साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः अलग दृश्य

शून्य नयन

मित्र
तिमी नियमित पुग्ने वेश्यालयमा
म पनि हिजो पुगेथेँ
झुक्किएरै नझुक्किएरै
तर मित्र
वेश्यालयमा तिमीले जे देख्यौ
मैले त्यो देख्न सकिँन

मित्र
तिमीले देखेका थियौ
वेश्यालयलाई स्वर्गको एक अंश
तर मित्र
मैले देखेँ
वेश्यालयलाई नर्कको पुरै ब्रह्माण्ड

bahulako diary small and inside post

मित्र
तिमीले देखेका थियौ
वेश्यालयका वेश्याहरुमा
सुन्दर सुन्दर युवतीहरु
अप्सरा मेनका
तर मित्र
मैले देखेँ
हाम्रै छोरी चेलीहरु
जुन मिल्काइएका थिए कुकुर बिरालो जसरी

मित्र
तिमीले देखेका थियौ
वेश्यालयका वेश्याहरुका
सेता सेता तिघ्राहरु
सुन्दर शरीर
सुन्दर जवानी
तर मित्र
मैले देखेँ
ती छचल्किएका आँसु
तीनीहरुका लाचार पीडाहरु

मित्र
तिमीले सुनेका थियौ
वेश्यालयका वेश्याहरुका
सुन्दर आवाजहरु
मिठो लवजहरु
तर मित्र
मैले सुनेँ
तिनीहरूका कठोर कथा
मुटुभित्र दबिएका आवाजहरु

मित्र
तिमीले अनुभुत गरेका थियौ
वेश्यालयका वेश्याहरुका
गुलाबी स्पर्श
चरम आनन्द
तर मित्र
मैले अनुभुत गरेँ
समाजले ढाकिदिएको
दुर्गन्धका आवरण

मित्र
तिमीले देखेका थियौ
वेश्यालयलाई स्वर्गको सानो अंश
तर मित्र
मैले देखेँ
वेश्यालयलाई नर्कको पुरै ब्रह्माण्ड

मैले देखेको थिएँ
वेश्यालयका वेश्याहरुमा
उदास मुहार
छचल्किएका आँसु
लाचार सपना
पीडादायी कथा
खोसिएका विगत
लुटिने भविष्य
उजाड वर्तमान

मित्र
तिमी नियमित पुग्ने वेश्यालयमा
म पनि हिजो पुगेथेँ
झुक्किएरै नझुक्किएरै
तर मित्र
वेश्यालयमा तिमीले जे देख्यौ
मैले त्यो देख्न सकिन ।

✍️: शुन्य नयन

प्रतिक्रिया
Loading...