ह्याप्पी भ्यालेन्टाइन डे सानू, गुनासो आउन सक्छ तिमीबाट ‘रोज डे’मा रोज नदिएको, ‘चकलेट डे’मा चकलेट नदिएको ।
चाहना होलान् तिमीलाई नि यो अस्तव्यस्त दुनियाँमा केही समय एकअर्काका लागि निकालेर भिडभन्दा पर एकान्तमा समय बिताउने, केही सपना एकअर्काको लागि देख्ने , केही हाँसो, केही खुसीहरु साटासाट गर्ने । म बुझ्छु तिम्रा भावनाहरु, तिम्रा सपनाहरु, तिम्रा अभिलाषाहरू ।

ती फूलहरुको बगैंचा, खुसी र उमङ्गजस्ता भमराहरू, सपनाजस्ता पुतलीहरू, यो प्रेमिल समयले तिम्रा मनमा पनि पक्कै काउकुती लगाएको होला । पार्कका उदास बेन्चहरु, होटल र रेष्टुरेन्टका बाँकी परिकारहरु , चटपटे बेच्ने दाइको नबिकेका चटपटे र पानीपुरीहरु देख्दा तिम्रो मन पनि हल्का उदास भएको होला ।

उसो त प्रेम गर्नेहरुका लागि हरेक दिन विशेष हुन्छ । हरेक दिन प्रेमिल हुन्छ । म तिमीलाई यी सात दिनसम्म सात चिज दिएर खुसी बनाउनभन्दा जिन्दगीभर साथ दिएर खुसी बनाउन चाहन्छु ।

‘रोज डे’मा रोज होइन, तिमीलाई साथ दिन सकूँ ।

‘चकेलेट डे’मा चकलेट मात्र होइन, चकलेटभन्दा मिठो मुस्कान दिन सकूँ।

‘प्रपोज डे’मा सन्तुष्टिले ठुला ठुला सपनाहरुका प्रस्ताव स्वीकार गरून् ।

‘टेड्डी डे’मा तिम्रो मन पर्ने खेलौना बन्न सकूँ ।

‘प्रमिस डे’मा कहिल्यै झुठो कसम खानु नपरोस् भनेर कसम खान सकूँ ।

‘हग डे’मा तिम्रा सपना र चाहनाहरुले मेरा विश्वासलाई अँगाल्न सकून् ।

‘किस डे’मा तिम्रा सपनाहरुले गन्तव्यलाई चुम्न सकूँन् ।

अनि ‘भ्यालेन्टाइन डे’मा सारा सपना, चाहना, अभिलाषाहरु मन्द मुस्कुराऊन् ।

तिमीलाई सात दिन मात्र होइन सत्तरी वर्षसम्म साथ दिन सकूँ । यो सत्र वर्षमा सात दिनसम्म सात थरी चिज दिनुभन्दा सत्ताइस वर्षमा सारा दुनियाँको अगाडि सात फन्को लगाउँला नि ।