तीन अक्षरको शब्द गजल, अरबीमा जन्मिएर हुर्कियो फारसीमा । अनि हिन्दी भाषा हुँदै नेपाली साहित्यमा पनि कविताको लघु रुपमा आफनो दर्विलो उपस्थिति जनाउन सफल भएको छ । थोरै शब्दमा विभिन्न सन्देशप्रवाह गर्ने, विषयवस्तुलाई कलात्मक रूपमा पस्कने खुबी हुन्छ गजलमा । त्यसैले भन्न सकियो, यो एक लोकप्रिय काव्यविधा हो । अरबी भाषामा प्रेमिकासँगको वार्तालापलाई गजल भनिन्छ । यसका आ-आफ्नै क्षेत्र छन् । आफ्नै प्रस्तुत गर्ने ढाँचा छ । यसले साँच्चै पाठकलाई कोमलतापूर्वक तर शक्तिशाली प्रहार गर्नसक्छ।
मोतिराम भट्ट पहिला नेपाली गजलकार मानिन्छन् । उनकै समयदेखि शम्भुप्रसाद ढुङ्गेल हुँदै भीमनिधि तिवारी लगायतले नेपाली साहित्यमा गजललाई स्थापित गराए । पछिल्लो चरणमा ज्ञानुवाकर पौडेल, त्यसपछि ललिजन रावल, मनु ब्राजाकी, धर्मोदत्त शर्मा तुफान, बुँद राना, रवि प्राञ्जल, घनश्याम परिश्रमी लगायतले साहित्यमा गजललाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेले । त्यसयता नेपाली साहित्यमा धेरै लेखिने विधामा गजल आउन थालेको छ । यसै क्रममा जुमन किरणले हालै मौन आवाजलाई गजलकृतिको रुपमा ल्याएकी छिन् । उनको यस कृतिभित्र ८६ वटा विभिन्न गजलहरू समावेश भएका छन् । नवोदित गजलकारको रूपमा उनको प्रयास सार्थक देखिएको छ ।
उनले पाठकको मष्तिष्कमा पुग्ने गरी गजलको झटारो हानेकी छिन् । समय सन्दर्भप्रति पनि उनी जिम्मेवार देखिन्छन् र सोही अनुरूपका गजल कोरेकी छिन् । जीवनका विभिन्न अवयव र तरंगहरूमा गजलहरू प्रभावित भएका पनि पाइन्छन् । प्रणयप्रधान गीतलाई गजल मानिएको भए पनि पछिल्लो समय समाजका विकृति विसंगति, जीवन र जगत्, यथार्थपरक कुराहरू, सामाजिक मूल्य र मान्यतामा आएका ह्रासहरू लगायत विभिन्न बहुआयामिक पक्षहरूमा गजल लेखनीको थालनी भैसकेको सन्दर्भमा जुमनका गजलहरू पनि त्यही पथमा यात्रा गरिरहेको ‘मौन आवाज’ पढिसकेपछि मान्न कर लाग्छ ।
भावना, कल्पनाशीलता पनि गजलमा पाइन्छ । यसमा गजलहरू विषयगत विविधाका छन् । उनी समाजका जे कुरा मन पर्दैन तिनको विरुद्ध गजलमार्फत कडा तीर प्रहार गर्छिन् । भाषाशैली सरल र सुन्दर छ । विचारको दृष्टिले उम्दा छन् गजलहरू । बलिया छन् गजलहरू । पाठकको ह्रदयलाई गजलहरूले छुन्छन् । वर्तमान समसामयिक परिवेशमा मानवीय संवेदनाहरू भित्रको घोत्ल्याइ पनि गजलमा पाइन्छ । प्रणय प्रेम मात्र होइन, चाडपर्व गरीबले मान्न नसक्नुका पछाडिका कारणहरू, विचारमा बलियो नहुँदाका पीडाहरू, जात पनि दलमा हुनुको दुःखद् परिणाम, दुनियाँले फड्को मारिसक्दा पनि हामी भने कता कता के केमा अल्मलिरहेको वर्तमान यथार्थताप्रतिको चिन्ता गजलका विषय बनेका छन् । यतिमात्र होइन, गजलकारमा परिवर्तनको हुटहुटी प्रष्टै देख्न सकिन्छ । समाजमा विद्यमान पुरातन अन्धविश्वासहरू विरुद्ध गजल कोरिएका छन् । लाग्छ, भोगाइहरूका गजल छन् ।
जीवनका अनेक आयामहरूको लयमा लयबद्ध छन् गजलहरू । युगचेतनालाई सम्बोधन गर्छन् गजलहरूले । मनका गजलहरूले मानव जीवनका लघुघट्नाहरूदेखि जीवनका बृहत्तर आयामलाई समेटेका छन् । भावगत विविधताले गजल लेख्नु उनको विशेषता लाग्छ । हरेक गजलले फरक सन्देश प्रवाह गर्छ । शृङ्गारिक मात्र छैनन् गजल । लेखन प्रवृत्तिका आधारमा उनी मानवतावादी देखिएकी छिन् । समाज सुधारवादी देखिएकी छिन् ।
विभिन्न पाटाहरूलाई गजलको माध्यमबाट निफन्ने जुमनको प्रयास देखिन्छ । गजलका पाठकहरू मज्जैले तान्ने खुबी गजलकारमा देखिएको छ । भन्न सक्छु, शब्दहरूमा प्राण भर्ने उनको शैली सफल छ । प्रभावकारी छ । गजलको खनजोत मिहीन नै छ । गहकिला छन् । पहिलो गजलकृति यति गहन रूपमा आउनु निश्चय नै खुशीको कुरा हो ।
इमान्दार र बेइमान बीचको फरकपना कति मज्जाले दर्शाइएको छ, हेरौं :
बेइमानले सुनको थालमा खान्छ हेर
इमानलाई गर्न त्यो छलफाल आएन
मायाप्रेमलाई उपयोग गर्नेहरू, मायाप्रेममा छलछाम गर्नेहरू र प्रेमलाई सस्तो ठान्नेहरूप्रति उनी यसो भन्छिन् :
त्यो गहिरो प्रेम छुवाई अधरको, भुलेर भुल्ने कहाँ सकिन्छ
समर्पणका ती सबै अमूर्त, असर बिर्सनु भो कि हजुरले
शहरको यथार्थताको वर्णन पनि गर्छिन् उनी । जहाँ स्वार्थको चरम पराकाष्ठा छ । पैसालाई मानवताभन्दा महत्त्व दिइन्छ । सोझासिधालाई कप्लक्कै निल्छ यो शहरले :
पैसा नै सबको सब थोक हो यो शहरमा
पैसाले गाँसे त नाता छिन्दैन यो शहरमा
जनतालाई भोटको निम्ति ढाँट्ने नेपाली नेताहरूप्रति कटाक्ष पनि उनको गजलमा देख्न सकिन्छ । चुनावअघि नेताले सर्वसाधारणलाई गर्ने व्यवहार र जितेपछि गर्ने व्यवहारको चित्रण गर्दै उनी भन्छिन् :
चुनावअघि भिजेको बिरालो झैं थियो
जितेपछि उः हेर त चालढाल बद्लियो
वास्तवमा सम्बन्ध भनेको परस्परको विश्वास र भरोसामा टिक्छ । सम्बन्धको धागो एकदम मसिनो हुन्छ । जुन टुटेपछि जोडिन कठीन हुन्छ । अनि आफ्नाले नै हो दुःख दिने, आफ्नाले नै हो विश्वास र भरोसामाथि तुषारापात गर्ने पनि । अनि सम्बन्धलाई जुमन ऐनासँग तुलना गर्छिन् । यही विषयमा उनी सुन्दर शब्द बुन्छिन् :
ऐना जस्तै हो सम्बन्ध सम्हाल्नुस्
खस्यो भने पक्का फुट्छ टुट्छ
प्रेम मात्र नभएर वर्तमान स्वार्थी समाजको यावत चरित्र गजलमा उजागर गरिएको छ । इमानमा आएको खडेरी, अभावको पीडा, वर्तमान राजनीतिको विद्रुप चरित्र र नेताहरूमा झाँगिएको विकृति, बेरोजगारीको दर्दनाक पीडा सबकुछ छ गजलमा । भन्न सकिन्छ, विषयगत विविधताले गजलहरू सजिएका छन् ।
आफ्नो ठानिएको मान्छेले साथ छोडिदिंदाको पीडालाई गजलमार्फत अभिव्यक्त गर्न सिपालु जुमन :
सजाएका सपनाहरू एक एक गर्दै फुटेपछि
गजल लेख्ने भा’छु अचेल उनको साथ छुटेपछि
पात्र, परिवेश, कथन पद्धति, प्रतीकको उचित प्रयोग र भाषाशैली सबै हिसाबले गजल माझिएका छन् । विषयवस्तुका हिसाबले उनले सबैतिर आँखा लगाएकी छिन् । मनका विभिन्न भावहरू गजलमार्फत प्रष्फुटन भएका छन् । देखेभोगेका कुराहरूलाई चिन्तन गर्ने उनको स्वभावलाई मौन आवाजले प्रष्ट्याएको छ ।
बहर सिकेर, शेर, मिसरा र काफियाको बारेमा जानकारी लिएर गजल सिर्जनाकर्ममा लागेकी उनी गजल केहो भन्ने बारेमा प्रष्ट देखिएकी छिन् । गजललाई हार्दिकता साथ कोमल ढंगले पस्कने जुमनको यो पहिलो प्रयासलाई मान्नैपर्छ । गजलका पाठकहरू मज्जैले तान्ने खुबी गजलकारमा देखिएको छ । भन्न सक्छु, शब्दहरूमा प्राण भर्ने उनको शैली सफल छ, प्रभावकारी छ । सैद्धान्तिक संरचनाको फ्रेममा सुन्दर ढंगले सजिएको छ ।
हरेक स्रष्टा आफैंमा सतप्रतिशत पूर्ण र कमजोररहित कदापी हुँदैन् । जुमनको हकमा पनि त्यही कुरा लागू हुन्छ । परिधिको छेकवारमा रहेर सिर्जित गजलहरूले उनमा प्रचुर सम्भावनाको भविष्यवाणी गरेको छ । आशा गरौं, उनको गजलमा कलमको निभ अझै तिखारिनेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 










