
केही समयअगाडि काठमाडौँमा एउटा नाम चलेको अनलाइनले हमजाएगाको बारेमा विस्तृत लेख प्रकाशित गरेको थियो। लेख राम्रो थियो तर कमी थियो हमजाएगाको जोक्सहरू सम्पादन गरी पुस्तकारको रूपमा ल्याउने व्यक्तिको नाम र योगदान । सन् सत्तरी र असिको दशकमा निकै नाम चलेको कथ्य जोक्सहरू थियो हमजाएगाको तर लेख्यमा भने आउन सकेको थिएन । हमजाएगाले चाहेर पनि यो गर्न सकिरहेको थिएन ।
यही अभाव पूर्ति गर्न तम्सिए नवयुवक विजयकुमार राई । सन् १९८२ मा उनले हमजाएगाको जोक्सहरूको सङ्कलन र सम्पादन गरी ‘हमजाएगाको डायरी’ (भाग १ र २) प्रकाशित गरे । कसैले नदेखेको दलबहादुर गुरुङ एकाएक हमजाएगाको अवतारमा दार्जिलिङे समाज अवतरित भए । सबै दङ्ग परे। तर भारतीय नेपाली साहित्यमा यो पहिलो जोक्सको पुस्तक चाहिँ पक्कै होइन। जोक्स सङ्कलन गरी लेख्ने परम्परा राजनारायण प्रधानले गर्नु भएको हो । उनको पहिलो हास्य सङ्कलन ‘ठट्टै-ठट्टा’ विजयकुमार राई जन्मनु भन्दा ६ वर्ष पहिले सन् १९५५मा श्याम ब्रद्रर्श प्रकाशनले प्रकाशित गरेका थियो ।
कुनै समय दार्जिलिङको साझा पुस्तक पसलमा कान्छा दाइसँग प्रायजसो देखिने अनुहार हो- विजयकुमार राई । नेपाली साहित्यको उर्वर भूमि दार्जिलिङमा सन् असीको दशकको पूर्वार्धमा केही ऊर्जावान् कवि-लेखक देखा परेका थिए ।
ती मध्ये विजयकुमार राईका समकालीन थिए पुरण गिरी, दिवाकर प्रधान, राम उपमन्यु । अनि चित्रकार हेमु राई, कृष्ण सुब्बा, सोनाम शेर्पा विजयका नजिकका मित्रहरू थिए । धेरैलाई कान्छा दाइको पसलको भित्रीपट्टि राजनारायण प्रधान लगायत केही साहित्यकारहरूसँग गफिन मन लाग्थ्यो तर त्यो अवसर विजय र पसलका मालिक मधुसुधन विष्ट जस्ता केहीलाई मात्र प्राप्त हुन्थ्यो । मझौला कदको हँसिलो, फुर्तिलो र शालीन व्यक्तित्वको धनी विजयकुमार राई नेपाली साहित्यमा भानुभक्त भन्दा मोतीराम बन्न रुचाए । आफू नेपथ्यमा बसेर अग्रज साहित्यकारहरूलाई जीवन्त बनाउन सधैँ अग्रसरता देखाइरहेका छन् अझै पनि विजयले ।
अस्तित्वको खोजी गर्ने कवि अगमसिंह गिरी सन् नब्बेको दशकमा आइपुग्दा स्वयं अस्तित्वविहीन हुन लागिसकेको थियो । मृत्यु भएको सात वर्षपछि नेपाली पाठकले सजिलै पढ्न पाएको कृति केवल ‘जलेको प्रतिविम्बःरोएको प्रतिध्वनि’ कविता सङ्ग्रह मात्र थियो जुन सन् १९७८ मा प्रकाशित भएको थियो । अरू सबै अप्राप्य। यही अभाव पूरा गर्न तम्सिए विजयकुमार राई अनि सहयोगी बने चन्द्र शर्मा र सुजातारानी राई । अनि प्रकाशनको मुख्य भूमिकामा उत्रिए सिक्किमको तत्कालीन मुख्यमन्त्री पवन चामलिङ निर्माण प्रकाशन मार्फत । भागीरथ प्रयास पछि प्रकाशित भयो सन् १९९८मा ‘अगमसिंह गिरी रचनावली’ । गिरीको भेटेसम्म सम्पूर्ण कृति र उनी माथि लेखिए लेखहरूको सङ्कलनले चार खण्डमा मूर्तरूप लिए । यस्तो महत कार्य गर्न उनलाई चौध वर्ष लाग्यो झन्डै राम वनवास गए जतिकै ।
विजयकुमार राईको टिमले पवन चामलिङसँग सहकार्य गर्दा नेपाली साहित्यले यति ठुलो उपलब्धि हासिल गरे । गिरीलाई जातीय कविको रटान लगाउनेले पनि गिरी जातीय कवि हुनुको मर्म बुझेका थिएनन् तर यो पुस्तकले त्यो मर्म बुझाउने धर्म पालन गर्यो । कुनै समय धरणीधर कोइराला र सूर्यविक्रम ज्ञवाली शिक्षक हुँदै प्रधानाध्यापक भएको दार्जिलिङ सरकारी विद्यालयमा उनले पनि त्यही यात्रा तय गरे । उनीहरू जस्तै ऐतिहासिक कार्य गर्न पनि भ्याए विजयले । कोइराला र ज्ञवालीसँग दाँज्न अप्रासङ्गिक होला यहाँ तर बाटो उस्तै भएकोले सान्दर्भिक पनि छ । गिरीको अस्तित्व, विचार र कृतिहरूलाई जीवित राख्नमा ‘अगमसिंह गिरी रचनावली’ ठुलो योगदान दिएको छ ।
विजयकुमार राई नथाक्ने मान्छे । अगमसिंह गिरीको ताप सेलाउन नपाउँदै गिरी भन्दा उमेरमा केही जेठो इन्द्रबहादुर राईलाई जीवन्त बनाउन तम्सिए । साझा पुस्तक पसलमा प्रायजसो भेट भइरहे यी दुई, त्यहीबाट सान्निध्य सुरु भयो अनि पछि सहकार्य । इन्द्रबहादुर राईले विभिन्न चरणमा शुरु गरेको साहित्यिक आन्दोलन- तेस्रो आयाम र लीलालेखन अनि त्यही माथि लेखेको विचारोत्तेजक लेखहरू सङ्कलन गर्नु आफैमा ठुलो चुनौती थियो जो इन्द्रबहादुर राई आफै गर्न चाहन्न थिए । दश वर्ष लाग्यो यो काम सम्पन्न गर्न विजयलाई । पवन चामलिङको सहयोगमा निर्माण प्रकाशनले प्रकाशित गरे पाँच खण्डमा ‘इन्द्र सम्पूर्ण’ । तर छ खण्ड इन्द्रबहादुर राईको परिवारले उनको मृत्यु पछि भरखरै प्रकाशित गरेको छ । सन् २००८ मा प्रकाशित इन्द्र सम्पूर्ण देख्ने सौभाग्य इन्द्रबहादुर राईले आफ्नो जीवनकालमा नै पाउन सके । यो ठेलीले (मैले पढ्न पाएको छैन अहिलेसम्म) इन्द्रबहादुर राईको विशाल व्यक्तित्वलाई बुझ्न सहज हुनेछ भन्ने विश्वास राखेको छु ।
भारत स्वतन्त्र भएपछि तेस्रो, पाँचौँ र एघारौँ गोर्खा राइफल्स भारतको भागमा परे भने अरू बेलायतको भागमा। तर नेपाली भाषामा यो बारेमा खासै चर्चा र परिचर्चा हुँदैन- पुस्तक त ठुलो कुरा । यही अभावलाई पूर्ण गर्न फेरि तम्सिए विजयकुमार राई । फलस्वरूप भारतीय गोर्खा राइफल्सबारे स्व० ले . कर्णेल एम. एस. सुब्बाको अनुसन्धान अनि लेखनपछि एक वर्षको समय लगाएर सम्पादनपश्चात् प्रकाशनमा आयो ‘तेस्रो, पाँचौँ र एघारौँ गोर्खा राइफल्सको इतिहास’। यो सन् २००९ मा प्रकाशित भएको थियो । गोर्खाहरूले भारतमा दिएको योगदानलाई यो पुस्तकमा लिपिबद्ध गरिएको छ जसले गोर्खा इतिहासलाई जीवन्त बनाएको छ ।
भारतमा बसेका नेपालीहरूको हितको निम्ति विभिन्न कालखण्डमा केही सङ्घसंस्थाहरू स्थापित भयो । खारसाङको गोर्खा जन पुस्तकालय सन् १९१२ मा स्थापना भयो भने दार्जिलिङमा नेपाली साहित्य सम्मेलन सन् १९२४ मा भयो । तर यी दुई संस्थाहरू बौद्धिक विकाशको निम्ति थियो भने सन् १९३२मा दार्जिलिङमा स्थापना भएको गोर्खा दुःख निवारक सम्मेलन भने साहित्य बाहेक सङ्गीत, नाटक, खेलकुद र समाज सेवामा समर्पित रहे । यही संस्थासँग आबद्ध भएर विजयकुमार राई पहिले मूल सचिव भए त्यसपछि उपाध्यक्ष। श्री राई मूल सचिव भएको समय सन् २०१५ रङ्गशालाको पुनर्निर्माण कार्य पूर्ण गरेर उद्घाटन पनि भएको थियो ।
आफू आबद्ध संस्थालाई अमर बनाउने हेतुले गोर्खा दुःख निवारक सम्मेलनबारे स्व० हीराकुमार सिंह, स्व० गुप्त प्रधान, श्री पेम्बा बमजन अनि डा० राधा शर्माको अनुसन्धान, लेखनपछि चार वर्षको समय लगाएर सम्पादन गरेर ‘सङ्घर्ष र गौरवमय इतिहास: गोदुनिस दार्जिलिङ’ सन् २०१५ मा प्रकाशित गरे । यो पुस्तक अहिले अप्राप्य छ ।
नेपाली भाषा हिन्दी, फारसी र उर्दूबाट धेरै प्रभावित भएको देखेर वि.स. २०१२ तिर तारानाथ शर्मा, कोशराज रेग्मी, वल्लभमणि दाहाल, बालकृष्ण पोखरेल र चूडामणि रेग्मीहरूले झर्रो नेपाली आन्दोलनको सुरुवात गरे । तर आन्दोलन आफैमा राम्रो हुँदाहुँदै पनि यसले चाहिने जति गति लिन सकेन । फलस्वरूप नेपाली गजल र आख्यानमा यसको प्रयोग प्रशस्तै हुँदै गयो। उर्दू बुझ्न सजिलो होस भनेर विजयकुमार राईले सन् २०१८मा उर्दू नेपाली शब्दकोश प्रकाशित गरे । यो कार्य गर्न उनलाई बिस वर्षको समय लागेको उनी बताउँछ।
नेपाली साहित्यको हास्यव्यङ्ग्य लेखनमा अग्रेणी भूमिका खेलेको व्यक्तित्व हो अच्छा राई ‘रसिक’ । तर उनको जीवनकालमा उनले कुनै कृतिहरू प्रकाशित भएको देख्न पाएनन्।
रसिकको मृत्युपछि रामकृष्ण शर्माको सम्पादनमा सप्तकोसी प्रकाशित भयो सन् १९५५ अनि सोही वर्ष ‘लगन’ उपन्यास प्रकाशित भयो । ‘रसिक’लाई जीवन्त राख्ने काममा रामकृष्ण शर्मा, रामलाल अधिकारी र महानन्द पौड्याल प्रमुख हुन् । अब यो लहरमा उभिएको छ- विजयकुमार राई। ‘अगमसिंह गिरी रचनावली’ सम्पादन गर्दा ‘हाम्रो अस्तित्व’को सम्पादक चन्द्र शर्मासँग सहकार्य गरेका राईले ‘रसिक समग्र’मा चन्द्र शर्मा खरसाङलाई रोजेको छ।
यी दुवै पुस्तकको सम्पादनमा सुजातारानी राई पनि जोडिनु भएको छ। सुजातारानी राई र विजयकुमार राईको सम्बन्ध पति-पत्नीको हो तर दुवैको स्वतन्त्र अस्तित्व छन्। सजातारानी कुशल लेखिका हुनुको साथसाथै दार्जिलिङ सरकारी महाविद्यालयको नेपाली विभागका प्रमुख पनि हुन्। विजयको भनाइअनुसार यो कार्य गर्न उनलाई चालिस वर्ष लाग्यो । लामो अनवरत अनुसन्धान र सङ्कलनपछि सन् २०२३ मा प्रकाशित हुन्छ दुई ठेलीमा ‘रसिक समग्र’। प्रकाशनको भार पुन लिइदिनु भयो पवन चामलिङको निर्माण प्रकाशनले। रसिकका अप्राप्य रचनाहरू पनि समावेश गरी प्रकाशित भएको यो पुस्तकले भारतीय नेपाली साहित्यको एउटा लोभ लाग्दो कालखण्ड बोकेको छ । अल्प आयुमा नै निधन भएका रसिकका रचनाले अगमसिंह गिरीलाई पनि साहित्यमा लाग्ने प्रेरणा दिएको थियो ।
मौलिक केही नलेख्ने केवल सम्पादन मात्र गर्ने आरोप खेपिरहेको बेला कोरोनाले थलिए केही समय उनी । तर कोरोनाले थलिएर मृत्युको मुखेन्जीमा पुग्नुपूर्व नै विजयकुमार राईले एउटा उपन्यास लेखिसक्नु भएको रहेछ पृथक विषयवस्तु र शैलीमा । लैनसिंह बाङ्देलको लङ्गडाको साथी पछि उनको ‘सहरको कुकुर’ यस्तो उपन्यास होला जसले मानवेतर पात्रहरूलाई नायकको रूपमा खडा गरेको छ। यो उपन्यास सन् २०२०मा प्रकाशित भएको थियो । यसै गरी सन् २०२० मा नै उनको सम्पादनमा प्रकाशित भयो – यासीन सरद्वारा लिखित उर्दू कविता सङ्ग्रह मल्कए कोहिस्तान : दार्जिलिङ।
साहित्य समाजको अभिन्न अङ्ग हो भन्ने प्रमाण विजयकुमार राईले दिएको छ । उनी बुद्धसिंह सङ्गीत, खेलकुद अनि पुस्तकालय सदनको अध्यक्ष भए । सन् १९२४ मा स्थापित यस संस्थाले साहित्य, सङ्गीत, खेलकुद अनि सामाजिक कार्यहरू गरेको दीर्घकालीन इतिहास बोकेको छ। पुरानो समयमा यो संस्थामा सङ्गीत अभ्यास गर्नेहरू मध्ये वरिष्ठ गायिका अरुणा लामा, अम्बर गुरुङ, गगन गुरुङ, दिलमाया खाती, विशासन लामा, इन्द्र थपलिया, रञ्जित गजमेर आदि हुनुहुन्थ्यो ।
सत्तरीको दशकमा स्थापना भएको युगपरिबाेध साहित्यिक संस्था, दार्जिलिङको सचिव भए र उनकै कार्यकालमा यो संस्थालाई पुँजी सहित सन् २०१४ मा गोर्खा दुःख निवारक सम्मेलनमा विलय गराउने काममा सफलता पाए। यस्तै धेरै सामाजिक काम र साहित्य सेवा मात्र गरेर समाजलाई पूर्ण रूपले ठोस योगदान दिन सक्दैन भन्ने कुराको हेक्का राख्दै उनी सन् २०२१ मा राजनीतिमा प्रवेश गरे । फलस्वरूप उनी अहिले राजनैतिक नियुक्ति पाएर डिस्ट्रिक्ट स्कुल बोर्ड दार्जिलिङ, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको चेयरम्यान बन्नु भएको छ ।
विजयकुमार राईको मोतीरामको छविलाई राजनैतिक आस्थाले धमिलो पार्न सक्ने सम्भावनालाई नकार्न सकिन्न। कुनै बेला दार्जिलिङ सरकारी विद्यालयका प्रधानाध्यापक धरणीधर कोइराला काँग्रेसबाट अनि प्रसिद्ध साहित्यकार शिवकुमार राई गोर्खालिगबाट चुनाव नलडेको त पक्कै होइन । तर राजनीतिमा लाग्दा एउटा खतरा के हुन्छ भने कहिलेकाहीँ दशकौँको साहित्य सेवा र तपस्यालाई राजनैतिक आस्थाले क्षणमा नै विलीन गराइदिन पनि सक्छ । यो खतरालाई ख्याल राखी दुवै क्षेत्रमा योगदान पुराउनु हुनेछ भन्ने विश्वास राखेको छु।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

