पूर्वार्द्ध : विषय प्रवेश

मानिसको जीवनमा महत्वपूर्ण विषय वा वस्तु समय, भूगोल र भावनाअनुसार फरक हुनेरहेछ । मानिसले एउटै विषय र वस्तुलाई हेर्ने कुरा समय, आफू बसेको भूगोल र भावनासँग निर्धारित हुन्छ । यसको एउटा दृष्टान्त साहित्यकार इन्द्रबहादुर राईको लीला लेखनको सन्दर्भमा चर्चा गर्दै साहित्यकार कृष्ण धरावासीले भागवत पुराणको एउटा कथाको चर्चा गर्नुभएको छ । कथानुसार कंशले आफ्नो जीवनको चुनौती वा मृत्युको कारण मानिएका कुनै बालक व्रजमा हुर्किरहेको थाहा पाउँछन् । कंशले आफ्नो मृत्युको कारण बनेर हुर्किरहेको त्यो बालकलाई कुनै बहानाले ठूलाठूला पहलमानहरूसँग दण्ड युद्ध गराएर मार्न चाहन्छन् । दण्ड युद्धका लागि व्रजबाट बालक कृष्णलाई निम्त्याइन्छ । यो दण्ड युद्ध वा द्वन्द्व र गधा युद्ध भनेर पनि बुझ्न सकिएला जुन युद्धमा कृष्णले कंशका कहलाइएका ७ जना शक्तिशाली मानिएका पहलवान अर्थात् राक्षसहरूको वध गरेका थिए ।

पहलमानहरूसँग दण्ड युद्ध गर्न निम्त्याइएका बालक कृष्ण सबैका लागि आकर्षणका केन्द्र बनेका हुन्छन् । धरावासीले उल्लेख गर्नुभएको चर्चाको अंश वा आशय यो हो ढोकाबाट युद्धस्थलमा प्रवेश गर्दै गरेका तिनै बालक कृष्णलाई देवकी र वासुदेवले प्रिय नाबालक पुत्रका रूपमा देखे । युवा वा गोपालहरूले आफूहरूसँगै गाई चराउने ग्वाला वा साथी देखे । युवती वा गोपिनीहरूले सुन्दर युवक र प्रेमी देखे । भक्तहरूले साक्षात् भगवान नै देखे । पहलवानहरूले महसुर प्रतिद्वन्द्वी देखे । उनै कृष्णलाई यो द्वन्द्वको योजनाका रचनाकार कंशले भयानक मृत्युको शङ्खनाद गर्दै प्रवेश गरेको शत्रु देखे ।

आखिर त्यहाँ थियो को त ? सबैले आ-आफ्नै समय, भूगोल र भावनाहरूसँग मिलाएर कृष्णलाई देखेका थिए । त्यहाँ सादृश्य वस्तुतः त एउटै थियो- नाबालक कृष्ण । तर सबैले किन र कसरी फरक फरक देखे त ? मानिसको अन्तरहृदय भित्रको अपेक्षा जे थियो त्यो देखे । वस्तुतः जे थियो त्यो देखेनन् । तर मनमा जे सोचेका थिए त्यही देखे । हरेक मानिसका मन भित्रका यी आ-आफ्नै लीला त हुन् ! होइन र ? यही लीला हो मानिसको जिउने आधार । यसरी कुनै वस्तु आँखाले जे देख्छ, त्यो सत्य नहुन पनि सक्छ र कुनै वस्तु मनले जे देख्छ त्यो पनि नहुनसक्छ । सामान्य उदाहरणबाट यसको छिनोफानो गरौं – कुनै भोजन आँखाले हेर्दा नमिठो जस्तो  देखिन पनि सक्छ, खाँदा स्वादिलो हुन सक्छ ।

बसोबासका दृष्टिले यो पङ्क्तिकार अहिले  अमेरिकामा छ । यदि यो समय- उमेरमा म पनि यो भूगोलमा हुन्न थिएँ भने मैले यहाँ प्रस्तुत गरेका विषय-वस्तुहरूमाथिको दृष्टिकोण र विचारहरू पनि फरक हुन्थे होलान् । यसमा एउटा पहाडी ग्रामीण परिवार  कसरी पहाडबाट तराई झर्यो ? त्यस परिवारको कुनै बालकले तराईको जीवनमा कसरी हुर्क्यो ? कहाँ कहाँ पुग्यो ? अहिले कहाँ छ ? यी यावत प्रसङ्गमा मानिस बाहेकका प्रणीहरूको बसाइँ-सराइ, व्यक्तिगत भावनाका अनुभूति, सामयिक राजनीति, सामाजिक जीवन र समाजप्रति व्यक्तिको दायित्वजस्ता विषयमा चर्चा गर्न प्रयास गरिएको छ । यो व्यक्तिगत जीवनको अनौपचारिक र क्रमबद्धता वा शृङ्खला नमिलेको  संस्मरणात्मक अनुभूति मात्र हो । यसले कुनै तथ्य वा सन्देश सम्प्रेषण नगर्न पनि सक्छ । तर समय र भूगोलले मानिसका मनमा विगतप्रति उत्पन्न भावनाको सङ्केत गर्न सक्छ भन्ने विश्वास छ । उद्देश्य पनि त्यही मात्र हो ।

* * * * 

बयान -१ : बसाइँ-सराइको सन्दर्भ

बसाइँ हिंड्नेको ताँतीले बस्नेको मन रुवाउँदछ ।

लाखौंको लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्गै छ ।।

मानिस जतिको घुमन्ते प्राणी अर्को यो संसारमा नहोला । त्यसो त मानिस मात्र घुमन्ते प्राणी होइन । पशुपन्छी र वनस्पतिसमेत विभिन्न कारणले घुमफिर गर्छन्  । मानिस बाहेकका घुमन्ते पशुपन्छीहरू भने बथानबाट छुट्टिएका कारण वा मानिसको नियन्त्रणमा र अन्य प्रतिकुलतामा परेर फसेको अवस्थामा बाहेक आफ्नो पूर्व वासस्थानमा नै फर्किने उदाहरणहरू छन् । तर कमै मानिस बसाइँ सरेर पुगेको भूगोल छोडेर आफू पहिले बसोबास गरेको भूमिमा फर्किन्छ ! मानिस स्वभावले नै घुमन्ते भएकोले यसको घुमफिरको बारेमा हामी स्वयं नै उदाहरण हौं ।

विभिन्न अध्ययनहरूमा उल्लेख भएअनुसार उत्तरी ध्रुवमा हिमपातको प्रारम्भसँगै सुरक्षित वासस्थान र चरन खोज्दै बर्सेनी करीब १ सय ५० प्रजातिका हजारौं  चरा पर्यटकका रूपमा नेपालमा आउँछन् । उत्तरी एसियाको साइबेरिया, रूस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान,चीनको उत्तरी भाग, युरोप, मङ्गोलिया, तिब्बत तथा कोरियाली चराहरू हिउँदे याममा जाडो छल्न बसाइँ सरेर नेपाल आउँछन् । भदौ मध्य वा असोज देखि पुस मध्यसम्ममा नेपाल आउने ती चरा फागुन मध्यदेखि स्थायी ठाउँमा फर्किने क्रम शुरू गरी चैतसम्ममा प्रायजसोले नेपाल छाडिसक्छन् । बच्चा कोरल्न र हुर्काउन बाँकी रहेका केही प्रजाति पनि गर्मीको प्रारम्भ सँगसँगै फर्कन्छन् । उत्तरी बाटो हुँदै आएका चराहरू नेपाल नाघेर भारत, पाकिस्तान, श्रीलङ्कातिर पनि जाने गरेका छन् । भनिन्छ, बार हेडेड गुजर (खोया हाँस) नामक चराले त सर्वोच्च शिखर सगरमाथाको माथितिर भएर पनि घुमफिर गर्छन् ।

नेपाली होस् वा अन्य भूगोलका मानव समुदायमा मौसमअनुसार जाडो छल्न र खेती किसानीका काम गर्न लेक-बेसीं वा गाउँ-बेसींमा जाने आउने प्रक्रिया अहिले पनि हुनेगर्छ । तर हिजोको लेक बेसीं वा गाउँ बेसींको प्रक्रिया फेरिएको छ । त्यो गाउँ बेसींको प्रक्रिया अहिले वैदेशिक रोजगारी, शिक्षा आर्जन वा अन्य अवसरका लागि  देश-देशावरसम्म फैलिएको छ । नेपाल आउने विदेशी  चराहरू आफ्नो पहिलेको  मूल थातथलो फर्किरहेका छन् तर मानिसको निरन्तरको लस्कर अगाडि मात्र लम्किरहेको देखिन्छ । मानिस र पशु-पन्छीका बीचको भिन्नता नै यही हुनसक्छ मानिस भन्दा राम्रोको खोजीमा अगाडि बढेको छ वा भौंतारिएको छ भने पशु-पन्छि जे छ त्यसैलाई स्विकारेर पछाडि पनि फर्किरहेकै छन् ! अन्य पशुपन्छी वा वनस्पतिका बसाइँ  सराइको सन्दर्भमा अन्य कुनै प्रसङ्गमा चर्चा गरौंला ।

नजिकको तिर्थ हेला भनेजस्तो अनेकौं असन्तुष्टिका पोका बोकेर मूलथलो छोडेर अगाडि दौडिरहेको मानिसहरूको लस्कर कहिलेसम्म यसरी अगाडि बढिरहन्छ र  कहाँसम्म पुग्ला ? कहाँ पुगेर रोकिएला र कहाँ पुगेर पछाडि फर्केर हेर्ला ? अहो ! म त आउन नपर्ने ठाउँमा पो आइपुगेछु भनेर मानिस पछाडि फर्क्यो भने के होला यो संसारमा भोलि ? यसरी आफ्नो मूल थातथलो छोडेर गाउँ नै रित्याएर  लस्कर लागिरहेको एउटा जाति नेपाली पनि हो । मृगले जस्तै पेटमा बोकेको कस्तुरीको वासना थाहा नपाएर  मानिसले मानिस अनादि कालदेखि नै भौंतारिरहेको छ ।

माथिका गीतको सन्दर्भ र सन्देशका बारेमा पनि खुलदुली मेटौं । गीतकार कालीप्रसाद रिजाल तथा नारायण गोपालको सङ्गीत र स्वरको यो गीतले जुन विरहको पीडा प्रकट गरेको छ, त्यो कुनै पनि ठाउँ छोडेर अर्को ठाउँ छोड्नुपर्दाको दुःख पनि हो । छोडी जानेहरूले बस्नेलाई आँखा छोपेर नरुन भने पनि ऊ स्वयं चैं मुटुमाथि ढुङ्गा राखेर हाँसेको हुन्छ । छिट्टै फर्किआउने बाचा गरेर हिंडेकाहरू फर्किआउने यकिन हुँदैन । शरीरले गह्रुङ्गा पाइला चाले पनि मन पुरानै ठाउँमा छोडिन्छ । गाउँ बेसी, मेलापात र आफन्त वा मायालुहरूलाई छोडेर अश्रुधारा चुहाउँदै हिंड्दा आफैंलाई कुल्चेको महसूस हुन्छ ।

सामान्य त हामी गीत सुनेर मनोरञ्जन गर्छौं वा गीत सङ्गीतले मनोरञ्जन प्रदान गर्छ ठान्छौं । तर गीत सङ्गीतले मनोरञ्जन मात्र नभएर मानवीय जीवनका अदृश्य अनगिन्ती दुःखहरूलाई पनि प्रकट गरिरहेको हुन्छ । यस्तै अर्को गीत पनि छ- ‘बसाइँ हिंड्नेको ताँतीले बस्नेको मन दुखाउँछ,…. ।’

यी दुवै गीतले बसाइँ सर्ने होस् वा गाउँ छोड्ने, प्रेमी-प्रेमिकासँग बिछोड हुने होस् वा अरू जो सुकै कारणले आफ्नो मूल थातथलो छोडेर हिंड्दै हुन्छ, ती सबैको मनोदशालाई प्रकट गरेको छ ।

भोलि उठी कहाँ जाने र आउने वा नआउने मात्र होइन हरेक बसाइँ सर्ने मानिसले आफूलाई मानसिक रूपमा आफ्नै जन्मस्थानमा छोडेर शरीरलाई मात्र घिसारेर लस्करहरूमा सामेल भएको हुन्छ । आफैंलाई छाडेर वा आफैंलाई कुल्चिएर आँखाभरि जन्मीहुर्की खाईखेलेको माटो छोडेर हिंड्नु के मुटुमाथि ढुङ्गा राखेर हिंडे जस्तै त होइन र ? यो पङ्क्तिकारलाई लाग्छ यसरी लस्कर लागेको मानिसले देख्ने सपनामा पनि नयाँ भूगोल कहिल्यै पर्दैन ।

यो पङ्क्तिकारको अनुभवले भन्छ- ‘मानिसको जीवनमा एउटा निश्चित समयमा आफू जन्मेको भूगोल र समाजको परिवेशसँग उस्को मन मस्तिष्कमा आजीवनका लागि नमेटिने गरेर जुन कुराको ‘सेट’ वा ‘सेभ’ भएको हुन्छ,त्यो परिवर्तन नहुनेरहेछ ।’

नेपालको तेह्रथुम जिल्लाबाट मोरङ जिल्लाको सुन्दर हरैंचा झरेका एक युवकले हेर्ने कथा (जुलबी चोकको कथा-८९) मा पहाडको झझल्को आउँदैन भन्ने प्रश्नमा भन्छन् – झझल्को मात्र होइन सपना पनि म यो ठाउँको देख्दिन ।

यो पङ्क्तिकारको विगत २ दशकको अनुभव पनि यस्तै छ । नेपाली संस्कृति त यस्तो थियो- विवाह गरेर घर जाने चेलीहरू ‘नौ डाँडा पारि दियौ नि बाबा मन रुन्छ धुरुरु’ भनेर विरहका गीत गाउँथे । माइतीहरू नरोऊ चेली जीवनको रित यही हो भनेर सम्झाउँथे ।

टेकेको पाइला मेटेको छैन

कहाँ पुग्यौ होला नि !

यही गीत गाउने जाति आज राजी खुशीले नौ डाँडा पारी मात्र के हुन्थ्यो सात समुद्र पारि पुग्दा मन कसरी  सम्हालिएको छ होला ? अनुमान गर्न सकिन्छ । रहर र खुशीले चालेका पाइला किन बाध्यता भनेर ‘रोइलो’ गर्छस् भनेर साथीसँगीले चिमोट्दा छालामा त छुन्न मुटुमा दुख्छ !

आदमी मुसाफिर है 

आता  है जाता है

आते जाते रस्तेमे

यादें छोड् जाता हैं

आधा शताब्दी पुरानो यो हिन्दी फिल्म (अपना, सन् १९७७) हामी धेरैले सुनेका छौं । आनन्द भक्षीको रचनाको यो गीतका गायक हुन् लतामङ्गेशकर र मोहम्मद रफी । हो पनि के भने मानिस जहाँ पुगे पनि बाचुन्जेल नछोड्ने त सम्झनाहरूले नै रहेछ ।

आधा शताब्दी पहिले नै नेपाली लोक गायक धर्मराज थापाले पनि नेपालीहरूको बसाइँ-सराइ वा रोजगारीका लागि देश छोड्ने प्रवृतिका बारेमा एउटा गीत गाएका थिए । ‘नेपालीले माया मार्‍यो बरी लै’ बोलको थापाको गीतको यस्तो छ-

रोप्दै छौं हामी काट्दै छौं हामी

दाईं  हाल्छ र्कै पाखाको आई ।

दार्जेलिङ्ग  आसाम  बर्माको गोठमा

भागसू र सीमला  लापराको गोठमा ।

भैछौ  कि … गोठाला कुल्ली

जिन्दगी भर परदेशमै  हल्ली

नेपालीले माया मार्‍यो बरी लै ।

 

अरू देश सबै जागेर उठे

हाम्रो  त आँखा चिम्लेर सुते ।

…………………………….

बिरानू  देशमा लागेका  भाइ 

फर्केर हेरि देऊ  नेपाललाई ।

यसो त बसाइँ सराइ वा स्थानान्तरण मानव जातिको विकास र सभ्यताको प्रस्थानबिन्दु हो । यसरी हेर्दा यो मानिसको स्वाभाविक गतिविधि हो । तर मानिसको सामाजिक सम्बन्ध, जातीय संस्कृति र राष्ट्रको  बृहत्तर हितको क्षयीकरण पनि हो । नेपालको इतिहासमा बसाइँ सराइले आन्तरिक र सांस्कृतिक रूप हुँदै देशबाहिर पाइला चालेको देखिन्छ ।

सहप्राध्यापक डा पद्मप्रसाद खतिवडाका अनुसार सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल-अंग्रेज युद्ध लगत्तै सुगौली सन्धि भयो । नेपालको वर्तमान सिमाना निर्धारण गरेको उक्त सन्धिपछि एकातिर नेपालले आफ्नो केही भूभाग ब्रिटिश इन्डियालाई दिनुपर्‍यो भने अर्कोतिर बेलायतले १८१५ देखि नै इष्ट इन्डिया कम्पनी फौजमा नेपालीलाई भर्ती गर्न शुरू गर्‍यो । यी अधिकांश भर्तीहरूको मुहान नै नेपालको मध्यपहाड रहेको थियो । अध्ययन अनुसार नेपालको पहाडी र मध्य पहाडी भूगोलको बसाइँ शुरूका दिनमा लाहुर जाने (इष्ट इन्डिया कम्पनी फौजमा जान) क्रमबाट सुविधाको खोजी, शिक्षा र अन्य वैकल्पिक अवसरहरूको लागि शुर भएको थियो । धर्मराज थापाको आधा शताब्दी पुरानो गीतमा पनि दार्जेलिङ्ग, आसाम, कुमाउ गढवाल र बर्मासम्मको सन्दर्भ मात्र उल्लेख गरिएको छ । तर जनसङ्ख्याको वृद्धिका अनुपातमा रोजगारीका अवसर कम हुनु र गरीबी बढ्दै जाँदा आन्तरिक वा परम्परागत रूपमा शुरू भएका मध्य पहाडबाट हुने मानिसको स्थानान्तरण आज सबै भूगोलबाट समान गतिमा बढेको छ । यो क्रम नेपाली राजनीतिमा आएको खुला वातावरण र उदार अर्थनीतिको ३ दशक यताको समयमा यिनै कारणहरूका अतिरिक्त थपिएको अर्को कारण हो- राज्यको केन्द्रीकृत विकाश र अवसरका स्रोतहरूको केन्द्रीयता । यी सन्दर्भ यस आलेखका सङ्केतका आँखीझ्याल मात्र हुन् ।

माथि उल्लेख बसाइँ हिंड्नेको ताँतीले … गीतको सन्दर्भ पनि यहाँ जोड्नु छ । यो गीतका ठाउँमा यसभन्दा पहिले अर्कै गीत राखिएको थियो । अहिले पढ्दै जाँदा पहिलेको गीतभन्दा यो गीत सान्दर्भिक लाग्यो । हिजोको रुचि,प्राथमिकता वा दृष्टिकोण आज बद्लियो । हिजो मिठो लागेको भोजन आज अरुचिकर हुन थाल्यो । जीवनको यो पनि एउटा रङ्ग हो, मौसमअनुसार अर्थात् समय,उमेर र भूगोलअनुसार बद्लिन्छ । पहिले उल्लेख गीत यो थियो-

भोलि उठि कहाँ जाने केही थाहा छैन,

फर्कि आउने हो कि होइन केही थाहा छैन ।

तर यो पनि होइन, यो पङ्क्तिकार ‘स्वर्ग र नरक’को तुलना गरेर वा रोजेर र रहरमा पनि यो बाटो हिंडेको थिएन । हिंड्ने र अगाडि बढिरहने क्रममा पछाडि फर्कन नसकिने बाटोमा पाइला चालेको थियो । अभिमन्युले साहसले चढेको चक्रव्यूह थियो ! त्यही चक्रव्यूहमा अल्झिएका र नअल्झिएका हेराइ-भोगाइ र अनुभूति फरक हुनेरहेछ ।

* * * * 

बयान-२ : गन्तव्य गौरिगञ्ज

यस भूगोलमा टेकेको पैतालाको धुलो ४५ वर्षपछि सम्झिंदा आज पनि त्यहीं पुगेजस्तो लाग्छ । भोजपुरको जरायो टार माङदिङस्थित सल्लेरीबाट पाल्पाले, जोगिटार, जरायोटार, राइनटार हुँदै  अगाडि बढेको थियो एउटा पहाडी परिवार साढे चार दशक पहिले । अरुण नदीमा पुल थिएन । भोजपुर तर्फ घाटभन्दा केही माथि घिर्लिङ् (तुइन) भनिन्थ्यो- एउटा कोक्रो जस्तो केही झुन्डिएको र फलाम (तार) को मोटो डोरी अझै पनि झुन्डाइरहेकै छ । लेगुवाघाट स्थित अरुण नदीमा झोलुङ्गे पुल बनेको धेरै वर्षपछि धनकुटा हुँदै भोजपुर सदरमुकाम जाने मोटर बनेको छ अहिले ।

तराई झर्दा बाटाको गाँसबास पाटी पौवा र जङ्गलमा नै भएको आज आफैंलाई अविश्वासिलो लाग्छ । भोजपुरलाई पछाडि छोडेर  शिवरात्री अर्थात् धनकुटाको लेगुवाबाट दियालेतिर अगाडि बढ्दा राम रिठ्ठा भन्ने ठाउँमा बाटो तर्फ फर्केको सानो झ्याल भएको सेतो कमेरो लगाएको सानो घर हुलाक कार्यालय सम्झनामा छ । पाल्पालेको स्कूल पनि सरकारी नै हो तर  सरकरी कार्यालय भनेर सबैभन्दा पहिले देखेको यही हुलाक हो । यही आसपास पाटी-पौवा र मानिसहरूका लागि खाना बनाउने ढुङ्गाका चुला-चौका र पसल पनि थिए । दियालेमा व्यापार गर्नेहरूले आफ्ना ग्राहकका लागि बास बस्ने पाटी र चुला चौकाको व्यवस्था गरेका रहेछन् । वर पीपल चौतारामा नै भारी बिसाएर खाना बनाएर खानेहरू पनि हुन्थे । बिहानको खाना त्यहीं खाएर हिलेमा आएर बास बसेका थियौं । त्यसपछि अर्को दिन तमोर नदीको  किनारमा कतै बास बसेको सम्झना छ ।

धरानमा कहाँ कसरी बास बसियो भनेर सम्झना पनि छैन र अब पुष्टि गर्न सक्ने सम्भावना पनि कम छ । सम्झनुपर्ने वा सोधेर यकिन गर्नुपर्ने आफैंले थियो, गरिएन । बुबा आमाले गर्नुभएको कुराकानीको सम्झनाको सारांश यही हो । घरबाट हिंडेको चौथो दिन  धरानबाट गुराँस हो वा मुनाल बस चढेर गौरिगञ्ज चोकमा पुगेपछिका दिनहरूबाट आजसम्मको यात्रामा घर भनेर फर्केको गौरिगञ्ज र कोरोवारी नै हो । हजुर बुबा र ठूलो बुबाहरूले ८-९ दिन लगाएर यो बाटोको पैदल यात्रा तय गर्नुभएको थियो रे- २०२२ सालमा । जन्मका आधारमा र बाल्यकालका दशकभन्दा धेरै समय बिताए पनि त्यसपछि हामी घर भनेर माङदिङ् फर्केनौं ।

घरसँग जोडिने नाता रहेछ-बुबा आमा । बुबा आमा जहाँ बस्नुहन्छ,त्यही नै घर । अहिले यस्तो लाग्छ,हरेक पुस्ता एकपटक घरबार विहीन हुन्छ जुन बेला बुबा आमा हुनुहुन्न । बुबाआमाको घर एउटा हुन्छ र सबैको साझा पनि तर दाजुभाइ वा आफन्तको घर धेरै पनि हुन्छन् र ती भावनामा आफ्ना माने वा  नमाने पनि साझा घर हुँदैनन् । बुबाआमाको घरमा पुग्दा बाँकी सबै आफन्तको घरमा पुगिन्छ अर्थात् सबैजना जम्मा हुने घर त्यही हुन्छ तर अरू आफन्तका हरेक घरमा पुग्दा पनि कसैको छुट्यो कि मनमा लागिरहन्छ । यस्तो लाग्छ, लाखापाखा लागेका आफ्ना सन्तान घर सम्झेर आउँदा आफूलाई फेरि घर भएको महसूस हुन्छ  तर जन्मेको घर भए पनि पहाडको घर सपरिवार छोडेर हिंडेकोले पनि हुनसक्छ, त्यहाँ घर भनेर फर्केर जानु परेन । जन्मघर त आखिर त्यही थियो । घर पनि सर्दो रहेछ, बुबाआमासँग ।

आठमौजा गौरिगञ्जको सन्दर्भ पनि सकौं- यही मौजाको कोरोवारीको नाम मेटिएर अहिले गौरिगञ्ज वार्ड नं.  २ मा समेटिएको छ । यस वार्डमा तत्कालीन कोरोवारी अन्तरगतका तुलाचन, टटुवामारी, भाकुरमारी आदि गाउँहरू समेटिएको छ । कोरोवारी कुनै ठाउँको नाम नभएर समग्र गाउँ पञ्चायत वा गाउँपालिकाको नाम थियो तर गणतन्त्र नेपाल र संघियताले राज्यलाई दिएको  पहिचानमा यो कोरोवारीको पहिचान अलि गौण बनेको छ र  गौरीगञ्ज २ को परिचयले प्राथमिकता पाएको छ ।

झापा गौरिगञ्जको यो सन्दर्भ गौरिगञ्जको बासिन्दा र स्थानीय हाइस्कूलको विद्यार्थी हुनुका कारणले चर्चा र संस्मरणको केन्द्र हो । गौरिगञ्जमा बसबाट झरेका हामी कोरोवारी गाउँ पञ्चायतस्थित टटुवामारीमा बसेर त्यहींको आदर्श निम्न माध्यमिक विद्यालय हुँदै गौरिगञ्ज हाइस्कूल पढ्न जान थाल्यौं । कोरोबारी करीब करीब चारैतिर खोला र होलीले घेरेको भूपरिवेष्टित देशको जलवेष्ठित भूभाग अर्थात् टापु जस्तै थियो । करीब १ घण्टाको पैदल यात्रापछि विद्यालय पुग्न हामीलाई हम्मेहम्मे पर्थ्यो । घरमा एउटासम्म साइकल हुनु पनि ठूलो कुरा हुन्थ्यो । आज यही गाउँमा हुर्किंदै गरेका बालबालिकाहरूका लागि अनौठो र अपत्यारिलो लाग्छ । कोरोवारी वा गौरिगञ्जबाट दमक पुगेर घर आउन हिजो एक दिनजस्तै लाग्थ्यो आज हाइस्कूल पढ्दै गरेका बालबालिकाहरू बिहानको खाना खाएर दमकमा पढेर बेलुकाको खाना खानेगरी घर फर्किन्छन्  ।

कोरोबारी कै कुरा सकौं, टटुवामारी पनि होइन र तुलाचन पनि होइन यो गाउँ । झापा जिल्लाको त्यो पश्चिम दक्षिण कुना कोरोवारीस्थित भालूखोपमा पुगेका भोजपुर, खोटाङ, धनकुटा र सङ्खुवासभाका बाहुन परिवारको छेउमा राई, तामाङ, मगर र विश्वकर्मा परिवारको वस्ति थियो । वस्तिको यो संरचनाको मनोविज्ञान के थियो ? यसबारे समाजशास्त्रीय अध्ययनले के भन्छ थाहा छैन । आँगन नै जोडिएका छिमेकीहरूको लागि पनि यो बाहुनटोल  थियो ।

जङगलामूलुक र औलोको यो कालापानीमा भालु वा बाघकै बिगबिगा पक्कै थियो होला । भालु नै नभए के भालुखोप भनिरहनु ? प्रकाशपुर, यो नाम यसै मन पर्‍यो । बस्तीको बीचमा केही वर्ष ‘प्रकाशपुर’ को साइन बोर्ड राखियो । रेडियो नेपालका फर्माइसी गीतका कार्यक्रमहरू वा पत्रमित्रताका चिठीहरूमा यो नाम ‘नोटिस’मा नै थियो । नजिकैको गौरादहका चौधरी वा वीरगञ्जका अन्सारी वा हवारी जतिको भने होइन !

भोजपुर किन छोड्नुभएको थियो त ? कुनै एउटा प्रसङ्गमा छोरी सुलेखा आमासँग कुरा गर्दै थिइन् । पहाडमा स्कूल जान पनि सकिन्न थियो । पानी लिन पनि डोकोमा गाग्रो राखेर खाली खुट्टा आधा घण्टा टाढा जानुपर्थ्यो । यस्तै पहाडका अफ्ठेरो सुन्दै गएपछि छोरीले आमासँग भनिन्- ‘घर पानी भएकै ठाउँमा किन नबनाएको त ?’ खाने पानी लिन पनि डोको बोकेर वन पाखातिर पँधेरो खोज्दै हिंड्नु पर्छ र भनेर प्रश्न गर्ने आज हुर्कंदै गरेको पुस्तालाई हामीले भोगेको जीवन अब ‘एकादेशको कथा’ हुन थालेको छ ।

गौरिगञ्ज हाइस्कूल र कोरोवारीको अन्तरसम्बन्धका बारेमा लेख्न सकिने र लेख्न पर्ने धेरै कुरा छन् । ती अनगिन्ती कुरा मलाई लाग्छ, धेरै खम्बु दाइ (के आर खम्बु, सांसद) ले लेख्नुभएको छ । लेखनाथ दाइ (पौडेल), रमेश दाइ, कुमार काका, देवीजी लगायतका अग्रजहरू वा अन्य मित्रहरूले पनि लेख्नु हुने विश्वास छ । महेश दाइ अहिले पनि कोरोवारीमा नै हुनुहुन्छ । भोला खतिवडा र मिनजीलाई पनि लेख्ने पढ्ने कुरामा रुची छ । नेपाली संस्कृतिका सीमा रक्षकका रूपमा लामो समयसम्म कोरोवारीमा नेपाली भाषाको शिक्षा विकाशमा संलग्न हेडसर अर्थात् बोधराज नेपाल पनि अहिले हामीसँग हुनुहुन्न ।

नेपाली संस्कृतिका उन्नयनमा सम्झनुपर्ने ड्राइभर दाइ अर्थात् हरिबहादुर थापा, नेपाली शिक्षक निलप्रसाद नेउपाने पनि सम्झनामा मात्र हुनुहुन्छ । काका उमानाथ भण्डारीलाई हामीले सडक दुर्घटनाबाट गुमाएको गत वर्ष हो । काकालाई यो तराई भूमि र पहाडी जीवनलाई जोडेर लेख्नुपर्छ भन्ने सल्लाह गरिरहेको भएता पनि परिणाम हात पर्न सकेन । कल्याण ठूलो बुबालाई गणेश राखेर भए पनि यो काम गर्न सकिन्छ कि भनेर महेश दाइ र रमेश दाइलाई अनुरोध गरेको पनि धेरै भयो । कल्याण ठूलो बुबाले पनि यो काम आफैं अग्रसरता लिएर गर्ने रुचि राख्नु भएन, मैले अनुरोध त गरें तर भूमिका खेल्न सकिनँ । परदेशबाट फर्किंदा अलिक अनुरोधमा दबाब पनि थपिएला कि भनेर एउटा नोट बूक (खाली कपी) र कलम पनि छोडेको थिएँ । मैले गर्न सक्ने जति थियो गरें । लीलाराज खतिवडा भाइलाई अनुरोध गरेर केही वर्ष पहिले एउटा संवादमूलक लेख नेपाली पोस्ट डटकममा प्रकाशित गरेको थिएँ ‘कल्याण ठूलो बुबाको देश गलत नियत भएका मान्छेहरूको पोल्टामा परिसकेकाे छ : कल्याणप्रसाद कोइाराला‘ भन्ने शीर्षकमा ।

इश्वरी ठूलो बुबा (पूर्व प्रअ गौरादह हाइस्कूल) केही वर्षको अमेरिकाबासपछि आजभोलि काठमाण्डूमा बस्नुहुन्छ, उहाँले लेख्नु भए पनि हामीले हिंडेका पाइला मेटिने थिएनन्, आशा अझै मरेको छैन । यो कुरा मैले भाइहरूलाई त गरें नै तर दीपक काकाको बलले पनि पुगेन । आठमौजाका बारेमा गौरादह निवासी लेखक दीपक सुबेदीले गौरिगञ्जतिर पाइला बढाउनु भएन । धर्मनारायण दास, नारायण पाण्डे त केही पहिलेदेखि नै हामीबीच रहनु भएन । घनश्याम दाइ (रिजाल) पनि अब सम्झनामा मात्र हुनुहुन्छ ।

* * * *

बयान – ३ : पहिचानले खाएको पहिचान

पहिचानका लागि बलिदान गरेको संघीयताले मेरो जन्म स्थान र बाल्यकाल बिताएका दुवै पहिचान मेटाएको छ । भोजपुरको  याकु, जरायोटार, चरम्बी, प्याउली, याङपाङ गाविसलाई जोडेर अहिले अरुण गाउँपालिका बनाइएको रहेछ ।

साहित्यकार डा. विप्लव ढकालसँग मनको बह पोखें-तर कताकता संघीयताले स्थानीयता र मौलिकता जोगाएन कि जस्तो लाग्यो । यी सबै नामहरूको जुन मौलिकता थियो, अरुणले बगाएछ ! अरुण अर्थात् अरुण नदीको त विशेष मौलिक पहिचान थियो नै तर ती पुराना नामहरूको मौलिक पहिचान खै ? याकु, जरायोटार, चरम्बी, प्याउली, याङपाङको मौलिक पहिचान हरायो । हिजो जरायोटारमा जुन मौलिक सुवास/फ्लेवर थियो तर आज अरुणमा कता के हो के जस्तो लाग्छ । याकु पञ्चायत वा गाउँपालिका मूलथलो हो, डा. ढकालको पनि । याकुका ढकाल, आरखोर्काका नेवार, खमारेका राई, जरायोटारका दाहाल वा नेवार, राइनटारका खड्का यसरी पनि थियो यी स्थानहरूको पहिचान । माङ्दिङे भण्डारी यो पङ्क्तिकारका पुर्खा हुन् ।

भोजपुरको जरायोटार हराए जस्तै झापाको कोरोवारी पनि अब छैन । तर  गौरिगञ्ज अर्थात् झापा जिल्लाको सुदूर पश्चिम दक्षिणको  पुरानो बजार । आठमौजा गौरिगञ्ज भनेर पनि चिनिन्थ्यो । तर आठमौजा नै किन भनियो ? यो पनि बुझ्न बाँकी छ । यसो  त पूर्व ४ नम्बर, वल्लो किरात, पल्लो किरात, माझ किरात आदिको बारेमा पनि यही भूगोलका मानिसहरूले बुझ्न र बुझाउन पर्ने हो । मलाई लाग्छ, गौरिगञ्ज हाइस्कूलका विद्यार्थीहरू यी सबै पूर्वी पहाड र विशेषतः कोशी अञ्चलका मूलवासीहरू हुनुहुन्छ भने स्थानीयहरूले आठमौजाको कइरन नबताउने पक्कै हुँदैन । आजका पुस्ताका लागि गौरिगञ्जको इतिहास आठमौजा वा त्योभन्दा पहिलेबाट शुरू गर्नुपर्छ ।

नेपालका पहिचान गुमाएका भूगोलहरूमा पूर्व ४ नम्बर, चिसंखु, विसंखु, माझ किरात, उदयपुर गढी, ६ थुम, हनुमाननगर, चिसापानी, सिन्धुली गढी, नवलपुर, पाल्ही, शिवराज, खजहनी, माझ खण्ड, पश्चिम ४ नम्बर, पश्चिम २ नम्बर आदि पनि हुन् (रतन भण्डारी, अतिक्रमणको चपेटामा लिम्पियाधुरा-लिपुलेक/ पेज २३२, ७५ जिल्लामा विभाजन हुनु पहिले ) । अहिले ७७ जिल्लाले कतिको पहिचान बचायो वा खायो, गणित गर्न बाँकी छ ।

नेपालको राजनीतिक सीमा विभाजन र पहिचानका कारण यहाँ नाम उल्लेख भूगोलहरू अहिले कुनै अस्तित्वमा छैनन् । यी पनि इतिहासका अध्ययनका विषयहरू हुन् ।

क्रमशः…