“तपाईंको पहाड घर कहाँ ?” भन्ने प्रश्न गाउँले, गँवारको प्रतीक जस्तो बनेको छ । तर मलाई मान्छेसँग चिनजानको तह अलिक गहिराइमै लैजानु पर्यो भने यो प्रश्नको उत्तर नभई हुँदैन । यस प्रश्नको उत्तरले इतिहास, पुर्खा, पौरख, संघर्ष, पहिचान सबैथोकको लहरो जोडेर ल्याउँछ । पश्चिमा संसारमा जस्तो के हो त तपाईंको नाम भन्यो भनें ‘आइ एम जोन’ मात्र भनेर त म सक्दिन । हुन त मान्छेलाई सम्बोधन गर्ने एउटा संकेत नाम भए व्यवहार चल्छ तर एउटा व्यक्तिको सांस्कृतिक पृष्ठबोध सहितको स्थापित परिचय खोज्नु मान्छेकै व्यवहार हो, जनावरको होइन । पहाड घर कहाँ भनेर जान्ने त परै जावोस्, शहरीकरण बढ्दै गएपछि थरबिहीन नाम संकेतले मात्र काम गर्न थालेको छ । हाम्रो जातभात र छुवाछुतको कुप्रथाले गर्दा पनि कतिपय मान्छे आफ्नो ‘थर’ काटी नाम लिंडे बनाउन चाहन्छन् । यो उनीहरूका लागि एक पीर हो समाजले दिएको, रहर होइन ।
चिनजानको सिलसिलामा सधैं सबैलाई पहाड घर कहाँ भनेर चाहिं सोधिंदैन । “मेरो पहाड घर चाहिं रौतहट” भन्ने रमाइलो पनि छ अर्कोतिर । ‘पहाडे अहंकारी राष्ट्रवाद’ भन्ने पनि लाइदिएका छन् यस पहाडलाई । त्यतातिर जाने मेरो उदेश्य होइन ।
देशको कुल भूभागको झन्डै ६५ प्रतिशत ठाउँ ओगट्ने पहाड र त्यसको जीविकोसांस्कृतिक पहिचान कसैले नरुचाए पनि भूगोलको वास्तविकता भने हो । कुनैपनि कुरा ‘वास्तविकता’ भएपछि त्यसलाई स्वीकार्ने र पचाउने वा नपचाउने भन्ने कुरा वैयक्तिक हुन्, मुण्डमुण्ड फेर पर्ने कुरा हुन् । पहाड र जीवन के हो मेरा लागि र समग्र देशको पहिचान र सांस्कृतिक, आर्थिक जीवनका लागि पहाड के हो भन्नेबारे मनका तर्कनामा खेल्ने चाल गरेको हुँ मैले यस लेखमा ।
पहाड र पहाडी जीवनसंस्कृतिलाई एकैछिन हटाइदिने हो भने के के बाँकी रहँदैन नेपालसँग ? हाम्रा यति धेरै पहाडी वनस्पति, कृषि उपज, जडीबुटी, काठपात, खोलानाला, गाउँबेंसीका गीत, भाका, भोटो कच्छाड, चौबन्दी, डाँडा डाँडाका, कुइनेटा र घुम्तीघुम्तीका संस्कृतिका, जीवनशैलीका, भाषाका, चाडबाड र उत्सवका, सम्बन्धका खजाना कहाँबाट पाउनु ? उकालो, ओरालो, पात्ले, लेक, नागी, खोला, झरना, पहरा, नागबेली घुम्तीका सडक, भ्युटावर जस्ता डाँडाकाँडा र देउराली अरबका देशले जस्तो कृत्रिम बनाउन थाल्नु पर्ने थियो होला हामीले पनि ।
पहाडको खाद्य परम्परा र संस्कृति कति लोभलाग्दो छ । कोदो, मकै सुन्तला, धानको भात, गाई भैंसीको गोरस, सख्खरखण्ड, तरुल, रसिला सागपात र तुलफूल, आयुद्रोणसुते सब पहाडका अग्राधिकार हुन् । कुलो, बजार, मूलबाटो, बालन, संगीनी, बिहे, बारी, खेत, टार, बेंसी, बिना पंखाको सितल हावा र बिना फ्रीजको चिसो पानी सबै पहाडका । पहाड अत्यन्तै धनी छ । पहाड जत्तिको धनी हुन मधेसले सक्दैन । हावा र पानी मै मधेस हार्छ । धानको भात र जति हिंडेपनि नसकिने तेर्सोबाटोमा मधेसले जित्छ । तर पहाडको आँटोपिठोमा मिसाउने बाक्लो दही, दूध र बारीको ताजा सागसब्जीसँग मधेसको मुसुरोको पन्यालो दाल र गुलिया भदौरे आलुले तुरुन्तै हारिहाल्छ । राती सुत्न नसकिने भावर गर्मी त मधेशको पेवा भइगयो ।
पहाडले धेरैथोकमा पाल्छ मदेसलाई । दशैंको खल्पी खान खाँबा जात्रा काँक्रा पठाउँछ पहाड मदेसलाई । घर सफा राख्न कुचो, चामल केलाउन नाङ्लो, मीठो खान मार्सी र मार्फाको स्याउ, चित्लाङ्गको मुला, बाँसका टेका, चिलाउनेका पलाइ, हिलेको फूलकोपी, मुख मिठ्याउन अकबरे र अलैंची पठाउँछ पहाड ठुल्दाइले जसरी मदेसलाई । आफ्नो पानीमा बिजुली निकालेर लौ उज्यालोमा जीवन धान, ऊर्जाको खाँचो टार भनेर ठुलो हृदय गर्छ पहाड मदेससँग । पहाड धनी छ । पहाडसँग नजिस्किए हुन्छ । अब त झन् मोटर पुगेपछि, कालोपत्रेले ढोकै ढकढक्याएपछि धेरै युवा लागेका छन् पहाडलाई झन् धनी बनाउन । सीपयुक्त र ऊर्जावान उमेरका युवाहरूका पहाड बनाउने पौरखी, उद्यमी भिडियोहरू देख्दा गदगद हुन्छ पहाडप्रेमी यो मन ।
हाम्रो पहाड अहिलेको तुम्मेवा पालिकामा पर्ने पाँचथरको वलने भन्ने ठाउँ । इलामको रविबाट पश्चिमतिर ३ घण्टाको पैदलमा आउँछ वलने । उता धरान, राजारानी, बुधबारे, धनकुटा र तमोर नजिकपर्छ पश्चिमपट्टि । अहिले त दमक र धरानबाट मोटर चल्न थालेर सजिलो छ । तर मोटर चल्न थालेपनि १४ घर घिमिरे परिवार घटेर दुई तीन घरधुरी छन् । त्यो बेला घरबाट दमकसम्म मोटर चढेर त्यहाँबाट दुम्सेको जंगल छिचोल्दै मावाको बगर र पेरुंगेका चेप नाघेर एकदिन दिनभर हिंडेर चिसोपानी, थामथुम, कुरुम्बारतिर बास बसेर अर्को आधा दिन गोडा फड्कारेको फड्कारेई गरेर मात्र पुगिने पहाड । हजुरबा-हजुरआमा, काकाकाकीहरू उतै भएकोले हाम्रो आफ्नै सिरिसम्पति नभए पनि ‘हाम्रो पहाड’ भन्न सिकिएको हो । बाको जन्मस्थान त्यो पहाड त हामी नजन्मिंदै बाले छोडेर मणिपुर हिंडेपछि हामी तल मदेसमै चोला पाएर मदेसका नै भयौं सधैंभरि ।
पहिलो पटक २०३९ सालमा बाका पछि लागेर पहाड पुग्दा मदेसबाहिर पनि अर्को संसार रहेछ घर, बाटो, गोरु, खेत, चुह्लो, बाख्रा, गाईभैंसी र आफूजस्तै केटाकेटी भएको भन्ने लाग्यो मलाई । पहिलोचोटी त्यो पहाड मलाई औधी बिरानो र बिरक्तको लाग्यो । मान्छेका मैला लुगाफाटो, लेग्रो तानेर बोल्ने बोली, बाउआमा, काकाकाकी भाउजू सबैलाई ‘तिमी’ भन्ने पारा सुनें । अँध्यारो चुह्लो र धुवाँले बस्ने नसकिने अँगेनो, आँगनको डिलैसम्म आइपुगेको जंगल र साँझ नपर्दै निस्पट्ट अँध्यारोले छोप्ने घर-आँगन । आफ्नो केटाकेटीपनको कुद्ने उफ्रिने मदेसको जस्तो सम्म मिलेको जमीन नभएको ठाउँ, कुद्यो भने लडेर मुन्टाले टेकिहालिने जमीन । पटक्कै नमिलेको नौलो संसार थियो मेरा लागि त्यो पहाड ।
पहाडबाट जायजेथा बेचेर धानको भात खान मदेस बसाइँ सर्नेहरू हाम्रा गाउँघरमा पनि जमीन किनेर बस्न आइपुग्थे । अनि तिनका ‘पहाडे केटाकेटी’ हाम्रै स्कूलका विद्यार्थी हुन आइपुग्थे । कक्षा ४ मा पढ्दा पाहाडबाट बसाइँ आएका भण्डारीका भुरा पनि हाम्रो कक्षामा मिसिन आइपुग्यो । अनि त हामी मदेसका जति केटाकेटीको गीत जम्न थालिहाल्यो, भण्डारीका छोरालाई ताकेर, “पहाडे भुत, टट्टिखानमा सुत, एक लात्ती दिन्छु जुरुक्कै उठ, अर्को लात्ति दिन्छु छुलुक्कै मुत ।” यो निक्कै चल्तीको तुक्का थियो पहाडेलाई जिस्क्याउने । कोही एक लात्ति हान्ने पनि निक्लिहाल्थ्यो हूलमा । पहाड र मदेसको कम आवतजावत हुने भएकोले होला मदेस आएका त्यो बेलाका पहाडे मानिस अलिक लाट्टिएका जस्ता लाग्थे हामी मदेसकालाई । अनि त एक देखो उस्तै, अर्को देखो उस्तै भएपछि मदेसका मान्छेको अवचेतन बुझाइ नै बन्थ्यो ‘केही नदेखेका सोझा पहाडे’ भन्ने ।
हिउँद लागेपछि पहाडबाट मनग्ये पाहुनाहरू आइरहनु हुन्थ्यो हाम्रामा घरतिरबाट पनि मावालतिरका पनि । पाहाडबाट आफन्तजन आउँदा पाकेका अम्बा, बारीका बदम, कुराउनी, सन्तोला, मेल, मेलको अमिलो, घिउ, कागती, नासपाती, खैरो भटमास, ओख्खर, मुठीका काँक्रा देखेका मदेसका मान्छेलाई ‘एक मान्छे’ जत्रा अंगालाभरिका काँक्रा आदि कोशेलीपात आउँथ्यो । आफन्तको आउजाउ, कोशेलीको मिठास र जाउजाउमा मिल्ने आनासुका पाकिट खर्चले गर्दा मलाई मदेशपछाडिको आफ्नो ठाउँ र संसार पहाड लाग्थ्यो । २०४० सालतिर सानो लुखुरे केटोलाई उतै काकाहरूसँग स्कूल पढ्न जाओस् भनेर बाले ओलने छोडेर आउनुभयो । म चकचके त थिएँ नै सानै उमेरको भए पनि खुब तिखिताउरे कुरा गरेर कहिले सबैलाई हसाउँथे कहिले, रिस उठाउँथे । त्यहाँ म धेरै बसिन एक वर्ष मात्र बसें । एक कक्षा पढ्न स्कूल गएँ । खोइ के बोल्थें, के गर्थें म भन्नेहरू “यसले पढेरै खान्छ” भन्थे मलाई सानैदेखि ।
त्यही एक वर्षे पहाडी जीवन बसाइका बेला मैले समाजका प्रधान, महाजन, फौदारी गर्ने करबिरे लिम्बू, असल मान्छे र खराब मान्छेको भिन्नता, सामन्ती महाजन र दिनदु:खी, गरीब र बनिबुतो गरेर मात्रै खान पुग्ने ट्वाने कामी, गहते दमाई, बालीघर प्रथाका दर्जी, पढाउन भन्दा सिर्कनो मात्रै चलाउन सिपालु ‘दले मास्टर’प्रवृति, पैसा, अन्न र दहीमही, घिउको लोभ र संचयको महत्व, धोबे बोकेर डाँडाकाँडा छिचोलेर हाटबजारमा सामान बेच्ने टुक्रे व्यापारी, पहाडका फलफूल र घिउ दकम मधुमल्ला खेप्ने ढाक्रेका दु:ख सब सब देखें, र बाल चेतनाले जति र जे जे बुझ्न सक्थ्यो बुझें । मैले कटुस, चिलाउने, उतिस, मौवा, गुंयलो, कुट्मिरो, टाँकी, सालिम्बो, खरुकी आदि वनस्पति चिने । तिथिका नाममा बजारका नाम राखिने पंचमी, चौथी, सप्तमी, दसमी देखें । मलाई के हो के उसै रोमाञ्चक लाग्थ्यो पहाडका सबै कुरा सानैदेखि ।
पाहाडसँग सानैदेखि राम्रै लागव बस्यो । बीस वर्षको उमेर नकाट्दै म हजुरबाहरूको वलने र मावलको नवमीडाँडा, काफल्बोटे त कति गएँ कति । गनी साध्य छैन । घरतिर हजुरआमाले बाक्लोबाक्लो दही र दाना परेको घिउ दिने, मावातिर नि भान्जो भनेर भाउ हुने । पहाडतिर तान्ने थिए कुराहरू धेरै । अलिक ठूलो भएर सिनेमा हेर्न थालेपछि सिनेमामा देखाइने पहाडे जीवन, परम्परा, घर, परिवेश, खेतीपाती, हाटबजार आदिले पनि मलाई पहाडप्रति प्रेममय लगाव झनझन जाग्न थाल्यो ।
कालन्तरमा ससुराली नै पाहाड जुर्यो । पाँचथरकै आङसराङ भन्ने गाउँको मेहेल्बोटे । ससुराली नै पहाड भएपछि कुरै सक्कियो । धित मरुन्जेल पहाड चहार्न र मान्छे भेट्न, त्यहाँका पारा र परम्परामा छिर्न पाएँ । पहाडका सागपात, तुलफूलमा मन बसेको छ मेरो । हरियो अकबरे करप्प टोक्दै पहाडको स्वादिष्ट रायोको साग र बरेलाको तिहुनसँग भात खानुको मोह भित्र गढेको छ । पहाड पुगेपछि उसै मन हराभरा हुन्छ मेरो । हरियो इस्कुसको झ्याल देखेपनि, दोबाटोमा खुलेको अव्यवस्थित तर नूनदेखि सुनसम्म पाइने किराना पसलमा पुगेपनि, सुँगुर उत्तानो पारेर ससुराली जाँदै गरेको लिम्बूको ताँती देखेपनि, गाइगोरु मदेस खेद्ने खरिदेले चौपाया वशमा र बाटोमा राख्न काढ्ने हुर्मत सबैथोकले मलाई लोभ्याउँछ पहाड । अझ “समोसा पनि पाइन्छ, चटपटे पनि पाइन्छ, के दिऊँ दाइ ?” भन्दै मदेसका खान्की चटपटे र सिंगडाका सिकारु परिकार गर्वका साथ बेच्न ढिक खोलेर बसेकी बहिनी नानीको निश्चिन्त व्यापार देखेर मलाई झन् पुलकित पार्छ परिवेशले ।
हाम्रा बाका कान्छा काका हुनुहुन्थ्यो पहाड वलनेमा । ‘कान्छाबा’ सम्बोधनले प्रख्यात । कान्छाबा एकपल्ट झापा मदेस आउनुभएछ २०३६ सालतिर । गर्मी उखुम छ । घाम चर्को छ । हावा पनि तातो, पानी पनि तातो । मुसुरोको दाल जीवनमा मुख नहाल्या किल्किलेबाट तल गएन बाका । राती सुत्न लामखुट्टे र गर्मीले दिएन । मान्छे हेर्नुभो सबै घामले डढेका काला मैला छन् । कान्छाबाको सातो अडिने कुनै वस्तु छैनन् मदेसमा ।
अनि एक सातालाई आउनुभएका कान्छाबा भ्रमण छोट्याएर तुरुन्तै पहाड उक्लिहाल्नुभो । अब उता पुगेर मदेसको बयान हाँक्नुभो कान्छाबाले । “मान्छे पनि तातापानीले पिल्सिएका जस्ता काला डिङ्गर, पस्केको तिनको भात त मान्छेले होइन हाम्रो लाल्तारी गाईले पनि मुन्टो बटार्ने । एउटा किरो हुँदोरछ कानमा आएर जिउँदै ‘टुँउ’ पारेर बजाउने । रगत चुसेर सुत्नै नदिने । मोही उस्तै पातलो । मदेसका आएर मेरा अगाडि फुर्ति मात्रै गरुन त अब । यहाँ यति मीठो सागपात, दहीदूध, अन्नपानी यति रसिलो छोडेर त्यही मदेसको सम्म जिमिनमा लडीबडी गरेर मात्र पुग्छ ? मदेसको कुरा नगर मसँग ।”
कान्छाबाको मुखैमा थियो हामी मदेसका मान्छेलाई ‘ताता पानीले उम्लेका मदेसका डिंगर’ भन्ने । काकाहरू पनि केही गरी जित्न सकेनन् कुराकानीमा भने ‘मदेसे डिंगर’ निकालेर पेल्न थालेका थिए ।
हामी मदेसका पनि पहाडकालाई केही नदेखेका लाटाबुङ्गा ठान्दा रहेछौं । मोटर देख्नै दुई दिन हिंडेर आउनुपर्नेले के ठूलो कुरा गर्नु भन्थ्यौं हामी पहाडका मान्छेलाई । पहाडका मान्छेलाई जिल्ल्याएको एउटा कथा छ मेरो । हाम्रा घरमा साइकल थियो । साहिंला काका आउनुभएको थियो पहाडबाट । स्ट्यान्डमा राखेको साइकलका पाङ्ग्रा बेस्कन घुमाएँ अनि नजानिँदो पाराले हात लगेर पछाडिको ब्रेक तान्ने हेन्डलमा राखें । अब काकालाई भनें, “काका म यो चक्कालाई रोक भनेर आदेश दिन्छु ट्याक्क रोकिन्छ हेर्नु है ।”
“लु लु, इस मान्छ तेरा कुरा साइकलले । कम्तीमा गोरुसम्म भए होरा फिर भन्दा मान्थ्यो, फलामको साइकलले कतै मान्छेका कुरा खान्छ ? लु देखा त हेरौं” काका पनि नपत्याएर ओठ लेप्र्याउँदै भए पनि हौसिनुभो ।
मैले काकालाई पाङ्ग्रातिर मात्रै ध्यानले हेर्न लाएर “ए साइकल रोक” भनिसक्दा ट्याक्क ब्रेक तानें । घुमिरहेको पाङ्ग्रो रोकियो । काका जिल खानुभो । एक भन्नु न दुई भन्नु हुनुभो । मैले छोएको छैन, मुखले रोक भनिसक्दा रोकिएको छ पाङ्ग्रो । “लु फेरि गर त” भन्नुभो । झन् आँखा तिखा पारेर काका पाङ्ग्रामा हेर्न थाल्नुभो । अलिक ओझेल परेको पाङ्ग्रा समात्ने ब्रेक काका देख्नुहुन्न । बातैपिच्छे साइकलले मैले भनेको मानिरहेको छ काका जिलमाथि ट्वाँ खाइरहनु भएको छ । पत्याऊँ कसरी पत्याऊँ, नपत्याऊँ आँखै अगाडि भइरहेको छ । एकैछिन काकालाई आस्चर्जेको तीनतिर्लोक देखाएर गुह्य खेलिदिएँ । “अपराधी, सिल्ली” भन्दै डल्लो पर्ने गरी हाँस्नुभो काका ।
पहाडबाट आउनेको एक किसिमको गन्ध हुन्थ्यो । कोशेली बोकेका कागती, सुन्तला र पाकेका अम्बा अनि दुई दिनको पैदलमा रातीको बाटा बासमा ओढ्ने ओछ्याउने बोकेका कम्मल धुसाको कुम्लोकुटुरो यी सबथोकको गन्ध घोलिएर एक ‘पहाडे गन्ध’ आउँथ्यो काकाका छेउछाउ पर्दा र त्यो कुम्लो खोल्दा । हामी आफैं पहाड गएर आउँदा पनि यो गन्ध आउँथ्यो साथमा । यो गन्ध मेरा लागि पहाडबारे मेरो अनुभव, स्मृति, बुझाइ र दृश्य सबैथोकलाई एकैचोटी ताजगी गरिदिने उत्प्रेरक हुन्छ अझैपनि ।
पहाडकाले पनि भित्रभित्रै सिध्याएका हुने रहेछन् मदेसका मान्छेलाई । बिहे गरेपछि पो थाहा पाइयो पहाडकाले मदेसकालाई कसरी हेप्ने रहेछन् भन्ने कुराका केही नमूना । “मदेसका पाहुना आएभने पुषको जाडोमा कागती खाने भन्दै कागती काटेर नून खोर्सानी दलेर आङ जिरिङ्गजिरिङ्ग पार्दै खान्थे । केही खान नपाएका । टर्रा,अमिला, किरा लागेका, हामीले नखाने भनेर फ्यालेका झरेका मेल टिपेर अमृत खाएजसरी खान्थे मदेशका मान्छे । घीउका चोइली कहिले नदेखेका हुँदा रान, भातमा लडाइदिंदा तर्सिन्थे । अलिकति डिल उक्लेर वा ओर्लेर हिंड्नु पर्यो भनें कि त खुट्टा फर्काएर घर आउँथे, कि त काठको पुल तार्न बँधुवा भैंसीलाई लागेजस्तो गर्थे । सुठुनी टिप्न जाने भन्दै सुठुनीका लहरामा केही नदेखेपछि फलेका रैनछन् सुठुनी भन्थे । कोदो टिप्न लग्यो भने हातले कोदोको बाला टिप्न जोडले कन्थे” बाला बाल्यकालमा मदेसका मान्छेलाई उल्लाएको कैरन गर्छे । म आफूसँग सबै मिलेकोमा संयोग मात्र नमानी हाँस्छु पनि ।
पहाड प्राकृतिक सौन्दर्यको पर्याय हो । मदेस जस्तो एक नासको समतल जमीन र उराठ लाग्दो बगर मात्रै हुने हो भने प्राकृतिक सौन्दर्यको अस्तित्व खोइ कता हुन्थ्यो होला ? यसको उत्तर पहाडले दिन्छ । अग्लाअग्ला उचालिने भुवादार, मखमली पहाड, पहाडमाथि तरेली पर्दै खप्टिने अन्य मनोरम पहाड, घाम लुकाउने र घाम निकाल्ने पहाड, पहाडलाई पहरा दिने धुपीसल्लाका सिपाही लहर, डाँडो झरेर खोला छुने र फेरि उचालिएर गगन छुने उतारचढाव, जंगल, सेप र पात्लेका संगीतमय झ्याउँकिरी, पहराबाट हाम फाल्ने छाँगा र कोलाहल मच्चाएर ओर्लिने दूध जस्ता कोशी सबै सौन्दर्य जति प्रसाधन पहाडसँग छन् । कसैले घुमेको छु भन्छ तर पहाड घुमेको छैन, पहाडमा बास बसेको छैन, पहाडका मान्छेका मनकारी हातको खाएको छैन भने त्यसले केही घुमेको, देखेको, जानेको छैन, बाँकी नै छ घुम्न र देख्न ।
अचम्म लाग्छ । पोहोर नेपाल भ्रमणमा जाँदा हलेसी दर्शनपछि खोटाङको दिक्तेलमा एउटा दहालका होटलमा भात पकाउन लाइयो मान्छे गनेर । दिदी बहिनी थिए । एकैछिनमा फर्याकफुरुक खाना तयार गरिहाले । बोल्नका पुलखी । हाँसीहाँसी रमाएर काम गरे । भात खाइयो । हिसाब गर्दा दुई तीन सय तलै लिन खोजे । मैले यताको चलनअनुसार केही सय थपेर दिन खोजें पिटिक्क मानेनन् । हिंड्ने बेलामा मुला र कागतीका एक एक बट्टा अचार तेर्स्याउँदै लिएर जानु मदेस भन्छन् । “होइन होइन यो परेन” भनेको धर्ना कसुँलाझैं गरे दिदीबहिनीले । हामीले अचारका बट्टा बोकेर बाटो लाग्यौं । यस्तो हृदय र प्रेम पहाडमा पाइन्छ ।
पहाड लोभ्याउँछ, मोहनी लाउँछ । २०५४ साल पुषतिर पहाड इलामको माघेमा केही महिना बस्ने जोग परेको थियो । हामीले चिया, मसला र सलाई किन्ने भट्टराईका दोकानकी कान्छी बुहारी झापा मदेसकी थिइन् । “के दिनमा भाग्य लेखेर आएँछु नि मेरी आमा भन्ने भयो यहाँको उकालो ओरालो र घाँसदाउराको कहिले नगरेको कामले शुरूमा । बिस्तारै बानी पर्यो । अब त आफैं जन्मीहुर्की गरेको झापा गएर गर्मीले नै सक्दिन बस्न । खानेकुरा नि यहाँको कति मीठो कति । म यहाँबाट तिते बिं, इस्कुस, त्यसको तरुल, त्यसका मुन्टा, रायो साग, काँक्रा, अगबरे, अम्लिसोको कुचो पठाइरहन्छु झापा माइत । दाजुभाइ, आमाबुबा कति खुशी हुन्छन् पहाडको कोशेलीले । मलाई त “यही माघे राम्रो, पहाड नै राम्रो” मैले खोतलेको र उनले भनेको सम्झिन्छु म ।
तराईको आवादमा पनि पहाड सर्लक्क आएर बसेको छ । दशैं, तिहार र तीज आएका छन् उतैका । कोट, टोपी, दौरासुरुवाल, माखामुन्द्रा र चौबन्दी सरेका छन् उसैगरी । सबै तराइका जिल्लामा ताप्लेजुङ्गदेखि दार्चुलासम्मको पहाड भेटिन्छ । अनि त्यहाँ भेटिन्छ नेपालको खास पहाडीपनको पहिचान र वंशानु ।
पहाड बहुजन नेपालीको जीवन, संस्कृति र पहिचानको मूल हो । मलाई त च्याङ्गथापूबाट दार्चुला निस्किने मध्यपहाडी मार्ग बस्दै, खाँदै, मान्छे भेट्दै, सुबिस्ताले कुद्न मन छ । म त पहाडे नै हुँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ पुष २०८२, शुक्रबार 










