उसलाई मन पर्दैन काेठाकाे कुना-कुनामा घामकाे किरण छिरेकाे । अचेल उसलाई घाम एउटा यात्रा लाग्छ, अँध्यारोदेखि उज्यालोसम्मकाे । किरणहरूलाई विद्राेह सम्झिन्छ, अँध्यारोविरुद्धको ।

आजकलकाे मौसम बडाे मनमौजी छ । छिनभरमै दौडादौड गर्दै तात्तिरहेकाे मानिसहरूलाई झन् तत्ताइदिन्छ । फेरि छिनभरमै सारा दुःखकाे भारीले थिचेकाे जस्ताे मुहार लिएर गजधुम्म भई बस्छ । अनि फेरि कहिले चाहिं कहालीलाग्दा दिन सम्झेर आफैंलाई पाेखिदिन्छ । यसरी एवम् रीतले मौसम आफ्नाे तमाम पाटाहरू देखाइबस्छ । मौसमले गर्दा मानिसहरूले बाेल्ने एउटा बहाना थपिएकाे छ । मौसमले गर्दा मानिसहरूले गर्ने गुनासो पनि बढिराखेकाे छ ।

सहरकाे एउटा कुनामा कुनै पुरानो गल्लीपछाडि एउटा अँध्यारो काेठा छ । घाम लागाेस् या पानी पराेस्, बिजुली चम्कियाेस् या बादल मडारियाेस् त्याे काेठाबाट कुनै गुनासाेकाे आवाज आउँदैन । त्याे काेठामा एउटा युवा छ, त्यस्ताे युवा जुन समाजका लागि एउटा उज्ज्वल भविष्य हाे । बाबुआमाका लागि आधार हाे बाँच्ने । समग्रमा यसरी साेचौं कि हरेक तहतप्काका लागि केही न केही हाे, जस्ताेः भीडहरूकाे गिन्तीकाे निम्ति एक सङ्ख्या ।

तर… ऊ आजकल अनेकन सामाजिक मूल्यमान्यता, नीतिनियम र बन्धनमा भेटिंदैन । यसरी परिभाषित गर्दा उसलाई केही हदसम्म न्याय हुन जाला – ऊ आफैंभित्र हराएकाे एक मान्छे… सायद पात्र । अँ, अपूर्ण कथाकाे अधूरो पात्र ।

आजकल याे पात्र अन्धकारमा रमाउँछ । उसले पर्दा नउघारेकाे कयौं महिना भइसक्याे । काेठाकाे पर्दा ! मनकाे पर्दा त उसले बिर्सिइसक्याे अन्तिम पटक कहिले उघारेर नियालेकाे थियाे आफूलाई घण्टौंसम्म । उसले आफूलाई कैद गरेकाे छ अँध्यारोमा । उसलाई मन पर्दैन काेठाकाे कुना-कुनामा घामकाे किरण छिरेकाे । अचेल उसलाई घाम एउटा यात्रा लाग्छ, अँध्यारोदेखि उज्यालोसम्मकाे । किरणहरूलाई विद्राेह सम्झिन्छ, अँध्यारोविरुद्धको ।

ऊ यस्ताे विद्राेह तथा यात्राहरूबाट टाढा बस्न खाेज्छ । अन्धकारमै अल्झिरहन चाहन्छ । उज्यालोमा उसकाे छायाँ देखिन्छ । छायाँ – जहाँ ऊ आफ्नाे हालत र अवस्था भेटिएकाे पाउँछ । त्यसैले जब उज्यालाेबाट ऊ लुक्छ, उसकाे छायाँ पनि हराउँछ अनि आफ्नै हालतमाथि विजयी भएकाे साेच्छ । तर उसले अन्धकार त्यही छायाँकाे विराट रूप हाे र यसले झन् हालतलाई प्रष्टसँग देखाउँछ भन्ने कुराकाे भेउ भने पाउन सक्दैन ।

यसरी अँध्यारोमा बाँच्दाबाँच्दै उसलाई कहिलेकाहीं ऐंठन हुन्छ । ऊ निस्सासिन्छ अँध्यारो काेठाभित्र तथापि पर्दा खाेल्ने हिम्मत गर्दैन । ऊ पर्खन्छ सूर्य डाँडापारि नलुक्दासम्म । करिब ७ बजेतिर पर्दाकाे थाेरै भाग खाेल्छ । हावा उसको काेठामा म्याराथनमा दौडिए जसरी भित्र आउँछन् । उसकाे मुहारबाट बिस्तारै दिक्दारीकाे सङ्केत हट्न थाल्छ । घडीकाे घण्टा सुई ९ तिर पुगेपछि बल्ल ऊ पूरै पर्दा उघार्छ । झ्याल पूरै खाेल्छ । र झ्यालबाट बाहिर चियाउन थाल्छ । यतिबेला मानिस जस्ताे हतारकाे जिन्दगी बाँचिरहेका मेसिनहरू कुनै कुनामा थुप्रिइसकेका छन् । फाट्टफुट्ट पैदल यात्रीहरूकाे आवाज सुनिन्छ । ऊ अझ ध्यानले नियाल्न थाल्छ झ्यालमा बसेर । अलि परकाे गल्लीमा कुनै एउटा कुकुर भुक्छ, त्यसपछि अर्काे, अनि अर्काे । यसरी ऊ कुकुरको भुकाइ पनि कुनै आनन्दित सङ्गीत जस्ताे सुनिबस्छ ।

जब कुकुरहरुकाे आवाजसमेत आउन बन्द हुन्छ, ऊ उठ्छ र हिंड्छ… हिंडिरहन्छ । करिब २० मिनेटकाे हिंडाइपछि ऊ आर्यघाट पुग्छ र सरासर लास जलेकाे हेर्न पुग्छ । पारिपट्टि सिँढीमा बस्छ र जल्दै गरेकाे लास हेर्न थाल्छ । हुरहुर्ती बलेकाे आगाे र जल्दै गरेकाे लास बीचमा कुनै भुतिया फिल्मकाे सिनमा बजाउने जस्ताे अजिबाेगरिब सुसेली सुसेल्दै बगेकाे नदी पूरापुर सबै नियाल्छ, भावशून्य भएर । बिस्तारै आगाेकाे ज्वालाकाे नृत्य सेलाउन थालेपछि ऊ जुरुक्क उठ्छ । अन्तिमपटक खरानी बनिसकेको लास हेर्छ र बेजोडले अनौठो हाँसाे हाँस्छ । अनि फेरि चुपचाप अँध्यारो काेठा फर्कन्छ । बिहान ब्युँझनु अगावै । यसरी ऊ महिनाकाे एक दुईचाेटि चाहिं बेजोडले निर्दाेष हाँसाे हाँस्छ, जस्ताे निर्दाेष हाँसाे ऊ सानाेमा झट्टीले हान्दा आँप सजिलै खस्दा हाँस्थ्याे या भनौं चाउचाउभित्र दुईटा मसलाकाे प्याकेट पर्दा पनि हाँस्थ्याे ।

कुनै कुनै दिन उसकाे माेबाइलमा घण्टी बज्छ । जाँगर चले काटिदिन्छ नत्र फाेन आफैं काटिने समयसम्म पर्खन्छ । एकछिनमा म्यासेजले टिङ् सुनाउँछ । ऊ एक दिन, दुई दिन या हप्तौपछि बल्ल म्यासेज हेर्छ र त्यतिकै छाेडिदिन्छ । उसलाई आजकल कुनै मतलब लाग्दैन इष्टमित्रले के गर्दै छस् भनेर साेध्दा, साथीभाइले के भयाे आजकल भनेर साेध्दा, बन्धुवर्गले कता छस् भनेर साेध्दा । ऊ माेबाइल साइलेन्टमा राख्छ र नारायण गाेपालकाे “झरेकाे पात झैं भयाे उजाड मेराे जिन्दगी” गीत बजाउँछ । गीत बज्छ… सकिन्छ… बन्द हुन्छ । फेरि ऊ सम्झन्छ ‘आ’ गर्दा अलङ्कार बुझ्ने याे समाजले उसले ऐया.. आत्था गर्दासमेत कुनै प्रतिक्रिया नदिएकाे । अनि मनमनै सबैलाई धिकार्छ, सबभन्दा बढी आफूलाई र साेच्छ –

यतिबेला,
लाचारताकाे कयौं प्याला रित्ताएर
सपनाहरूलाई छाडेर कुनै आदिम गल्लीमा
म अन्धकारकाे भट्टी छिर्न थालेपछि
बल्ल तिमीहरूले देखेका छौ
मेराे छाया जस्ताे केही !

उसका सम्झनाकाे फाेटाेकपीहरू बाल्यकालतिर दस्तक दिन पुग्छन् । ऊ सम्झन्छ, आफ्नाे बुवासँग खेतमा सँगै गएकाे । बुवाले खेतकाे बीचमा हाडी, पराल, लौराे र च्यात्तिएका लुगाले मान्छे जस्तै बनाएकाे । उसले के हाे, किन यस्ताे गरेकाे भनेर साेध्दा बुवाले भनिदिन्थे, “यसरी बुख्याचा बनायाे भने चराहरू हाम्राे खेतबारीमा मकै खान आउँदैनन् । मानिस जस्ताे देखेर तर्सिन्छन् र भाग्छन् ।”

ऊ बुझेकाे भावमा मुन्टाे हल्लाउथ्याे । तर साेचिबस्थ्याे, जाबाे मान्छेकाे जस्ताे आकार भएकाे चिजसँग पनि किन डराँउछन् हाेला चराहरू ? किन भाग्छन् हाेला उनीहरू ?

ऊ झस्किन्छ साेच्दासाेच्दै र ऐनाअघि उभिन्छ । जब ऐनामा आफैंलाई हेर्छ, तर्सन्छ । ठ्याक्कै त्यसरी नै जसरी बुवाले भने जस्ताे चराहरू तर्सिन्थे मान्छेकाे आकार भएका चिजसँग ।

ऊ ऐनामा एउटा बुख्याचा देख्छ र बाँचिरहन्छ बुख्याचा जिन्दगी…!