इगम खालिङको कवितामा कथास्था
विश्वप्रसिद्ध अंग्रेजी कवि पर्सी बाइशे शेली ‘कविको प्रतिरक्षा’ शीर्षकको निबन्धमा लेख्छन्, “कविता तर्क जस्तो होइन, इच्छाशक्तिको दृढ संकल्प अनुसार प्रयोग गरिने शक्ति । मानिसले भन्न सक्दैन – ‘म कविता रचना गर्नेछु ।’ महान् कवि पनि भन्न सक्दैनन्; किनकि सृष्टिमा मन एक निभ्ने कोइला जस्तै हो, जुन कुनै अदृश्य प्रभावले, एक अस्थिर हावा जस्तै, क्षणिक चमकमा ब्यूँझन्छ … र हाम्रो प्रकृतिको सचेत भागहरू यसको दृष्टिकोण वा यसको प्रस्थानको बारेमा अप्रत्याशित छन् । के यो प्रभाव यसको मौलिक शुद्धता र बलमा टिकाउ हुन सक्छ, परिणामहरूको महानताको भविष्यवाणी गर्न असम्भव छ; तर जब रचना शुरू हुन्छ, प्रेरणा पहिले नै पतनमा छ, र संसारलाई अहिलेसम्म दिइएको सबैभन्दा गौरवशाली कविता सम्भवतः कविको मौलिक अवधारणाको कमजोर छाया हो । म वर्तमान समयको महान् कविलाई अपिल गर्दछु, के यो भन्नु गल्ती होइन कि कविताका उत्कृष्ट अंशहरू श्रम र अध्ययनद्वारा उत्पादन गरिन्छ ।“

कथाइगम
निबन्धको यो सानो अंशले कविताको राम्ररी शल्यक्रिया गरेको छ । वास्तवमा मन र मस्तिष्कबाट पन्नामा वा कम्प्युटरमा आइपुग्दा कविता आधा मात्र आइपुग्छ । कविताको कठिन यात्रा मस्तिष्कबाट शुरू हुन्छ तर बाटोमा यति अवरोध आउँछ कि धेरै जसो चुहिएर बाटोमा नै सकिन्छ । कविता बिजुलीको तरङ्ग जस्तो हो प्रयोग भएन भने खेरो जान्छ । कविता नदीको बग्ने पानी जस्तो हो प्रयोग गर्न सकेन भने अपव्यय भएर जान्छ । कविताको बारेमा डा. इगम खालिङ आफ्नो नयाँ कवितासंग्रह ‘कथाइगम’ मा लेख्छन्, “कहिलेकाहीँ कविता कविका मानसिक अनि भौतिक अनुभूतिहरूको कथाजस्तो लाग्छ । कथाको एउटा काव्यिक स्वरूप जस्तो लाग्छ । कविभित्र र बाहिरका अनुभूतिहरूबाट उत्पन्न भएका भावहरूको एउटा भिन्नै कथनजस्तो लाग्छ ।
मानसिक अनि भौतिक अनुभूतिमाझको अन्तर्क्रिया यति सशक्त हुँदो रहेछ कि त्यसलाई सिधै कथामा रूपान्तर गर्न सकिँदैन । त्यस्तो स्थितिमा हामीलाई अर्कै माध्यम चाहिँदो रहेछ । कविता बुझ्न र बुझाउनलाई कवि र कविताका सिर्जना पल, स्पेस, समय, वस्तु, घटना, विषय र अनुभूतिका कथाहरूसित जोड्नुपर्दो रहेछ ।
कविता मानिसका भावना, भोगाइ, अनुभूति, कल्पना, बुझाइ, दुःख-सुख, रिसराग आदिको भाषिक अभिव्यक्ति हो । कविता जीवन, जगत्, घटना, स्पेस र समयका कुराहरू हुन्, अनि यी सारा कुराहरू जीवनकथाका कुराहरू नै हुन् । जीवन हुनु नै जीवनका कुराहरू हुनुको प्रमाण हो ।“
‘कथाइगम’ कवि खालिङको ७१ वटा लघु कविताहरूको संग्रह हो । भूमिकामा नै कविले उनको कवितामा प्राप्त हुने तत्त्वहरूको विश्लेषण गर्नुभएको छ । रोमान्टिक धारका कविताहरू पढ्नमा मज्जा आउँछ तर समय सापेक्ष हुँदैन । रोमान्टिक धारबाट नेपाली कविता धेरै अगाडि बढिसकेको छ । कविताले समसामयिक विषयवस्तु समाउनुपर्छ, समय र घटनालाई प्रतिबिम्बित गर्नु पर्छ ।
‘एउटी यौनकर्मी युवतीको देवता’ शीर्षकको कविता वर्तमान जीवनको यथार्थको द्योतक हुन्-
“ठेलेर सपना वेदनाको सागरभित्र डुबाइदिएँ ।
त्यसैले भनेको आमा मैले रुनु छोडिदिएँ ।
म रुँदिन ।
हाँस्दिनँ पनि ।
छि: मनोवैज्ञानिकहरूलाई सोच्दा पनि घिन लागेर आउँछ !
त्यसैले भनेको आमा मैले विचारहरू पढ्न छोडिदिएँ ।
म सोच्दिनँ
पछुताउँदिनँ पनि ।
कसले भने ग्राहक देवता हुन्छ भनेर !
देवता त मरिसके ।”
खालिङ कवितामा जीवन दर्शनको स्वतः प्रवेश हुनु स्वाभाविक हो । उनले दर्शनशास्त्रमा विद्यावारिधि गरेका छन् त्यो पनि दार्शनिक कान्टको सिद्धान्तमा । चित्रकार भएकोले कविता चित्रमय छ । दर्शन र चित्रणको संगम हो उनका कविताहरू । प्रत्येक कवितामा उनले कथा भन्न खोज्छन् । उनको कवितामा कोरा भावुकता वा जटिल बौद्धिकता भन्दा बढी हार्दिकता छ । कविता तार्किक छैनन् तर तर्कसंगत छ । उनका कविताले प्रेम शेर्पा ‘विरोकी’को छोटो कविताको झझल्को दिन्छ । कविता जीवन्त हुनुपर्छ र यो तत्त्व उनको कवितामा प्रशस्त पाइन्छ ।
पुस्तकमा प्रस्तुत कविताहरू बारेमा अरुण साम्पाङ पुस्तकमा नै लेख्छन्, “कवि इगम खालिङको कविता लेखनको एउटा सुन्दर प्रयोगधर्मिता हो कविताभित्र एउटा सुन्दर कथाको उपस्थिति । कविताभित्र अझ अर्को मिठो कविताको स्पन्दित कविता भेटिन्छ । कविताहरूमा न त दुर्बोध्यताको झन्झट भेटिन्छ न त क्लिष्टताको बिस्कुन भेटिन्छ । त्यहाँ केवल अग्लो पहाडबाट बगेको चिसो झरनाको छङछङ गर्ने धुन मात्र भेटिन्छ । उनको कवितामा आफू जन्मेको चियाबारी र माटोको सुगन्ध अनि वरिपरिका परिवेशसितको तिता-मिठा भोगाइ तड्कारो रूपमा प्रतिबिम्बित भएको पाइन्छ । सरल, सहज भाषा शैलीमा कवितालाई उत्कृष्टता प्रदान गर्नु कवि खालिङको कवित्वको कलात्मकता मान्न सकिन्छ । भारतेली नेपाली कविता लेखनमा सुधीर छेत्री, राजा पुनियानी, केवलचन्द्र लामा, रेमिका थापा, प्रविन राई जुमेली, मनोज बोगटी प्रभृति कविहरूका नाउँसित जोडिएर लेखिने नाउँ भयो अब कवि इगम खालिङ ।“
सरल, सहज हुँदाहुँदै पनि वोधगम्य र व्याख्यात्मक अभिव्यक्ति पाइन्छ कवितामा । भारतीय नेपाली साहित्यमा आशलाग्दो कवि हुन उनी । उनको ‘अनुभूतिका लहरहरू’ कवितासंग्रह सन् २००१ मा प्रकाशित भएको छ ।
पुस्तकको नाम : कथाइगम (कवितासङ्ग्रह )
कवि : डा. इगम खालिङ
संस्करण : पहिलो, नोभेम्बर सन् २०२४
मूल्य : भारु.२४९
प्रकाशकः बुक-एण्ट पब्लिकेसन्स, ९/२४९, जयशोदा भवन, हिल कार्ट रोड सालबारी, जिल्ला-दार्जीलिङ, पश्चिम बङ्गाल, भारत
० ० ०
‘जूनको पर्खाइमा’ कवितासंग्रहमा निलीमा आचार्य
भारतीय नेपाली साहित्यमा अहिले आएर नारीहरू उपस्थिति निक्कै बढेर आएको अनुभूति हुन्छ । यो हुन सम्भव भएको हो केवल शिक्षा र सचेतनाले । नेपालमा भन्दा भारतमा धेरै नेपाली नारीहरु शिक्षित हुने अवसर निक्कै अगाडि पाएको हो । यसैले गर्दा सबै वर्गका नारीहरू शिक्षित भए र उनीहरूले साहित्यमा योगदान दिन समर्थ रहे ।
डा.कमला सांकृत्यायनले सन् १९५९ मा ‘तुलसीकृत रामायण र भानुभक्त रामायणको गुणात्मक अध्ययन’मा हिन्दी भाषामा विद्यावारिधि गरेकी थिइन् भने लक्खीदेवी सुन्दासले वि.स. २०४६ ले ‘नेपाली कवितामा दार्जीलिङको योगदान’ विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेकी थिइन् । असमका गीता उपाध्यायले सन् १९६४ मा नै राजनीति विज्ञानमा स्नातकोत्तर गरेकी थिइन् । खरसाङकी मायादेवी छेत्री सन् १९५२ मा भारतको राज्य सभाको सदस्यमा मनोनित भएकी थिइन् सिक्किमका दिलकुमारी भण्डारी (लोक सभा सदस्य)को भागिरथ प्रयासले नेपाली भाषालाई संविधानमा अन्तर्भुक्त गर्न सफल भयो । नेपालमा नेपाली भाषा सरकारी कामकाजको निम्ति अनिवार्य छ भने भारतमा नेपाल भाषा वाध्यात्मक छैन । नेपाली भाषा भारतको संविधानमा अन्तर्भुक्त भए पनि यस्को प्रभावकारिता न्यून छ । यसैले गर्दा नेपाली पढेर के हुन्छ भन्ने जमात बढिरहेको बेला साहित्य सृजना गर्नु आफैमा ठुलो उपलब्धि हो ।

जूनको पर्खाइमा
विशेषगरी असम लगायत पूर्वोत्तर भारतमा बसोबास गर्ने भारतीय नेपाली-गोर्खाली बासिन्दाहरूले नेपाली भाषाभन्दा पहिले आञ्चलिक भाषामा दक्षता हासिल गर्छन् किनकि त्यो भाषा सानैदेखि विद्यालयमा पढाइन्छ । नेपाली त रहरले सिकिन्छ त्यहाँ । तर रहरमा सिकिएको मातृभाषालाई अगाध प्रेम गरी साहित्य सृजना गर्छन् असमका नेपालीहरू । त्यसैले त अवतरित हुन्छन्- हरिभक्त कटुवाल, लीलाबहादुर छेत्री, कृष्णप्रसाद ज्ञावाली, पुष्पलाल उपाध्याय, गीता उपाध्याय ।
यही विषयमा खगेन शर्मालाई दिएको एक अन्तरवार्तामा असमकी लेखक-कवि निलीमा आचार्य भन्छिन्, “असममा नेपाली साहित्य साधना गर्नु त्यति सजिलो त छैन, किनकि नेपाली असमको राज्यिक भाषा होइन । प्रायः जसो साहित्यकारहरूले आफ्नो जीवनको आदि पाठ असमीया भाषामै प्रारम्भ गरेका हुन्छन् । पछि उनीहरूले आफ्नो भाषाप्रति रहेको अगाध प्रेम र प्रबल इच्छाशक्तिले गर्दा साहित्य सिर्जना गर्ने गर्छन् । र सुरुसुरुमा उनीहरूको निम्ति यो चुनौतीपूर्ण काम हुन्छ । समस्याहरूको बीचमा पनि अहिलेको जमात आफ्नो भाषा साहित्यप्रति ढल्केको छ । यो नेपाली साहित्यको अति शुभ लक्षण हो ।“
विगत केही वर्षदेखि पुरुषसँग काँधमा काँध मिलाएर अगाडि बढिरहेको छ नारी स्रष्टाहरू । विशेषगरी युवा पुस्ताका नारी स्रष्टा नैना अधिकारी, पूजा आचार्य, पूजा उपाध्याय, गोमा शर्मा, निलीमा आचार्य आदिले सृजनामा भावुकता मात्र होइन विचारलाई पनि प्राथमिकता दिएर लेखिरहेका छन् । ‘जूनको पर्खाइमा’- निलीमा आचार्यको दोस्रो कवितासंग्रह हो तर कृतिको रूपमा तेस्रो । ‘परिवर्तन र अन्य कविता’ (कविता सङ्ग्रह, सन् २०२१) र ‘रजत’ (उपन्यास, सन् २०२१) प्रकाशित भइसकेको छ ।
अरू जस्तै निलीमाले पनि पहिलो कविता असमीयामा लेखिन, नाम थियो ‘गरम बन्द’ तर प्रकाशित गरिनन् । उनको बुनियादी लेख रचना र कविताहरू असमीया भाषाको पत्रिका ‘आमार असम’ र ‘एदिन’मा प्रकाशित हुन्थ्यो । कालान्तरमा उनको नेपाली कविता र लेखहरू असम र असम बाहिरको नेपाली पत्रपत्रिकामा प्रकाशित हुन थाल्यो । ‘जूनको पर्खाइमा’ कवितासंग्रहमा निलीमाको ४४ वटा छोटा र लामा कविताहरू समावेश गरिएको छ । निलीमाको कवितामा नारी वेदना र समवेदनाको आवाजहरू गुञ्जिन्छ । उनको कवितामा विद्रोहको चेत पाइन्छ । तर शिक्षित नारी( एम.ए र डी.इएल. ईडी) भएता पनि खुलेर विद्रोह गर्ने आँट लेखाएकी छैनन् उनले कवितामा । सायद यो बाध्यता हो निलीमाको पिँढीको- आधुनिक हुँदाहुँदै पनि संस्कृति र परम्पराको डोरीले बाँधिराखेको छ, पूर्ण रूपले स्वतन्त्र छैनन् । ‘एन्टिम्यारिज’ कवितामा वर्तमान समाजमा नारीले भोग्नु परेको तितो यथार्थ व्यक्त गरिएकी छिन्
म मुक्त छु
स्वाधीन छु
तर मेरो स्वाधीनतालाई
बेरेको छ
घेरेको छ
संस्कारको नाउँमा थोपरेका
काला पट्टीहरूले
शिरदेखि पैतालासम्म
युगौँदेखि मैले मेरा इच्छाहरूलाई
साडीको फुर्कोमा बाँधेर राख्दै आएकी छु
त्यो पुरानो सुटकेस खोल्नुभने
मक्किसकेको साडीमा
आशाको गाँठो अझै सजीव भइरहेको छ होला
अब,
म मेरा आशाहरूलाई
यसरी मक्किएर जान दिने छैन
आजसम्म म छोरी भएर बाचें
बुहारी भएर नाचें
सासू भएर हाँसे
अरू धेरै के के हुँदै
कतिसँग साइनो गाँसें
साइनाको लहरै लहरामा बेरिएर
आफैलाई हराउँदै गएँ
त्यसैले अब
म केवल म भएर बाँच्न चाहन्छु
केवल म
निलीमाको लेखनलाई बुझ्न इन्द्रेनी प्रकाशन तर्फबाट अर्जुन निरौलाद्वारा लिखित प्रकाशकीयले सहजीकरण गरिदिएको छ, “‘जूनको पर्खाइमा’ विश्वनाथ, असमकी कवि निलीमा आचार्यकृत तेस्रो साहित्यिक कृति एवम् दोस्रो कविता कृति हो । मुख्यतः कविका रूपमा परिचित निलीमा पछिल्लो समयमा आख्यानकार र समालोचकका रूपमा पनि परिचित भएको देखिन्छ । असमको नयाँ छिमलकी चर्चित लेखक निलीमा नारीवादी र परिवर्तनकामी कविता लेखेर परिचित भएकी हुन् । उनको प्रस्तुत कविता कृति ‘जूनको पर्खाइमा’ पनि कविको संवेदनशील मनको अनुभूतिको सँगालो हो, जसमा रूढीवादी सामाजिक परम्परा, कुसंस्कार र दुर्बल वर्गमाथि सामाजिक शोषण आदिको प्रतिकार खोज्दै धेरैजसो कविताहरूले कलात्मक ढङ्गले बोलेका छन् । कविताहरूमा काव्यिक अभिव्यक्ति सफल रूपमा पोख्तै आएकी कवि निलीमा आचार्यको यस पुस्तकले पनि पाठकहरूबाट पूर्वको जस्तै धेरै माया र आदर अवश्य पाउने छ ।“
निलीमा समसामयिक समाजको आवाज हो, थिचिएको, मिचिएको, पिल्सिएको नारीको दमित आवाज हो । बाहिरबाट जति नै आदर्श देखिए पनि घरभित्र अहिले पनि नारीहरू प्रताडित छिन् । यस्को विरोधको आवाज हो निलीमाको कविता । कविता केवल मनोरञ्जनको साधन मात्र होइन यो त विद्रोहको द्योतक हो- यो निलीमाको कविताले प्रमाणित गरेको छ । निलीमाको कवितामा कोरा भावुकता भन्दा जीवनको यथार्थ चिन्तन धेरै छन् । सेलीले भनेका छन् मन र मस्तिष्कमा आएको सबै कुरा कलम र कपिमा आइपुग्दा आधा मात्र आउँछ- यो कुरा निलीमालाई पनि लागू हुनसक्छ । निलीमाको कवितामा पनि मन र मस्तिष्क भित्रका सबै कुरा कवितामा खुलेर नआएको अनुभव हुन्छ ।
पुस्तकको नाम : जूनको पर्खाइमा (कविता सङ्ग्रह)
कवि : निलीमा आचार्य
काउडीपथार, विश्वनाथ, असम
पहिलो संस्करण : मे, २०२४
मूल्य : भारु २००/-



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ जेष्ठ २०८३, बिहीबार 










