काठमाडौं । कवि जुमन किरणको कविता सङ्ग्रह यादहरुको बहिर्गमन राजधानीमा सार्वजनिक भएकाे छ । सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा कवि शैलेन्द्र साकार, कलानिधि दाहाल, कृष्ण प्रधान, श्रीओम श्रेष्ठ ‘रोदन’, छविरमण सिलवाल, प्रोल्लास सिन्धुलीयलगायतका साहित्यकारहरूले कृतिको लोकार्पण गर्नुभएकाे थियाे ।
कार्यक्रमका प्रमुख अतिथि शैलेन्द्र साकारले कवि जुमनलाई प्रयोगशील कविको रूपमा चित्रण गर्दै, उहाँकाे कवितामा सौम्य व्यङ्ग्यचेत रहेको बताउनुभयाे । उहाँले भन्नुभयाे, “कविताको क्रियसनले मलाई तानेको छ ।”
कवि कृष्ण प्रधानले कृतिमाथि बोल्दै कवि जुमन समयसँग संवाद गर्न खप्पिस रहेको उल्लेख गर्नुभयाे । उहाँले भन्नुभयाे, “कविता सङ्ग्रहको शीर्षक निकै आकर्षक छ । जुमनका कविताहरू लघु कविताका रूपमा आएका छन्, जसमा मौन र गम्भीर विद्रोह झल्किन्छ ।” उहाँले कवितामा दार्शनिक चेत र गम्भीर बिम्बहरूको प्रयोगले सुन्दरता थपेको धारणा राख्नुभयाे ।
कवि कलानिधि दाहालले जुमनको लेखनमा निरन्तरता, संकल्प र समर्पण देखिएको भन्दै बिम्ब छनोटबाट आफू प्रभावित भएको बताउनुभयाे । “जुमनमा चेतनाको तीव्रता देखिन्छ, उहाँलाई निरन्तरताको शुभकामना,” उहाँले भन्नुभयाे । साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले कृति सार्वजनिक उत्सवको रूपमा आउने भए पनि स्रष्टाका लागि यो जन्मोत्सवसरह हुने बताउनुभयाे । “जन्मदिनको दिन नयाँ कृति ल्याउनुभयो, बधाई छ,” उहाँले भन्नुभयाे ।
कृतिकार जुमन किरणले आफूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नेहरूप्रति आभार व्यक्त गर्दै पुस्तक पढेर रचनात्मक सुझाव दिन अनुरोध गर्नुभयाे ।
सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रोल्लास सिन्धुलीयले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे । लोकार्पित कृतिबाट रुविना राना, विनोद खत्री ‘आकाश’ र बसुन्धरा चौहानले कविता वाचन गर्नुभएकाे थियाे ।
कार्यक्रम प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाले सञ्चालन गर्नुभएकाे थियाे भने स्वागत मन्तव्य पूर्णबहादुर श्रेष्ठ ‘ह्रदयङ्कृत’ले राख्नुभएकाे थियाे ।
कार्यक्रमको मिडिया पार्टनर इखबर नेट रहेको थियो । यादहरुको बहिर्गमन कविता सङ्ग्रह सुनकोसी वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको हो, जसको मूल्य तीन सय रूपियाँ निर्धारण गरिएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 










