नुभयो । उहाँको त्यो आँट, त्यो निर्भीक निर्णय वास्तवमा आधुनिक नारी चेतनाको प्रतीक हो ।

तर एक अर्की होमस्टेकी साहुनीको कथा एउटी नारीको साहसको होइन, एक अन्तर्निहित बाध्यता र सामाजिक संरचनाको सम्झौताको कथा हो । लोग्नेले कान्छी स्वास्नी लिएर हिँडे पनि अझै त्यही लोग्नेसँगै बस्ने मन गर्नु, एउटा कथा मात्र होइन सिंगो समाजको ऐना हो, जहाँ नारी अझै पनि “केही छैन… सहनु पर्छ” भन्ने मानस्थितिमा बाँधिन बाध्य छन् ।

यस पुस्तकमा डोल्पाको भौगोलिक र सामाजिक परिवेशको गहिरो चित्र कोरिएको छ । आजको अत्याधुनिक एक्काइसौँ शताब्दीको उज्यालोमा उभिँदा पनि डोल्पाका शिक्षित अनुहारहरूमा धामीझाँक्रीको छाया टाँसिएको छ । त्यहाँका प्रथा र रीतिरिवाज हिउँ जस्तै चिसो भए तापनि, उनीहरूको जीवनमा आज पनि मौन रूपमा बगिरहेछ । अझ, यदि परपुरुषबाट कुनै स्त्री गर्भवती भइन् भने त्यो गर्भको सम्पूर्ण जिम्मा परपुरुषले नै बहन गर्नुपर्ने अचम्मको चलनले डोल्पाको समाजलाई आफ्नै प्रकारको मौलिकताको सुगन्ध दिएको छ । यस्तै यस्तै अनौठो तर जीवन्त कथाहरू धड्किरहेका छन् । जसले हामीलाई सम्झाउँछ, भाषा अलग, अलग संस्कति ।

राम्री भन्ने ठाउँले पनि राम्रै हसायो । बाटोमा भेटिएका यात्री, कतारबाट फर्किएका युवा, लुहामबाट गाडी चढेका दुई महिला, अनि बाटोका गाउँबस्ती, जसले आफूभित्र पुराना कथाहरू र रहस्यहरू बोकेका छन् । रञ्जु दाहाल र उहाँका अरू तीनजना साथीहरूले सामना गरेका अप्ठ्याराहरू, ढुङ्गे पहिरो, नाकै ठोकिने पहाडहरू, गाडीभित्र भेडाबाख्रा झैँ कोचिएर गरिएको यात्रा, खराब बाटो, उकाली, ओराली र अवरोधहरू, प्रत्येक मोड, प्रत्येक भेट र प्रत्येक थकाइभित्र रञ्जु दाहालले अनुभूतिको फूल टिप्नुभएको छ । मुसीकोट र त्रिपुरासुन्दरीको किम्बदन्तीसँगै पश्चिम नेपालको जनजीवन, भाषा, संस्कृति र लेकबेसी, फाँट, साईकुमारी मन्दिर, स्यार्पुताल अनि सानीभेरी, ठूलीभेरी र हिमालको सौन्दर्यको चित्रणले पुस्तकलाई अझ सशक्त बनाएको छ । शेफोक्सुण्डो तालमा पुग्दा रञ्जु दाहालले देखाएको बेहोसी र उट्पट्याङ हर्कतले मन कहिल्यै बूढो हुँदैन भन्ने सङ्केत पनि यथार्थ रूपमा व्यक्त गर्छ । यस्तै प्रसङ्गले यस कृतिलाई अझ रमाइलो बनाएको छ । तर यी अप्ठ्याराहरू केवल भौतिक मात्र होइनन्, यी त आत्मपरीक्षणका चरणहरू हुन् जसले यात्रुलाई अझ प्रौढ बनाउँछ । यही कारणले डोहोडोहो डोल्पो एउटा जीवित यात्रासंस्मरणको रूपमा पाठकको हृयदमा बस्न सफल हुन्छ ।

यस कृतिमा विशेषरूपमा डोल्पोको शेफोक्सुण्डो तालतर्फको यात्राका अनुभवहरू समेटिएका छन् । पानीको नीलो शान्ति, उकाली ओरालीको सास फेर्ने लय र डोल्पाली जनजीवनको मौन सौन्दर्य, यी सबै रञ्जु दाहालको कलमबाट मात्र होइन हृदयबाट बगे जस्तो लाग्छ ।

“यात्रा र जीवन अनि जीवन र यात्रा, उस्तै हो, जीवन धानिरहेको शरीरमा पनि कहिलेकाहीँ चोटपटक, रोगव्याधि लाग्छ अनि लाग्छ जीवन यति नै रहेछ, यात्रामा पनि कैयौँ अवरोधहरू आउँछन् कहिले मानसिक त कहिले प्राकृतिक अनि लाग्छ यात्रा यत्ति नै रहेछ ।”- दाङदेखि डोल्पोसम्मको यात्रामा कहिले उकालो, कहिले ओरालो काट्दै प्रकृति, संस्कृति र स्मृतिका सुगन्धलहरूले पाठकको मनलाई यति गहिरो रूपमा छुन्छ कि त्यो यात्रा उसैले बाँचिरहेको अनुभूति हुन्छ । यस्तै यस्तै अनौठो तर जीवन्त कथाहरू धड्किरहेका छन् । जसले हामीलाई सम्झाउँछ, भाषा अलग, संस्कति फरक, चालचलन भिन्न भए तापनि हाम्रो रगतमा बगेको मानवताको स्वर एउटै छ, र यही हो साँचो नेपालीपन ।

यदि आन्तरिक र बाह्य पर्यटक डोल्पाको अमूल्य सौन्दर्यमा हराइन्थे भने स्थानीय जनताको जीवनमा समृद्धिको उज्यालो छरिन्थ्यो, आफ्नै माटोमा पसिना चुहाउँदै युवाहरुले सपनाको बोट उम्राउन सक्थे, विदेशीभूमिको कठोर घाम सहनुपर्ने दिन टाढा हुन्थ्यो । डोहोडोहो डोल्पो केलव यात्राको दस्ताबेज होइन, त्यो त एक आन्तरिक जागरणको कथा हो । लाखौँ नारीहरूले कहिल्यै महसूस गर्न नपाएको मनको साहस हो । हरेक शीर्षकभित्र रञ्जु दाहालले आफैंलाई पनि खोज्नुभएको छ, डोल्पाको बाटोमा हिँड्दा होस्, फोक्सुण्डोको छेउमा बसेर होस् वा त्यहाँका अनुहारहरूमा जीवनको सरलता पढ्दा होस् ।

अन्त्यमा, डोहोडोहो डोल्पोमा भावनात्मक गहिराइ, भाषिक सौन्दर्य र गम्भीर आत्म अनुभूतिको समिश्रण पाइन्छ । साहित्यको भित्री आलोकलाई बुझ्ने र बुझाएर लेख्ने सामर्थ्य लेखकमा शिक्षाद्वारा मात्र होइन, अनुभूति र साधनाद्वारा पनि विकसित भएको देखिन्छ । यो कृतिले रञ्जु दाहाललाई समकालीन यात्रा साहित्यको एक विशेष स्वरको रूपमा स्थापित गरेको छ ।