शून्य नयन

 

शून्य नयन

आमा ! घाम नउदाउँद‌ै उठ्छिन् र
दैलोमा बसेर हेरिरहन्छिन्
घरतिर आउने बाटो
र सोच्छिन् –
“घामको झुल्कोसँगै मेरो छोरो पनि आँउछ ।”

बिस्तारै
घाम सुदूरको डाँडामा पुग्छ
आमा फेरि सोच्छिन्-
“आज साँझ पर्यो, भोलि आउला”

आमाले यसरी भोलि आउला भन्ने
आशमा बाँचेको वर्षौं भइसक्यो
तर अहँ
परदेशी छोरो फर्किएन

आज पनि
आमा उध्रिएको चोली लगाएर
च्यात्तिन थालिसकेका सपना सिलाइरहन्छिन्
पाप्रै-पाप्रा उक्किएका घरमा बसेर
चोइटिन थालेको हाँसोलाई
“भोलि आँउछ” भन्ने आशले पोतिरहन्छिन्

आमा ! परदेशी छोरोको लागि
दिनहुँ बाटो कुरिरहन्छिन्

आजकल
आमाका कमजोर आँखाले
छोरो आउँछ भन्ने आश
मलिन देख्दैछन्

तर पनि, आमाको कानमा
कता-कताबाट
“आमा म फर्कनेछु” भन्ने आवाज गुञ्जिरहन्छ
र दिनहुँ कुरिरहन्छिन्
परदेशी छोरोलाई

आमाका हराउन लागेका मुस्कान
यिनै आशले बाँकी राखेका छन्

तर आमालाई के थाहा !
हिजो भर्खर आएको चिठीमा
उनको छोरोको मृत्युको खबर लेखिएको छ भनेर !