त्यो ठाउँ सुरुमै मलाई प्राकृतिक र सुन्दर लाग्यो, पर्यटक र जागिर खोज्न आउनेहरूको हूललाई जताततै भेट्दा मन प्रसन्न भएर आउने । विभिन्न रूप-रङ, उचाइ र आकारका जन्तुहरू पनि यहाँ प्रशस्तै रहेछन् । त्यस्तै विभिन्न प्रान्तहरूबाट आएका मानिस र विविध राष्ट्रहरूबाट घुम्न आएका मानिसहरूको जमघटले ठाउँलाई निकै गुल्जार बनाएको रहेछ । यस्तो पो हुनुपर्छ प्राकृतिक उत्पत्ति र सफाइ भन्ने पनि लाग्ने । त्यसैले त मानिसहरू धेरै घुम्न आउँछन् भनेर हजार-हजार कोठा भएको होटेल पनि यहीँ रहेछ- नजिकै त्यही होटेलमा काम खोज्न जानेहरूको लस्कर र बस्न जानेहरूको ताँती एकदम समानान्तर देखिने ।

त्यही लामो ताँतीमा बानेश्वर, काठमाडौँ घर भएको एक जना शंकर नामक आफूजत्रै व्यक्तिको पछि लागेर म पनि त्यो होटेलमा छिरेँ । एकछिनमै त्यत्रो भित्र पसेको हूल कता लाग्यो कता । म पुगेँ- स्वागत कक्षमा बसिरहेकी एक जना सुन्दरीको सामुन्ने । नेपालीझैं देखिए पनि तिनी रहिछन् स्पानिस मूलकी सुन्दरी । तिनले हाँसेर मलाई सोधिन्- ‘कसलाई खोज्नुभएको ? के कामले पाल्नुभएको ?”

मलाई तिनीसँग कुरा गरिरहन त्यसै त्यसै रमाइलो लागेर आयो । त्यति आवश्यक नभएजस्तो पारामा फ्याट्ट सोधिहालेँ- ‘यहाँ हामीलाई कुनै काम छैन ?

उनले भनिन्- ‘किन नहुनु ? सबै उमेर, लिङ्ग, रूप, समूहका मानिसका लागि यहाँ काम छ।’
मैले भनें- ‘म शारीरिक श्रम गर्न उति सारो सक्दिनँ। बानी पनि परेन । त्यति शारीरिक श्रम गर्न नपर्ने खालको मलाई उपयुक्त कुनै काम बताउनोस् त मैले अलिकति नम्र भएर भनें ।

उनी निकै बेर मुस्कुराइन् मात्र, केही बोलिनन् । म प्रश्नवाचक भएर उनलाई कुरेर बसिरहें । अनि केही बेरको फोनबाट फुर्सद पाएपछि उनी मतिर फर्किन् र सुस्तरी भनिन्- एउटा काम छ, गर्ने हो ?

मैले जिज्ञासु भावले उनलाई सोधें- ‘कस्तो काम ? किन नगर्ने ?

उनले कामको बारे बताउन थालिन् । मेरो भने होश उड्न थाल्यो ।

उनले भनिन्- ‘यो एक हजार कोठाहरू भएको ठूलो होटेल हो । यो सिजनमा कोठाहरू नपाएर पर्यटकलाई हैरानी नहोस् भनेर यति ठूलो होटेल यहाँ खोलिएको हो। तैपनि कोठाहरू अझ कम भएका छन् । यत्रो माग छ कोठाको, तैपनि ९९९ वटा मात्र भाडामा दिइन्छ । एकवटा कोठा कसैलाई पनि दिइन्न । त्यो कोठालाई विशेष सुविधा सम्पन्न राखिन्छ । महँगो सोफा सेट, पर्दा, पलङ, तन्ना र टेलिभिजनले सिँगारिन्छ त्यो कोठा । हो, त्यही कोठा मैले तपाईंका लागि सोचेको । बस्न पनि पाइने, पैसा पनि पाइने।’ उनी खितिति हाँसिन् ।

मलाई छक्क लाग्यो । त्यस्तो महँगो कोठामा बस्नु नै मेरो काम रे । आश्चर्यमा पर्नुबाहेक अरू उपाय नै भएन । उनले अझै व्याख्या गर्दै भनिन्- हो, त्यही महत्त्वपूर्ण र महँगो कोठामा कतै पनि ननिस्की बसिरहनु तपाईंको काम । तपाईंलाई यहाँ अझ ह्विस्की र सिगार पनि राखिएको हुन्छ। तपाईंलाई ढोकातिर नफर्कीकन भित्तातिर फर्केर सिँगार तानिरहनु र ह्विस्की पिइरहनु पर्ने कामको जिम्मेवारी हुन्छ । अँ, अर्को कुरा, तपाई रङ्गीबिरङ्गी लुगा लाएर त्यहाँ बस्न पाउनु हुन्न । एउटै रङको, कि कालो कि सेतो लुगा । टाउकोदेखि खुट्टासम्म ढाक्ने गरी लगाएर कुर्सीमा बसेर सिँगार तानिरहनु तपाईंको काम हुनेछ। घण्टाको २० डलर दिइने छ तपाईंलाई । मञ्जुर छ तपाईंलाई यो काम ? व्यावसायिक (प्रोफेसनल) हिसाबले अब भने उनले मलाई सोधिन्- धूमपान नगर्नेलाई अलि अप्ठ्यारो हुन्छ नि यो काम

आफू धूमपान गर्न खालको भएकोले यस्तो गजबको काम किन नगर्नु भनेर म औधी खुशी भएँ। ती रिसेप्सनिस्टलाई धन्यवाद भन्दै काम सुरु गरिहाल्नु पयो भनेर तातिन थालेँ ।

उनले पनि मलाई काम स्वीकार गरेकोमा धन्यवाद भनिन् र अन्त्यमा भनिन्- ‘हेर्नोस्, तपाईं ठ्याक्कै बाहिर निस्कन पाउनु हुन्न नि ! रेस्टरुम भित्रै हुन्छ । त्यति मात्र तपाईंको संसार ।’

मलाई यो कुराले झन् छक्क लाग्यो ।

मैले अलि उच्च स्वरमा सोधें- बाहिरै निस्कन नपाइने त्यस्तो पनि कतै काम हुन्छ ?

अनि उसले जे भनी त्यसबाट मेरो सारा उत्साहमा चिसो पानी खनियो । सर्तहरू सबै उही भए पनि त्यो कोठाको नाम नै भूतको कोठा रहेछ । धेरैजसो पर्यटकहरू नै भूत हेर्न त्यहाँ आउने रहेछन् । र यहाँ त्यस्तो भूत छ भनेर होटेलको विज्ञापन पनि गरिएको रहेछ ।

हजार कोठामा एउटै मात्र छुट्टै र व्यवस्थित र विशेष रहेछ- त्यो भूत सुत्ने कोठा ।

हो, त्यही भूत भएर बस्नुपर्ने रहेछ मैले त्यो होटेलमा ।

भूतलाई हेर्न आउनेहरूका लागि कोठामा एउटा मात्र प्वाल राखिने र त्यो कोठा मालिकले बाहेक अरू कसैले खोल्न नपाइने नियम रहेछ । पालै पालो विशेष शुल्क तिरेर हेर्न पाइने रहेछ- भूत। पर्यटकहरू निकै ठूलो ‘क्रेज’ रहेछ त्यो होटेलको । प्रमुख कारणमध्ये नै पर्दो रहेछ- भूत हेर्न पाइने होटेल ।

अलिबेरपछि अलि गम्भीर भएर उनले भनिन्- ‘तपाईंलाई चित्त बुझ्छ भने हिँड्नोस् माथि म तपाईंलाई कोठा पनि देखाइदिन्छु र मालिकसँग पनि भेट गराइदिन्छु । कोठा खाली नै छ । पहिला एउटा केन्याली नागरिक त्यहाँ भूत भएर बसेको थियो । ऊ साँच्चिकै भूत भइसक्यो, मतलब त्यहाँ बस्दाबस्दै मर्यो । उसकै ‘डुप्लिकेट’ चाहिएको छ होटेललाई ।
त्यसैबेला त्यहाँ बानेश्वरको शंकर देखापर्यो । उसकै पछि लागेर यो होटेलभित्र छिरेको थिएँ म, अहिले पनि उसकै पछि लागेर निस्केँ ।

बाहिर निस्केर त्यो होटेल हेर्दै नजिकैको पार्कमा बसेर एक्लै एक्लै धेरै बेर हाँसिरहे म । एक छिनपछि हाँस्न मन लागेन र स्पेनिस नानीले भनेजस्तै भूतजस्तो बनेर त्यही पार्कमा घोप्टिएर रोइरहेँ म ।

आखिर भोलि फेरि त्यही ‘काम’ स्विकार्न मैले जानु नै छ त्यहाँ ।